नारायणकाजीलाई पूर्वराजाको व्यङ्ग: नबोलौँ, किन बोलेन भन्छन्; बोल्यो, गाली गर्छन्



एक पारिवारिक जमघटमा पूर्व राजपरिवार
एक पारिवारिक जमघटमा पूर्व राजपरिवार
फाइल फोटो

श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भने, ‘तपाईंका अभिव्यक्ति सुनिरहेको हुन्छु, वक्तव्यपनि चाख दिएर पढिरहेको हुन्छु।’ — शाहले जवाफ दिए, ‘के गरौँ, देशको माया लाग्छ, देशप्रेम गएको छैन, त्यसैले सन्दर्भ आउँदा बोलिरहेको हुन्छु। तर नबोल्दा यो किन चुप छ भन्दै शंका व्यक्त गर्छन्, बोल्यो, गाली गर्छन्, यहाँ यस्तै छ।’

राजतन्त्र अन्त्यका लागि तत्कालिन माओवादी र संसदवादी राजनीतिक दलहरुलाई सहकार्यमा ल्याउन निर्णायक भूमिका खेलेका नेकपा नेता नारायणकाजी श्रेष्ठ र पूर्व राजा ज्ञानेन्द्र शाहबीच पोखरामा मंगलबार झण्डै आधा घण्टा रोचक संवाद भएको छ।

२ पुषदेखि नै पोखरामा रहेका पूर्व राजा शाह मंगलबार अपरान्ह काठमाडौँबाट हवाई मार्ग हुँदै पोखरा पुगेका बुहारी हिमानी, छोरी प्रेरणा र नाति–नातिनालाई रिसिभ गर्न पोखरा विमानस्थलको भिआईपी कक्षमा प्रतीरक्षारत थिए।

पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका नेकपा प्रवक्ता श्रेष्ठचाहिँ पोखरामा भएको ‘लिटिरेचल फेष्टिभल’ मा सहभागी भएर काठमाडौँ फर्कँदै थिए। फर्कने क्रममा प्रवक्ता श्रेष्ठ र पूर्व राजा शाहबीच भेटघाट भयो।

श्रेष्ठ भिआईपी कक्षमा प्रवेश गर्नासाथ पूर्वराजा शाह आफू बसेको सिटबाट उठे। र, ‘नमस्कार नारायणकाजीजी’ भन्दै हात मिलाउन अघि बढे। ‘उहाँले पहिले नमस्कार गर्न भ्याउनुभयो’, श्रेष्ठले भने, मैले पनि नमस्कार फर्काएँ। र, उहाँसँगै गएर बसेँ।’

त्यसपछि पूर्वराजा शाह र पूर्व उपप्रधानमन्त्री श्रेष्ठबीच कुराकानी सुरु भयो।

‘तपाईंपनि काठमाडौँ जान लाग्नुभा’ हो कि?’, श्रेष्ठले पूर्वराजासँग सोधे। ‘होइन, होइन, छोरी, बुहारी, नातिनातिना आउँदैछन्’, पूर्वराजाले विमानस्थल पुग्नुको कारण बताउँदै श्रेष्ठलाई जवाफ दिए, ‘उनीहरुलाई लिन आएको हुँ।’

‘लामै (समय) बस्नुभो त पोखरामा। अझै बस्नुहुन्छ कि?’, श्रेष्ठले संवादलाई अझ अगाडि बढाए। पूर्वराजाले जवाफ दिए, ‘अझै ६–८ दिन यतै बस्ने कार्यक्रम छ।’

‘तपाईंका चाखलाग्दा कुरा सुनिरहेको छु, पढिरहेको छु’, अलिकति व्यंग्य मिश्रित तरिकाले श्रेष्ठले कुराकानीलाई अघि बढाए, ‘तपाईंका अभिव्यक्ति सुनिरहेको हुन्छु, वक्तव्यपनि चाख दिएर पढिरहेको हुन्छु।’

श्रेष्ठका भनाईको जवाफ पूर्वराजाले पनि थोरै व्यंग्य मिसाउँदै दिए।

माओवादी नेता नारायणकाजी श्रेष्ठ

माओवादी नेता नारायणकाजी श्रेष्ठ

‘के गरौँ, देशको माया लाग्छ, देशप्रेम गएको छैन, त्यसैले सन्दर्भ आउँदा बोलिरहेको हुन्छु’, श्रेष्ठलाई पूर्वराजाको जवाफ थियो, ‘तर बोलेपनि, नबोलेपनि सुख छैन। नबोल्दा ‘यो किन चुप छ भन्दै शंका व्यक्त गर्छन्, बोल्यो, गाली गर्छन्, यहाँ यस्तै छ।’

पूर्वराजा शाह र श्रेष्ठबीच काठमाडौँ–पोखरा स्थलमार्गबारे पनि कुराकानी भयो।

‘तपाईं त्यो बाटो हिँड्ने गर्नुभएको छ’, पूर्वराजाले श्रेष्ठसँग सोधे। श्रेष्ठले जवाफ दिए, ‘हिँडिरहेको हुन्छु, किन नहिँड्नु?’

‘बाटो त राम्रो छ हगि’, श्रेष्ठसँग अझ बढी खुल्दै पूर्वराजाले भने, ‘तर के गर्नु–खानबस्नका लागि अलिकति राम्रा रेष्टुरेन्ट, दिसा–पिसाव गर्ने सौचालय र आराम गर्ने अलिक राम्रो सुविधा भइदिए झन् राम्रो हुन्थ्यो।’

पूर्वराजा र श्रेष्ठबीच यति कुराकानी हुँदै गर्दा पूर्व युवराज्ञी हिमानी पोखरा विमानस्थलमा वर्लिवरि भिआईपी कक्षमा प्रवेश गरिसकेकी थिइन्। छोरी, नाति–नातिनाको ताँतीको नेतृत्व गर्दै भिआइपी कक्षमा प्रवेश गरेकी हिमानी र नेता श्रेष्ठबीच पूर्वराजाले नै परिचय गराए।

हिमानीले श्रेष्ठलाई नमस्कार गरिन्। उनले फर्काए। यो परिचयपछि नेता श्रेष्ठ र हिमानीबीच कुराकानी सुरु भयो।

‘अँ, तपाईंलाई एउटा कुरा स्मरण गराउनुछ मैले’, श्रेष्ठले हिमानीसँग भने, ‘महेन्द्र भवन हाइस्कूलका प्रिन्सिपलले तपाईंसँग भएको कुराकानीबारे मलाई बताउनु भएको थियो।’

काठमाडौँको सानो गौचरणमा सो विद्यालयमा हिमानीले आफ्नो स्कूले जीवन बिताएकी रहिछन्।

श्रेष्ठका अनुसार, १२ बैशाख (२०७२) को भूकम्पले गर्दा राष्ट्रिय पुस्तकालय (हरिहर भवन) को भवन भत्काएपछि त्यहाँ रहेका पुस्तक र अन्य सामाग्री हिमानीले पढेको त्यही विद्यालयमा लगिएको रहेछ। तर, ती सामाग्री त्यहाँबाट हटाइएको रहेनछ।

यसले गर्दा विद्यालय अप्ठेरोमा परेको रहेछ। र, त्यहाँका प्रिन्सिपलले विद्यालयकी पूर्वविद्यार्थी हिमानीसँग विद्यालयलाई परेको अप्ठेरोबारे सुनाएका रहेछन्। र, विद्यालयलाई परेको अप्ठेरोबारे श्रेष्ठलाई पनि बताउँदा हिमानीसँग भएको कुराकानीबारे पनि जानकारी गराएका रहेछन्।

श्रेष्ठले प्रिन्सिपलले भनेका कुरा सुनाएपछि हिमानीले आश्चर्य मान्दै जवाफ फर्काइन्, ‘ए, त्यो भवन अहिलेसम्म पनि बन्या रहेनछ है?’

‘उहाँ (प्रिन्सिपल) ले तपाईंलाई सम्झनु भएको थियो’, श्रेष्ठले हिमानीलाई भने, ‘त्यही कुरा तपाईंलाई स्मरण गरादिएको मात्र हुँ।’

नेकपा प्रवक्ता श्रेष्ठ र पूर्व शाही परिवारबीच यति कुराकानी हुँदाहुँदै झण्डै आधा घण्टा बितिसकेको थियो। श्रेष्ठ काठमाडौँ फर्कने जहाज उडानको समय आइपुगेको थियो।

त्यसैले, दुबै पक्षले एक अर्कालाई नमस्कार गरे। र, विदावारी भए।

प्रकाशित ११ पुस २०७५, बुधबार | 2018-12-26 13:52:33
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...