मौन अवधिमा ‘मत किन्ने’चलखेल


Infocus



कागेश्वरी मनोहरा नगरपालिकामा चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै एमालेका नेता, कार्यकर्ता (फाइल तस्बिर)
कागेश्वरी मनोहरा नगरपालिकामा चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै एमालेका नेता, कार्यकर्ता (फाइल तस्बिर)
रासस

कहिल्यै कसैले वास्ता नगर्ने जनकपुर–३ को दलित चमार टोलमा मंगलबार दिउँसो केही ‘नयाँ अनुहार’ देखिए । त्यहाँका एक बासिन्दाले भने, ‘भोटको कुरा गर्न आएका ।’

NIC ASIA

निर्वाचन आयोगले तोकेको मौन अवधिमा कस्तो भोटको कुरा ? स्थानीयवासीले मतदान गर्न दलहरूसँग प्रस्ताव राखेछन्– निर्माणाधीन भगवतीको गहवर (मन्दिर) को पर्खाल र छत ढलाइ गर्न जसले ५ लाख रुपैयाँ दिन्छ, यसपालि उसैलाई भोट दिने।यो खबर आजको कान्तिपुर दैनिकमा छ। यसमा राजनीतिक दलका ‘बिचौलिया’ आई बढाबढ गर्दा रहेछन्। ‘पाँच लाख दिने अझै कोही निस्किएको छैन’, ६५ वर्षीय पञ्चलाल महराले भने, ‘हामीलाई व्यक्तिगत रूपमा केही चाहिँदैन। मन्दिरको पर्खाल जसले बनाइदिन्छ, भोट उसैले पाउँछ।’

तर, उनीहरू आश्वासनमा यसपालि भर नपर्ने भएका छन्। गत स्थानीय तह निर्वाचनमा एउटा राजनीतिक दलका वडा अध्यक्ष पदका उम्मेदवारले उक्त मन्दिर निर्माण गर्न ५ क्विन्टल फलामे डन्डी झारिदिए। उनी हारे। पछि आएर डन्डी फिर्ता लगे। ‘उनी (रड दिएका उम्मेदवार) आफ्नै भाग्यले हारे। हामीले त भोट दिएकै हो। तर भगवती गहवर बनाउन ल्याएको रड उठाएर लगे। तिमीहरूले भोटै दिएनौ भन्दै रिसाउँदै गए।’ चमार टोलमा ३५ परिवारका एक सयभन्दा बढी मतदाता छन्। तिनले अगुवाको इसारामा प्रायः एउटै उम्मेदवारलाई भोट दिने गर्छन्।

मधेसका ग्रामीण बस्ती, पिछडिएका समुदाय र विपन्न वर्गका मत प्रभावित गर्न मौन अवधि बढी प्रयोग हुने गरेको छ । दल र उम्मेदवारहरूले विश्वासिलो बिचौलिया प्रयोग गरेर पैसाको चलखेलसमेत गर्ने गरेका छन् । धनुषाकै नगराइनका एक दलितले भने, ‘पैसा दिन्छौं, अरूलाई भोट दिन पाउँदैनौं भन्दै दुई–तीन जना आइसके । उनीहरू त्यसका लागि कागज गराउने, घरको थाम वा बालबच्चा छोएर कसम खुवाउने कुरा पनि गर्छन् ।’ उनका अनुसार पहिला पनि खर्च गर्दा हार्नेले भोट दिएकामा विश्वास नगर्दै आएर धम्क्याउने गरेका थिए । ‘त्यही भएर होला यसपालि कसम खुवाउँदै हिँडेका छन् ।’

प्रदेश २ का जिल्लाहरूमा मत तलमाथि पार्ने सबैभन्दा गतिलो मौका नै मौन अवधि बन्ने गरेको छ। करोड रुपैयाँभन्दा माथि खर्च गरिरहेका उम्मेदवारहरूले गाउँमा सानातिना विकासका आश्वासन दिने, सानोतिनो काम गरिदिइहाल्ने, पैसै थमाउनेजस्ता हथकन्डा उपयोग गरिरहेका छन्। त्यसैले जनकपुरका बुद्धिजीवीहरूले यसलाई मौन अवधि होइन, ‘मनी अवधि’ भन्ने टिप्पणी गर्न थालेका छन्। मधेसमा यसलाई ‘कत्ल कि रात’ पनि भनिन्छ।

जनकपुर १ मुसहरी टोलवासीले पनि सार्वजनिक दलान निर्माण गरिदिनेलाई सिंगै टोलको एकमुष्ट भोट दिने सार्वजनिक घोषणा गरेका छन्। उक्त टोलका प्रदीप मुसहर भन्छन्, ‘दलान निर्माण गरिदिने उम्मेदवार आउँछन् तर जग्गासमेत किनिदिन कोही तयार भइसकेको छैन। हामीलाई दुवै चाहिएको छ।’ त्यसका लागि २० लाख रुपैयाँ लाग्ने उनीहरूको अनुमान छ। मुसहरी टोलमा मुसहर, डोम, हलखोर, तत्मालगायत दलित तथा गरिबहरूको बसोबास छ। दलानको अभावमा बिहेबारी तथा पूजापाठजस्ता सार्वजनिक पर्व उत्सव मनाउन गाह्रो परिरहेको उनले बताए।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन। उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि पाइँदैन। तर, मौन अवधिमै अधिकांश चुनावी परिणाम उलटफेर हुने गरेको छ।

प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न बस्तीका मतलाई खरिद गर्ने यही मौन अवधिमा हो। अन्तिम अवस्थामा पनि नतिजा उलटफेर हुन्छ मधेसमा। जितिरहेको भनिएको उम्मेदावरलाई पछि पार्दै अर्को उम्मेदवारले बाजी मार्ने गरेका छन्। यो खेल चुनावको अघिल्लो रात हुन्छ, जसलाई कत्ल कि रात पनि भनिन्छ।

कार्यकर्ता जाग्राम
समुदायका अगुवाहरूले आफ्नो पकड क्षेत्रका अधिकांश मत जतिखेर पनि आफूले चाहेको उम्मेदवारको पक्षमा खसालिदिन सक्छन्। त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनीहरूलाई निश्चित रकम दिन्छन्। अगुवाले कति मत प्रभावित पार्न सक्छन्, त्यसैका आधारमा मतदानको अघिल्लो एक/दुई दिनमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारहरूले। ‘कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा यकिन गरेर यति मत खसाल्न लगाउँछु भनेर लिखित रूपमै सकारेका हुन्छन्,’ एक राजनीतिकर्मी भन्छन्, ‘रकम लिए जति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलन पनि छ।’

गत असोजमा भएको स्थानीय तहको निर्वाचनको मतगणना हुने क्रममा कतिपय उम्मेदवारले वाचा गरेबमोजिम मतपेटिकामा मत नपाएपछि तत्काल वडा/टोलका ‘भोटका ठेकेदार’ लाई फोन गरेर झपारेका थिए। पैसा लिएर कबोल गरिएबमोजिम मत दिलाउन नसक्दा भोटका ठेकेदार टवाइलेटमा थुनिएका उदाहरण पनि छन् वीरगन्जमा। आफूले नजित्ने देखेपछि प्रतिस्पर्धामा रहेको अर्को उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केही रकम थप लिएर मौन अवधिमा सघाउने चलन पनि छ।

प्रकाशित २० मंसिर २०७४, बुधबार | 2017-12-06 08:27:03
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...