उज्यालो युगका अभियन्ता कुलमानः कसरी अन्त्य गरे उनले नेपालबाट लोडसेडिङ ?


Infocus



मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु ।

पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझबुझसमेत थियो । उनले सूत्रसमेत मनमनै पहिल्याएका थिए।

तर, आफू प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सूत्रहरू कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । त्यसैले सार्वजनिक पनि गरेनन् ।

०५१ मा घिसिङ सातौँ तहको इन्जिनियर पदबाट प्राधिकरणको सेवा प्रवेश गर्दा देशमा रोग, भोक र शोक अन्त्य गर्ने भन्दै माओवादीले सशस्त्र राजनीतिक द्वन्द्व सुरु गरेको थियो । तर, त्यही द्वन्द्वका कारण देशमा दशकसम्म आर्थिक गतिविधि ठप्पप्रायः हुन गयो।

तर, विद्युत् उत्पादनको शताब्दीसम्म पनि देशको माग धान्न सक्ने गरी देशमा विद्युत् उत्पादन हुन सकेन । माग बढ्दै गयो, विद्युत् उत्पादन बढेन । यसले जडित वितरण प्रणालीमै पनि विद्युत् आपूर्ति पर्याप्त हुन सकेन भने विद्युतीकरण गर्नुपर्ने क्षेत्र र धेरैजसो ठाउँहरू विद्युत्सेवाविहीन बनिरहेका थिए ।

अवस्था यतिसम्म नाजुक बन्यो कि दिनको १८ घन्टासम्म पनि विद्युत् कटौती हुन थाल्यो । इन्भर्टर, ब्याट्री, पावर जेनेरेटर मेसिनजस्ता उपकरणका उत्पादक र वितरकको व्यापार फस्टाउन थाल्यो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्।

घिसिङ अहिले झल्झली सम्झन्छन्, लोडसेडिङको तालिका अगाडि राखेर वितरण केन्द्रमा बस्ने दुई तहका कर्मचारीले विद्युत् काट्थे।

बलिरहेको बिजुली झ्याप्प जाँदा गाउँ–बस्ती र जगतै अन्धकारमा डुब्थ्यो । कतिपय गाउँबस्ती र सहरका सर्वसाधारण आक्रोशले चिच्याउँथे । अनि, मैनबत्ती र टुकीको पिलपिल उज्यालो चिर्दै बस्ती नै उज्यालो हुने गरी बिजुली झुलुक्क आउँदा पनि सर्वसाधारण खुसीले चिच्याउँथे ।

प्राधिकरणको वितरण केन्द्रमा बसेर विद्युत् काट्ने कर्मचारीलाई सर्वसाधारणको आक्रोश र खुसीसँग के वास्ता? ऊ त आफ्नो ‘ड्युटी’ पूरा गरिरहेको हुन्थ्यो ।

यसरी विद्युत् काट्दा रातमा झन्डै दुई सय मेगावाटसम्म पनि विद्युत् बचत हुन्थ्यो । घरायसी उपभोक्ताका लागि विद्युत् कटौती गर्दा कतिपय औद्योगिक प्रतिष्ठानले चौबिसै घन्टा बिजुली पाउँथे ।

भारप्रेषण केन्द्रले दिएको लोडसेडिङ तालिकालाई प्राधिकरणका कार्यकारी निर्देशकले सहीछाप गरेर लोडसेडिङलाई अनुमोदन गर्ने प्रवृत्ति हाबी हुँदै गयो । लोडसेडिङ अन्त्य गर्नु असम्भव मानियो ।

प्राधिकरणले नै ०७३ सम्म विद्युत् माग बढेर १८ सय मेगावाटसम्म पुग्ने भविष्यवाणी ग¥यो । यद्यपि, अहिले लोडसेडिङ नहुँदाको उच्च माग १३ सय मेगावाटभित्रै सीमित छ ।

घिसिङ झन्डै दुई वर्षसम्म घिसिङ जिम्मेवारीविहीन बनाइए । यसमा उनकै असन्तुष्टि पनि केही हदसम्म जिम्मेवार नभएको भने होइन । अन्ततः सही मानिसले सही पद र जिम्मेवारी पाए । ०७३ भदौमा घिसिङ प्राधिकरणको ११ तहको कार्यकारी निर्देशक पदमा नियुक्त भए ।

०७३ को त्यो लक्ष्मी पूजा
प्राधिकरणकै कार्यकारी प्रमुख बनेपछि घिसिङको काँधमा पहिल्यैदेमि मनमा पालेको लोडसेडिङ अन्त्य जिम्मेवारी आयो । राजनीतिक रूपमा उनलाई माथिबाट ऊर्जामन्त्री जनार्दन शर्माको जबर्जस्त सहयोग थियो भने प्रशासनिक रूपमा ऊर्जा सचिव अनुप उपाध्यायले सहयोग गरेका थिए ।

आफू मातहतको उपयुक्त टिम, प्रसारण र वितरण प्रणाली र उपयुक्त दिनको खोजीमा लागे । ०७२ को फागुन (हिउँद) सम्म देशमा झण्डै १६ घण्टा लोडसेडिङ थियो । बर्खामा लोडसेडिङ कम हुन्थ्यो ।

फेरि तिहार(हिउँद) को लक्ष्मी पूजाको दिन सबैले घरमा दीपावली गर्ने भएकोले विद्युत् माग उच्च हुन्थ्यो । घिसिङले लोडसेडिङ अन्त्य गर्ने उपयुक्त दिनको रूपमा लक्ष्मी पूजालाई नै रोजे । यसको तयारी दशैंदेखि नै उनले सुरु गरेका थिए ।

०७३ को लक्ष्मी पुजाको दिन अर्थात् १४ कात्तिकमा घिसिङ आफ्नो टोलीसहित स्युचाटारस्थित भार प्रेषण केन्द्रमा बेलुका ५ बजे नै पुगे । काठमाडौंलाई लोडसेडिङ गर्न नदिँदा कुन प्रसारण तथा वितरण लाइनमा कति लोडमा चलाउने, कहाँ–कहाँबाट विद्युत् छोड्ने भनेर छलफल गरे ।

त्यसैअनुसार टोलिलाई ‘मुभ’ गरे । राती १२ बजेसम्म त्यहाँ बसेर प्राविधिक सूझका साथ व्यवस्थापन मिलाउँदा काठमाडौं उपत्यकामा लक्ष्मी पूजाको रातभर विद्युत् गएन । ‘नो लाइट’ नम्बरहरूमा कतैबाट पनि काठमाडौंका उपभोक्ताको गुनासो आएन ।

काठमाडौं लोडसेडिङ मुक्त भएको सन्देश उनले दिए । यसरी कार्यकारी निर्देशकको पदमा पुगेको दुई महिनापछि नै कसैले कल्पनै नगरेको लोडसेडिङ मुक्त गर्ने अभियान घिसिङले सुरुआत गरे, काठमाडौंबाट । लक्ष्मीपूजा विजुली बत्ति झिलिमिली पारेर मनाए उपत्यकावासीले।

काठमाडौं उपत्यकामा विद्युत् कटौति गर्न छोडेपछि उपत्यकाको उच्च माग २ सय मेगावाटसम्म कम भयो । इन्भर्टर तथा व्याट्रिलगायत उपकरण चार्ज गर्दा हुने झण्डै २ सय मेगावाट विद्युत्को माग स्वाट्टै घट्यो ।

विद्युत् कटौती हुँदैन भन्ने सन्देश उपभोक्ताले पाए । प्राधिकरणको निर्देशन अनुसार नै साँझ विहान विद्युतको उच्च माग हुने समयमा बढी विद्युत् खपत गर्ने उपकरण चलाउन कम गरे । प्राधिकरणलाई सघाए । र, प्राविधिकको आत्मविश्वास समेत बढ्दै गयो ।

प्राधिकरणले पोखरा, भरतपुरजस्ता ठूला शहरको विद्युत् कटौती हटाउँदै गएर देशभरको घरायसी लोडसेडिङ अन्त्य गर्न सफल भयो । त्यसपछि पनि दैनिक करिब ४ घण्टा औद्योगिक लोडसेडिङ भने कायम थियो । तर, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन बनेपछि लोडसेडिङ अन्त्यका लागि सहयोग पुग्यो ।

अँध्यारो युगको अन्त्य
देशबाट अँध्यारो युगको अन्त्य भएको छ । तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलिमा मनाउन सकिने भएको छ । घिसिङले भने तेस्रो लक्ष्मी पूजा (बुधबार) को दीपावली पनि स्युचाटारमै बसेर लोड व्यवस्थापन गरेर मनाउँदै छन् । देशभर लोडसेडिङ अन्त्य भएको सन्देश दिँदै यस वर्षबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत रंगीचंगी बत्ती बालेर झिलिमिली पारेका छन् ।

कुलमानलाई जनमनको सलाम
लोडसेडिङ अन्त्य गरेरपछि कार्यकारी निर्देशक घिसिङप्रति आम नेपाली निकै कृतज्ञ देखिएका छन् । घिसिङ सम्झन्छन्, ‘एक पटक सुन्दरीजलमा कार्यक्रम थियो । त्यहाँ जाँदा स्थानीयले बाजागाजासहित सम्मान गरे । तर आफूलाई अप्ठ्यारो महसुस भयो । आफ्नो जन्म गाउँ दोलखाको बिगु जाँदा स्थानीयले अभिनन्दन गरे । अस्वीकार गर्दा गर्दै पर्नि देशका विभिन्न ठाउँबाट नागरिक अभिनन्दनका प्रस्तावहरू आए ।’

पूर्वपश्चिम राजमार्गस्थित हेटौंडाको थानाभ¥याङ भन्ने ठाउँमा कुलमानको फोटोसहित होर्डिङ राखेर नागरिकले उनको कामको अभिनन्दन गरेका थिए । यी सबबाट कुलमानलाई लागेको छ– कार्यकारी प्रमुखको पदमा रहेने व्यक्तिलाई सैद्धान्तिक ज्ञानले मात्र नपुग्ने रहेछ । कार्यकारी प्रमुख वा व्यवस्थापकमा त व्यवस्थापन गर्न सक्ने प्राविधिक ज्ञानसमेत चाहिने रहेछ । अनि मात्र सफल हुन सक्दो रहेछ ।

०७३ को लक्ष्मीपूजाको दिन अर्थात् १४ कात्तिक, उपत्यकावासीले अचानक बिजुलीको झिलिमिलीमा लक्ष्मीपूजा गर्न पाए । उपत्यकावासीले बिजुलीको झिलिमिलीमा घरघरमा लक्ष्मी भित्र्याउँदै गर्दा प्राधिकरणमा भर्खरै कार्यकारी निर्देशक भएका कुलमान घिसिङ भने स्युचाटारस्थित भार प्रेषण केन्द्रमा बसेर विद्युत्को लोड व्यवस्थापन गर्दै थिए ।

बेलुका ५ बजेदेखि राति १२ बजेसम्म प्राविधिक टोलीसहित स्युचाटारमा खटिएका कुलमानले भोलिपल्ट उपत्यकावासीको वाहवाही पाए । उज्यालो युगको प्रस्थान बिन्दु, त्यही दिन बन्यो ।

प्रकाशित २१ कार्तिक २०७५, बुधबार | 2018-11-07 08:12:38
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निलाम्बर आचार्य

    नीलाम्बरको ‘भाग्य’ मा दुई केपीको संयोग

    कांग्रेस निकट बुद्धिजीवीका रुपमा रहेको उनको छविको उपयोग गर्दै प्रधानमन्त्री ओलीले आचार्यलाई सो समूहको सदस्य चयन गरेका थिए। तर, उनी भित्री रुपमा...

  • केपी शर्मा ओली

    मन्त्रिपरिषद बैठक लगत्तै निर्णय सार्वजनिक नगर्ने निर्णयमा किन पुगे प्रम ओली?

    ‘पारदर्शिताका नाममा उही दिन सार्वजनिक गर्दा एकातिर सरकारलाई अप्ठेरो पार्ने काम हुन थाल्यो, अर्काेतिर आफ्ना निर्णय कत्तिको परिपक्व छन् भनेर...

  • केशव स्थापित

    केशव स्थापितकोमा पुगेका दुई सांसदलाई घरमा भोजन, बाटोमा ढुङ्गा

    पूर्वमन्त्री केशव स्थापितको घरमा भोजन गरेर फर्कने क्रममा प्रदेश सभाका दुई सा‌ंसद चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ।

  • भेगन

    के माछामासु नखाने मानिस बढी बाँच्छन्?

    विश्वमा माछामासु दूध दही नखानेहरुको जनसंख्या बढ्दो छ। पश्चिमा मुलुकहरुमा भेगन हुने लहर नै चलेको छ।