विमानस्थलभित्रै भयानक दुर्घटनाः हेर्दाहेर्दै जहाज यसरी भयो खरानी


Infocus



त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ।

बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ। चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार विमान दुर्घटनामा २२ घाइते भएका छन्।

यसअघि विमानस्थलभित्र साना–ठूला हवाई दुर्घटना भए पनि यति ठूलो संख्यामा मानिसले पहिलोपटक ज्यान गुमाएको विमानस्थलका महाप्रबन्धक राजेन्द्रकुमार क्षेत्रीले जानकारी दिए ।

यसअघि विमानस्थलभित्रै २० फागुन २०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा कसैले पनि ज्यान गुमाउनुपरेको थिए न। विमानस्थल आसपासमा चरा ठोक्किएर या अन्य कारणले फोर्स ल्यान्डिङ हुने गरे पनि इतिहासमै पहिलोपटक विमानस्थलभित्र धेरै मानिसले ज्यान गुमाएका खबर आजको नयाँ पत्रिका दैनिकमा अच्युत पुरी र टेकराज थामीले लेखेका छन्।

हवाई विज्ञ वीरेन्द्रबहादुर सिंहका अनुसार सन् १९९० यता विमानस्थलभित्र नेपाल एयरलाइन्सको एक ट्विनअटर जहाज दुर्घटना हुँदा पाइलटले ज्यान गुमाउनुबाहेक यात्रुले पहिलोपटक ज्यान गुमाउनुपरेको हो ।

हेर्दाहेर्दै जहाज यसरी भयो खरानी
सिजन बयम्बु, प्रत्यक्षदर्शी
म विमानस्थलमा ‘लाइट’ गाडी चलाउँछु । सोमबार दिनको २ बजेतिर डोमेस्टिक एभियसनतर्फको मूलगेटमै थिएँ । माथिबाट चट्याङ परेजस्तो अवाज आयो । आवाज डरलाग्दो थियो । माथि हेरेँ, ठूलो जहाज रूखै छोला–छोलाजस्तो गरी बत्तिदै गरेको देखेँ । सारै डर लाग्यो । भागौँ झैं लाग्यो । तर, भाग्न सकिनँ, हेरेर बसेँ ।

जहाज डोमेस्टिक एभियसनतर्फ रहेको सेनाको ब्यारेकमाथिबाट आउँदै थियो । जहाजले ब्यारेकको मूलगेटनजिकै रोपिएको धुपीको रूख झन्डै छोयो । बत्तिँदै डोमेस्टिक एभियसनको छानातर्फ अघि बढ्यो । छाना नै छोला–छोलाझैँ देखियो । तर, छोएन । जहाज अघि बढ्यो ।

छानाभन्दा ठीक अघि बत्तीका ठूला–ठूला पोल छन् । जहाज त्यही पोलमा ठोकिएलाझैँ भयोे । तर, पोललाई छोएन । जहाज रनवेतर्फ अघि बढ्यो । रनवेमा ल्यान्ड गर्नासाथ ठूलो आवाज निस्कियो । त्यहीवेला कालो धुवाँ पनि सँगै आयो । एकछिनपछि आगो बलेको देखियो, जहाज अघि बढ्यो, तर धुवाँ र आगो आउन रोकिएन । त्यसपछि जहाज दक्षिण–पूर्वतर्फ हुत्तिँदै गयो । केही पर पुगेर रोकिएको देखियो ।

जहाजबाट अब अवाज आउन बन्द भयो । तर, धुवाँको मुस्लो देखियो । केहीबेर त धुवाँको मुस्लोले आकाश नै ढाक्यो । करिब २० मिनेटसम्म आकाश धुवाँले ढाकेको थियो ।

नेपालमा भएका अन्तर्राष्ट्रिय हवाई दुर्घटना
कालिंगा एयरः २५ फागुन ०११ मा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हवाई दुर्घटना भएको थियो । कालिंगा एयरलाइन्सको डिसी–३ विमान बाराको सिमरामा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको थियो । दुर्घटनामा परेकामध्ये एकजनाको भने जीवितै उद्धार गरिएको थियो।

इन्डियन एयरलाइन्सः २ जेठ ०१३ मा इन्डियन एयरलाइन्सको डिसी–३ विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेकामध्ये १९ जनाको भने जीवितै उद्धार गरिएको थियो ।

इन्डियन एयरलाइन्सः इन्डियन एयरलाइन्सको डिसी–३ दुर्घटना भएको दुई वर्षपछि नेपालमा फेरि अर्को विमान दुर्घटनामा प¥यो । ११ चैत ०१४ मा इन्डियन एयरलाइन्सकै डिसी–३ मोडलको विमान दुर्घटना हुँदा २० जनाको ज्यान गयो । पट्नेभञ्ज्याङमा भएको दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो ।

थाई एयरलाइन्सः १६ साउन २०४९ मा नुवाकोटको घ्याङ्गफेदीमा थाई एयरलाइन्सको एयरबस–३१० दुर्घटना हुँदा एक सय १३ जनाले ज्यान गुमाए । उक्त दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो ।

पाकिस्तान एयरलाइन्सः नेपालमा थाई एयरलाइन्सको जहाज दुर्घटनामा परेकै वर्ष अर्को ठूलो दुर्घटना भएको थियो । १२ असोज ०४९ मा पाकिस्तान एयरलाइन्सको एयरबस–३१० विमान दुर्घटना हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भट्टेडाँडामा भएको उक्त दुर्घटना नेपालमा हालसम्म भएकामध्ये सबैभन्दा ठूलो हवाई दुर्घटना हो।

लुप्थान्सा एयरलाइन्सः काठमाडौंकै भस्मेसुर डाँडामा भएको लुप्थान्सा एयरलाइन्सको बी–७२७ ९२००० विमान दुर्घटनामा हुँदा पाँचजनाको ज्यान गएको थियो । २३ असार ०५६ मा भएको दुर्घटनामा परी विमानमा सवार सबैको ज्यान गएको थियो।

टर्किस एयरलाइन्सः नेपालमा २० फागुन ०७१ मा टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको टर्किसको एयरबस ३३०–३०० विमान दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

बंगलादेशको आश्वासन
बंगलादेशको नागरिक उड्डयन प्राधिकरणले दुर्घटना जाँचका क्रममा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। उक्त मुलुकको दुर्घटना जाँच ब्युरोले आफ्नो मुलुकको जहाज दुर्घटनापछि कारण पत्ता लगाउन सबै प्रकारको सहयोगको वचन दिएको महानिर्देशक गौतमले जानकारी दिए ।

२ घन्टा विमानस्थल अवरुद्ध
जहाज दुर्घटनापछि सोमबार करिब दुई घन्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो । यसबीचमा नेपाली सेना, नेपाल प्रहरी तथा विमानस्थलस्थित उद्धार टोली उद्धारमा खटिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव लोकदर्शन रेग्मीसहित उच्च सरकारी अधिकारी दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए ।

छानबिन गर्न समिति गठन
सरकारले युएस बंगला एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा आयोग गठन गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगमा प्रमुख सेनानी डा.राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनील प्रधान, उद्धवप्रसाद सुवेदी सदस्य छन् भने सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्यसचिव तोकिएको छ । आयोगलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

किन बचाउन सकिएन धेरै यात्रु?
विमानस्थलभित्रै भएको दुर्घटनामा पनि धेरै यात्रुले ज्यान गुमाए । सामान्यतया विमानस्थलभित्र आकस्मिक अवस्थामा उद्धारका लागि सबै उपकरण र जनशक्ति तयारी अवस्थामा हुन्छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालकले इमर्जेन्सी घोषणा नगरेका कारण ‘ग्राउन्ड’मा रहेका दमकल र एम्बुलेन्सलाई तत्काल परिचालन गर्न सकिएन । जहाज दुर्घटनास्थलनजिकै नेपाली सेनाको उद्धार टोली रहेकाले दमकलले दुर्घटनालगत्तै आगो निभाउन थाले पनि एम्बुलेन्स भने करिब १० मिनेटपछि पुगेका थिए ।

जसले युएस बंगला ल्याए, उनैको ज्यान गयो
दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) थियो ।

तर, नेपालमा युएस–बंगला भिœयाउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनुप¥यो । ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने।

प्रकाशित २९ फागुन २०७४, मंगलबार | 2018-03-13 07:04:34
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट उडेकाे एयर एशियाकाे जहाज

    २१ करोड नतिराई एयर एशिया भगाउने को हो?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीलाई एयर एशिया एक्सले काठमाडौं उडान रोक्दैछ भन्ने कुरा असोज अगाडि नै थाहा भइसकेको थियो।

  • प्रधानमन्त्रीको त्यो निर्देशन जसले एक निर्दाेष विद्यार्थीको भविष्य चौपट बनायो

    मंगलबार बिहान ९ बजे पूर्व एआईजी देवेन्द्र सुवेदीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टरार्इको ट्विटमा एउटा रिप्लाई दिए।

  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी

    मोदीले गढ गुमाउँदाको क्षति कति ठूलो?

    सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)लाई ऐतिहासिक बहुमत दिलाउन राजस्थान, छत्तिसगढ र मध्यप्रदेशको भूमिका महत्वपूर्ण थियो।

  • निगमकाे वाइडबडी अन्नपूर्ण विमान

    वाइडबडी खरिदमा कानुनका १४ वटा दफा उल्लंघन

    नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन भएको देखिएको छ।