मनाङकाे ङिस्याङ गाउँपालिका-१ भ्राताङमा छ- स्याउ फार्म। चार वर्षअघि सांसद पोल्देन गुरुङले ६७ हजार बिरुवा रोपेका थिए।
गत वर्ष ३ लाख किलो उत्पादन दिइसकेको फार्मको बिहीबार प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गरे।
यसका लागि मनाङ मस्र्याङ्दी क्लबको ७ सय ३५ रोपनी जग्गा २७ वर्षलाई भाडामा लिइएको छ। स्याउ खेतीले ४ सय २५ रोपनी ओगटेको छ।
इटाली र सर्बियाबाट ल्याइएका दुई प्रजातिका स्याउलाई ठिमाहा बनाइएको छ। वर्णसंकर भएकाले यी बिरुवा अरू जस्तो अग्ला र मोटा भने छैनन्।
तिनले दुई वर्षदेखि फल दिइरहेका छन्। वयस्क भइसकेपछि भने प्रत्येक बोटमा कम्तीमा ३० देखि ३५ किलो फल्ने गुरुङको भनाइ छ। यसमा ५५ जनाले प्रत्यक्ष रोजगारी पाएको खबर मनाङबाट नवीनराज कुइँकेलले आजको अन्नपूर्ण पोस्टमा लेखेका छन्।
यहाँ फुजी, गाला र गोल्डेन प्रजातिका स्याउ छन्। यो परियोजनामा गुरुङको कम्पनी एग्रो मनाङ प्रालिले ३० करोड रुपैयाँ लगानी गरिसकेको छ। यसलाई उनी अझै बढाउने सोचमा छन्।
उनले यससँगै होटल र कोल्डस्टोर सञ्चालनमा ल्याएका छन्। ‘हामीले यहाँ स्याउ खेती मात्र गर्न खोजेका होइनौं’, उनले भने, ‘एग्रो टुरिजम विकास गर्न खोजेका हौं। त्यसका लागि होटल पनि सँगै बनाएका छौं।’ एग्रो फार्मले जुस, ड्राई एप्पल, ब्रान्डी र वाइनसमेत बनाउन थालेको छ।
काठमाडौंको ठमेलमा रहेको चल्तीको होटल बेचेर स्याउ फार्म सुरु गरेका गुरुङले नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बाट पनि सहयोग पाएका थिए।
उनले अनुदान सहयोग मात्र २ करोड २४ लाख पाए। ‘अनुदानका लागि फार्म सुरु गरेको भने होइन। त्यसले प्रोत्साहन भने गरेको छ’, उनले प्रस्ट्याए, ‘अझै लगानी बढाउँदै जानेछौं। यसमा सरकारको साथ र सहयोग उत्तिकै अपेक्षा गर्छौं।’
प्रत्येक वर्ष कम्तीमा २१ लाख किलो स्याउ उत्पादन गर्ने उनको लक्ष्य छ। त्यो पाँच वर्षभित्र पूरा हुने उनको दाबी छ। त्यसका लागि लगानी थपिरहेका छन्।
‘सन् २०२१ मा २१ लाख किलो स्याउ फलाउने लक्ष्य छ’, गुरुङले भने, ‘फार्मले उत्पादन दिन थालेको सातौं वर्षसम्ममा सबै लगानी उठिसक्छ।’