राजीनामा दिन्नँ, केही विषय सार्वजनिक गर्दैछुः राजदूत शेर्पा

लक्की शेर्पा
लक्की शेर्पा

‘मन्त्री र सचिवलाई थाहा नहुने विषय कसरी मिडियामा आइरहेको छ भन्ने मैले बुझ्न सकिरहेकी छैन। अघिसम्म बर्खास्त थियो, अहिले राजीनामा छ, कहाँबाट यो हल्ला फैलिएको छ?’

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आफु बर्खास्त नभएको र तत्काल राजीनामा पनि नदिने बताएकी छन्।

आफू परराष्ट्र मन्त्रालयको नियमित सम्पर्कमै रहेको भन्दै शेर्पाले मिडियामार्फत आफूमाथि लागेका आरोपका विषयमा अनुसन्धान भइरहेको बताइन।

राजदूत भएर अष्ट्रेलियामा रहने क्रममा मानव तस्करी गरेको गम्भीर आरोप लागेकी शेर्पालाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन सुझाव दिएका थिए।

सोमबार नै बसेको मन्त्रीपरिषद बैठकले शेर्पालाई बर्खास्त गरेको खबर आएपनि पछि उनलाई राजीनामा दिन सुझाव दिइएको प्रधानमन्त्रीले बैठकमा बताएको एक जना मन्त्रीले मंगलबार बिहान नेपालखबरसँग भनेका छन्।

‘मन्त्री र सचिवलाई थाहा नहुने विषय कसरी मिडियामा आइरहेको छ भन्ने मैले बुझ्न सकिरहेकी छैन,’ शेर्पाले मंगलबार १ः२४ बजे नेपालखबरसँग भनिन्, ‘अघिसम्म बर्खास्त थियो, अहिले राजीनामा छ, कहाँबाट यो हल्ला फैलिएको छ?’

शेर्पाले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँग सोमबार भेट नभएको समेत दाबी गरिन्।

मानव तस्करीको गम्भीर र आरोप लागेपछि काठमाडौं फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयले शेर्पामाथि अनुसन्धान गरिरहेको छ। उनले कुटनीतिक मर्यादाका कारण आफूले मिडियामा केही विषय सार्वजनिक गर्न नसकेको बताइन्।

‘अब केही विषय मैले सार्वजनिक गर्नै पर्ने अवस्था आएको छ, त्यसका लागि परराष्ट्र मन्त्रालयसँग अनुमति मागेकी छु’, शेर्पाले भनिन्।

‘नियतवश र योजनावद्ध रुपमा कुनै व्यक्ति वा समूहले आफूलाई लखेटिरहेको आशंका रहेको’ बताउँदै शेर्पाले थपिन्, ‘यसरी त कसरी हुन्छ? अहिले म, पछि अरुपनि पर्न सक्छन्। कसले किन यसरी खेदिरहेको हो, म खोजी गर्दैछु।’

राजदूत शेर्पाले अष्ट्रेलिया लगेका वाङ्छु शेर्पा (जो दूतावासका ड्राइभर र भान्छे हुन) ले नै उनीमाथि आफूसँग पैसा लिएको आरोप लगाएका छन्। वाङ्छुले राजदूत शेर्पा र उनका श्रीमान् सोनाम शेर्पा ‘मानव बेचबिखनमा संलग्न रहेको’ गम्भीर आरोप लगाएका हुन्। यो मुद्दा अहिले अष्ट्रेलिया सरकारले पनि हेरिरहेको छ।

तर राजदूत शेर्पा दम्पतीले यो आरोपको खण्डन गर्दै आएका छन्।

राजदूत शेर्पाले वाङछुलाई पक्राउ गर्न एकवर्ष अघि नै दूतावासले पटक–पटक परराष्ट्र मार्फत पत्र लेखेको नेपालखबरलाई बताइन।

यो पनिः 

अस्ट्रेलियाको राजदूतबाट राजीनामा दिन लक्कीलाई निर्देशन, नदिए बर्खास्त

प्रकाशित 2019-01-08 14:58:34