पिपलको रुखले जोगायो ११ को ज्यान

माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन। अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो।

एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन्। २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल परेको खबर आजको अन्नपूर्ण पोष्टमा अनिल ढकाले लेखेका छन्।

घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो। पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन्। त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए।

८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन्। चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए। समाका दुई छोरा दुई छोरी छन्। ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, सोमाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो।’

बाढी पसेपछि उनको बस्ने बास छैन। माइत नजिक बसेकी सोमाका श्रीमान् अपांग छन्। ‘श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रहेछ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो ।’

प्रकाशित 2017-08-13 08:51:31