पाँच दिने चीन भ्रमण (३० भदौ-३ असोज) बाट काठमाडौँ फर्कँदा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने शीर्ष नेता थिए, नेकपा सचिवालय सदस्य बामदेव गौतम।
प्रचण्डलाई स्वागत गर्न नेकपाका अन्य नेताहरु महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलगायत विभिन्न मन्त्री र नेताहरु पनि विमानस्थल पुगेका थिए।
नेकपा थुप्रै नेताहरु विमानस्थल पुगे पनि शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा चाहिँ नेकपा सचिवालय सदस्य गौतम राति साढे ९ बजे काठमाडौँ आइपुगेका प्रचण्डको स्वागतमा विमानस्थल पुगे भन्ने कुराले निकै चर्चा पाएको छ।
निश्चय नै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग गरेका थुप्रै ‘भद्र सहमति’ पालना नगर्दा गौतम ओलीसँग रुष्ट छन्। त्यसैले, एमाले–माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपछि उनी ओलीभन्दा अर्को अध्यक्ष प्रचण्डसँग निकट छन्।
तर, यत्ति कारणले मात्र बामदेव विमानस्थल पुगेको घटनालाई लिएर शीतलनिवासले चासो लिएको चाहिँ होइन। बरु, त्यसैदिन बिरामीको बहाना बनाएर राष्ट्रपति कार्यालय नगएका गौतम प्रचण्डलाई रिसिभ गर्न विमानस्थल गएपछि यो विषय शीतलनिवासमा चर्चाको विषय बनेको हो।
प्रचण्ड काठमाडौँ फर्केकै दिन नेपालले चौँथो संविधान दिवस मनाउँदै थियो। त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले निवासमा रात्रिभोजको आयोजना गरेकी थिइन्। रात्रिभोजमा राष्ट्रिय मान्यताप्राप्त दलका पहिलो, दोस्रो र तेस्रो तहका नेताहरु निम्त्याइएका थिए।
गौतम सत्तारुढ नेकपाका वरिष्ठ नेता हुन्। ९ सदस्यीय शक्तिशाली केन्द्रीय सचिवालयमा उनी सदस्य छन्। त्यसबाहेक गृह मन्त्रालयको जिम्मेवारीसहित ३ पटक उपप्रधानमन्त्री पनि भइसकेका छन्। उनी पार्टी अध्यक्ष र प्रधानमन्त्रीका दावेदार पनि हुन्।
त्यसैले वरिष्ठ नेताको हैसियतमा राष्ट्रपति कार्यालयले गौतमलाई रात्रिभोजको निम्तो दियो। तर, गौतम रात्रिभोजमा सरिक भएनन्। काठमाडौँमै रहेका सत्तारुढ दलका शीर्ष नेता रात्रिभोजमा सरिक नभएपछि राष्ट्रपति कार्यालयबाट गौतमलाई फोन गरियो।
राष्ट्रपतिको रात्रिभोजमा प्रम केपी शर्मा ओली लगायत
तर, गौतमले आफूलाई पखाला लागेको बताउँदै त्यही कारण आउन नसक्ने जानकारी गराए। गौतमसहितका नेताहरुलाई अपरान्ह साढे ५ बजेको निम्तो दिइएको थियो। पखाला लागेको बताएकाले रात्रिभोजमा गौतमको अनुपस्थितिलाई राष्ट्रपति कार्यालयले स्वभाविक रुपमा लियो।
शीतलनिवासमा आयोजित रात्रिभोजमा सरिक भएका नेकपा महासचिव विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ, कानून मन्त्री भानुभक्त ढकाल लगायत नेकपा नेता त्यतैबाट साढे ९ बजे विमानस्थलमा ओर्लने प्रचण्डलाई ‘रिसिभ’ गर्न पुगे।
पखाला लागेको भन्दै राष्ट्रपतिको रात्रिभोजमा सरिक नभएका गौतम पनि प्रचण्डलाई ‘रिसिभ’ गर्न विमानस्थलमा हाजिर थिए। पार्टीको तर्फबाट उनैले प्रचण्डलाई ‘रिसिभ’ गरे। भ्रमणबाट फर्केका प्रचण्डलाई स्वागत गर्दै खादा ओढाए। पत्रकार सम्मेलनमा उनी प्रचण्डको देब्रेतिर बसे।
गौतम र प्रचण्ड विमानस्थलमा
प्रचण्ड फर्केको समाचार केही समयपछि नै अनलाइनहरुले दिए, भोलिपल्टका दैनिक पत्रिकामा पनि सो समचार प्रकाशित भयो। रेडियो(टेलिभिजनले पनि समाचार दिए। विमानस्थलमा प्रचण्डलाई बामदेवले स्वागत गर्दै गरेको तस्वीर राष्ट्रपति कार्यालयका अधिकारीहरुले देखे।
साढे ५ बजे राष्ट्रपति कार्यालयमा भएको रात्रिभोजका निम्त्याइएका बामदेव पखालाको बहाना बनाउँदै सरिक नहुनु, तर एकै छिनमा प्रचण्डको स्वागत गर्न हँसिलो मुद्रामा बिमानस्थल पुगेको तस्वीर र भिडिओ देखेपछि के चाहियो?
राष्ट्रपति कार्यालयमा ४(५ असोजमा यो विषयले निकै चर्चा पायो। राष्ट्रपति कार्यालयका अधिकारीहरुले कुनै असन्तुष्टिस्वरुप बामदेव नआएको हुनसक्ने विश्लेषण गरे। यस्तै माथापच्चीका बीच राष्ट्रपति भण्डारीका जनसम्पर्क हेर्ने स्वकीय सचिव (उपसचिव) हीरामणि आचार्यले आक्रोस थाम्न सकेनन्।
र, शुक्रबार (५ असोज) गौतमको नाम उल्लेख नगरी आचार्यले फेसबुकमा एउटा स्टाटस लेखे, ‘मौनता साँधेर आफ्नै खुट्टामा बञ्चरो हानेको! यसले फाइदा गर्ला र? ५.३० (मा) आउनु पर्दा छेरौटी लाग्ने, ९.३० मा बुझ्दा एयरपोर्ट भेटिने!!!’
शुक्रबार साँझ फेसबुकमा लेखिएको सो स्टाटस शनिबार बिहानसम्म आचार्यले डिलिट गरिसकेका थिए। तर, यो प्रकरणले के देखाउँछ भने, राष्ट्रपति कार्यालय र सत्तारुढ दलका वरिष्ठ नेता गौतमबीचको सम्बन्ध त्यति सुमधुर छैन।
स्मरणीय के छ भने राष्ट्र प्रमुख निर्वाचित हुनुअघि भण्डारी एमालेको उपाध्यक्ष थिइन् भने गौतम पनि उपाध्यक्ष नै थिए। बरियतामा चाहिँ भण्डारीभन्दा गौतम अगाडि थिए।