चीनसँग कुटनीतिक सम्बन्ध नराख्ने नीति पुनर्विचार हुँदैन: टेन्डी दोर्जी, भुटानी विदेशमन्त्री (अन्तर्वार्ता)

विद्युत् मूल्य दरभन्दा हाम्रो बढी चासो भारतले सीमापार विद्युत व्यापार नीति परिमार्जन गरोस भन्नेमा छ।

भारतसँग पूर्ण निर्भर रहेकाे तर उत्तरी छिमेकी चीनसँग कुटनीतिक सम्बन्ध समेत स्थापित गर्न नसकेकाे भुटानमा नयाँ सरकारले कस्ताे विदेशी नीति लिन्छ भन्ने विषयप्रति धेरैकाे चासाे रहँदै अाएकाे छ। एशियाका दुर्इ ठूला देशहरू भारत र चीनकाे बीचमा रहेकाे भुटानका नयाँ विदेशमन्त्री टेन्डी दोर्जीसँगको अन्तर्वार्ता:

चुनावको समयमा तपाइँको दलको घोषणापत्रमा विदेश नीतिहरु तोकिएको देखिँदैन। त्यसैले भुटान सरकारको विदेश नीतिका एजेण्डा के हुन् भन्नेमा धेरैलाई जिज्ञासा छ?
भुटानका सबै दलहरुको विदेश नीति पहिलेदेखि नै तय (राजाले) गरेअनुसार हुनेगर्छ। जुन पार्टी सरकारमा आए पनि यो नीति एकै प्रकारको हुन्छ। हामीले हाम्रो विदेश नीतिको आधारशीला निरन्तर रुपमा भारतलाई बनाउँदै आएका छौं। प्रधानमन्त्री डा. लोटे छिरिङले भुटान–भारतको मित्रतालाई नयाँ उचाईमा पुर्याउनु बताउनु भएको छ। यही (डिसेम्बर) महिनाको अन्तिमसम्म उहाँले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्नुहुनेछ। त्यतिबेला १२ औं पञ्च वार्षिय योजनाका लागि ठोस भारतीय सहयोगको अपेक्षा गरेका छौं। लामो समयदेखि प्रतिक्षा गरिएको भारतीय प्रधानमन्त्री (नरेन्द्र) मोदीको भ्रमणका लागि निम्ता दिइनेछ।

तर विगतका नीतिमा फरक आएको हो नि होइन? उदाहरणका लागि चुनावी अभियानको क्रममा पिडिपीले ‘सार्वभौम भुटान’को मुद्दै उठाएको थियो। अर्कोतर्फ भुटानमा भारतको ऋण कम गर्ने विषय पनि बहसमा आएको छ। नयाँ दिल्लीसँग यस विषयमा कुराकानी हुन्छ ?
भारतले उपलब्ध गराएको सहयोगप्रति भुटान कृतज्ञ रहँदै आएका छ। एउटा भूपरिवेष्ठित मुलुकका लागि आफ्ना आवश्यकताहरु निरन्तर रुपमा भारतबाट पूरा गराउनु प्राकृतिक कुरा नै हो। ऋणको विषयमा हाम्रो चासो छ। अधिकांश ऋण जलविद्युत आयोजनाका लागि लिएका हौं। परियोजना सम्पन्न भैसकेपछि यो समयमै भुक्तानी गर्न सक्छौं भन्ने विश्वास छ। जलविद्युत परियोजना बाहेकको ऋणबारे हामीले पुनर्विचार गरिरहेका छौं। भुटान सन् २०२३ सम्ममा अति कम विकसित देशबाट मध्य आम्दानी भएको देशमा उक्लिँदैछ। त्यसैले हामीले आन्तरिक आम्दानीका स्रोत खोजिरहेका छौं। यो प्रक्रियामा भारतले हामीलाई निरन्तर सहयोग गरिरहेको छ। यसमा हामी खुशी छौं।

भारतले भुक्तानी गर्ने बिजुलीको मूल्य दरका विषयमा पनि भुटानमा गम्भीर मतभिन्नता छ हाेइन? यो विषय समाधान गर्नु कति महत्वपूर्ण छ?
यो कठिन विषय हो भन्ने लाग्दैन। मैले यो विषयमा मेरा भारतीय समकक्षीसँग कुराकानी गरेको छु। भारतीय विदेश सचिव विजय गोखलेले हाम्रो आग्रहप्रति भारत सकारात्मक रहेको बताउनु भएको छ। वृहत् रुपमा भन्दा भुटानलाई राम्रो हुनु भनेको भारतलाई पनि राम्रो हुनु हो। प्रधानमन्त्रीको भारत भ्रमण समयमा यस विषयमा छलफल हुने आशा लिएका छौं। विद्युत् मूल्य दरभन्दा हाम्रो बढी चासो भारतले सीमापार विद्युत व्यापार नीति परिमार्जन गरोस भन्नेमा छ। हामी त्यो नीतिमा सुधार भएको हेर्न चाहान्छौं।

भारतले बिबिआइएन (बंगलादेश–भुटान–भारत–नेपाल) मोटर यातायात सम्झौता पारित होस् भन्ने चाहेको छ। यसअघि भुटानको सदनले त्यससम्बन्धी प्रस्ताव अस्वीकार गरेको थियो। स्थानीय भुटानी यातायात व्यावसायीको विरोध रहेको यो सम्झौतालाई सरकारले कसरी फेरि पुन:जीवित गर्छ?
निश्चित रुपमा यो विषयलाई हामी हेर्नेछौं। सरकारले बिबिआइएन सम्झौतामाथि पुनःविचार गर्नेछ। यो सम्झौताका फाइदा बेफाइदा दुवै छन्। केही परिणाम भुटानको पक्षमा रहेको हामीलाई थाहा छ। सम्झौतामा हामी पुनः विचार गर्नेछौं।

दोक्लम संकट सम्बोधन गर्ने समयमा पूर्व प्रधानमन्त्रीले भुटान एशियाका दुई ठूला देशमा च्यापिएको बताउनु भएको थियो। चीनसँगको सम्बन्धको कसरी अघि बढ्छ भन्ने आशा लिनु भएको छ?
चीनसँगका हाम्रो मित्रवत सम्बन्ध छ तर उनीहरुसँग हाम्रो कुटनीतिक सम्बन्ध छैन। हामीले उनीहरुलाई नरुचाएको होइन। भुटानले पहिलैदेखि चीन, अमेरिकाजस्ता सुरक्षा परिषद स्थायी सदस्य मुलुकसँग पूर्ण सम्बन्ध नबनाउने विदेश नीति अँगाल्दै आएका कारण त्यस्तो भएको हो। यो परिवर्तन हुन्छ भन्ने लाग्दैन। हामीबीच जनता–जनताबीचमा अन्तरक्रिया छ। चीन हाम्रो उत्तरी छिमेकी हो।

पछिल्लो केही वर्षदेखि भुटानका विद्यार्थी भारतको सट्टा थाइल्यान्ड, अस्ट्रेलिया र सिंगापुरका कलेजतिर जान थालेका छन्। यो अवस्थामा भारतसँग जनता-जनताबीचको सम्बन्ध कसरी सशक्त हुने आपेक्षा गर्नुहुन्छ?
हाम्रा विद्यार्थीहरुमा भारतप्रति ठूलो चाख रहेको छ। म आफैँ पनि भारतीय शिक्षाको उत्पादन हुँ। चार वर्षको हुँदा दार्जीलिङको नर्थ प्वाइन्टस्थित सेन्ट जोसेफमा पढ्न थालेँ। पछि आर्म फोर्स मेडिकल कलेज पुनामा पढेँ। हामी अझ बढी भारतीय विश्वविद्यालयहरुले भुटानमा आउन् र बढी विद्यार्थीलाई आकर्षित गरुन् भन्ने चाहान्छौं। भारतको शिक्षा विद्यार्थीको क्षमताले भ्याउने र उनीहरुका लागि महत्वपूर्ण पनि भएकाले अहिले पनि ७० प्रतिशत भुटानीहरु भारतमा अध्ययन गर्दैछन्। कोही धनी हुन सक्छन् जो विदेशमा अध्ययन गराउन सक्षम हुनसक्छन। हामी सबैलाई भारत–भुटानबीच विद्यादर्थी अादान-प्रदान हुन् भन्ने अपेक्षा छ। (भारतीय अंग्रेजी दैनिक द हिन्दूबाट अनुवाद)

प्रकाशित 2018-12-04 15:49:30