विहीबार राति भएको मालिन्दो एयर दुर्घटनाको असर आजदेखि हुने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई परेको छ।
विमान दुर्घटनाका कारण विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेका र त्यसले आन्तरिक उडानलाई पनि असर गरेपछि कांग्रेस बैठकलाई असर गरेको हो।
कांग्रेस नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको केन्द्रीय समितिको बैठक लामो समयपछि आज ११ बजे बस्ने भनिएको थियो।
प्रबक्ता विश्वप्रकाश शर्माका अनुसार, विमानस्थलमा देखिएको समस्याका कारण पूर्व र पश्चिम क्षेत्रका नेताहरु आजको बैठकमा आउन सकेका छैनन्।
रामचन्द्र पौडेल पोखराबाट र विजय गच्छदार विराटनगरबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो’ शर्माले नेपालखबरसँग भने, ‘तर आउन नसक्ने हुनुभयो।’
बैठकमा सहभागी हुने ९० जना नेतामध्ये झण्डै आधाजस्तो केन्द्रीय सदस्य विमानस्थलमा देखिएको समस्याका कारण काठमाडौं आउन सकेका छैनन्।
शर्माका अनुसार, यही समस्याका कारण कांग्रेस नेता पौडेल आकाशमार्गको साटो स्थलमार्गबाटै काठमाडौं प्रस्थान गरेका छन्।
‘विमानस्थल सुचारु भयो भने भरेसम्म नेताहरु आइपुग्नुहोला’ शर्माले नेपालखबरसँग भने, ‘त्यसैले, आजको बैठक नहुनपनि सक्छ।
चैत ९ देखि १६ गतेसम्म निरन्तर चलेको बैठक चैत १७ गते नेता खड्काको निधनपछि स्थगित भएको थियो। कांग्रेसको उक्त बैठक स्थानीय र प्रदेश तथा प्रतिनिधिसधामा व्यहोर्नुपरेको हारको समिक्षा गर्नतर्फ केन्द्रीत हुने प्रवक्ता शर्मा बताउँछन्।