कर्णालीका ५७ मध्ये ४४ योजना डोल्पामा

कर्णालीका नाममा नेताहरुले जमिनदारी गरेको सांसदहरुको आरोप

संघीय संसद् भवन
संघीय संसद् भवन
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले बजेट विनियोजन गर्दा नेताहरुके पहुँच पुग्ने जिल्ला र क्षेत्रलाई मात्रै केन्द्र बनाएको भन्दै सरकारको मन्त्रीहरुको आलोचना गरेका छन्।

 विनियोजन विधेयक, २०७५ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकूद र अर्थमन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले मन्त्री र सरकारको आलोचना गरेका हुन्।

सरकारले कुनै जिल्लामा सम्पन्न हुनै नसक्नेगरी योजना थुपार्ने र कुनैलाई रित्तै बनाउने काम गरेको भन्दै नेकपाका सांसद प्रेम आलेले आफूहरुलाई आश्वासन दिइएका योजना पनि नपारेको बताए।

उनले मन्त्रीहरुका गृहजिल्लामा मात्रै योजना केन्द्रित भएको भन्दै त्यस्तो विकासले असमानता जन्माउने बताए।

युवा तथा खेलकुद मन्त्री जगत विक र वन मन्त्री शक्ति बस्नेतको गृहजिल्लाको उदाहरण दिँदै उनले मन्त्रीहरुको आलोचना गरेका हुन्।

उनले खेलकुदमन्त्री विकको गृहजिल्ला कस्कीमा २४ र वनमन्त्री बस्नेतको गृहजिल्ला डोल्पामा ४४ योजना परेको भन्दै मन्त्रीहरु जिल्ला र आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत भएको बताए।

संसदमा कडा रुपमा प्रस्तुत भएका आलेले खेलकुदमन्त्रीलाई ‘डोटीमा योजना नपर्दा अर्थमन्त्रीलाई दोष दिने। आफ्नो जिल्ला कास्कीमा २४/२४ वटा योजना हाल्ने रु लाज लाग्दैन तपाईलाई?’ भन्दै कडा आलोचनात्मक प्रश्न समेत गरेका थिए।

उनले कर्णालीमा परेका ५७ योजनामध्ये ४४ योजना डोल्पामा परेको भन्दै उनले कर्णालीका नाममा नेताहरुले जमिन्दारी गरेको आरोप लगाए।

आफूले खेलकुद मन्त्रीलाई ७ वटा योजना बुझाएको र उनैको सल्लाहमा २ वटामा झारेको भन्दै उनले बजेट आउने बेला कुनै पनि नपरेको बताए।

नेकपाकै अर्का सांसद गोपालबहादुर बमले सरकारको नेतृत्व आफ्नै पार्टीले गरेको छ भनेर भन्न समेत नसकिने अवस्था रहेको बताए। ‘भनौं भने आफ्नो पार्टीकै सरकार छ, नभनौैं भने केही छैन’, उनले भने।

उनले पनि कर्णाली प्रदेशका नममा विकासजति डोल्पामा केन्द्रित गरेको भन्दै त्यसको आलोचना गरे। उनले डोल्पाका सांसद ठेकेदार भएका कारण योजनाजति डोल्पामा केन्द्रित भएको आरोपसमेत लगाए।

उनले आफूले डोल्पाको विकासको विरोध नभइ योजना तयार पार्दा सबै क्षेत्रलाई उत्तिकै महत्व दिन आग्रह गरे।

प्रकाशित 2018-06-14 16:25:45