सर्वोच्चको ढोकामा दलका आँखा

लोकमान प्रकरणको टुङ्गो सदनबाट कि अदालतबाट?



अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा प्रमुख दलहरु मौन देखिएका छन्। मंसिर १३ देखि संसद अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले समेत यसमा चासो नदिएपछि कार्की प्रकरणमा सर्वोच्च अदालतको निर्णय नै दलहरुले पर्खन खोजेको प्रष्ट भएको छ।

प्रमुख दल नेपाली कांग्रेसले संविधान संशोधन र लोकमानविरुद्धको महाअभियोगलाई प्याकेजमै हल गर्ने निश्कर्षका साथ संसदले महाअभियोग समितिमा प्रस्ताव नपठाउँदासम्म पर्खने नीति लिएको छ। तर महाअभियोगलाई तत्काल अगाडि बढाउनुपर्ने माग गर्दै आएको एमालेले नै संसद अवरुद्ध पारेपछि भने दलहरुको अभिष्ट सर्वोच्चले नै यो विषयलाई टुङ्गोमा पुर्याइदिओस् भन्ने देखियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका विचारमा लामो समय संसद अवरोध पार्ने एमालेको नियतभित्र लोकामान प्रकरणमा सर्वोच्चको निर्णय आओस भन्ने मनसाय अन्तरनिहित रहेको छ। ‘पछिल्लो समयमा महाअभियोगका बारेमा प्रमुख दलहरु मौन रहनुको कारण अदालतले नै यसको छिनोफानो गरिदिओस भन्ने नै देखिन्छ’ उनले भने।

लोकमानविरुद्ध कात्तिक ३ गते महाभियोग संसदमा दर्ता भएको थियो। त्यस यताका दुई महिनामा महाअभियोगको खास अघि बढ्न सकेको छैन।

यता, लोकमानले सर्वोच्च अदालतमा गएर आफैले तारिक लिनुपर्ने अवस्था हटेको छ। सर्वोच्च अदालत परिसरमा नै नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी)को भातृ संगठन अखिल क्रान्तिकारीका प्रकाश शाही र चन्द्रबहादुर बुढाले कार्कीलाई लकालोमोसो दलेपछि कार्कीले वारेस राख्न पाउने भएका छन्।

यसअघि सर्वोच्चले लोकमानलाई अदालतमा आफै उपस्थित हुन आदेश दिएको थियो।

कार्कीको योग्यतासम्वन्धी मुद्दाको सुनुवाइ लम्बिएको छ। अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा बिहीबारबाट न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिंहको पूर्ण इजलासमा बहस सुरु भएको थियो। शुक्रबार कार्कीको तर्फबाट अधिवक्ताद्वय माधव बस्नेत र बालकृष्ण न्यौपानेले बहस गरे। अर्को पेशी पुस २१ गतेका लागि तोकिएको छ। अरु कार्कीका वकिलहरुले बहस गर्न बाँकी नै छ।

अब कार्की अदालतमा उपस्थित हुनु पर्दैन, बारेसनामा लिएर अरुले नै तारेख बुझ्न सक्नेछन्। कार्कीविरुद्ध अदालतमा विचाराधिन मुद्दाको सुनुवाई बिहिबारबाट भएको थियो। विभिन्न ७ वटा मुद्दामा लोकमानविरुद्ध अदालतमा सुनवाई हुँदैछन्।

२०७० वैशाखमा उच्चस्तरीय राजनीतिक संयन्त्रको सिफारिसमा कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गरिएको थियो। लोकमानको नियुक्ति रोकीपाऊँ भन्दै र नियुक्तिपछि यसलाई बदर गरिपाऊँ भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए।

लोकमानसँग संविधानले तोकेका योग्यता नभएको, जनआन्दोलनपछि बनेको रायमाझी आयोगले दोषी ठहर गरेको, त्यही ठहरलाई टेकेर सरकारले उनलाई मुख्यसचिव पदबाट हटाउने र भविष्यमा सरकारी सेवामा अयोग्य हुने निर्णय गरेकोले उनको नियुक्ति गैरकानुनी भएको अर्यालको जिकिर छ।

तर, २०७१ असोजमा सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलाशले उनको रिट खारेज हुने फैसला गरेको थियो। त्यही फैसला पुनरावलोकन गरिपाउन अर्याल फेरि सर्वोच्च गए।

लोकमानको पक्षबाट अधिवक्ताहरु कोमलप्रसाद घिमिरे, बाबुराम कुँवर, डा. भीमाजुर्न आर्चाय र माधव बस्नेतले बहस गरेका छन्। कार्कीको पक्षमा १०–११ जना अधिवक्ताहरु बहसमा सहभागी हुने अभिवक्ता केशव बडालले जानकारी दिए।

 

प्रकाशित १२ पुस २०७३, मंगलबार | 2016-12-27 15:36:15

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • नाैतले दरबार पुनर्निर्माण हुँदै

    हनुमानढोकामा अमेरिका, चीन र जापान

    भूकम्पले क्षति पुर्याएको हनुमानढोका दरबार क्षेत्र अमेरिका, चीन र जापानले पुनर्निर्माण गरिदिने भएका छन्। दरबार क्षेत्रमा रहेका सानाठूला सम्पदा यी...

  • दिपेन्द्रसिंह एेरी

    ‘समर्थकको मतभन्दा मन जित्ने प्रयासमा छु’

    विश्व क्रिकेट लिग अन्तर्गत गत फागुनमा टियु क्रिकेट मैदानमा भएको केन्या विरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेपछि प्रतिक्रिया दिँदै...

  • १९३७ मा युएसएस इन्डियानपोलिस

    दोस्रो विश्वयुद्धमा जापानले डुबाइदिएको अमेरिकी जहाज ७२ वर्षपछि भेटियो

    दोस्रो विश्वयुद्धको अन्त्यतिर जापानले डुबाइदिएको एक अमेरिकी जहाज ७२ वर्षपछि फेला परेको छ। युएसएस इन्डियानापोलिस नामक सो जहाज हिरोसिमामा खसाइएको...

  • ‘प्रशंसैप्रशंसा पाउनलाई म धार्मिक गुरु होइन’

    नेपाली हास्यव्यंग्य क्षेत्रमा जमेको नाम हो– दिपकराज गिरी । हास्य सिरियल हुँदै अहिले फिल्मसम्म उनी जमिरहेका छन् । नेपालखबरले सोमबार बिहान–बिहानै...