विवेकशील साझामा फुट, उज्वल थापाको नेतृत्वमा नयाँ पार्टी गठन

केही समयदेखि आन्तरिक विवाद रहँदै आएको विवेकशील साझा पार्टी अन्ततः फुटेको छ।

शुक्रबार विवेकशील साझा पार्टीका संयोजक समेत रहेका उज्वल थापाले छुट्टै दल दर्ताका लागि निवेदन दिएपछि पार्टी औपचारिक रुपमै फुटेको हो।

उज्वलले निर्वाचन आयोगमा दर्ताका लागि दिएको नाममा नयाँ पार्टीको पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ।

३७ सदस्यीय केन्द्रीय समिति रहेको साझा पार्टीका  संयोजक उज्वलसहित १६ जनाले नयाँ दल दर्ताको निवेदन दिएका छन्। 

संयोजक थापाले पार्टी संयोजक रवीन्द्र मिश्रले एकलौटी ढंगले पार्टी चलाएको, युवाहरुलाई भूमिकाबिहीन बनाएको कार्यकर्तामा भेदभाव गर्ने गरेको र पार्टीलाई गलत बाटोमा हिँडाएको आरोप लगाउँदै आएका थिए।

‘उज्वल थापाहरुको धोकापूर्ण कार्य’- विवेकशील साझा(विज्ञप्तिसहित) 

विवेकशील र साझा पार्टीबीच २०७४ साउन ११ मा एकता भइ विवेकशील साझा पार्टी बनेको थियो।

विकेकशील साझाका केन्द्रीय सदस्यहरु रन्जु न्यौपाने, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, उज्वल बहादुर थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशीविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जुनसिंह ठकुरीले शुक्रबार विवेकशील नेपाली दल नामक नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

थापासमूहले नेतृत्वले विधान विपरित कामहरु गरिरहने, कोटको खल्तीबाट नामहरु ल्याएर केन्द्रीय सदस्य भर्ती गर्न खोज्ने, अपारदर्शी एवं अलोकतान्त्रिक तरिकाले विभागहरु विघटनहरु गर्ने, परम्परागत राजनीतिक दलहरुकै अनुशरण गर्दै विभिन्न भातृ संगठन गठन गर्ने तर्फअघि बढ्ने जस्ता क्रियाकलापले पार्टी फुटको अवस्था आएको उल्लेख गरेको छ।

 
 रविन्द्र मिश्रलगत्तै उज्वल थापासमूहको यस्तो प्रतिक्रिया (विज्ञप्तिसहित)
 

 

प्रकाशित 2019-01-11 17:29:04