यी सुन्दरी राजदूत, जसले चीनबाट नेपालमा पेट्रोल ल्याउन पहल गरिन्

शिष्टाचार महापाल दीपक अधिकारीलाई पत्र बुझाउँदै नयाँ चिनियाँ राजदूत होउ यानछी
शिष्टाचार महापाल दीपक अधिकारीलाई पत्र बुझाउँदै नयाँ चिनियाँ राजदूत होउ यानछी
चिनियाँ दूतावास

‘नेपाललाई संकट परेको बेला अनुदानको पेट्रोलियम पदार्थ दिन होउले बेइजिङमा राम्रो पहल गरेकी थिइन्। नेपाललाई माया गर्ने र संकटमा सहयोग गर्ने व्यक्ति भएकाले उनको पालामा नेपाल–चीन सम्बन्ध झन् फस्टाउन सक्छ।’

नेपालका लागि नयाँ चिनियाँ राजदूत होउ यानछी गत शनिबार मुस्कुराउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरिन्। र, आइतबार नै परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई पत्र बुझाएर बालुवाटारस्थित आफ्नो कार्यालयमा काम सुरु गरिन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनले ओहदाको प्रमणपत्र प्रस्तुत गर्न बाँकी नै छ। काठमाडौंको राजनीतिक र कुटनीतिक बृत्तमा चीनकी नयाँ राजदूतको कुटनीतिक अनुभवसँगै उनको सुन्दरताको चर्चा पनि कम छैन।

नेपालस्थित चिनियाँ दूतावासले नयाँ राजदूत होउले परराष्ट्र मन्त्रालयमा पत्र बुझाएर काम शुरु गरेको जनाउ दिएको छ। दूतावासको वेवसाइटमा राजदूत होउको सुन्दर तस्वीर सहित उनको पहिलो ‘म्यासेज’ पोष्ट गरिएको छ, जसमा उनले चामोलोङमा (सगरमाथा), बुद्ध, मञ्जुश्री र काठमाडौंको सांस्कृतिक विरासतको चर्चा गर्दै नेपाललाई ‘दयालु’ मानिसहरूको देशका रुपमा अथ्र्याएकी छिन्।

‘सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएयता चीन र नेपालले एक अर्कालाई समान हैसियतमा व्यवहार गर्दै साझा चासोका विषयमा सहकार्य गर्दै आएका छन्’, राजदुत होउले नेपाल सम्बन्धी आफ्नो पहिलो मन्तव्यमा भनेकी छिन्, ‘अहिले चीन र नेपाल सम्बन्ध आर्थिक विकासका नयाँ संभावना खोज्नमा केन्द्रित छ।’

‘कुटनीतिमा सी चिनफिङ विचारद्वारा निर्देशित भएर’ कामगर्ने उल्लेख गर्दै राजदूत होउले भनेकी छिन्, ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) पहललाई संयुक्त रुपमा विकास गर्दै दुई देशले कनेक्टिभिटि, व्यापार र लगानी, उर्जा, कृषि, संस्कृति र पर्यटनको क्षेत्रमा सहयोग बढाउनु पर्छ।’

राजदूत यु होङ फर्केपछि नेपाल मिसन प्रमुख भएर काठमाडौं आएकी होउ यसअघि बेइजिङमा रहँदा चीनको परराष्ट्र मन्त्रालयमा एशिया विभागकी उपनिर्देशक थिइन्, जसको प्रमुख भूमिका एशियाली राष्ट्रका बेइजिङस्थित राजदूतहरूसँग फरक फरक विषयमा वार्ता गर्नु हुन्छ।

त्यसो त उनी सन् २०१५ देखि नै परराष्ट्र मन्त्रालयमा त्यो जिम्मेवारीमा थिइन, जुन बेला नेपालमा भारतीय नाकाबन्दी थियो र चीनबाट पेट्रोल ल्याउन पहल शुरु भएको थियो। तर नेपालले आधिकारिक रुपमा चीनसँग पेट्रोलियम पदार्थ खरिद गर्ने विषयमा छलफल गरिसकेको थिएन।

त्यसबेला बेइजिङमा नेपाली राजदूत थिए डा महेश मास्के। सेप्टेम्बरको एक दिन मास्के बेइजिङबाट उत्तरपूर्वी चीनको हार्विन जाँदै थिए, रेलमा। नेपालको कठिन परिस्थितिबारे होउ र मास्केबीच फोन संवाद भइरहेको बेला उनले भनिन्, ‘नेपालसँग पेट्रोलियम पदार्थको कारोबार गर्न चीन तयार छ तर अहिले तत्कालका लागि अनुदानमै केही अनुपातमा पेट्रोल दिन्छौं।’

होउसँगको तीन वर्षअघि भएको त्यो संवाद सम्झँदै पूर्व राजदूत मास्के भन्छन्, ‘थोरै भएपनि अनुदानमा तेल दिने भनेपछि मेरो आत्मबल पनि बढ्यो। त्यसपछि म दशैंको छेक पारेर काठमाडौं आएँ, र यहाँ तत्कालीन चिनियाँ राजदूत उ चुन्थाइसँग पनि छलफल भयो।’

त्यही पहल अगाडि बढ्दै जाँदा राजदूत मास्केकै नेतृत्वमा नेपाल आयल निगमका अधिकारीहरू सहितको टोली बेइजिङ गयो। बेइजिङमा दुई देशका प्रतिनिधिमण्डलबीच वार्ता हुँदा चीन र नेपालबीच पेट्रोलियम कारोबार गर्ने र चीनले ढुवानी सुविधा तथा कर छुट दिने विषयमा उच्च स्तरमा थप छलफल गर्ने समझदारी बन्यो।

अक्टोबर २०१५ मा अनुदानको पेट्रोल बोकेर तिब्बतको सिगात्सेबाट केरुङ आउँदै चिनियाँ ट्यांकर

चीनले मास्केकै टोलीमार्फत् १३ लाख लिटर अनुदानको पेट्रोल ३० अक्टोबर २०१५ मा तिब्बतको सिगात्सेबाट केरुङ हुँदै नेपाल पठायो, जसले चीनबाट पनि नेपालले पेट्रोलियम पदार्थ आयात गर्न सक्छ भन्ने सन्देश गयो।

पाँच महिनापछि, मार्च २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदा नेपालले आफ्नो आवश्यकताको ३३ प्रतिशत पेट्रोलियम चीनबाट ल्याउने समझदारी बनेपनि त्यो विषय अहिले ओझेलमा परेको छ। यद्यपी ढुवानी सुविधा र कर छुटको विषय टुङ्गो लगाएर दश प्रतिशत मात्रै भएपनि चीनबाट नियमित पेट्रोलियम लिन सके भारतसँग मात्रै निर्भर रहनु नपर्ने धेरैको राय छ।  

‘नेपाललाई संकट परेको बेला अनुदानको पेट्रोलियम पदार्थ दिन होउले बेइजिङमा राम्रो पहल गरेकी थिइन्’, मास्के भन्छन्, ‘नेपाललाई माया गर्ने र संकटमा सहयोग गर्ने व्यक्ति भएकाले उनको पालामा नेपाल–चीन सम्बन्ध झन् फस्टाउन सक्छ।’

नेपाललाई गहिरोसँग बुझ्ने र माया गर्ने कुटनीतिक अधिकारीलाई राजदूत बनाएर पठाएर चीनले नेपालप्रति सदासयता देखाएको पूर्व राजदूत मास्केको भनाइ छ।

‘चीनबाट उच्च भ्रमण हुने चर्चा भइरहेको बेला होउजस्तो राजदूत पाउनु नेपाल र चीन दुबैका लागि अवसर पनि हो’, मास्केले थपे, ‘अब हुने उच्च भ्रमणका क्रममा पेट्रोलियम पदार्थको कारोबार गर्ने त्यसबेलाको समझदारीलाई सम्झौतामै पुर्याउने अवसर पनि मिल्न सक्छ।’

प्रकाशित 2019-01-06 10:42:27