नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ६९ औं स्थापना दिवसको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना गरे। पार्टी एकता नै गर्ने टुङ्गोमा पुगेपनि दुई पार्टीले आयोजना गरेको पार्टी स्थापना दिवस कार्यक्रम आपसी बेमेलको कारण बन्यो।
कार्यक्रमको समय दिउँसो १२ बजे राजधानीको सभागृहमा तय गरिएको थियो। तोकिएको समयभन्दा पहिले नै सभागृहको हल खचाखच भरिएको थियो। बस्ने कुर्सीका बीचको हिँड्ने बाटोपनि पनि कार्यकर्ताहरुले खचाखच भरिएका थिए। तर, निर्धारित समय १ घण्ठा बितिसक्दापनि स्टेज भने खालि थियो।
एकाएक कार्यक्रम हलको पछाडितिरबाट हल्ला बढ्न थाल्यो, त्यो हल्ला एकैछिनमा नारावाजीमा परिणत भयो। नारा लगाउनेहरु कराउन थाले, ‘मार्क्स र लेनिनबिनाको तस्वीर हटाउनु पर्छ, त्यस्तो ब्यानर हामी मान्दैनौं।’
केही युवाहरु स्टेजतर्फ अघि बढे। त्यहाँ चढेर उनीहरुले ब्यानर च्यात्ने प्रयास समेत रे। तर, उनीहरुलार्इ सम्हाले। केही समयपछि हलमा लगाइएको व्यानर झिकियो। स्टेजमा देखिएका उर्जामन्त्री तथा माओवादी केन्द्रका नेता बर्षमान पुनले उत्तेजनामा नआउन आग्रह गरे।
भिडियो:
होहल्ला र नारावाजी चल्दै गर्दा माओवादी सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसीएल) अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) ले प्रचण्ड र ओली सभागृहमा आइसकेको जानकारी दिइसकेका थिए। साथै उनले कार्यक्रमलार्इ कसरी अगाडि बढाउने भन्ने विषयमा दुबै दलका नेताहरुबीच सभागृहमै चलिरहेको जानकारी पनि दिए।
केही समयअघि झिकिएको उपरोक्त विवादित ब्यानर फेरि झुन्ड्याउन थालियो। तर, हलभित्र नाराहरु लाग्न सुरु भयो। हल्ला र नारावाजी नरोकिने छाँट देखिएपछि वाइसिएल अध्यक्ष दीपशिखाले भने, ‘दुर्इवटा ब्यानर राखेर कार्यक्रम सुरु गर्ने सहमति शिर्ष नेतृत्वबीच भएको छ। त्यसैले शान्त रहनु होला।’
कार्यक्रमस्थलमा माओवादी केन्द्रको ब्यानर टाँगिदै
त्यसैपछि मार्क्स र लेनिनका सिसाका फ्रेस लगाइएका छुट्टाछुट्टै तस्वीर ल्याइयो। दुबै तस्वीरर्लाइ स्टेजको अघिल्तिर कुर्सीमा राखियो।
केहीबेरैमा अर्को नयाँ व्यानर ल्याइयो। भर्खर बनाइएकाले रङपनि नसुकेको उक्त व्यानर पुरानो व्यानको देब्रेतिर झुन्ड्याइयो। यो माओवादी पक्षले बनाएको ब्यानर थियो। ब्यानर टाँग्ने बेला माओवादी समर्थकहरुले उक्त पुरानो ब्यानर भन्दा अलिकति पनि तल पर्न नपार्न भन्दै चेतावनी दिए।
ब्यानर लगाउने काम सकिएपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सँगै मुस्कुराउँदै हलभित्र छिरे। हलमा ओली र प्रचण्डको आगमनसँगै पार्टी स्थापना दिवस संयुक्त रुपमा हुँदैन कि भन्ने आशंका पनि समाप्त भयो।
‘निकट भविष्यमा एकता हुन्छ। एकता रोक्ने खेल, कारण ठाउँ, तागत केही पनि छैन।’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेपाली जनताको हित चिताउन नचाहनेको मनमा आशाको दियो टुसाउन चाहेको भए बेकार हो।’
ओलीले एमाले र माओवादी केन्द्रबीचको अहिलेको सम्बन्धलाई विहेअघिका बेहुला बेहुलीसँग तुलना गरे। ‘विहे गर्नुअघि बहुला–बेहुलीको एउटै घर हुँदैन’ ओलीले भने, तर एउटै घर नभएपनि दुबैलाई अर्काको घरको मायाँ लाग्छ, अर्काे घरमा पालेको विरालोको पनि मायाँ लाग्छ।’
कम्युनिष्टहरुबीचको फुटबाट प्रतिक्रियाबादीहरुले फाइदा लिएको बताउँदै ओलीले एकतापछि त्यस्तो लाभ लिननसक्ने बताए। ‘प्रचण्डले नमानेपनि, ओलीले नमानेपनि एकता हुन्छ’ ओलीले भने, ‘एकतालाई दरो पार्ने बाहेक अर्काे बिकल्प हामीसँग छैन।’
कांग्रेस सभापति शेरबहादुर देउवाले लगाएको अधिनायकबादको जवाफपनि ओलीले कार्यक्रममा दिन भ्याए। ‘अधिनायकवादतर्फ जाने भनेर एउटा पार्टीले भनेको पनि सुनेको छु’ ओलीले भने, ‘प्रधानमन्त्री विरुद्ध लेख्न पनि प्रेसपनि डराउँछन् भनिएछ, यस्तो भन्न कसरी सकेको हो? प्रेस जगतको यत्रो अपमान गर्ने हिम्मत कसरी आयो?’
ओलीले आफू नेतृत्वको सरकारले दुबै छमेकीसँग सुमधुर सम्बन्ध राख्नेपनि बताए। भने, ‘राष्ट्रिय स्वाधिनता भन्नेमात्र होइन, त्यसको प्रयोग पनि गर्छाैं।’ उनले राष्ट्रिय हित भनेरमात्र नहुने, त्यो न्यायोचित पनि हुनुपर्नेमा जोड दिए।
त्यस्तै प्रचण्डले एकता संयोजन समितिले आयोजना गरेको उक्त कार्यक्रममा नपत्याउने गरी पहिले झैं ड्याम्मै एकता गर्ने बताए।
उनले पार्टी एकता हुन नदिन थुप्रै खेल भएको’ बताउँदै प्रचण्डले त्यसलाई चिरेर पनि पार्टी एकता हुने दावी गरे। भने, ‘अब तोकेको होइन नतोकिएको मितिमा एकता हुन्छ।’
‘एमालेलाई सकिन लागेको पार्टीसँग किन एकता गरेको भनिएको छ’ उनले सुनाए, ‘माओवादीलाई किन एमालेसँग एकता गरेको तपाईंहरुलाई सिध्याइदिन्छ भनिएको छ।’
एकताको वातावरण बनाउन उनले पार्टीका नेताकार्यकर्ताहरुलाई सकरात्मक भूमिका खेल्न पनि आग्रह गरे।