शरद ऋतुको आरम्भसँगै मौसम पनि रमणीय बन्छ । गर्मी सकिन्छ, वर्षाको हिलोमैलो पनि सकिन्छ र चिसो आइसकेको हुँदैन।
यही समयमा चाडपर्वको पनि आगमन हुन्छ । अझ लामो बिदा हुने दसैँ त मुखमै हुन्छ । यो मौसमले घुमघामका लागि उत्प्रेरित गरिरहेको हुन्छ । यो समयलाई धेरैले देशदर्शनका रूपमा पनि लिन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
दसैँ बिदामा तपाईं पनि घुम्ने योजनामा हुनुहुन्छ? देशभित्रका केही यस्ता गन्तव्य छन्, जसले दसैँ बिदामा मनोरञ्जन थप्छ। यो दसैँमा घुम्न सकिने मुख्य गन्तव्य यी हुन्ः
पोखरा
पोखरा सदाबहार पर्यटकीय गन्तव्य हो। बाह्रैमहिना होटेल तथा आतिथ्य सेवा उपलब्ध हुने भएकाले पनि यो गन्तव्यले पर्यटक आकर्षित गरिरहेको छ। दसैँ बिदामा सपरिवार त्यो पनि आफ्नै सवारीमा जान चाहनेहरूका लागि पोखरा उपयुक्त गन्तव्य हो। यहाँ सस्तो–महँगो होटेलहरू उपलब्ध छन्। पोखराका तालतलैया, आसपासका धम्पुस, पुनहिल पुगेर प्रकृतिको समीपमा रमाउनेहरूलाई यो दसैँ स्मरणीय हुनेछ।
चितवन–बर्दिया
जंगल सफारी, वन्यजन्तु अवलोकन र नदीजन्य पर्यटकीय गतिविधिमा रमाउने हो भने चितवन र बर्दिया उपयुक्त गन्तव्य हुन्। खासगरी होटेल, रिसोर्ट तथा होमस्टेसम्मको सुविधा रहेका यी गन्तव्यमा पाहुनालाई सेवा दिन तत्पर रहन्छन्। चितवन र बर्दियामा हात्ती सफारी, जिप सफारी, स्थानीय मौलिक सांस्कृतिक नाचगान र परिकारमा रमाउनेहरूका लागि यी गन्तव्य उपयुक्त छन्।
जोमसोम–लोमान्थाङ
मुस्ताङ दसैँ बिदामा घुम्न निकै उपयुक्त गन्तव्य हो। मुस्ताङको जोमसोम बजार, धार्मिक गन्तव्य मुक्तिनाथ मन्दिरको दर्शन गर्दा निकै रोमाञ्चक यात्रा हुन्छ।
निलगिरि, धौलागिरि हिमालको दृश्यसँगै कालीगण्डकीको सुन्दरता देख्न पाइन्छ, यो यात्रामा। त्यसैगरी, स्याउँ गाउँ झनै सुन्दर देखिन्छ। जोमसोम र मुक्तिनाथबीचमा पर्ने कागबेनी झन् आकर्षक लाग्छ। हिमाली जीवन, आकर्षक पठार, हिमालसँगको साक्षात्कार, हजारौँ वर्षअघिको नेपालको ऐतिहासिकता, पुरातात्विक संरचना अनि चीनको तिब्बतझै लाग्ने भू–बनोट। अर्थात्, नेपालको मरुभूमि पनि हो, मुस्ताङ।
अन्नपूर्ण पदयात्रा
लोकप्रिय पदयात्रा मार्गमध्ये अन्नपूर्ण एक हो। सामान्यतया अन्नपूर्ण पदयात्रा सर्किट पूरा गर्न तीन साता लाग्छ। तर, अहिले यातायातको सुविधा भएकाले पदमार्गमा पाँच रात–६ दिनसम्मको छोटो र रमाइलो पदयात्रा सम्भव बनेको छ। लमजुङ सदरमुकाम बेँसीसहरबाट सुरु हुने यो पदयात्रा मनाङका विभिन्न स्थान बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङसम्म पुग्ने गर्छ। सामान्यतया प्रतिव्यक्ति २०–२५ हजार रुपैयाँको जोहो गरेर समूहमा निस्कने हो भने रोमाञ्चक यात्राको अनुभव लिन सकिन्छ।
खप्तड
धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य भएको स्थान घुम्न रुचाउने नेपालीका लागि आकर्षक गन्तव्य हो, खप्तड।
चिसो मौसमा हिउँले ढाकिन्छ भने वैशाख–जेठमा विभिन्न प्रजातिका फूलहरू फुल्छन्। विशाल फाँटहरू निकै आकर्षक छन्।
काठमाडौदेखि धनगढी ६ सय ५० किमि गाडी यात्रा वा काठमाडौंबाट धनगढीसम्म हवाईयात्राबाट पुग्न सकिन्छ । धनगढीबाट डोटीको सिलगढीसम्म बसमा आठ घन्टा लाग्छ। त्यहाँबाट बगलेगसम्म जिप रिजर्भ गरेर पनि लान सकिन्छ । पैदल यात्राको पहिलो दिन झिगराना, दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ। यो यात्रा निकै टाढा र सहासिक तथा समय पनि बढी लाग्ने भएकोले खर्चको जोहो गरेर जानु उपयुक्त हुन्छ।
रारा ताल
चारैतिर सल्लाघारी। बीचमा निलो कञ्चन र स्निग्ध ताल । त्यही तालमा पौडी खेलिरहेका हुन्छन् चंखेली र काञ्जिरोवा हिमाल। अनि दिनमै तीन–चारपटक रंग बदल्ने पानी । तालको छालसँगै पर्यटकको मन रोमाञ्चित हुन्छ, सुन्दरताले । यो रहरको गन्तव्य पनि हो । समुद्री सतबाट दुई हजार नौ सय ९० मिटरमा रहेको रारा तालमा स्नो ट्राउट माछा पाइन्छ, जुन संसारमा अन्यत्र पाइँदैन।
गत वर्ष करिब ६० हजार आन्तरिक पर्यटक पुगेको तथ्यांक छ, रारामा । नेपालगञ्ज र सुर्खेतको वीरेन्द्रनगरबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाई सुविधा छ । र, ताल्चाबाट करिब तीन घन्टा पैदल यात्रापछि रारा पुग्न सकिन्छ।
भेडेटार–इलाम
पूर्वी नेपालका दुई घुम्नैपर्ने गन्तव्य हुन्, इलाम र भेडेटार । धरान र धनकुटा आसपासका क्षेत्रबाट भेडेटार सजिलै पुग्न सकिन्छ। पूर्वी नेपालको तराई भेगबाट निकै नजिकै इलामजस्तो सुन्दर र शीतल स्थान हुनु आफैँमा अलौकिक संयोग हो। सहरी कोलाहलबाट केही दिन भए पनि छुटकारा पाउने सोच बनाइरहनुभएको छ भने भेडेटार र इलामलाई दसैँ बिदाको यात्रा सूचीमा समेट्दा हुन्छ।
लुम्बिनी–पाल्पा
शान्तिसँग दसैँ बिदा मनाउने अर्को आकर्षक गन्तव्य हो लुम्बिनी । लुम्बिनी अवलोकन गरी पाल्पासम्मको सुन्दरतामा रमाउन सकिन्छ। देशको जुनसुकै कुनाबाट आए पनि लुम्बिनी अवलोकन गरेर भैरहवा वा बुटवलमा वास बसी अर्को दिन पहाडी जिल्ला पाल्पातर्फ लाग्न सकिन्छ । यी दुवै गन्तव्यमा पनि होटेल र आतिथ्य सेवाको राम्रो व्यवस्था छ।
कालिञ्चोक
राजधानीबाट नजिक आकर्षक गन्तव्यमा रमाउन चाहनेका लागि कालिञ्चोक उपयुक्त स्थान हो। सामान्यतया एक रात दुई दिनमा कालिञ्चोक दर्शन गरी काठमाडौं फर्कन सकिन्छ।