चिनियाँ विज्ञ भन्छन्ः केरुङ–काठमाडौं रेलमार्गमा चीनले अनुदान दिँदैन



प्रोफेसर निउ चिफु (दायाँ) र वाङ दोङहोङ
प्रोफेसर निउ चिफु (दायाँ) र वाङ दोङहोङ
पूर्ण बस्नेत

‘केरुङ–काठमाडौं रेलमार्गबारे अहिले तीन वटा पक्षमा बहस भइरहेको हामीले पाएका छौं– भूराजनीतिक परिवर्तन, वातावरणीय असर र ऋण चंगुल।’

केरुङ–काठमाडौं हिमालय रेलमार्ग निर्माणमा चीनले नेपाललाई आर्थिक अनुदान देला? रेलमार्गको चर्चाको क्रममा अहिले काठमाडौंमा उठ्ने मुख्य प्रश्न हो यो। नेपाल सरकार र धेरै नेपालीसँग यसको स्पष्ट जवाफ छैन। तर अब चिनियाँ विज्ञहरू खुलेर बोल्न थालेका छन्, ‘चीनले प्राविधिक सहयोग बाहेक आर्थिक अनुदान दिँदैन।’ 

प्रधानमन्त्री केपी ओलीले गत असारमा चीन भ्रमणको क्रममा सम्झौता गरेअनुसार केरुङ–काठमाडौं रेलमार्गको पूर्व संभाव्यता अध्ययन प्रतिवेदनसमेत आइसकेको अवस्थामा काठमाडौंमा अहिले यसमा लगानी कसरी जुटाउने भन्ने बहस भइरहेको छ। ३ खर्ब रुपैयाँ भन्दा बढी लगानी हुने प्रारम्भिक अनुमान गरिएको रेलमार्ग निर्माणमा चीनले अनुदान दिनुपर्ने प्रस्ताव नेपाली पक्षले राख्दै आएको छ।

चीनको बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) परियोजना नेपाल हुँदै दक्षिण एसिया (भारत) सम्म विस्तारको संभावना अध्ययन गर्न केही साताअघि काठमाडौं आएका सिचाङ मिन्चु युनिभर्सिटीका प्रोफेसर निउ चिफुले रेलमार्ग निर्माण महत्वपूर्ण परियोजना भएपनि चीनले अनुदान दिन नसक्ने बताएका हुन्।

‘केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा चीन सरकारले अनुदान दिने भन्ने होइन’, प्रोफेसर निउ चिफुले काठमाडौंमा केही साताअघि नेपालखबरसँग भने, ‘यो चीन र नेपालको लगानीमा निर्माण गर्ने भनिएको परियोजना हो।’

मुख्यभूमी चीन, तिब्बत र नेपालको दीर्घकालीन विकासका लागि रेलमार्ग निकै महत्वपूर्ण परियोजना रहेको तर्क गर्दै निउले तर चीनले रेल प्रविधि निर्माणमा मात्र सहयोग दिनसक्ने बताए।

‘चीनले प्रविधिमा अनुदान दिन सक्छ तर नेपालमा जग्गा अधिग्रहण गर्ने र त्यसबापतको पैसा दिने तथा अन्य लगानी नेपाल सरकारले नै गर्नुपर्छ’, उनले थपे।

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र राष्ट्रपति बनेर चीनको नेतृत्वमा आएपछि सी चिनफिङले सन् २०१३ मा नयाँ सिल्क रोडको अवधारणा अगाडि सारे जुन परिमार्जन हुँदै आएर अहिले बीआरआई भनिन थालियो। त्यही समय भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश नीतिमा ‘छिमेक पहिलो’ अवधारणा ल्याए। चीन र भारतले विदेश नीतिका प्राथमिकता परिवर्तन गरेसँगै दक्षिण एसिया मामिला अध्ययनमा चिनियाँ संस्था र प्रोफेसरहरू अलि बढी आकर्षित हुन थाले।

त्यही क्रममा अन्य धेरै संस्थासँगै सान्सी प्रान्तमा रहेको सिचाङ मिन्चु युनिभर्सिटी मातहत २०१५ अप्रिलमा साउथ एसियन इन्स्टिच्युट स्थापना गरियो। निउ चिफु यही संस्थाका प्रोफेसर हुन्। प्रोफेसर निउका अनुसार यो संस्था चीनको शिक्षा मन्त्रालयसँग आवद्ध छ, जसलाई तिब्बत स्वशासित क्षेत्रको सरकार र सिचाङ मिन्चु युनिभर्सिटीले भारत, नेपाल र भुटान मामिलामा अध्ययन गर्ने जिम्मेवारी दिएका छन्।

अध्ययनका हिसावले यी तीनबाहेक अन्य दक्षिण एसियाली देशहरूसँग सम्बन्ध नरहेको बताउँदै प्रोफेसर निउ भन्छन्, ‘साउथ एसियन इन्स्टिच्युट स्थापना भएयताका पाँच वर्षमा हामी नेपाल र भुटानबारे अध्ययन गरिरहेका छौं तर भारतबारे अध्ययन गर्न पाएको छैन। भुटान सम्बन्धी हाम्रो अध्ययनको एउटा पुस्तक हामी छिट्टै प्रकाशित पनि गर्दैछौं।’

त्रिभुवन विश्वविद्यालय अन्तर्गत डा. मृगेन्द्रबहादुर कार्की कार्यकारी निर्देशक रहेको सेन्टर फर नेपाल एण्ड एसियन स्टडिज–सिनाससँग मिलेर बीआरआई परियोजना अन्तर्गत ‘नेपाल कसरी दक्षिण एसिया प्रवेश गर्ने बाटोका रुपमा विकास हुनसक्छ’ भन्ने विषयमा अध्ययन गरिरहेको छ। यही अध्ययनको सिलसिलामा नेपाल आएका हुन् प्रोफेसर निउ चिफु आफ्ना सहकर्मी सान्सी नर्मन युनिभर्सिटीका लेक्चरर वाङ दोङहोङका साथ।

प्रोफेसर निउ चिफु र वाङ दोङहोङसँग काठमाडौंमा गरिएको संक्षिप्त वार्ताः

अनि नेपालको अवस्था कस्तो पाउनु भयो?
निउ चिफुः काठमाडौंमा हामीले केही राजनीतिक नेता र विज्ञहरूसँग भेटवार्ता गर्यौं। हामीले के पायौं भने नेपालमा अहिले राजनीतिक स्थिरता छ। नेपालको विकास तथा नेपाल–चीन सम्बन्धका लागि यो आधारभूत कुरा हो। यो स्थायित्व नेपाल हुँदै दक्षिण एसियासम्म बीआरआई परियोजना विस्तार गर्न अनुकुल अवस्था हो।

नेपालले चीनसँग बीआरआई परियोजनामा सम्झौता गरिसकेको छ, त्यसपछि यो कुन रुपमा विकास भएको छ?
वाङ दोङहोङः बीआरआई परियोजना २०१३ मा सुरु भएको हो। त्यसयताका ६ वर्षलाई हेर्दा समग्रमा उपलब्धी हासिल भएको छ र त्यसमा चीन सन्तुष्ट पनि छ।

नेपाल र चीनबीच बीआरआई परियोजनामा सम्झौता भएपनि त्यसलाई अगाडि बढाउने विषयमा धेरै प्रगती भएको छैन। नेपालमा बीआरआईको कुरा गर्दा चीन, नेपाल र भारत एउटा सहमतीमा उभिने भन्ने एउटा धारणा थियो, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्काल सकारात्मक जवाफ दिएपनि भारतको तर्फबाट काम अगाडि बढेन। त्यसले गर्दा नेपालमा पनि काम अगाडि बढ्न सकेन। नेपालमा बीआरआईको संभावनाबारे राम्रोसँग अध्ययन गरेका विज्ञ नहुनु चीनको पनि कमजोरी हो। अहिले निर्माणको क्षेत्र र अन्य क्षेत्रमा पनि केही काम भइरहेको छ तर परिणाम आउने गरि काम भएको छैन। समग्रमा हेर्दा सन्तोषजनक नै छ तर अपेक्षा र परिणामबीच ठूलो अन्तर छ।

नेपालमा केरुङ–काठमाडौं रेलमार्गको चर्चा हुन थालेको १० वर्ष बढी भैसक्यो। तर त्यसमा अझै पनि प्रगती हुन सकेको छैन। चीनले चाहिँ नेपालमा बीआरआईको महत्वलाई कसरी व्यख्या गरेको छ?
निउ चिफुः बीआरआई परियोजनाको एउटा महत्वपूर्ण पक्ष पूर्वाधार निर्माण हो, तर त्यति मात्रै चाहिँ होइन। बीआरआई अन्तर्गत पूर्वाधार निर्माण हुँदै गर्छ तर नेपाल–चीन सम्बन्धको सबैभन्दा महत्वपूर्ण पक्ष सांस्कृतिक सम्बन्ध हो। पहिलेदेखि नै सामाजिक सांस्कृतिक रुपमा नेपाल चीनको सम्बन्ध गहिरो छ। त्यसैले सांस्कृतिक सम्बन्धलाई हामीले अझै महत्व दिएर अगाडि बढ्नु पर्छ।

नेपाल–चीनबीच त्यस्तो सांस्कृतिक सम्बन्ध के छ?
निउ चिफुः जस्तो शाक्यमुनी बुद्ध नेपालमा जन्मिए। पछि बुद्ध धर्म चीनसम्म विकास भयो र त्यसले चीनको सभ्यतामा ठूलो प्रभाव पार्यो। अहिले चिनियाँ संस्कृति–सभ्यताका तीन वटा महत्वपूर्ण पक्षमध्ये एउटा हो, बुद्धिजम। अर्को कन्फुसियस र ताओइजम। नेपाल–चीन सम्बन्ध बुद्धिजमसँग जोडिएको छ। त्यसैले हामीले नेपाल–चीनबीचको यो सांस्कृतिक सम्बन्धलाई झन् बलियो बनाउनु पर्छ।

तपाईंहरू तिब्बत र दक्षिण एसिया केन्द्रित भएर अनुसन्धान गर्दै हुनुहुन्छ, काठमाडौंको कुरा गर्दा फेरि पनि केरुङ–काठमाडौं रेलमार्गमै धेरैको चासो छ, यो कति संभव परियोजना हो?
निउ चिफुः केरुङ–काठमाडौं रेलमार्गबारे नेपालमा जति चासो छ, त्यत्तिकै चासो तिब्बत र अरु चिनियाँमा पनि छ। मलाई थाहा भएसम्म अहिले चीन–नेपाल रेलमार्गको सिगात्से–केरुङ र केरुङ–काठमाडौं खण्डको पूर्व संभाव्यता अध्ययन भइरहेको छ। केरुङ–काठमाडौं रेलमार्ग बनाउने भनेर दुई देशका सरकारले हस्ताक्षर गरिसकेका छन्। त्यसैले यो निश्चित रुपमा बन्छ तर समय लाग्न सक्छ।

चीनले नेपाललाई अनुदान दिएर केरुङ–काठमाडौं रेलमार्ग बनाउन लागेको हो?
निउ चिफुः केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा चीन सरकारले अनुदान दिने भन्ने होइन। यो चीन र नेपालको लगानीमा निर्माण गर्ने भनिएको परियोजना हो। चीनले प्रविधिमा अनुदान दिन सक्छ तर नेपालमा जग्गा अधिग्रहण गर्ने र त्यसबापतको पैसा दिने तथा अन्य लगानी नेपाल सरकारले नै गर्नुपर्छ। चीनले दिने प्रविधि मात्रै हो। मुख्यभूमी चीन, तिब्बत र नेपालको दीर्घकालीन विकासका लागि यो एउटा निकै महत्वपूर्ण परियोजना हो।

नेपालको क्षमता त्यति धेरै पैसा रेलमार्ग निर्माणमा लगाउन सक्ने छैन, अनि कसरी अगाडि बढ्ला यो परियोजना?  
वाङ दोङहोङः नेपालले विभिन्न तरिका अपनाएर आर्थिक स्रोत जुटाउन सक्छ। जस्तै एआईआईबी, विश्व बैंक, एडीबीसँग सहयोग लिनसक्छ। चीनले पनि आफुले गर्न सक्ने र एआइआईबीबाट दिलाउन सक्ने सहयोग गर्छ।

रेलमार्गका लागि नेपालले ऋण लिँदा चीनबाट नै लिने होला, रेलमार्गबाट त्यत्रो फाइदा पनि नहुने अवस्थामा आफु ऋण चंगुलमा फस्ने गरि नेपाल अगाडि बढ्छ भन्ने लाग्छ?
निउ चिफुः चीनको ऋण चंगुलमा फस्ने भन्ने हल्ला मात्र हो। नेपाल र चीन दुबै विकासशील मुलुक हुन्, चीन संसारकै ठूलो विकासशील मुलुक हो। नेपाल र चीन मैत्री छिमेकी पनि भएकाले यो रेलमार्ग बनाउनु आवश्यक छ। केरुङ–काठमाडौं रेलमाग्रप्रति भारत र पश्चिमा शक्ति असन्तुष्ट हुने त भैहाले। उल्टो यसले उनीहरूलाई डर पनि थपिरहेको छ। तर नेपाल र चीन सरकारले यो रेलमार्गमा हस्ताक्षर गरिसकेको हुनाले यो अवश्य पनि बन्छ। जहाँसम्म लगानीको कुरा छ, यसमा नेपालले विभिन्न उपाय अपनाउनु पर्छ। एआईआईबी सबैभन्दा उत्तम एउटा स्रोत हुनसक्छ, यद्यपी यो बैंकको सिइओ अहिले भारतीय छन्। तर यो बैंकको सबैभन्दा ठूलो लगानीकर्ता चीन भएकाले यसले पक्कै पनि रेलमार्गमा लगानी गर्नसक्छ।

आर्थिक हिसावले हेर्दा छिङ्हाईबाट तिब्बत आउने रेलमार्ग अहिलेसम्म घाटामै गइरहेको परियोजना हो। रेलमार्गबाट तत्कालै नाफा हुन्छ भन्ने होइन, तर दीर्घकालीन महत्वका हिसावले यो आवश्यक छ। केरुङ–काठमाडौं रेलमार्गका लागि कसरी आर्थिक स्रोत जुटाउने भनेर चीन र नेपाल सरकारले छलफल गर्न सक्छन्। विभिन्न स्रोतबाट पैसा जुटाउन सकिन्छ। तर चीनले सबै अनुदानमा बनाइदिने भन्ने होइन।

वाङ दोङहोङः केरुङ–काठमाडौं रेलमार्गबारे अहिले तीन वटा पक्षमा बहस भइरहेको हामीले पाएका छौं– ऋण चंगुल, भूराजनीति र वातावरण। केरुङ–काठमाडौं रेलमार्ग निर्माण हुँदा यो क्षेत्रको भूराजनीति परिवर्तन हुन्छ भनेर केही शक्तिहरू यसलाई बन्न नदिने योजनामा लागेका छन्। हिमालय क्षेत्रमा रेलमार्ग निर्माण गर्दा त्यहाँको वातावरण बिग्रन्छ त्यसैले बनाउनु हुँदैन भन्ने आवाज पनि उठेको छ।

रेलमार्ग बनाउने ठेकेदारहरूले हो, जहाँ सप्लायरको पनि काम हुन्छ। त्यसमा लगानीकर्ताहरू पनि हुन्छन्। ती सबैले आफ्नो फाइदाका लागि बजारमा विभिन्न किसिमका हल्ला फिँजाउँछन्। दुई देशका सरकार त्यस्ता हल्लाको पछि नलागेर आफ्नै निर्णयअनुसार अगाडि बढ्नु पर्छ। त्यसो गर्दा आइपर्ने सम्पूर्ण समस्या र बनाइसकेपछि भविष्यमा आउनसक्ने समस्यालाई पनि ख्याल गरेर अगाडि बढ्नु पर्छ।

आर्थिक स्रोत वा अन्य कारण केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम तत्काल अगाडि बढेन भने सिगात्से–केरुङ खण्डको काम के हुन्छ?
वाङ दोङहोङः चीनको सिमादेखि काठमाडौंसम्मको रेलमार्ग निर्माणको काम अगाडि बढ्न सकेन भने पनि अहिले चीनको १३औं पञ्चवर्षीय योजना भित्रै चीनपट्टीको भागमा रेलमार्ग निर्माण सुरु गर्ने भनेर पूर्व संभाव्यता अध्ययन भइरहेको छ। त्यसैले केरुङ–काठमाडौं ढिलो भएपनि चीनपट्टीको काम चाहिँ अगाडि बढ्छ।

तपाईंहरू भुटान सम्बन्धी पनि अध्ययन गरिरहनु भएको रहेछ। दोक्लाममा भएको सैन्य विवादपछि भुटानबारे तपाईंहरूको अध्ययनले के भन्छ?
निउ चिफुः हामीले भुटानबारे अध्धयन थालेको धेरै लामो समय भएको छैन। सन् १९१९ मा भएको सन्धी अनुसार भुटानको परराष्ट्र र रक्षा मामिलामा भारतले गाइडलाइन गर्ने भन्ने छ। दोक्लामको विवादपछि भुटानमा चुनावबाट सरकार परिवर्तन भएपनि अहिले चीन र भुटानको कुटनीतिक सम्बन्धमा ठूलो उपलब्धी हासिल हुने संभावना छैन। तर विस्तारै चीन भुटान कुटनीतिक सम्बन्ध विकास हुने वा त्यसमा अगाडि बढ्ने क्रम जारी छ।

भुटानको अहिलेको सरकार चाहिँ चीनसँग कुटनीतिक सम्बन्ध विकास गर्न बढी उत्सुक देखिएको तपाईंहरूलाई लाग्छ?
निउ चिफुः २०१७ मा भएको दोक्लाम विवादबाट भुटानले ठूलो पाठ सिकेको छ। भारतले भुटानको नाम लिँदै धेरै काम अगाडि बढायो। भुटान र चीन कुटनीतिक सम्बन्ध स्थापना गर्न उत्सुक छन्। तर कहिले कुटनीतिक समबन्ध स्थापना हुन्छ भनेर समय नै तोक्न चाहिँ सकिँदैन। मन्द गतिमा काम भइरहेको छ।

 

प्रकाशित २४ चैत २०७५, आइतबार | 2019-04-07 22:49:13
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...