गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि सञ्चालन भईरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भईरहेको भन्दै त्यस तर्फ सचेत हुन प्रहरी संगठनलाई निर्देशन दिएका हुन्।
उनले संविधानको मर्म विपरित र मुलुकलाई विखण्डन पार्ने गतिविधि सरकारलाई सैह्य नहुने भन्दै राजनीतिका नाममा हुने अपराधका अतिरञ्जित प्रवृत्ति रोकिनुपर्ने बताए।
उनले प्रहरी संगठन भित्र राजनीतिक प्रभाव नरहेको दाबी पनि गरे। नीतिगत रुपमा गरिने निर्णय बाहेक कार्यगत तहमा र पेशागत रुपमा कानूनको सर्वोच्चतामा नै प्रहरी संठन क्रियाशिल हुन पाउनुपर्ने उनले स्पष्ट पारे। काम गर्न नसक्दा अपजसमा दबाब र प्रभावलाई बहाना नबनाउन पनि उनले सुझाव दिए।
कार्यक्रममा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधि र खस्कँदो सामाजिक मुल्यमान्यताका बीच अपराध अनुसन्धान र अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने काम आफैमा चुनौतिपुर्ण रहेपनि प्राप्त ज्ञानको अधिकतम प्रयोग गरि कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिए।
उनले प्रहरी संगठनप्रति जनताको विश्वास अभिवृद्धि गर्न नागरिकका अपेक्षा बमोजिम सेवा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए।