आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए


Kshamadevi Group


मोहन कार्की (जीवन्त)
मोहन कार्की (जीवन्त)

२०५६ सालतिर माओवादी जनयुद्ध चरम उत्कर्षमा थियो। केन्द्रीय आधार इलाका निर्माण, जिल्ला सदुरमुकाम आक्रमण लगायतका रणनीति ब्यापक रुपमा बन्दै थिए। माओवादी नेतृत्वसँग अर्को पक्षको वार्ता असम्भव प्राय मानिन्थ्यो।

नागरिक अगुवाहरु दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधरलगायतले माओवादी र गैर माओवादी पक्षबीच वार्ताका लागि पहल गरेपनि त्यसले मूर्तरुप पाउन सकेको थिएन। अर्को पक्षका राजनीतिक व्यक्तिहरुलाई माओवादीहरु भएको ठाउँमा पुग्न सम्भव थिएन।

यस्तोमा माओवादी निकट केही पत्रकारले नेतृत्वहरु बीच सम्पर्कसूत्रको भूमिका निर्वाह गर्थे। सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा, हाल नेपाल पत्रकार महासंघका अध्यक्ष रहेका गोविन्द आचार्य, एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापालगायतले शीर्ष नेताको सूचना एकबाट अर्कोलाई प्रवाह गर्ने जिम्मेवारी पाएका थिए।

त्यतिबेला बास्कोटा दृष्टि, आचार्य जनादेश र थापा बुधबार साप्ताहिकका सम्पादक थिए। तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल र माओवादी ‘सुप्रिमो’ पुष्पकमल दाहाल (प्रचण्ड) बीच सम्पर्कसूत्रको काम आचार्य र थापाले गरेका थिए। प्रचण्ड र नेपालबीच नियमित सम्पर्क हुन थालेको थियो। तर ओलीसँग प्रचण्डको सम्पर्क हुन सकेको थिएन।

ओली त्यतिबेला पार्टीमा अल्पमतमा थिए। संस्थापन नेपाल पक्षभन्दा उनी निकै कमजोर मानिन्थे। तर, पनि पार्टीमा बरिष्ठ नेताका रुपमा उनको भूमिका सधै महत्वपूर्ण रहन्थ्यो। त्यसैले पनि प्रचण्डले ओलीसँग कुरा गर्न चाहेका थिए। यता, नेपालसँग प्रचण्डको सम्पर्क भइरहेको चाल पाएका ओली आफ्नो पनि उनीसँग सम्पर्क होस् भन्ने चाहन्थे।

यस्तोमा बास्कोटा र आचार्यले ओली–प्रचण्डबीच सूचना आदान–प्रदान गर्न भूमिका खेले। विशेषगरी आचार्य प्रचण्डको दूत बनेर नयाँ बानेश्वरको खरिबोट (संसद भवन पछाडि) मा रहेको ओलीनिवास पुग्थे। त्यहाँ प्रचण्डको सूचना सुनाउँथे र ओलीको सूचना प्रचण्डकहाँ पु¥याउँथे।

‘सुरुमा दुईपटक सन्देश आदानप्रदान भयो। सन्देशमा भेट्ने कुरा, पार्टीको रणनीति र एकअर्कालाई सल्लाह–सुझाव हुन्थ्यो’ आचार्य भन्छन्, ‘तर, दुई नेताबीच दोहोर संवाद हुन सकेको थिएन।’

काठमाडौँ उपत्यका इन्चार्ज मोहन वैद्य ‘किरण’ थिए। प्रचण्डले उनीसँग काठमाडौँमा अन्य दलका नेताहरुसँग आफ्नो संवाद गराइदिने एक विश्वासिलो ब्यक्ति खोज्न लगाएका थिए। वैद्यले मोहन कार्की ‘जीवन्त’ सो भूमिकाका लागि उत्तम भएको भन्दै प्रचण्डलाई ब्रिफिङ गरे। प्रचण्डले पनि वैद्यको सिफारिस स्वीकार गरे।

यसरी गोकुल र गोविन्दले ओलीलाई दुईपटक भेटेपछि प्रचण्डले २०५६ को मध्यतिर आफ्नो प्रतिनिधिको रुपमा जीवन्तलाई ओलीकहाँ पठाए।

प्रचण्ड र दरवारबीचमात्र होइन, यसरी ओली–प्रचण्डबीच सम्वादसूत्रको भूमिका निर्वाह गर्ने जिम्मा जीवन्तले पाए।

प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। नेपालमा भर्खरै मोबाइल भित्रिएको थियो। त्यसैले, मोबाइल निकै दुर्लभ मानिन्थ्यो। त्यसको प्रयोग पहुँच थोरै व्यक्तिसँगमात्र थियो। यस्तोमा जीवन्तले मोबाइलबाट ओली–प्रचण्डबीच दोहोरो संवाद गराइदिए। उनीहरुबीच के संवाद भयो भन्ने लामो समय गोप्य नै रह्यो।

हाल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’ का पोलिटब्यूरो सदस्य जीवन्तले केही समयअघिमात्र ओली र प्रचण्डबीच भएको गोप्य संवाद आफ्ना केही सहकर्मीलाई सुनाएका थिए।

स्रोतका अनुसार, ओलीले त्यतिबेला प्रचण्डलाई भनेका थिए, ‘हामी पनि झापा विद्रोहबाट यहाँसम्म आएका हौँ। तपाईंहरुले गरेको युद्धको पनि शान्तिपूर्ण ढंगले अवतरण गर्ने बाटाहरु छन्, यसका लागि भूमिका खेल्न म र मेरो पार्टी तयार छ।’

ओलीको कुरा सुनेपछि प्रचण्डले पनि बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यास स्वीकार्ने संकेत गरेका थिए। त्यसपछि ओली र प्रचण्डबीच दोहोरो संवाद हुन थाल्यो।

ओलीसँगको संवादपछि प्रचण्डको सम्बन्ध नेपाल र ओली दुबैसँग निकट हुन पुग्यो। फलस्वरुप ७ राजनीतिक दलबीच २०६२ मंसिरमा १२ बुँदे सहमति भयो। यो सहमति निर्माणमा त्यसअघि ०६२ असोजमा माओवादी र एमालेसँग रोल्पामा भएको ७ बुँदे सहमतिले भूमिका खेलेको थियो।

यसरी जीवन्तले खेलेको सूत्रधारको भूमिकाले महत्वपूर्ण बन्यो। यदि प्रचण्ड र ओलीबीच निकट सम्बन्ध नभएको भए माधव नेपालको बलमा मात्र एमाले माओवादीप्रति सकारात्मक हुने अवस्था हुँदैनथ्यो।

यतिबेला नेकपा नेतृत्वको सरकार छ। पार्टीमा ओली र प्रचण्ड अध्यक्षको जिम्मेवारीमा छन्। ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। यी दुई नेताका सूत्रधार विप्लव समूहका नेता ‘जीवन्त’ भने प्रहरी नियन्त्रणमा छन्।

यो पनि हेर्नुहोस्ः वीरेन्द्र–प्रचण्ड वार्ताका सूत्रधार प्रहरीको नियन्त्रणमा

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 16:07:52
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...