त्यसपछि ईन्दिरा गान्धीले जफत गरिन् फर्नांडिसले बीपीलाई दिएका २ ट्रक हतियार



संकटकालका बेला पक्राउ परेपछि जेलबाट हतकडीसहित अदालत लगिँदै गर्दा फर्नांडिस
संकटकालका बेला पक्राउ परेपछि जेलबाट हतकडीसहित अदालत लगिँदै गर्दा फर्नांडिस

भारतका प्रख्यात समाजवादी नेता तथा पूर्व रक्षामन्त्री जर्ज फर्नांडिसको मंगलबार (१५ माघ) विहान राजधानी नयाँदिल्लीमा निधन भएको छ। ८८ बर्षको उमेरमा स्वर्गारोहण भएका फर्नांडिसको नेपालको प्रजातान्त्रिक आन्दोलनसँग निकटको सम्बन्ध थियो।

बीपी कोइरालासँगको निकटताका कारण पञ्चायतकालभरि फर्नांडिसले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन र सक्रिय सहयोग गरिरहे। बीपी कोइराला नेतृत्वमा भएको २०२८–०३१ को सशस्त्र संघर्षमा हतियार संकलन कार्यमा समेत उनको महत्वपूर्ण सहयोग रह्यो।

‘बीपी कोइरालाः एक क्रान्तिकारी व्यक्तित्व’ पुस्तकमा त्यो सशस्त्र संघर्षका लागि जुटाइएका कतिपय हतियारका स्रोत तत्कालन प्रकासित नगरिदिन बीपीले अन्तर्वाताकार भोला चटर्जीसँग आग्रह गरेका छन्। पुस्तकका कतिपय प्रसङ्गमा हतियारका स्रोतहरु उल्लेख गर्नुपर्ने ठाउँ खालि राखिएको छ।

पञ्चायतकालदेखि नै कोइराला परिवारसँग निकट रहेर कांग्रेसको राजनीति गरेका पूर्व मन्त्री जयप्रकाश गुप्ताले फर्नांडिसलाई श्रद्धाञ्जली दिँदै लेखेको फेसबुक स्टाटसमा भनेका छन्, ‘शसस्त्र कारबाहीको गतिबिधी गरिरहँदा नेपाली कांग्रेसलाई इजरायलबाट हतियार उपलब्ध गराउनु जस्तो महत्वपूर्ण कार्यले नेपालको प्रजातन्त्र उहाँको ऋणी रहेको छ।’

एक समय कोइराला परिवारसँग निकट रहेका गुप्ताका अनुसार, राजा महेन्द्रको कूपछि १० बर्ष हिरासतमा रहेर भारत प्रस्थान गरेका बीपीले जब सशस्त्र संघर्षको तयारी गरे, बीपीका लागि सबैभन्दा ठूलो परिमाणमा हतियार उपलब्ध गराइदिने काम फर्नांडिसले नै गरेका थिए।

‘बीपी र तत्कालिन भारतीय प्रम इन्दिरा गान्धीबीच त्यो बेला सम्बन्ध बिग्रेको थिएन, प्रधानमन्त्री गान्धी र फर्नांडिसबीच पनि त्यो बेला राम्रै सम्बन्ध थियो’ गुप्ताले नेपालखबरसँग भने, ‘त्यसैले गान्धीकै समेत सम्मतिमा २ ट्रक हतियार नेपाली कांग्रेसलाई उपलब्ध गराइयो, ती हतियार ल्याइदिने काम फर्नांडिसले नै गरेका थिए।’

सशस्त्र संघर्षको भित्री तयारी भर्खर चल्दै थियो, सुरु भइसकेको थिएन। तर, त्यसबीचमा भारतका समाजवादीहरु र गान्धीबीच मनमुटाव देखिन थाल्यो। समाजवादी हुनुको नाताले प्रम गान्धीसँग भन्दा जयप्रकाश नारायण, चन्द्र शेखर, फर्नांडिस लगायतका भारतीय समाजवादीहरुसँग बीपीको सम्बन्ध सुमधुर थियो।

भारतीय समाजवादीहरुसँगको बीपीको सुमधुर सम्बन्धको असर बीपी–प्रम गान्धीमा पनि प¥यो। पहिले गान्धीकै सम्मतिमा इजरायलबाट हतियार ल्याइएका हतियार सिलगुढीमा लुकाएर राखिएका थिए। तर, आफूलाई अप्ठेरोमा पारिरहेका समाजवादीहरुसँग बीपीको निकट सम्बन्धका कारण गान्धीले अब बीपीप्रति प्रतिसोध साँध्न खोजिन्।

‘त्यसैक्रममा फर्नांडिसको अगुवाईमा ल्याएर बीपीलाई दिइएका ती दुई ट्रक हतियार प्रम गान्धीको निर्देशनमा भारतीय सुरक्षा निकायले जफत गरिदिए’ गुप्ताले नेपालखबरसँग भने, ‘सिलुगुढीमा जम्मा गरी लुकाइएका हतियार कब्जा गरिएको त्यो घटनापछि बीपी– इन्दिराबीचको सम्बन्ध झन् बिग्रियो।’

बिग्रँदो सम्बन्ध उत्कर्षमा पुग्दै गर्दा राजशाही विरुद्ध हतियार उठाइरहेका बीपी ‘राजा र मेरो घाँटी जोडिएको छ’ भन्दै १६ पुष ०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्के। ‘बीपीसँग नै हो, फर्नांडिसको विशेष सम्बन्ध’ बीपीसँग सान्निध्यमा रहेर काम गरेका बरिष्ठ पत्रकार किशोर नेपाल भन्छन्, ‘बीपीलाई जे जे आवस्यक पथ्र्याे, सकेको सहयोग फर्नांडिसले गरिरहे।’

गुप्ताका अनुसार, बीपीको जीवन रक्षाका लागि अमेरिका जान भारतीय ट्राभल डकुमेन्ट उपलब्ध गराउने, नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतीय संसदमा लबिङ गर्ने, आन्दोलनमा ऐक्यबद्धता स्वरुप ‘नेपाल सोलिडारिटी समूह गठन गर्ने, नेपाली कांग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको सदस्यता दिलाउने जस्ता काममा फर्नांडिसले महत्वपूर्ण सहयोग गरेका थिए।

ट्रेड युनियन राजनीतिबाट भारतको केन्द्रीय राजनीतिमा प्रवेश गरेका फर्नांडिस कुनै बेला पत्रकारिता पनि गर्थे। उनले आफ्नो सम्पादकत्वमा ‘प्रतिपक्ष साप्ताहिक’ प्रकासित गर्थे। ‘बनारस प्रवासमा छँदा प्रदीप गिरि र मैले ‘प्रतिपक्ष’ का लागि समाचार पठाउने गरेका थियौँ’ बरिष्ठ पत्रकार हरिहर बिरही भन्छन्, ‘फर्नांडिसले राजशाही खिलाफमा नेपालमा भएका गतिविधिलाई प्राथमिकता दिएर आफ्नो अखवारमा समाचार प्रकासन गरिदिन्थे।’

बीपी र नेपाली कांग्रेस निकट रहेर यहाँको प्रजातान्त्रिक आन्दोलनलाई सघाएका फर्नांडिसले कतिपय अवस्थामा नेपाललाई अप्ठेरोमा समेत पारिदिए, जसका कारण पछिल्लो अढाई दशक यता नेपाली कांग्रेससँग उनको सम्बन्ध सुमधुर रहेन। एक हिसावले, त्यो एउटा घटनापछि कांग्रेस–फर्नांडिसबीचको सम्बन्ध बिच्छेदजस्तै रह्यो।

त्यो थियो, नेपाल–चीनबीचको सीमावर्ति बजार खासा सुटुक्क पुगेर काठमाडौँ फर्की चीन–तिब्बतबारे उनले दिएको विवादास्पद अभिव्यक्ति।

गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा नेपाली कांग्रेस सरकार थियो। त्यसैबेला फर्नांडिस काठमाडौँ आए, असार ०५० मा। बीपी नेतृत्वमा भएको शसस्त्र संघर्षकालमा भारत प्रवासमा रहेका कांग्रेसका केही कार्यकर्ताको सहयोगमा कोदारी राजमार्ग हुँदै खासा पुगे। बरिष्ठ पत्रकार नेपालका भनाईमा, प्रम कोइराला वीरेन्द्र दाहाल लगायतको सहयोगमा उनी खासा पुगेका थिए।

खासाबाट फर्केपछि उनले तिब्बती जनताको स्थिति नाजुक रहेको बयान दिए, एक पत्रकार भेटघाट कार्यक्रममार्फत्। फर्नांडिसले आफू खासा पुगेको दावी गरेपनि उनी त्यहाँ पुगेको कुरामा आफूलाई विश्वास नलागेको बताउँछन्। ‘सायद उनले मितेरी पुल पनि पार गरेका थिएनन् होला’ नेपाल भन्छन्, ‘तर खासा नै पुगेर आएँ भन्ने गफ दिए।’

उताबाट फर्केपछि आयोजना गरेको पत्रकार भेटघाटमा सहभागी अर्का बरिष्ठ पत्रकार हरिहर बिरही भने फर्नांडिस खासा पुगेकोमा विश्वस्त छन्। ‘प्रवासमा रहँदा सम्पर्क भएका कांग्रेसका कार्यकर्ताहरुसँगको कुराकानीमा ठट्टैठट्टामा तिब्बतसम्म विना पासपोर्ट ट्रक चढेरै जान सकिन्छ भनेर कसैले उनलाई लगाइदिएछ, त्यसपछि उनी सुरिएछन्’ अहिले कांग्रेसको राजनीतिमा सक्रिय बरिष्ठ पत्रकार हरिहर बिरही भन्छन्, ‘त्यसपछि उनी त्यहाँ पुगेर फर्केका रहेछन्।’

खासा नै पुगेका होउन् वा मितेरी पुल वरै तातोपानीसम्ममात्र, काठमाडौँ आएपछि उनले जे अभिव्यक्ति दिए, त्यसले काठमाडौँ, नयाँदिल्ली र बेइजिङमा समेत निकै ठूलो हल्लिखल्ली सिर्जना ग¥यो।

थापाथलीबाट त्रिपुरेश्वर जाने बाटोको दायाँपट्टि अहिले ब्लुबर्ड मल छ। त्यहाँ उतिबेला ब्लुबर्ड होटल थियो। उताबाट फर्केपछि फर्नांडिसले होटलको बैठक हलमा पत्रकारहरुको भेला बोलाए। र, आफू तिब्बत पुगेर फर्केको बताउँदै त्यहाँको स्थिति नाजुक रहेको दावी गरिदिए।

‘धेरै पर पुगेको भए फर्नांडिस खासाको माथिल्लो बजारसम्म पुगेका थिए होलान्’ बिरहीले सम्झे, तर उनले पुरै तिब्बत घुमेर फर्केजस्तो गरिदिए। त्यतिमात्र कहाँ हो र, चीनले आफ्नो आणविक हतियारको कुँडाकर्कट फाल्ने ठाउँ बनाएको रहेछ, तिब्बतको हालत नाजुक रहेछ भन्ने विवादास्पद अभिव्यक्ति दिए।’

गुप्ताका भनाईमा, बीपीका कारण कांग्रेस र कोइराला परिवारसँग फर्नांडिसको सम्बन्ध सुमधुर रहेपनि उनी सुटुक्क खासा पुगेको प्रधानमन्त्री कोइरालालाई थाहा थिएन। ‘नेपालमा रहँदा सार्वजनिक भएका फर्नांडिसका गतिविधि र अभिव्यक्तिले नेपाल–चीन सम्बन्धलाई असर पाथ्र्याे’ उतिबेला प्रम कोइरालाको प्रेस सल्लाहकार रहेका पूर्वमन्त्री गुप्ताले सम्झे, ‘त्यसैले, फर्नांडिसलाई बोलाएर प्रम कोइरालाले त्यहाँ गएर र त्यस्तो अभिव्यक्ति दिएर तपाईंले राम्रो गर्नु भएन भन्दै कोइरालाले अप्रसन्नता व्यक्त गर्नुभयो।’

सन् १९७७ मा भएको निर्वाचनमा विहारको मुजफ्फरपुर निर्वाचन क्षेत्रबाट फर्नांडिसले जेलबाटै प्रतिस्पर्धा गरी विजय हासिल गरेका थिए। र, त्यसपछि बनेको भारतको पहिलो गैर–कांग्रेस सरकारमा उद्योग मन्त्रीको जिम्मेवारी पाएका थिए। मन्त्री भइसकेको व्यक्ति नेपाली भूमि प्रयोग गरी खासा पुग्नु र काठमाडौँ फर्केर त्यस्तो विवादास्पद अभिव्यक्ति दिएपछि चीन अप्रसन्न हुनु स्वभाविकै थियो।

त्यसैले, उनी कसरी चिनियाँ भूमि खासा पुगे भन्ने विषय सरकारको पनि खोजिनीतिको विषय बन्यो। उनी कसरी खासा पुगे, कसरी फर्के भन्ने विषयमा राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान थाल्यो। सम्भवतः चीन सरकारलाई स्पष्टिकरण दिन विभागलाई जिम्मेवारी दिइएको थियो।

‘केही दिनअघिसम्म फर्नांडिस सेतो कुर्ता लगाएर थापाथलीतिर देखिने गरेको हामीले पत्ता लगायौँ’ तर उनी तातोपानीतिर गएको चाहिँ भेटिएन’ राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मा भन्छन्, ‘सायद, उनी सुटुक्क–लुकीचोरी गए होलान्। तर, सरकारलाई थाहा नदिई, लुकीचोरी गएको पुष्टि भएपछि सरकार त्यसमा मुछिने कुरा भएन।’

तर, जब ब्लुबर्ड होटलमा तिब्बतबारे विवादास्पद र तथ्यहीन धारणा सार्वजनिक गरे र तत्कालिन प्रम कोइरालाले त्यसप्रति फर्नांडिससँग अप्रसन्नता व्यक्त गरे, त्यसपछि कोइराला परिवार र कांग्रेससँग फर्नांडिसको सम्बन्ध बिस्तारै बिग्रन थाल्यो।

कांग्रेससँग फर्नांडिसको सम्बन्ध बिग्रँदै जानुको अर्काे कारण पनि थियो। त्यो हो, फर्नांडिस भन्दा चन्द्र शेखर लगायतका समाजवादीहरुसँगको कांग्रेस र नेताहरुको सम्बन्ध सुमधुर हुनु। वैचारिक दृष्टिले फर्नांडिस र चन्द्र शेखर दुबै समाजवादी भएपनि समाजवादी राजनीतिको ‘स्कुलिङ’ फरक–फरक बिन्दूबाट भएकाले यस्तो हुन पुगेको थियो सायद।

जर्ज फर्नांडिस

जर्ज फर्नांडिस

चन्द्र शेखरको राजनीतिक जीवनको प्रारम्भ कांग्रेस पार्टीबाटै भएको थियो। जयप्रकाश नारायण निकट रहेका चन्द्र शेखर इन्दिरा गान्धीले लगाएको संकटकालको विरोध गरेपछि पार्टीबाट बाहिरिएका थिए। अर्का प्रख्यात समाजवादी नेता राममनोहर लोहिया निकट फर्नांडिसले भने कहिल्यै कांग्रेसी राजनीति गरेका थिएनन्।

संकटकालका कारण कांग्रेस छाडेका चन्द्र शेखर र कहिल्यै कांग्रेस नभएका फर्नांडिस बेला–बेला कांग्रेस इतरको राजनीतिमा सँगै देखिन्थे। कांग्रेसको दबदबाका कारण कहिलेकाहीँ एउटै मोर्चामा देखिएपछि एकले अर्काेलाई मन पराउन्नथे।

तर, बीपीको निधनपछि गिरिजाप्रसाद कोइराला, शैलजा आचार्य, चक्र बास्तोला जस्ता कांग्रेस राजनीतिमा निर्णायक पकड जमाएका नेताहरुको सम्बन्ध चन्द्र शेखरसँग ज्यादा थियो, फर्नांडिससँग कम। तर, कांग्रेस–फर्नांडिसबीचको सम्बन्ध टुटिसकेको चाहिँ थिएन। हाल कांग्रेसको राजनीतिमा सक्रिय बिरही भन्छन्, ‘पछिल्लो समय कांग्रेस र कोइराला परिवारको सम्बन्ध त्यति सुमधुर देखिन्नथ्यो। त्यसको कारण कांग्रेसका नेताहरुको चन्द्र शेखरसँगको सम्बन्ध नै हो।’

कारण जेसुकै होस्, बीपीकालमा महत्वपूर्ण सहयोग गरेका फर्नांडिसको नेपाली कांग्रेससँग सम्बन्ध कति बिग्रेको थियो भन्ने कुरा पूर्वमन्त्री गुप्ताको यो भनाईले स्पष्ट गर्छ।

गुप्ता भन्छन्, ‘तिब्बतबारे फर्नांडिसले विवादास्पद अभिव्यक्ति दिएपछि जब कोइरालाले अप्रसन्नता व्यक्त गर्नुभयो, त्यसपछि कोइराला र फर्नांडिसबीच भेट भएन। प्रमका रुपमा कोइराला नयाँदिल्ली जाँदा अन्य नेताहरुसँग भेट हुन्थ्यो, तर फर्नांडिसले चाहिँ उहाँलाई भेट्दैनथे।’

प्रकाशित १५ माघ २०७५, मंगलबार | 2019-01-29 15:46:07
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

सीताराम बराल नेपालखबर सम्पादक हुन्

@sitarambaral

सीताराम बरालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...