स्थायी समितिमा घटेको ओलीको ओज

प्रतिवेदन पारित गराउन सफल, ओज कायम राख्न असफल



केपी शर्मा ओली
केपी शर्मा ओली

झण्डै एक बर्षअघि प्रधानमन्त्री र ८ महिना अघि नेकपा अध्यक्षको जिम्मेवारी सम्हालेयता केपी शर्मा ओली शुक्रबार (१२ पुष) मा जस्तो प्रतिरक्षात्मक सम्भवत कहिल्यै हुनु परेको थिएन। २९ मंसिरदेखि सुरु भएको बैठकमा स्थायी समितिका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदा त उनी ‘अफेन्सिभ’ आक्रामक) नै देखिएका थिए।

तर, २ घण्टा १० मिनेट लामो जवाफपछि उनले राखेको प्रस्तावमा स्थायी समितिका सदस्यहरुले जस्तो प्रतिक्रिया जनाए, त्यसले ओलीलाई ‘डिफेन्सिभ’ स्थितिमा पुर्‍यायो। बैठकको स्थिति झण्डै ‘अनकन्ट्रोल्ड’ भयो। स्थिति सम्हाल्न अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हस्तक्षेप गर्नुपर्‍यो। शुक्रबार (१३ पुष) विहान फेरि बैठक बस्ने सुनाएर प्रचण्डले आक्रोस साम्य पारे।

दुई हप्ता लामो बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनको हुबहु समर्थन गर्ने स्थायी समिति सदस्यहरु नभएका होइनन्। केही स्थायी समिति सदस्यहरुले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको ‘डिफेन्स’ तर गरे। तर, उनीहरुको ‘डिफेन्स’ को तुलनामा वामदेव गौतम, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायतका नेताहरुको ‘अफेन्सिभ’ सम्बोधन प्रभावी रह्यो।

सरकारको कामकारवाही प्रभावकारी नभएको, सरकारी नियुक्तिमा पार्टी निर्णय हुने नगरेको, सरकारले शान्ति सुरक्षाको स्थिति कायम राख्न नसेकेको, प्रधानमन्त्री ओली नेतृत्वको सरकारको कामकारवाहीका कारण जनताको नजरमा पार्टीको प्रभाव कमजोर बन्न पुगेको, पार्टी एकताले पूर्णता र कार्यकर्ताहरुले जिम्मेवारी पाउन नसकेको रिपोर्टिङ र आरोप उनीहरुको थियो।

स्थायी समिति सदस्य वामदेव गौतमले त नेतृत्व (खासगरी प्रम र अध्यक्ष ओली) को ताल यही रहे आगामी निर्वाचनमा नेकपाको लज्जाजनक हार हुने दावी समेत गरेका छन्, आफ्नो ‘विचार’ का नाममा राखेको फरक मतमार्फत्। त्यसमा उनले अहिलेसम्मको अनुभवका आधारमा ओलीले पार्टीका लागि पर्याप्त समय दिन नसक्ने ठहर गर्दै एकल अध्यक्ष व्यवस्थाको माग गरेर प्रचण्डलाई मात्र अध्यक्ष बनाउनु पर्ने अप्रत्यक्ष प्रस्ताव गरेका छन्।

दुई हप्ता लामो बैठकमा उठेका प्रश्न र आक्षेपहरुको जवाफ प्रम ओलीले विहीबार २ घण्टा १० मिनेट खर्चेर दिने प्रयास गरे। उनले अर्का अध्यक्ष प्रचण्डसँगै मिलेर ल्याएको प्रतिवेदनमा पनि सबै कुरा समेटेर ल्याइएको बताए, आफू पहिलो पटक गृहमन्त्री भएका बेला समेत पार्टीभित्र आफ्नो आलोचना भएपनि जनताले आफ्नो वाही–वाही गरेको दावी गर्दै सरकारको वचाउको प्रयास गरे।

यी सबै पृष्ठभूमि बाँधेपछि ओलीले बैठकमा प्रस्ताव गरे, ‘पार्टीको बैठकमा पेश हुने राजनीतिक प्रतिवेदन भनेकै यस्तै हुन्छ। पहिले पहिले बैठकमा पेश हुने प्रतिवेदनपनि यस्तै हुन्, यो भन्दा फरक हुँदैनथे पहिलेका प्रतिवेदनपनि। अहिलेको प्रतिवेदनमा पनि सबै कुरा समेटेर ल्याइएको छ। त्यसैले पारित गरौँ।’

त्यसपछि जस्तो स्थिति सिर्जना भयो, त्यो अ‍ोलीका लागि अप्रत्यासित थियो। ओलीले सोचेका थिए, बैठकमा जतिसुकै आलोचना गरेपनि उनीहरुले केही गर्दैनन्, उनीहरु प्रतिवेदन पारित गर्न बाध्य हुन्छन्। यसबाहेक उनीहरुसँग अर्काे विकल्प छँदैछैन। जतिसुकै मन नपरेपनि उनीहरु प्रतिवेदन पारित गर्न बाध्य छन्।

तर, स्थिति ओलीले सोचेजस्तो थिएन। घनश्याम भूषाल र भीम रावल पालैपालो उठे। र, परिमार्जन विना प्रतिवेदन पारित हुन नसक्ने जवाफ दिए। परिमार्जन गरिँदापनि के के विषयमा परिमार्जन गर्ने हो, त्यो कुरा बैठकमै तय हुनुपर्ने उनीहरुको माग रह्यो। यसबीचमा भएका गल्ती कमजोरीप्रति आत्मालोचना नगरिएकोमा पनि उनीहरुको असन्तुष्टि थियो।

त्यसपछि स्थायी समितिका बरिष्ठ सदस्य वामदेव गौतम उठे। भूषाल र रावलको भनाईमा समर्थन जनाउँदै अध्यक्षद्वयको प्रतिवेदन परिमार्जन नगरी पारित गर्ने हो भने आफूले उठाएका विषयबस्तुलाई फरक मतको रुपमा तलसम्मै लैजाने चेतावनी दिए। गौतमको यो अभिव्यक्तिले बैठकमा छुट्टै माहोल सिर्जना गर्‍यो।

२९ मंसिरमा बैठक सुरु भएपछि १ पुषको बैठकमा गौतमले गरेको १६ पेज लामो ‘विचार’ ले स्थायी समितिका सदस्यहरुको खासै समर्थन पाएको थिएन। पार्टी नेतृत्वको, खासगरी प्रम तथा अध्यक्ष ओलीको तीब्र आलोचना गरेका स्थायी समिति सदस्यहरुले पनि आफूलाई गौतमबाट पृथक राख्ने प्रयास गरेका थिए।तर, विहीबार गौतमले बोलेपछि स्थिति पृथक रह्यो। उनको भनाईमा समर्थन जस्तो देखिने गरी एक पछि अर्का स्थायी समिति सदस्यहरुले बोल्ने समय मागे। त्यसअघि बैठकमा ओली हावी थिए। तर, गौतमको वक्तव्य र बोल्न चाहने स्थायी समिति सदस्यहरुले एकपछि अर्काे गर्दै हात उठाएपछि स्थिति ओलीले सम्हाल्न नसक्ने किसिमको भयो। 

स्थिति सम्हाल्न प्रचण्ड अघि सर्नुपर्‍यो। उनले शुक्रबार (१३ पुष) का लागि बैठक स्थगित गरिदिए। र, चाहनेहरुले शुक्रबारको बैठकमा बोल्न पाउने निर्णयपनि सुनाए। ओलीको प्रस्ताव बमोजिम न अध्यक्षद्वयको प्रतिवेदन पारित भयो, न त शुक्रबार नै बैठक सम्पन्न गर्ने योजना सफल भयो।

शुक्रबारको बैठकमा २० जना स्थायी समिति सदस्यहरुले बोले। बोल्नेमध्ये अधिकांसले नेतृत्वको आलोचना गरे। शुक्रबारको बैठकमा बोल्नेमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, बेदुराम भूषाल, भीम आचार्य, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, अमिक शेरचन, रघुजी पन्त, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भूषालले नेतृत्वले आत्मालोचना गर्नुपर्ने, परिमार्जन गरेरमात्र प्रतिवेदन पारित गर्नुपर्ने मत राखे।

नेतृत्वको पक्षमा बोल्ने वा बीचको बाटो रोज्नेमा शंकर पोखरेल, प्रदीप ज्ञवाली, अग्नि सापकोटा, शक्ति बस्नेत, बिष्णु पौडेल लगायतका स्थायी समिति सदस्यहरु थिए।

ओली जस्ताको तस्तै प्रतिवेदन पारित गर्न चाहन्थे। तर, शुक्रबार सकिएको स्थायी समिति बैठकले अध्यक्षद्वयको प्रतिवेदन परिमार्जन सहित पारित गर्ने निर्णय गरेको छ। बैठकले परिमार्जनको जिम्मा चाहिँ केन्द्रीय सचिवालयलाई दिएको छ।

बैठकको अन्तिम दिन अध्यक्ष ओलीले सामना गर्नुपरेको विरोध र बैठकले गरेका निर्णयपछि प्रश्न उठेको छ, पछिल्लो समय ‘जित्दै’ मात्रै आएका ओलीको यस पटक हार भयो कि जीत?

अलिकति हार
ओली चाहन्थे, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का साथ प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन जस्ताको तस्तै पारित होस्। बैठकमा विहीबार उनले यस्तै प्रस्ताव पनि गरेका थिए। पहिले पनि यस्तै प्रतिवेदन पेश हुने र पारित हुने गरेको बताउनुले पनि यही बताउँछ कि, उनी प्रतिवेदन जस्ताको तस्तै पारित हुने कुरामा आशावादी थिए।

तर, उनले सोचेजस्तो भएन। उनले यस्तो प्रस्ताव गर्नासाथ झण्डै आधा जस्तो स्थायी समिति सदस्यहरुले प्रतिवेदन परिमार्जनको माग गरे। स्थिति सम्हालिनसक्नु भयो। र, शुक्रबारसम्म बैठक लम्ब्याएर प्रतिवेदन परिमार्जनको निर्णय गर्नुपर्‍यो। जस्ताको तस्तै प्रतिवेदन पारित गराउन चाहेका ओलीका लागि यो एउटा हार नै हो।

ओलीको यो हारको सुरुवात खासमा मंसिर तेस्रो सातादेखि नै सुरु भइसकेको थियो। २२ मंसिरमा अपरान्ह ३ बजेका लागि बोलाइएको केन्द्रीय सचिवालयको बैठक निर्धारित समयमा सुरु नभएपछि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बहिस्कार गरे।

यी चार नेताले बैठकमात्र बहिस्कार गरेनन्, बैठकका लागि केही शर्तपनि अघि सारे। तिनमा निर्धारित समयमै बैठक सुरु गर्नुपर्ने, आइन्दा पार्टी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा होइन, पार्टी केन्द्रीय कार्यालयमा गर्नुपर्ने माग गरे। यो माग पार्टी पद्दतिसँग सम्बन्धित त थियो नै, ओलीको अनुकूलतामा मात्र बैठक डाकिने परिपाटीविरुद्धको विद्रोह पनि थियो।

त्यसबाहेक ओलीले पार्टीका कतिपय अत्यावश्यक बैठकका लागि रुचि समेत देखाइरहेका थिएनन्। लामो समय बितिसक्दा पनि स्थायी समितिको बैठक डाकिएको थिएना। बोलाइएका कतिपय केन्द्रीय सचिवालयकै बैठकपनि बस्दै नबसी स्थगित गरिएका थिए। सरकारको नेतृत्व गरिरहेको पार्टीको नियमित बैठक आयोजना नगरिँदा ओलीलाई मनमौजी तरिकाले निर्णय गर्न सहज भइरहेको थियो।

तर, २२ मंसिरको बैठकमा पार्टीका ४ जना बरिष्ठ नेताहरुले जसरी ‘एक्सन’ लिए, त्यसले ओलीलाई झुकायो। स्थायी समिति बैठक टार्दै आएकोमा स्थायी समिति बैठक डाक्न ओली बाध्य भए। र, २९ मंसिरदेखि बैठक सुरु भयो। कहिलेकाहीँ ढिला भएपनि पहिलेको तुलनामा बैठक छिट्टै सुरु हुन थाल्यो।

सबैभन्दा ठूलो कुरा, प्रम हुनुअघि बालकोट र प्रम भएपछि बालुवाटारस्थित निवासमा बैठक आयोजना गर्ने गरेका प्रम ओली पनि अन्य नेता सरह बैठकका लागि पार्टी कार्यालय धुम्बाराही जानुपर्ने स्थिति सिर्जना भयो। एक हिसावले यो पनि ओलीका लागि ‘हार’ जस्तै थियो।

अलिकति जीतपनि
त्यसो त, ‘हार’ का वावजुद ओलीले केही कुरामा जीतपनि निकालेका छन्। ‘परिमार्जनसहित प्रतिवेदन पारित गर्ने’ भन्ने स्थायी समितिको निर्णयबाट ओलीको हार भएजस्तो देखिएपनि यो निर्णयका क्रममा ओलीको जीतपनि भएको छ।

बैठकले प्रतिवेदन परिमार्जन सहित पारित गर्ने त भनेको छ। तर के के कुरा परिमार्जन गर्ने हो, त्यो उल्लेख छैन। विहीबार ओलीले प्रतिवेदन पारित गर्न प्रस्ताव गरेलगत्तै असन्तुष्टि जनाउने नेताहरुको माग थियो, ‘के के कुरा परिमार्जन गर्ने हो, त्यो कुराको निर्णय बैठकले गर्नुपर्छ।’ 

तर, परिमार्जनसहित प्रतिवेदन पारित गर्ने निर्णय गरेको बैठकले के के कुरामा परिमार्जन गर्ने हो, सो कुरा उल्लेख गर्न सकेको छैन। बैठकले प्रतिवेदन परिमार्जनको जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। अब सचिवालयले चाहे बमोजिम प्रतिवेदन परिमार्जन गर्नेछ। 

यो सँगसँगै ओलीको अर्काे जीतपनि भएको थियो। त्यो हो, केन्द्रीय सचिवालयले निर्णय गर्न पाउनुपर्छ भन्ने उनको तर्क। अध्यक्षद्वयले बैठकमा पेश गरेको प्रतिवेदनमा केन्द्रीय सचिवालय निर्णय गर्ने अधिकार भएको निकाय हो भन्ने भन्ने दावी गरिएको छ।

नेपाल, गौतम, श्रेष्ठ लगायतका नेताहरुको दावी चाहिँ केन्द्रीय सचिवालयले भैपरि निर्णयमात्र गर्ने निकाय हो भन्ने थियो। पार्टीको अन्तरिम विधानले गरेको व्यवस्था उल्लेख गर्दै उनले यो कुरा उठाएका थिए। तर, स्थायी समितिमा पेश प्रतिवेदन परिमार्जनको अधिकार केन्द्रीय सचिवालयलाई दिएपछि ओली (र, प्रचण्ड) ले भनेजस्तो केन्द्रीय सचिवालयसँग निर्णयको अधिकार स्थापित हुन पुगेको छ।

नेकपा स्थायी समिति बैठक

नेकपा स्थायी समिति बैठक

यसबाहेक दुई जना अध्यक्षको साटो एकमात्र अध्यक्षको व्यवस्था गर्नुपर्ने प्रस्तावपनि बैठकमा राखिएको थियो। वामदेव गौतमले यो माग गरेका थिए। गौतमले भनेझैं, प्रम भएकाले सरकारी कामकाजमा व्यस्त हुनुपर्दा ओली पार्टी गतिविधिमा सक्रिय हुन नसकेको कुरा सत्य नै हो। यसै आधारमा ‘एकल अध्यक्षको व्यवस्था गर्नुपर्ने’ भन्ने गौतमको माग तार्किक थियो।

तर, यो प्रस्तावलाई बैठकको एजेण्डा बन्न नदिन ओली सफल भए। अर्का अध्यक्ष प्रचण्डले पनि यो मागको समर्थन गरेनन्। पार्टीभित्रको शक्तिसन्तुलन बिग्रने नेताहरुको भयका कारण पनि ओलीले यस प्रसङ्गमा जीत हासिल गरे।

समग्रमा ओलीलाई घाटा
बैठकले गरेका निर्णय हेर्दा ओलीको भागमा जीत र हार बराबरी देखिन्छ। तर, समग्र मूल्याङ्कन गर्दा चाहिँ यो बैठकबाट ओलीलाई नाफा होइन, घाटा भएको छ। जो निम्न छन्ः

निर्विकल्प रहेनन्ः नेकपा दुई अध्यक्षात्मक प्रणालीबाट चलिरहेपनि ‘नम्बर १ अध्यक्ष’ अध्यक्षको रुपमा ओली पार्टीभित्र सर्वशक्तिमान र ‘निर्विकल्पजस्तै’ थिए। उनीविरुद्ध कसैले आवाज उठाउन सक्दैनथ्यो। आवाज उठाउनेहरुको तेजोवध गरिन्थ्यो।

तर, यो बैठकबाट त्यो स्थिति रहेन। उनको कार्यशैलीको विरोध गर्दा तेजोवध गरिएका नेताहरु यो बैठकमा हावी भए। ओलीको अध्यक्ष पद यस पटक जोगिएपनि उनी निर्विकल्प होइनन् भन्ने सन्देश यो बैठकबाट प्रवाह भयो। सर्वशक्तिमान ओलीलाई वामदेव गौतमले समेत चुनौति दिने स्थिति बन्यो।

घटेको ओजः गत साल ठीक यही समयमा नेकपा (तत्कालिन वामगठबन्धन) ले विजय हासिल गरिसकेको थियो। तर ओली प्रधानमन्त्री भइसकेका थिएनन्। तत्कालिन सरकार सत्ता हस्तान्तरणमा ढिलाईको बहाना खोज्दै थियो। र, त्यही कारण चुनाव सकिएपछि पनि ओली अझै लोकप्रियताको शिखर चढिरहेकै थिए।

हुन त, लोकप्रियता मापन गर्ने कुनै प्रविधि उपलब्ध छैन। तर, जनताको प्रतिक्रिया हेर्दा के देखिन्छ भने, ओलीको लोकप्रियता पहिलेजस्तो छैन। यो कुरा नेकपाको बैठकमा पनि प्रकट भयो। जनताबाट आफूले वाहीवाही कमाएको दावी गरेका ओली आफैले स्वीकार गर्नुपर्‍यो, ‘पार्टीमा चाहिँ मेरो विरोध भयो।’

चुनावका बेला बोलिएका र एक बर्षभित्र गर्न सकिने वाचाहरु पुरा गर्न नसक्ने ओलीको विश्वसनीयता त घटेको छ नै। यही कारण उनको ओजपनि घटेको छ। उनले बोलीलाई जनताले पत्याउन छाडेका छन्। र, यो कुरा नेकपाको बैठकमा पनि प्रकट भएको छ।

आफ्नैको मन जित्न असफलः विनम्रता र भएका गल्तीको आफै स्वीकारोक्ति यस्ता अस्त्रहरु हुन्, जसले आफ्नो विपक्षीको हृदयपनि जित्न सक्छ। २ हप्ता लामो बैठकका क्रममा ओलीले स्थायी समितिका सदस्यहरुको असन्तुष्टि र आक्रोस सुने। बैठक प्रत्येक दिन करिव ३ घण्टा बस्थ्यो। ३ घण्टाको बैठकमा बोलिएका कुराप्रति ओलीले २१ घण्टा चिन्तन गर्न सक्थे।

बालुवाटारको घेरो भन्दा बाहिर निस्कन नसकेका ओलीका लागि स्थायी समितिका सदस्यहरुले अभिव्यक्त गरेका कुरा आफू नेतृत्वको सरकारलाई कसरी हेरिरहेका रहेछन् भन्ने ‘फष्ट ह्याण्ड इन्फरमेसन’ जस्तै थियो। तर, आफ्नै पार्टीका नेताहरुले गरेको रिपोर्टिङलाई उनले त्यसरुपमा ग्रहण गर्न सकेका रहेनछन्, जुन कुरा ‘जनताको वाहीवाही पाएको आफूलाई पार्टीकै नेताहरुले विरोध गरेको’ भन्ने उनको असन्तुष्टिले पुष्टि गर्छ।

आलोचना स्वीकार गर्न नसक्ने स्वभावले यो बैठकमा स्थायी समितिका सदस्यहरुमाझ ओलीलाई अलोकप्रिय बनायो। हुन त, ‘मौकामा चौका हानेर’ यो स्थितिको फाइदा लिने पक्षमा अर्का अध्यक्ष प्रचण्ड छैनन्, ओलीसँग सहकार्य गरेर जानुमा नै उनले आफ्नो र पार्टीको पनि हित देखेका छन्। त्यही कारण बैठकमा उनी सन्तुलित रुपमा प्रस्तुत भए।

संख्यात्मक रुपमा यसपटक ओलीको पक्षमा बराबरी हार र जीत देखिएपनि समग्रमा ओली हारेका छन्। उनको ओज र विश्वसनियता दुवै ओरालो लागेर खोँचमा पुगिसकेको छ। पार्टीभित्रै उनको आलोचना गर्नेहरुको संख्या बढ्दो छ। निर्णायक घडीमा साथ दिँदै आएका नेताहरुले समेत आशा मारिसकेका छन्। 

गल्ती कमजोरीको स्व–स्वीकारोक्ति र आत्मालोचना, सरकारका काम कारवाही प्रभावकारी, विवेकशील–गुटनिरपेक्ष सल्लाहकारहरुको घेरा फराकिलो पार्ने जस्ता काम गर्न सकेनन् भने ओलीले थप हार्दै जानेछन्। आगामी दिनहरु आृलीका लागि  प्रत्युत्पादक बन्नेछन्।  स्थायी समिति बैठकले यस पटकको  त्यसको संकेत गरिसकेको छ। 

प्रकाशित १३ पुस २०७५, शुक्रबार | 2018-12-28 18:14:29
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...