‘मन्त्रीको निर्देशनमा ‘सीधा प्रश्न’ बन्द भएको होइन’

मनहरि थापा
मनहरि थापा
नेपाल टेलिभिजनमा सञ्चालित ‘सीधा प्रश्न’ नामक कार्यक्रम सञ्चारमन्त्री गोकूल अर्यालको निर्देशनमा नभई टेलिभिजन प्रशासनद्वारा नै स्थगित गरिएको टेलिभिजनका उच्च अधिकारीहरुले बताएका छन्।

महाप्रबन्धक सचिन रोका र समाचार संयोजक मनहरि थापाले टेलिभिजनकै तर्फबाट रोक्ने निर्णय भएको बताएका हुन्। कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बास्कोटाकै निर्देशनमा कार्यक्रम बन्द गरिएको दावी सामाजिक सञ्जालमार्फत् गरेका थिए।

मन्त्री बास्कोटासँग थापाले मंगलबार दिउसो अन्तर्वार्ता लिएपनि सो अन्तर्वार्ता प्रशारण हुन सकेको थिएन। लगत्तै थापाले सम्पत्ति बिबरण सम्बन्धी प्रश्नका कारण कार्यक्रम बन्द गरिएको दावी सामाजिक सञ्जालमार्फत गरेका थिए।

कार्यक्रम सञ्चालक थापाको भनाईलाई आधार बनाउँदै विभिन्न सञ्चारमाध्यमले मन्त्रीको ठाडो निर्देशनमा ‘सीधा प्रश्न’ कार्यक्रम बन्द गरिएको र यो प्रेसमाथिको अंकुशको सुरुवात भएको बेहोराको समाचार सामाग्री तयार पारेका थिए।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले बिज्ञप्ती जारी गरी महासंघको ध्यानाकर्षण भएको प्रश्न सोधेकै आधारमा कार्यक्रम बन्द गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहास भएको महासंघको ठहर रहेको बताएका थिए।

महासचिव बिष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ।’

तर नेपाल टेलिभिजनका समाचार संयोजक थापाले मन्त्रीको निर्देशनमा नभई समाचार प्रमुखको अधिकारको प्रयोग गरी कार्यक्रम रोकिएको बताएका छन्। महाप्रबन्धक रोकाले पनि यसमा मन्त्री बास्कोटाको कुनै हात नरहेको स्पष्टिकरण दिएका छन्।

प्रकाशित 2018-06-13 20:02:12