‘मेरो सरकार’ बारे बालुवाटारमा रसिलो प्रश्न, प्रम ओलीको चोटिलो जवाफ



केपी शर्मा ओली
केपी शर्मा ओली

सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त सदनमा पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग गरिरहिन्। संसदमा उनको सम्बोधन जारी रहँदा राष्ट्रपतिमा राजतन्त्रकालिन ‘ह्याङ्गओभर’ अझै नगएको भन्दै राष्ट्रपतिको सम्बोधनमा प्रयोग भएका यी दुई शब्दलाई लिएर राष्ट्रपतिको तीब्र आलोचना सुरु भयो।

अर्काे कुनै नयाँ तथा ‘एक्सक्लुसिभ’ विशेषले ‘ओभरल्याप’ नगरुञ्जेल अझै समय ‘मेरो सरकार’ शब्दावलीलाई आधार बनाउँदै सञ्जाल प्रयोगकर्ताहरुले राष्ट्रपतिको आलोचना गरिरहनेछन्। यो आलोचनालाई प्रतिपक्षी दलका नेता–कार्यकर्ताले पनि सम्भवत मलजल गर्नेछन्। अनि सत्तारुढ दलका कार्यकता मन अमिलो बनाएर यो आलोचना चुपचाप सुनिरहनेछन्।

यो विषयले शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रवेश पायो। राष्ट्रपति भण्डारीमार्फत् सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमबारे अन्तरक्रिया गर्न चाहेपछि राजधानीमा रहेका सञ्चारकर्मीहरु बालुवाटार निम्त्याइएका थिए। जहाँ ‘ऋषि धमला, त्यहाँ प्रश्न’ भन्ने त उखान नै भइसक्यो। प्रम निवास बालुवाटारको उत्तरतर्फ रहेको सभाहलमा आयोजित प्रधानमन्त्री–सञ्चारकर्मीहरुबीचको अन्तरक्रियामा धमलाले नै राष्ट्रपतिले भनेको ‘मेरो सरकार’ विषयमा उठाए।

नीति तथा कार्यक्रमको विशेषताबारे आठ मिनेट बोलिसकेपछि जब अन्तरक्रियाका लागि ओलीले ‘फलोर ओपन’ गरे, यसअघि झैँ ‘फ्लोर’ बाट पहिलो प्रश्न सोध्न धमला नै अघि सरे। नीति तथा कार्यक्रमको थोरै प्रसंशा र ‘जनता जान्न चाहन्छन्’ भन्ने आफै प्रतिलिपी अधिकार सहितको थेगो प्रयोग गर्दै उनले सोधेः

सम्माननीय प्रधानमन्त्रीज्यू! २ सय १८ बुँदा छन् नीति तथा कार्यक्रममा। (यो) एकदम राम्रो छ। तर, यसमा केही शब्दहरु छन्। विकास र सम्बृद्धिको तपाईंको यात्रा सफल होस्। यो नीति तथा कार्यक्रम कार्यान्वयन हुनुपर्छ। किनभने विगतमा पनि नीति तथा कार्यक्रम आएको छ। तर, (कार्यान्वयन पक्ष) अत्यन्त फितलो छ। सुस्त गतिमा कार्यान्वयन भएको छ। तपाईं दुई तिहाई सहितको शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ। तर, यो नीति तथा कार्यक्रमको कार्यान्वयनको आधार के छ? जनता जान्न चाहन्छन्।

दोस्रो कुरो, यो नेपाल सरकार हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको कार्यकारी प्रमुख तपाईं हुनुहुन्छ। प्रधानमन्त्री तपाईं हो। तर, राष्ट्रपतिले हिजो सम्बोधन गरिरहँदा खेरि ‘मेरो सरकार’ भन्नुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल (अलिक चर्काे स्वरमा), नेपालको संविधान अनुसार सार्वभौमसत्ता जनतामा निहित रहेको अवस्थामा साँच्चिकै नेपाल राष्ट्रपतीय सरकारतर्फ उन्मुख भएको हो कि प्रधानमन्त्रीकै नेतृत्वमा ओलीको सरकार? प्रधानमन्त्रीज्यू यस विषयमा के भन्नुहुन्छ? जनता जान्न चाहन्छन्।

पत्रकारका लागि छुट्ट्याइएको दीर्घाको सबैभन्दा अघिल्लो भागमा बसेर धमलाले सोधेका प्रश्नहरु ओलीले निकै चाख मानेर सुने। मुसुमुसु हाँसेपनि। ओलीले थप प्रश्नको अपेक्षा गरेजस्तो देखियो। त्यसपछि कार्यक्रम सञ्चालक प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल पोडियममा पुगे। र, ओलीतिर फर्कंदै भने, ‘दुईचार वटा प्रश्नहरु लिएर ‘एन्सर’ (उत्तर दिन) सजिलो हुन्छ कि?’

कार्यक्रममा क्रियाशील बरिष्ठ पत्रकार र सम्पादकहरुको बाक्लै उपस्थिति थियो। तर, उनीहरुले प्रम ओलीसँग प्रश्न र अन्तरक्रियाका लागि खासै रुचि नदेखाएजस्तो देखिन्थ्यो। कार्यक्रम सुरु हुनुभन्दा १५ मिनेट अगावै पुगेर बरिष्ठ सञ्चारकर्मीहरु ओलीसँग कुनै प्रश्न सोध्नेमा ‘मुड’ मा नरहेको बुझिसकेकाले होला, धमलाले प्रम ओलीलाई सहज पारिदिए, ‘त्यसैबाट (आफूले सोधेका प्रश्नको उत्तर) बाट सुरु गर्दा होला। धेरै (प्रधानमन्त्रीबाट उत्तर) आएपछि फेरि प्रतिप्रश्नहरु आउँछन्।’

मञ्चका राखिएको ‘क्लासिक डिजाइन’ को कुर्सीमा रहेका ओलीले जिज्ञाशा राखे, ‘त्यसै गरौँ?’

माइक अझै धमलाकै हातमा थियो। धमलाले उत्तर दिए, ‘हजुर!’

त्यसपछि ओली धमलाको प्रश्नको उत्तर दिन थाले। पत्रकारहरुले चाहिँ सुरुमै ‘मेरो सरकार’ भन्ने राष्ट्रपतिको सम्बोधनको जवाफको अपेक्षा गरेका थिए। तर, ओलीले सुरुमा नीति तथा कार्यक्रमको ‘कन्टेन्ट’ मा रहेका विशेषताहरुको विश्लेषण गर्न थाले। उनले भनेः

जहाँ ऋषि (धमला) हुन्छन्, त्यहाँ प्रश्न जन्मन्छन् र ‘जनता जान्न चाहन्छन्।’ सम्माननीय राष्ट्रपतिज्यूको सम्बोधनमार्फत् प्रस्तुत नीति तथा कार्यक्रममा खासै प्रश्न उठाउने कुरा केही छैन। र, उठाइएको पनि छैन। ऋषिजीले पनि भन्नुभयो, ‘कार्यक्रम त ठीकै छ, राम्रो छ। तर, कहिलेकाहीँ गति धीमा छ।’

नीति कार्यक्रममार्फत् कार्यान्वयनले वान्छित गति लिन नसकेको कुरालाई स्वीकार गरिएको छ। हो, वान्छित गति आएको छैन। म असन्तुष्ट त छैन। तर, (कार्यान्वयनले) पर्याप्त गति लिन सकेको छैन। हामीले हाम्रो गति बढाउनु जरुरी छ। कार्यन्वयन गर्नु जरुरी छ।

तरपनि उत्साहजनक कुरा चाहिँ राजश्व असुली बढेको छ। मानिस टाढा गएपनि ‘रेमिन्टेस’ बढेको छ। अनियमितता रोकिएका छन्। कृषि र अन्य क्षेत्रमा पनि आर्थिक बृद्धिदर उत्साहजनक छ। सात प्रतिसत आर्थिक बृद्धिदर छ। प्रत्येक बर्ष १५ प्रतिसत भन्दा बढी खाद्य बृद्धिदर नभइरहेको स्थितिमा यस पटक २७ प्रतिसतले खाद्य बृद्धिदर भएको छ।

हामीले हाम्रा विकासका प्रयासहरुमा प्रविधिको प्रयोग किसानले गर्ने अभ्यासमा गर्न थालेका छौँ। हामी हाम्रा विकासका प्रयासहरुमा तीब्रता र उच्च बृद्धिदर दिने प्रयास गर्न चाहन्छौँ। नीति तथा कार्यक्रममा पनि केही संकेत गरिएको छ।

एउटा अभ्यास के देखियो भने, जसरी पनि विरोध गर्नुपर्छ भन्ने। सत्य नबोल्ने बक्ताको रुपमा स्थापित हुन खोजियो। जनतालाई भ्रममा पार्न खोज्ने, अथवा ‘आफ्नु त विरोध गर्ने नै काम हो’ भन्ने गर्न थालियो। त्यो वास्तविक अर्थमा सही काम होइन। हामीले सहीलाई सही, गलतलाई गलत भन्नुपर्छ। गलत काम भएका छन् भने ‘गलत होइन’ हामी भन्दैनौँ। जे कुरामा पनि विरोधको जुन परिपाटी छ, त्यो गलत हो। राष्ट्रिय हितका प्रश्नमा, सार्वभौमिकता, भौगोलिक अखण्डताका सन्दर्भमा राष्ट्रिय चाहना र त्यसलाई परिपूर्ति गर्ने सन्दर्भमा आएका नीतिहरुको सन्दर्भमा त त्यसको पक्षमा पो हुनुपर्छ! तर, त्यस्ता कुराहरुको पनि विरोध, यो उचित कुरा होइन।

कुनै नीति वा कुनै गलत बाटो सरकारले लिएको भए सरकार त्यसमा बहस गर्न तयार छ। सच्याउन पनि तयार हुन्छ सरकार। किनभने, सरकारसँग देश विकासबाहेक अर्काे कुनै तर्कवाजी छैन। कुनै गलत कुरालाई लिएर अघि बढ्ने ईच्छा छैन। सरकार देश विकासको नेतृत्व लिन चाहन्छ। देश विकासका निम्ति प्रभावकारी नीति र व्यवहार, ती नीति कार्यान्वयन गर्ने कार्ययोजना कसरी अगाडि सार्न सकिन्छ, सरकार त्यसतर्फ केन्द्रित छ। हामीलाई सरकारमा हुनु, रहनुमा होइन, देश बनाउनुसँग सरोकार छ। देश बनाउने कुरासँग मतलव छ। त्यसकारण यसले छलछामपूर्ण कुराहरु गर्दैन। एकदमै स्पष्ट कुराहरु गर्छ।

तसर्थ, (नीति तथा कार्यक्रममा) ‘परम्पराको निरन्तरता भएको, कुनै (नयाँ) तत्व नभएको, बेकारको’ भन्ने टिप्पणीको म कुनै अर्थ देख्दिनँ। कुनै आलोचनाको खण्डन गरेर हल्काफुल्का टिप्पणी गर्न चाहन्नँ। म चाहन्छु, सार्थक बहस होस्। हामी नयाँ प्रणालीमा छौँ। र, हाम्रा अगाडि राष्ट्र निर्माणको अविभारा छ। राष्ट्र निर्माणको अविभारा बोकेर अघि बढ्दैछौँ भने यस्तो अवस्थामा विकासका निम्ति, सुशासनका निम्ति, अग्रगमनका निम्ति, सकरात्मक पक्षहरु निर्माण गर्नका निम्ति सार्थक बहसको आवस्यकता छ। त्यस कारण साथीहरुलाई, सञ्चारजगतका मित्रहरुलाई आमन्त्रण गरेको पनि सार्थक बहसका निम्ति हो।

सरकारको नीति तथा कार्यक्रमको बचाउ गरिसकेपछि राष्ट्रपतिको सम्बोधनमा प्रयोग भएको ‘मेरो सरकार’ भन्ने शब्दावली र यसै सन्दर्भमा केन्द्रित रहेर सोधिएको धमलाको प्रश्नको प्रम ओलीले जवाफ दिन सुरु गरेः

अब अर्काे एउटा प्रश्न, राष्ट्रपतिले मेरो सरकार भन्नुभो! (एकछिनको मौनता) म ‘मेरो देश’ भन्छु। मैले मेरो देश भन्दा ‘तपाईंहरुको (देश) होइन भनेको हो र? अरुको होइन भनेको हो र? मेरो देश... मेरो राष्ट्र...मेरो राष्ट्रिय गान। मैले मात्र बनाएको हो र देश? मेरो मात्र हो र राष्ट्रिय गान?

‘मेरो’ भन्ने कुरा बृहत अर्थमा हो, सामुहिक अर्थमा बुझ्ने प्रयास गर्दा फरक पर्दैन। राष्ट्रपति देशको–राष्ट्रको प्रमुख हो। म व्यक्तिको कुरा गरिराख्या’ छैन, संस्थाको कुरा गरिराख्या’ छु। जुन सरकार हुन्छ, राष्ट्रको प्रमुखको हैसियतले त्यो त्यसैको सरकार हुन्छ। राष्ट्रपतिले नीति तथा कार्यक्रममार्फत् ‘आफ्नो सरकार’ भनिरहँदा गरिमामय संस्थाले ‘मेरो सरकारको नीति यो छ, कार्यक्रम यो छ’ भनेर भनेको हो।

यो सरकारको कार्यक्रम हो, त्यो राष्ट्रपतिले भन्छ। यो अन्तर्राष्ट्रिय अभ्यास हो। हाम्रो बौद्धिक जगतले, हाम्रा सञ्चारकर्मी मित्रहरुले यत्रो बर्षदेखि यहीँ छिमेकी भारतमा चलेको अभ्यास थाहा नपाउनु अचम्मको कुरा हो। बौद्धिक जगतले थाहा नपाउनु आश्चर्यको कुरा हो।

अन्तरक्रियामा प्रम ओली

अन्तरक्रियामा प्रम ओली

भारतमा एउटा पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएको छ भने, समयक्रममा जब त्यो सरकार बदलिन्छ, त्यसपछि अर्काे पार्टीको सरकार आएको छ भनेपनि संसदमा सम्बोधन गर्दा राष्ट्रपतिको तर्फबाट ‘माइ गभर्मेन्ट’ (मेरो सरकार) भन्ने गरिन्छ। कम्तिमा यति हेर्ने–बुझ्ने कष्ट त गरिदिनुस्, राजतन्त्र भारतमा पनि त छैन होला!

यस भन्दा अगाडिको (राष्ट्रपतिको) सम्बोधन यस्सो युट्युवमा हेर्नुभयो भने पनि राष्ट्रपतिको कुरा स्पष्ट हुन्छ। यो भन्दा अगाडिको हेर्नुस्, त्यो भन्दा अगाडिको हेर्नुस्। अझै अगाडिको हेर्नुस्। हाम्रोमा त धेरै राष्ट्रपति भएका छैनन्। भारतमा त धेरै राष्टपति भएका छन्, धेरै। उनीहरुले धेरै कुरामा सम्बोधन गरेका छन्। त्यो हेर्नुस्।

‘भारतले केही डेमोक्रेसी बुझैकै छैन, डेमोक्रेसीको अभ्यास गरेकै छैन, त्यहाँ चाहिँ राजतन्त्र छ’ भन्ने ठान्नु गलत हो। यहाँ भर्खर–भर्खर (राजतन्त्र) गएकाले राजतन्त्रको झल्को लागेको हो कि? कतिपय राजनीतिक पार्टीका नेताहरुले राजतन्त्र–राजतन्त्र भनेर कराएर हिँड्नु भएको छ। अहिले राजतन्त्र छ भनेर भ्रम राख्नुपर्ने आवस्यकता छैन।

जननिर्वाचित सरकार हो यो। जुन राष्ट्रपतिले गरिमामय दुबै संसदले पास गरेको कानूनलाई हस्ताक्षर हस्ताक्षर गरेपछि मात्रै कानूनको रुपमा आउँछ। यस्तो विवाद गर्नु हुँदैन कि– दुइटै संसदले पास गरिसकेपछि हस्ताक्षर नगर्दासम्म, लालमोहर नलगाउँदासम्म कानूनको रुपमा नआउने पनि हुन्छ? कानून भन्दा पनि ठूलो राष्ट्रपति? यसलाई राजतन्त्रको झल्को आयो भन्न मिल्दैन।

कुनैपनि सिष्टम दीगो हुन्छ। त्यसको गरिमा हुन्छ। हामीले त्यो थाहा पाउनु वान्छनीय हुन्छ। अहिलेको जमानामा, एक्काइसौँ शताब्दीमा यति साह्रो सञ्चारको सुविधा उपलब्ध भएको ठाउँमा हामीले संसारको कुनैपनि पार्लियामेन्ट हेर्न अब उहीँ जानु पर्दैन, यहीँबाट हेर्न पाइन्छ, ‘लाइभ’ हेर्न सकिन्छ।

मलाई अचम्म लाग्ने– राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा समेत आजको नेपालमा टीकाटिप्पणी हुँदा हामीले आफूलाई नै कुपमण्डुक (कुवाको भ्यागुतो) त बनाइरहेका छैनौँ? कसको सरकार भन्ने त राष्ट्रपतिले? कि निबन्ध पढ्ने? ‘यो सरकारको नीति र कार्यक्रम’ भन्दा नहुने हो भने, अनि के ‘फलानाको सरकार’ भन्नुपर्ने हो राष्ट्रपतिले?

‘मेरो सरकार’ भन्ने हैसियत भएकाले नै राष्ट्रपति पार्लियामेन्टमा आउँछ। पार्लियामेन्टमा आएको, पार्लियामेन्टलाई सम्बोधन गर्ने भनेको अपनत्व भएर हो। सेनाको परमाधिपति राष्ट्रपति हुन्छ। सिष्टमको, व्यवस्थाको, प्रणालीको सर्वप्रमुख हुन्छ– राष्ट्रपति। राष्ट्रको सबैभन्दा माथिल्लो, सबैभन्दा मर्यादित–सम्मानित पोष्टको हुन्छ– राष्ट्रपति। र, अविभावक हुन्छ राष्ट्रपति। संविधानको रक्षा समेतको जिम्मेवारी हुन्छ उसलाई। राष्ट्रपतिको धर्म हुन्छ।

त्यसैले, राष्ट्रपतिले मेरो सरकार भन्नु अत्यन्त सामान्य, अन्तर्राष्ट्रिय अभ्यासलाई अनौठो मान्ने जमानामा हामी हुनु भनेको– हामीले या त हामीले स्थापना गरेको प्रणालीलाई बुझेनौँ।

आफूले स्थापित गरेको प्रणाली, त्यसको गरिमा र राजतन्त्र फालेर ल्याएको गणतन्त्र र गणतन्त्रमा राष्ट्रपति हुन्छ, राष्ट्रपति राष्ट्राध्यक्ष हुन्छ। त्यो राष्ट्रपति नागरिकबाट निर्वाचित हुन्छ। नागरिकबाट निर्वाचित राष्ट्रप्रमुखसँग हामीलाई चित्त नबुझ्या’ हो कि? अथवा हाम्रो मानसिकताले गर्दा नै यस्तो भएको हो?

यसर्थ, म आग्रह गर्न चाहन्छु, साथीहरुले नेपाली समाजलाई सही बहसमा डोर्याउन सञ्चार जगतले नेतृत्व भूमिका खेल्नुपर्छ भन्ने म ठान्छु।

राष्ट्रपतिको प्रतिरक्षा गर्दै ओलीले उपरोक्त जवाफ दिइसकेपछि उनले थप प्रश्नको माग गरे।

सोधे- थप प्रश्न!

ओलीबाट फेरि प्रश्नको माग भएपछि झण्डै आधा दर्जन सञ्चारकर्मीले ओलीसँग प्रश्न सोधे। तिनमा आर्थिक विकास, बैदेशिक रोजगारीमा जाने परिस्थितिको अन्त्य र स्वदेशमै रोजगारीको अवसर सिर्जना, भ्रष्टाचार अन्त्य, सुशासन लगायतका विषय थिए।

तीमध्ये एकजना टेलिभिजन पत्रकारले ओलीसँग सोधेको प्रश्नको थियोः ‘मन्त्रिमण्डल पुनर्गठन हुने चर्चा पनि चलिरहन्छ। पर्यटन मन्त्रालय दुई महिनादेखि मन्त्रीविहीन छ। मन्त्रिमण्डल पुनर्गठन र नयाँ पर्यटनमन्त्री कहिले नियुक्त हुन्छन्?’

तर, ओलीले यो प्रश्नको उत्तर दिएनन्।

‘अन्तरक्रिया’ को अन्तिम दृष्य
अन्तरक्रिया सकिएपछि ओली सभाकक्षको होचो मञ्चबाट तल ओर्ले। मञ्चको भर्याङ जहाँ टुङ्गिन्थ्यो, राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा सहभागी एक ‘चर्चित पत्रकार’ भर्याङ नजिकै ओलीको प्रतीक्षामा थिए।

खासमा हुलमुलमै थिए ओली। त्यो हुल चिर्दै ती पत्रकार ओली नजिक पुगे। नजिक रहेकाहरुको ध्यान त्यतै खिचियो। ती ‘चर्चित पत्रकार’ झन् उत्साहित भए। र, आफ्नो मुख अझै ओली नजिक पुर्याए। र, करिव ती सेकेण्ड केही सुनाउने प्रयास गरे।

कानेखुसी

कानेखुसी

बालुवाटारमा राम्रै पहुँच बनाएका उनले प्रम ओलीसँग हुलमुलमै त्यसरी कुराकानी किन गर्नुपर्यो, कसैले बुझ्न सकेनन्। ओलीले उनलाई केही जवाफ दिएको भने देखिएन।

ती ‘चर्चित पत्रकार’ को कानेखुसीबाट मुक्ति पाएपछि ओली केहीबेर अरु सञ्चारकर्मीहरुसँगको हुलुमुलमै रमाए। र, नजिकै रहेको निवासतर्फ लागे।

प्रकाशित २१ बैशाख २०७६, शनिबार | 2019-05-04 15:05:53
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...