भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?


Infocus



पछिल्लो समय सार्वभौम स्वतन्त्रताको बहस बढ्दै जाँदा थिम्पुमा चिनियाँ र अमेरिकी दूतावास स्थापनाको विषय पेचिलो बनिरहेको छ।

बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

भदौ अन्तिम साता भएको पहिलो चरण चुनावमा पहिलो र दोस्रो भएका दुई दलबीच यो निर्णायक प्रतिस्पर्धा हुन गइरहेको हो। यो निर्वाचनमा विजयी हुने दलले हिमाली अधिराज्य भुटानमा पाँच वर्षका लागि सरकार निर्माण गर्नेछ।

चुनावमा ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) र ड्रुक फुन्सुम शोग–पा (डिटिपी) बीच प्रतिस्पर्धा छ। भदौको अन्तिममा भएको पहिलो चरणको निर्वाचनबाट यी दुई दल पहिलो र दोस्रो बनेका थिए।

पाँच वर्षदेखि शासनमा रहेको निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बे नेतृत्वको पिपुल्स डेमोक्र्याटिक पार्टी (पिडिपी) पहिलो चरणबाटै बाहिरिएको थियो। भारतपरस्त मानिएको तोग्बेको दल पहिलो चरणबाटै बाहिरिनुलाई भुटानभित्र र बाहिर अर्थपूर्ण रुपमा लिइएको थियो।

पहिलो चरणमा सबैभन्दा बढी मत पाएर पहिलो बनेको डिएनटी नयाँ राजनीतिक पार्टी हो। सन् २०१३ का चुनावभन्दा केही समयअघि यो दल गठन भएको थियो। यसले ३२ प्रतिशत मत प्राप्त गर्दै आफूलाई भुटानको राजनीतिक मूलधारमा प्रवेश गराएको छ।

भुटानमा सरकार सञ्चालनमा भारत फ्याक्टर निकै महत्वपूर्ण रहेकाले थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति नजिक वा टाढा छ भन्ने चासो अहिले बढिरहेको छ। 

दोस्रो हुने डिपिटीले ३१ प्रतिशत मत पाएको थियो। डिटिपीले २००८ मा पहिलो संसदीय चुनावमा ४७ स्थान मध्ये ४५ स्थानमा जीत हासिल गरेको थियो। सन् २०१३ मा भएको संसदीय चुनावको पहिलो चरणमा डिटिपी पहिलो बनेपछि भारतले भुटानविरुद्ध इन्धन नाकाबन्दी गरेको थियो। परिणामस्वरुप भुटानमा इन्धनको भाउ आकासिएको थियो। त्यसकै परिणामस्वरुप चुनावमा डिपिटी दोस्रो स्थानमा सीमित हुन पुगेको मानिएको थियो।

सन् २०१३ मा पिडिपी ३२ स्थान जित्दै सरकार गठन गर्न सफल भएको थियो। डिपिटी १५ स्थानमा खुम्चिएको थियो। डिपिटीले चीनसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न प्रयास गर्दा दिल्लीले भुटानलाई दण्डित गरेको व्याख्या त्यतिबेला भएको थियो। डिपिटीका अध्यक्ष तथा प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले सन् २०१२ मा तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँग ब्राजिलको रियो डे जेनेरियोमा वार्ता गरेका थिए। त्यसैगरी चीनले दिएको २० वटा बस उपहार भुटानले स्वीकार गरेको थियो। चीनसँग सम्बन्ध बढाउन खोजेको भन्दै भारतीय घेराबन्दीमा परेपछि थिन्ले सक्रिय राजनीतिबाट पछि हटेका छन्।

भुटानको यस पटकको राष्ट्रिय चुनावमा पनि चीन र भारत महत्वपूर्ण फ्याक्टरका रुपमा देखिएका छन्। पहिलो भएको डिएनटीले बढ्दो आर्थिक असमानता घटाउने आफ्नो चुनावी नारा अघि सारेको छ। दोस्रो भएको पिडिपीले सार्वभौमिकता र आत्मनिर्भरताको विषयलाई चुनावी मुद्दा बनाएको छ।

भुटानको चुनावमा नजानिँदो ढंगले यस पटक भारत र चीन मुद्दाले प्राथमिकता पाएको हो। भुटान, नेपाल जस्तै चीन र भारतले घेरिएको भूपरिवेष्ठित हिमाली राज्य हो। केही समयअघि भुटान–चीन सीमास्थित दोक्लममा दुई देशबीच असमझदारी देखिएको थियो। सो असमझदारीमा भारतको प्रवेश भएसँगै स्थिति तिक्ततापूर्ण बनेको थियो। सो विषयमा भारतले निर्वाह गरेको भूमिकाप्रति भुटानी राजा र जनता रुस्ट रहेको कतिपयको विश्लेषण छ। त्यसबेलाको सत्तारुढ तोग्बेको दलको पराजयलाई कतिपयले दोक्लम प्रकरणसँग जोडेर हेर्ने गरेका छन्।

भुटान र चीनबीच विवादपछि भारतीय सेना भुटानलाई सहयोग गर्न भन्दै दोक्लम उक्लिएकोे थियो। जसले दक्षिण एशिया क्षेत्रमा झन्डैझन्डै युद्धको अवस्था सिर्जना गरेको थियो। ७२ दिनमा भारत र चीनबीच सहमति भए पनि त्यसको प्रभाव अहिले पनि भुटानमा ताजै छ।

तीनतिरबाट भारतले घेरेको भुटानले अहिलेसम्म उत्तरी छिमेकी देश चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गर्न सकेको छैन। थिम्पुको सुरक्षा र विदेश नीति दिल्लीबाट निर्देशत हुँदै आएको छ। तर पछिल्लो समय सार्वभौम स्वतन्त्रताको बहस बढ्दै जाँदा थिम्पुमा चिनियाँ र अमेरिकी दूतावास स्थापनाको विषय पेचिलो बनिरहेको छ।
पहिलो चरणको निर्वाचन ठिक अघि चिनियाँ उप विदेशमन्त्री कोङ सुवानयुले भुटानको भ्रमण गरेका थिए। उनले दुई पक्षीय वार्ताबाट दोक्लाम विवाद समाधान गर्न सकिने उल्लेख गर्दै दुई देश नजिक हुनुपर्ने बताएका थिए।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी भएर चीनको आर्थिक सफलताबाट फाइदा लिन समेत उनले भुटानलाई आग्रह गरेका थिए। दक्षिण एशियाबाट भुटान र भारत मात्रै बिआरआर्इमा सहभागी भएका छैनन्।

भुटानमा २० जिल्लामा ४७ निर्वाचन क्षेत्र छन्। भुटानको कानुनअनुसार नेशनल एसेम्बलीको चुनावमा राजनीतिक दल मात्रै भाग लिन पाउँछन्। माथिल्लो सदन र स्थानीय निकायमा भने राजनीतिक दल नभई स्वतन्त्र व्यक्तिबीच चुनाव हुन्छ।

पहिलो चरणमा मतदाताले राजनीतिक दललाई मत दिन्छन्। देशभरबाट बढी मत प्राप्त गर्ने दुई दलबीच अन्तिम चरणको प्रतिस्पर्धा हुन्छ। त्यस समयमा राजनीतिक दल उम्मेदवारसहित दुई दल चुनावी प्रतिस्पर्धामा आउँछन्।

पहिलो चरणको चुनावमा डिएनटीले आर्थिक रुपले तुलनात्मक रुपमा सम्पन्न दक्षिण पश्चिम क्षेत्रबाट राम्रो मत पाएको थियो। त्यसैगरी डिपिटीले पूर्वी क्षेत्रमा रहेका आफ्नो प्रभावलाई जोगाइ राखेको थियो।

यो पनिः 

१. भुटानको संसदमा १४ नेपाली भाषी उम्मेदवार

२. भुटानमा पाँच वर्ष सरकार चलाएको छिरिङ तोग्बेको पार्टी पराजित


प्रकाशित ३० असोज २०७५, मंगलबार | 2018-10-16 18:30:50
Max TV
Max TV
Zen Travels
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • देउवा र पौडेल

    कांग्रेस नेतृत्व कब्जा गर्न देउवा र पौडेलका तीन दाउपेच

    पदाधिकारी संख्या बढाएर विभिन्न गुट-उपगुटका अगुवाहरुको व्यवस्थापन गर्नुपर्ने जुन ‘दुख’ पौडेललाई छ, देउवा त्यो ‘दुख’ बाट मुक्त भएपनि समस्यामुक्त...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    सुन तस्करलाई सटर सुम्पन क्षेत्रीद्वारा प्राधिकरण नियमको ठाडो उल्लंघन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरण नियम उल्लंघन गरी सेटिङ मिलाएर सुन तस्करलाई सटर...

  • केपी शर्मा अाेली

    सचिवमार्फत् मन्त्रीहरुको ‘परीक्षा’ लिँदै प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्।

  • नारायणकाजी श्रेष्ठ

    पार्टीले जनता-कार्यकर्तासँग माफी माग्नुपर्छः नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता/भिडियाे)

    ‘जब सरकार पार्टीको एजेण्डा बन्दैन भने पार्टीले के गर्छ? सरकारको एजेण्डा पार्टीमा राखिएको छ, तर त्यसबारे छलफल भएको छैन। त्यसैले पार्टीले धेरै कुरा...