देउवा, माधव र वामदेवसँग संसदमा चर्काचर्की गर्ने समाजसेवी डाक्टर



शंकर उप्रेती
शंकर उप्रेती
तस्वीरहरुः प्रविन कोइराला

एक भारतीयको घरमा सहयोगीको रुपमा काम गरेर डा. शंकरप्रसाद उप्रेतीले उतैबाट विद्यालय शिक्षा र आइएस्सीसम्मको अध्ययन गरे। त्यसपछि नेपाल आएर एमबीबीएस पढ्न छात्रबृत्तिका लागि फारम भरे र नाम पनि निस्कियो। उनले ‘कोलम्बो प्लान’ अन्तर्गत मेडिकल पढ्ने पक्का भयो। सोही बखत आफैसँग एउटा बाचा गरे– मेडिकल पास भएपछि मैले जीवनमा ५० वर्षसम्म बिरामीको सेवा गर्नेछु।

आफ्नो बाचाअनुसार उनले ५० वर्ष बिरामीको सेवामा बिताए। र, २०४६ मा प्रजातन्त्र पुनर्वहाली भएपछि नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सांसदपनि भए। उनै उप्रेतीका जीवनका ५ अनुभवः

कैलाली अस्पताल र घुस माग्ने सुब्बा
एमबीबीएस गरेर आएपछि उप्रेतीले सरकारसँग काम मागे। उनलाई डिस्पेन्सीमा जान भनियो। तर, आफू डाक्टर भएकाले डिस्पेन्सीमा नजाने अड्डी कसे।

डाक्टरका लागि खाली सिट कैलाली अस्पतालमा मात्र रहेछ। जंगलको बीचमा रहेको सो अस्पतालमा कोही डाक्टर जान नमान्ने। तर, उप्रेती त्यहाँ जान तयार भए।

सरकारी कर्मचारीले उनको कुरा पत्याएनन्। भने, ‘यसअघि गएका डाक्टर दुई महिना बस्न नसकेर फर्किए। तिमी पनि त्यस्तै गर्ने त होला नि!’

उप्रेतीले भने, ‘चिन्ता नलिनुस्, म भागेर आउँदिन। ५ वर्ष त्यहीँ बसेर बिरामीको सेवा गर्छु।’

उप्रेती कैलालीको सो अस्पतालमा पुगे। त्यहाँको अवस्था उनले सोचेभन्दा निकै दयनीय थियो। दुई बंगाली काजमा थिए। अस्पतालको हालत कुनै ‘भूत बंगला’भन्दा कम थिएन। यस्तो अवस्था देखेपछि उनको मन चसक्क भयो। तत्काल अस्पतालको मर्मत–सम्हारका लागि काम अगाडि बढाए।

डाइरेक्टरलाई पत्र लेखेर मर्मत–सम्भारका लागि आवश्यक खर्च पठाउन आग्रह गरे। पैसा आयो। ठेकेदारमार्फत् ठेक्का पनि लगाइयो। तर, काम भएन।

बुझ्दै जाँदा, गोस्वाँराका सुब्बाले केही प्रतिशत रकम पाएपछि मात्र काम गर्ने अनुमति दिने बताएका रहेछन्। उप्रेतीले सुब्बालाई हकारे। डाइरेक्टरलाई भनेर जागिर नै खाइदिन्छु भनेपछि सुब्बा डराए। तत्काल काम सुरु भयो।

अस्पताल हेर्न लायक भयो। उप्रेती जाँदा अस्पतालको क्षेत्रफलसमेत एकिन थिएन। उनले क्षेत्रफल एकिन गरेर तारबारसमेत गर्न लगाए।

भारतीयको पिसाब थैलीमा कैँची
अस्पताल नेपाल–भारत सीमामा थियो। दुबैतिर राना थारुहरुको बाक्लो बस्ती थियो। दुबैतर्फका मानिसहरु अस्पतालमा उपचार गर्न आउँथे। सामान्यरुपमा सुरुवाती दिनहरु बित्दै थिए।

एकदिन भारतबाट एकजना राना थारु उपचार गर्न आए। उनको पिसाब थैलीमा सानो ढुंगा पसेको रहेछ, त्यसले गर्दा राम्रोसँग पिसाब नआउने र बन्द भइरहने समस्या रहेछ। भारतीय अस्पतालमा जाँदा ५ हजारसम्म पैसा मागेछन्। एउटा गरिबले कसरी जुटाओस् त्यत्रो पैसा?

ऊ धनगढीको नयाँ डाक्टर खोज्दै आइपुगेको थियो। समस्या गम्भीर लागेपछि उप्रेतीले भारतका ठूला–ठूला अस्पतालको नाम लिँदै त्यहाँ जान सुझाए। तर, ती व्यक्तिले भने, ‘हम् गइल् है। वहाँ बडा बडा रुपियाँ मागथ्, हम् गरिब कहाँ से दि उत्था रुपी?’

उप्रेतीले विदेशमा पढ्दा नै यस्तो समस्या आएमा कसरी उपचार गर्ने भन्ने राम्रोसँग सिकेका थिए। सहयोगीलाई सोधे, ‘तिमीले कहिल्यै बिरामीलाई इतर सुँघाएका छौँ?’ सहयोगीले आफूले थुप्रैलाई सुँघाएको बताए। त्यसपछि उप्रेतीले ती भारतीयको पिसाब थैलीबाट ढुंगा निकाल्ने प्रयास गरे।

ढुंगा निस्कियो। अर्थात्, अपरेशन सफल भयो।

त्यसपछि ती भारतीयले खुसी हुँदै भने, ‘कित्ना पैंसा दिईं हम्?’

उप्रेतीले ‘तेरो पास जो है दे, नाई हे तो जा’ भने। उसले ५ सय रुपैयाँ दियो।

भारतीयले गाउँ पुगेर उप्रेतीको निकै तारिफ गरेछ। त्यसपछि त सीमापारीका सबै थारु उपचारका लागि उनकोमा आउन थाले। नेपालीभन्दा धेरै भारतीय बिरामीको उनले त्यहाँ उपचार गरे।

घरमै मेडिकल
कैलालीपछि उनले भोजपुरमा बसेर ४ वर्ष बिरामीको सेवा गरे। त्यसपछि सरकारी सेवाबाट राजीनामा दिएर जन्मस्थल झापाको शनिश्चरे हानिए। परिवारलाई झापामा निजी मेडिकल खोल्ने र स्वास्थ्यको पहुँचभन्दा टाढा रहेका मानिसको सेवा गर्ने आफ्नो उद्देश्य सुनाइसकेका थिए। त्यसका लागि उनले आफूले कमाएको पैसा दिएर बुबालाई झापामा ५ कठ्ठा जग्गा किन्न लगाएका थिए।

तर, उनीसँग मेडिकल बनाउने पैसा थिएन। जीवनभर बुबासँग पढाई खर्चसमेत नमागेका उनले अब पनि माग्ने कुरा भएन।

उनले आफूसँग जम्मा भएको केही रकमले भारतको सिलगुढीबाट औषधिलगायतका आवश्यक उपकरण तथा सामान मगाए र घरमै बसेर बिरामी जाँच्न थाले।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापामा रहेको उनको घर नजिकै ठूलो पुल बन्ने भयो। भारतीय कम्पनीले बनाउने सो पुलका लागि सयौँ कामदार त्यहाँ आइपुगे। बिसं २०२७ को कुरा थियो यो।

उनीहरुलाई डाक्टर चाहियो। कसैले उप्रेतीको नाम सुनाए। इन्जिनियरले उप्रेतीसँग आफ्नो कम्पनीमा बसेर काम गर्न ‘अफर’ गरे। उप्रेतीले आफू सरकारको दोस्रो दर्जाको अफिसर भइसकेकाले कम्पनीमा नबस्ने तर, कामदार घरमै आएमा सहुलियत (एक जना बिरामी जाँचेको २ रुपैयाँ) मा उपचार गरिदिने बताए।

उनले मासिक बिरामी जाँचेको र औषधि बेचेवापत १० हजार रुपैयाँ कमाए। जबकी सरकारी जागिर गरेवापत उनले मासिक ५ सय ५० रुपैयाँ तलब पाउँथे।

उप्रेतीले कामदारको उपचार गरेवापत आएको पैसाले आफ्नो घर पनि बनाउँदै गए। उनको घर बन्नु र पुलको काम सकिनु सँगसँगै भयो। कामदारले नै नयाँ घरमा सामान सारिदिए।

त्यही घर मेडिकल बन्यो। तल्लो तलामा बेडहरु राखे, एउटा गोदाम बनाए। माथिल्लो तलालाई अफिस, बिरामी जाँच्ने ठाउँ र आफू सुत्ने कोठा बनाए।

उनकोमा झापासँगै इलाम, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाबाट उपचार गर्न बिरामी आउँथे। पछि ती जिल्लाहरुमा जाँदा उनलाई भेट्नेहरुले राम्रो मान–सम्मान दिन्थे।

गिरिजाप्रसाद र कृष्णप्रसादका प्रिय
२०४८ सालको प्रतिनिधिसभा निर्वाचन हुनुअघि उप्रेती घरायसी कामले काठमाडौँ आएका थिए। एक बिहान उनी महाराजगञ्जस्थित गिरिजाप्रसाद कोइरालाको निवास पुगे। गिरिजाले उनलाई देख्नासाथ सोधे, ‘तपाईंलाई म टिकट दिन्छु, झापाको कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ?’

उप्रेतीले आफू चुनाव नलड्ने बताए। त्यहाँ निकै ठूलो भिड थियो। भिडतर्फ संकेत गर्दै गिरिजाले भने, ‘बाहिर बसेका सबै टिकट माग्न आएका छन्, तपाईं लैजा भन्दा पनि लग्नुहुन्न।’

उप्रेती चुनाव नलड्ने भएपछि टिकट अर्कैले पाए।

पछि उप्रेतीले आफूलाई राष्ट्रियसभामा लैजाने तयारी भएको चाल पाए। गिरिजा र कृष्णप्रसाद भट्टराईले पहल गरेका रहेछन्।

तत्कालिन कांग्रेस नेता कोशलराज रेग्मी लगायतले उनलाई ‘हुन्न’ नभन्न सुझाव दिए। यस विषयमा उनले सबैसँग सल्लाह मागे। सबैले हात जोड्दै ‘नजान तर, कसैले दिन्छ भने टिकट लिन’ आग्रह गरे।

उप्रेतीले सुझाव माने। चुनावी प्रचारमा लागे। प्रचारका क्रममा सीपी मैनालीले उप्रेतीलाई उनका प्रतिद्धन्द्धीसँग चिनाउँदै भनेँ, ‘उहाँ नै हो तपाईंसँग चुनाव लड्ने मान्छे।’

उप्रेतीले ती व्यक्तिलाई चिने। हातमा बम पड्किएर घाइते भएपछि ती व्यक्तिको उपचार उनैले गरिदिएका थिए एकपटक।

चुनाव प्रचारका क्रममा उनले चाल पाए उनीविरुद्ध उठेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएछन्। पार्टीको जिल्ला भेलाले उप्रेतीलाई भोट दिने निर्णय गरेछ। यसरी उनी निर्विरोध हुँदै सांसद बने।

२०५६ साल जेठमा राष्ट्रिय सभाको अवधि सकिएपछि उप्रेती गिरिजालाई भेट्न उनको निवासमा पुगे। उप्रेतीलाई गिरिजाले सोधे, ‘अब के गर्ने विचार गरेका छौ?’

उप्रेतीले आफ्नै मेडिकलमा काम गर्ने बताए। गिरिजाले पनि केही भनेनन्। गिरिजासँगको उप्रेतीको सम्बन्ध पहिलेजस्तो राम्रो थिएन। जालझेल गरेर कृष्णप्रसादलाई चुनाव हराएको भन्ने हल्ला फैलिएपछि उनले गिरिजालाई भनेका थिए, ‘अन्तर्घात गरेर हराउनु पाप हो, पाप १२ वर्षपछि धुरीबाट कराउँछ।’

गिरिजालाई भेटेपछि उनी कृष्णप्रसादलाई भेट्न भैसेपाटी पुगे। त्यहाँ पार्टीका नेताको लामै लर्को थियो। कृष्णप्रसादले उप्रेती आएको देखेपछि उनीतर्फ संकेत गर्दै भने, ‘ऊ त्यो कुनामा बस्ने डा. शंकर उप्रेती हामीसँग कहिल्यै केही नमाग्ने एकमात्र कांग्रेसी हो।’

२०५५ सालमा कृष्णप्रसादले उप्रेतीलाई मन्त्री बन्ने प्रस्ताव राखेका थिए। तर, उप्रेतीले मानेनन्। भने, ‘भो यो गल्ती नगर्नुहोला।’

कृष्णप्रसाद अचम्म परे। उनले ‘किन?’ भनेर सोधे। जवाफमा उप्रेतीले भने, ‘मलाई मन्त्री भएर भ्रष्टाचारीको लाइनमा उभिनु छैन।’

तीन नेतासँगको बाझाबाझ
सांसद भएपछि उप्रेतीले राष्ट्रिय सभामा आफ्ना कुरा राख्न थाले। उनी माओवादीका धेरै मागप्रति सकारात्मक थिए। तर, हत्या–हिँसा मन पर्दैनथ्यो।

आफ्नै पार्टीका शेरबहादुर देउवा प्रधानमन्त्री थिए। सदनमा प्रधानमन्त्री आएको मौका छोपेर उप्रेतीले भने, ‘प्रधानमन्त्रीज्यू, माओवादीको समस्याको समाधान तत्काल खोज्न अपरिहार्य छ।’

उनको कुरा सुनेपछि शेरबहादुरले भने, ‘यो राजनीतिक विषय भएकाले समाधान पनि राजनीतिक रुपमै खोज्नुपर्छ।’

एकछिन यस विषयमा दुबैको दोहरी नै चल्यो।

केही समयपछि वामदेव गौतम गृहमन्त्री बने। उप्रेतीले उनीसँग पनि ‘देशमा आतंक बढिरहेको अवस्थामा शान्ति सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालयले के गरिरहेको छ?’ भनेर प्रश्न गरे ।

वामदेवले, ‘मलाई कानुन दिनुस्, म समाधान निकाल्छु’ भन्ने जवाफ फर्काए।

त्यतिबेला माधवकुमार नेपाल राष्ट्रिय सभाद सदस्य थिए। तर, उनी नियमित बैठकमा आउँदैनथे। एकदिन उनले सदनमा आएर डेढ घण्टा भाषण ठोके। कांग्रेसलाई गाली गर्दै अन्तिममा कांग्रेसका सांसदलाई ‘नुन खाएका कुखुरा’ भने ।

नेपाल भाषण सकेर सिटमा बसेपछि उप्रेती बोले, ‘माधवजीले डेढ घण्टा समय लिनुभयो। मलाई पनि त्यति नै समय चाहियो।’

उनको कुरा सुनेपछि नेपालले सिटबाट उठ्दै भने, ‘यति समय बोल्न त पार्टीको नेता हुनुपर्छ।’

उप्रेती बोल्न थाले, ‘आज माधवजीले राष्ट्रिय सभाको मर्यादा मिच्नुभयो...।’

उनले भाषण गरिरहँदा नेपाल जुरुक्क उठे। उनी हिँड्न थालेको चाल पाएपछि उप्रेतीले थपे, ‘हामीले तपाईंको भाषण डेढ घण्टा सुन्यौँ, तपाईंले हाम्रो भाषण १० मिनेट पनि नसुन्ने? नेतामा सुनाउनेमात्र होइन, सुन्ने धैर्यता पनि हुनुपर्छ।’

उनले यति भनेपछि नेपाल त्यहाँबाट रातोपिरो हुँदै बाहिर निस्किए। 

प्रकाशित २ चैत २०७५, शनिबार | 2019-03-16 12:16:48
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...