पूर्वराजाको गद्दी मृगतृष्णा





भारत प्रस्थान गर्दै पूर्वराजा ज्ञानेन्द्र। तस्विर: प्रविन काेइराला
भारत प्रस्थान गर्दै पूर्वराजा ज्ञानेन्द्र। तस्विर: प्रविन काेइराला

२०६५ जेठ २९ गते नारायणहिटी दरवार छाड्दै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका थिए,'मैले देश छाडेर जाने सोच बनाएको छैन।

 म मातृभूमि नेपालमै बसी मुलुकको वृहतरहित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु।'

साँच्चै राजसंस्था पतनपछि पूर्व राजा विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहन्छन्। नेपाल दौडाहा गरिरहन्छन्। आफूलार्इ बोलाइएका सबैजसो कार्यक्रमहरुमा राजसंस्था पुन:स्थापनाको कुरा निकाल्छन्। त्यस्ता कार्यक्रममा 'राजा आउ देश बचाउ' भन्ने नारासहित पूर्वराजाको भाषणमा राजसंस्था पुन: स्थापनाका कुरा स्वभाविक रुपमै आउँछन्।

गत पुस १४ गते नेपालगंञ्ज पुरेका उनी सुटुक्क लखनउ गएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलार्इ भेटे। राजपाट गुमेकाे छटपटीमा रहेका पूर्वराजाले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका निकट मानिएका अादित्यनाथसँग गरेकाे भेट राजनीतिक हाेइन भनेर भन्न सक्ने अवस्था छैन। योगीको राजनीतिक स्कूलिंग हिन्दूत्व र हिन्दू राष्ट्र हाे। त्यसकारण नेपालगंञ्ज पुगेका पूर्वराजा र योगी आदित्यनाथसँगको भेटलाई अर्थपूर्ण मान्न सकिन्छ।

भारतको उडिसास्थित गोवर्धन मठ जगन्नाथपुरीका शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५ औं वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन गत २२ गते फेरि अर्को पटक भारत जाँदै गरेका पूर्वराजाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लक्ष्य पूरा गर्न फरक फरक बाटो अपनाए पनि सिद्धान्त नछोड्ने दावी गरे। उनले त्यहाँ भने, 'रूखकाे पात फेरिए पनि जरा फेरिँदैन।'

उदारहण जति घुमाउरो भए पनि यसो भन्नुको मतलब एउटै हाे, राजसंस्था पुन:स्थापना। एउटा कोणबाट हेर्दा राजसंस्था पुन:स्थापनको मुड बनाएर हिँडिरहेका पूर्वराजा एउटा शक्ति निर्माणमा लागेको स्पष्ट देखिन्छ भन्नुपनि स्वभाविक हो।

पुर्वराजाले विभिन्न स्थानहरुमा घुमाउरो पारामा 'तपाइँको साथ पाइन्छ भने म आँट्न तयार छु' भने पनि कस्तो राजसंस्था कसरी पुन:स्थापना गर्न सकिन्छ भन्ने कुरा सार्वजनिक गरेका छैनन्। 

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले लोकतन्त्रसहितको राजसंस्था भन्दै अाएकाे छ। प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीले आफ्नो अभियानलार्इ 'राजा फर्काउने अभियान' नामकरण गरेको छ। त्यस्तै केही समय अगाडि राप्रपा फुटेर बनेको पशुपति शमशेर नेतृत्वको राप्रपा प्राजातन्त्रिकले अहिलेसम्म राजसंस्थासम्बन्धी कुनै सिद्धान्त सार्वजनिक गरेको छैन।

परम्परागत शक्तिसँग अपेक्षा-उपेक्षा

नेपालमा राजसंस्था पुन:स्थापनाको आवाज उठाइरहने एउटामात्र शक्ति हो परम्परागत राजनीतिक शक्ति। राष्ट्रिय प्रजातन्त्र पार्टी र त्यसबाट विभाजन भएर बनेका घटकहरु। तर, पछिल्लो समय टुट-फुटको संघारबाट गुज्रिँएका, अपेक्षाकृत जनमत प्राप्त गर्न नसकेका पूर्व पञ्चका नेताहरू पूर्वराजाबाटै अाफूहरू उपेक्षित भएकाे बताउँछन्। 'राजा आउँ देश बचाउ' भन्नेहरुले पनि आफुहरुलार्इ मत नदिएको एकथरि परम्परागत शक्तिको गुनासो छ। दुर्इ राप्रपा एक भएको वर्षदिन नपुग्दै एकीकृत राप्रपाले निर्वाचनको पूर्वसन्ध्यामा फुट व्यहोर्‍यो, त्यसको सोझो असर निर्वाचनमा पर्ने नै भयाे। जनमत गुमाएका यी दलहरूसँग पूर्वराजाले के अपेक्षा गर्न सक्लान भन्ने प्रश्न पनि नउठेको होइन।

२०४६ सालको जनआन्दोलनपछि समाज खासगरी दुइ भागमा विभाजित भयाे- प्रजातान्त्रिक शक्ति र पूर्वपञ्चहरूकाे परम्परागत शक्ति। काँग्रेस एमालेहरूले पहिलाे शक्तिकाे रूपमा राजनीतिक अभ्यास गरे। राजदरवार, राजाको परम्परागत शक्तिको आडमा पूर्व पञ्चहरू एकत्रित भएर राष्ट्रिय प्रजातन्त्र पार्टी बन्याे।

२०५१ को मध्यावधि निर्वाचनमा दर्जनभन्दा बढी सिटसहित संसद्मा प्रवेश गरेर उक्त समूहले पुनर्जीवन पायो र कांग्रेसको सहयोगमा सोही राप्रपाका सूर्यबहादुर प्रधानमन्त्री भए त्यसछि नेकपा एमालेको सहयोगमा राप्रपाकै लोकेन्द्रबहादुर चन्द पनि प्रधानमन्त्री भए। त्यसछि राप्रपा देशमा एउटा शक्तिको रुपमा उपान्तरण भयो, फलस्वरुप २०५९ देखि २०६२ सम्म राजा ज्ञानेन्द्रको शासनकालमा राप्रपाले सरकार चलायो।

बीचमा टुटफुटको नियति भोगेको भएपनि यस पटकको प्रतिनिधिसभा निर्वाचनमा कमल थापाले नेतृत्व गरेको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको प्रजातान्त्रिक दुवैले लोकतान्त्रिक गठबन्धनको हिस्साका रूपमा कांग्रेससँग मिलेर निर्वाचन होमिए। तर, दुवै दलका सभापति पराजित भएका छन्। परम्परागत शक्तिका मेरुदण्डमा मानिने दीपक बोहरा, विक्रमबहादुर थापा लगाएत पञ्चायत कालका हस्ती मानिने विक्रम पाण्डे र पिता सूर्यबहादुरको बिरासत थाम्न राजनीतिमा सक्रिय सुनीलबहादुर थापाले पनि प्रतिनिधिसभा निर्वाचनमा नराम्रो हार व्यहोर्नु पर्‍यो। अर्कोतिर प्रकाशचन्द्र लोहनी र केशरबहादुर विष्टलगाएतको राप्रपा राष्ट्रवादीले पनि प्रत्यक्षतर्फको कुनै नगरौं समानुपातिकमा पनि गरिखाने कुनै संकेत दिएन।

उसो त संविधानसभाको दोस्रो निर्वाचनमा समानुपातिकतर्फको समेत मत गरी दुई समूहले ३६ सिट जितेर संसद्मा उपस्थित गराएर सरकार संचालनमा हिस्सेदारी नलिएको पनि होइनन्। तर, यसपटक राप्रपाका न राजसंस्था पुन:स्थापना न धर्मराजनीति कुनैपनि मुद्धाले निर्वाचनमा लाभ लिन सकेन।

 राजा आऊ, पार्टी फुटाउ?

राप्रपा भित्र आफुलार्इ कट्टर राजावादीको रुपमा प्रस्तुत गर्ने नेताहरु रामकुमार सुब्बा, रेशम लामा, कमला शर्मा, सइन्द्र बान्तवा, बबिना लावती लगायत अन्यको सहयोगमा पशुपति शमशेरले राप्रपा फुटाएको आरोप लागिरहेको छ। आफुलार्इ कट्टर राजावादी भन्नेहरुको सहयोगमा  नै परम्परागत शक्तिकेन्द्र मानिने राप्रपा नेपाल विभाजन हुनुले कतै न कतै पार्टी विभाजनमा पूर्वराजाको हात छ भन्ने कुरा परम्परागत शक्तिभित्र अहिले बहसको विषय बनेको छ।

तर, यसलार्इ स्वीकार गर्दैनन राप्रपा नेपालका अध्यक्ष कमल थापा। 'राजाकै भलो हुने काम गरिरहेको पार्टीलार्इ राजाले नै कसरी विभाजन गराउन सक्नुहोला' उनको प्रश्न छ। थापा  पार्टी विभाजन बारे पूर्वराजासँग आफ्नो छलफल भएपनि उनले यस विषयमा अनभिज्ञता जनाएको बताउछन्। राप्रपा नेपालले चुनावी हारको आत्मसमिक्षा गर्न पुस १८, २० र २१ गते केन्द्रीय समितिको बैठक बसाल्यो बैठको आत्म समिक्षा गर्‍यो र निष्कर्षमा भन्यो,'हारको कारण कांग्रेस'।

हारको कारण कांग्रेस किन? अध्यक्ष कमल थापाले नेपालखबरसँगको कुराकानीका भनेका छन्, 'राजसंस्था पुन:स्थापना र  हिन्दूराज्यको पक्षमा रहेको जनताले यो निर्वाचनमा राप्रपालार्इ मत दिने पक्का थियो र परम्परागत विचारको एउटा ठूलै हिस्साले संविधानसभा निर्वाचनमा दिएको मतलार्इ आधार मान्दै हामीले केही आशा पनि गरेका थियौं। तर, हामीले आशा गरेभन्दा नराम्रोसँग हार व्यहोर्नु पर्‍यो त्यसको कारण राप्रपा फुट र कांग्रेसले धोका दिनु हो।'

जब दुई राप्रपाबीच एकता भयो, त्यो बलियो राष्ट्रवादी र हिन्दुवादी परम्परागत शक्तिको रुपमा देखापर्‍यो। तर, राष्ट्रवादी शक्ति बलियो नहोस् र नेपाल कहिल्यै हिन्दु राष्ट्र बन्न नसकोस् भन्ने चाहना राख्ने देशी–विदेशी शक्तिहरुले षडयन्त्र गर्न थालेको थापाको ठहर छ। पार्टीभित्रका स्वार्थी सत्तालोलुप र केही भ्रष्ट व्यक्तिले पशुपति शमशेरलाई उचाल्ने काम गरेर, उनलाई एउटा मोहरा बनाएर पार्टी विभाजन गराएको समेत थापाको दावी छ। त्यसैले पार्टी विभाजन र हारको जिम्मा थापाले पूर्वराजालार्इ दिन चाहँदैनन्। 

त्यसैले भिषण हारको स्वीकारोक्तिमा थापा भन्छन्, 'संविधान संसोधन र सरकारमा जाने पार्टीको नीति–अडानको बारेमा सिर्जित भ्रमपनि हामीले चिर्न सकेनौं। हारको तेस्रो कारण निर्वाचनमा हामीले अत्यन्त कम उम्मेदवार खडा गर्नु हो। हामीले प्रतिनिधि सभाका १ सय ६० सिटमा उम्मेदवार खडा गरेनौं। यसैगरी प्रदेश सभाका ३ सय २० सिटमा हाम्रा उम्मेदवार भएनन्। यो अत्यन्तै ठूलो रणनीतिक भूल थियो।' 

जनयुद्धका नेताको छटपटी

राजतन्त्रको विरोधमा जनयुद्ध लडेका नेताहरु पूर्वराजा ज्ञानेन्द्रको राजसंस्था पुन:स्थापनाको मुड र अभिव्यक्तिप्रति चुपचाप छैनन्, देशमा पूर्वराजाका क्रियाकलाप बढेसँगै उनका गतिविधिमा विरोध जनाउदै आएका छन् भने नेकपा एमाले र कांग्रेसनेताहरु पूर्वराजाका भनाइहरुलार्इ बेवास्ता गर्दै आएका छन्।

गत वर्ष पुस ६ गते पूर्वराजाले प्रेस विज्ञप्ति जारी गर्दै देशमा भइरहेको राजनीतिक खिचातानीको विरोध मात्र गरेनन्। उनले घुमाउरो पारामा आजको सन्दर्भमा बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी गराएको,  स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको आरोप लगाउदै देशले फेरी राजसंस्था खोजेको जानकारी दिए।

शाहले आफ्नो विज्ञप्तिमा भनेका छन्,'अझै पनि जनतामा आस्था ढलेका छैनन्। नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन। सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ। राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पण बाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौँ। समय भट्कीसकेपछि पश्चातापले कुनै अर्थ राख्दैन।'

पूर्वराजाको यस्तो अभिव्यक्तिले आगो भएका पूर्वप्रधानमन्त्री तथा नयाँशक्तिका संयोजक डा.बाबुराम भट्टरार्इले  ट्विट गर्दै भने, 'बाह्य शक्तिकेन्द्र धाउँदै हिँड्ने ज्ञानेन्द्रले राष्ट्रियताको दुहाइ दिनु पाखण्डपूर्ण छ। शाहवंशले मात्र नेपाल आर्जेको,अरू गोरखाली सुतेको हो त?' भन्ने प्रश्न मात्र गरेनन्, 'इतिहासमा क्रान्तिपछि राजालाई यसरी चैनसाथ बस्ने र हाकाहाकी प्रतिक्रान्तिको धम्कीदिने छुट कतै दिएको देखिन्न। ज्ञानेन्द्रलाई त्यो छुट कहिलेसम्म?' भन्ने प्रश्नसमेत गरे।

भट्टरार्इका समकक्षी तथा माओवादी अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड'ले पनि पूर्वराजाका अभिव्यक्तिहरुलार्इ स्वभाविक रुपमा पचाउन सकेनन्। प्रचण्ड दुर्इवर्ष यता पूर्वराजाका अभिव्यक्ति र उनीसँग जोडिएका विषयमाथि खुलेर विरोध गर्दै आएका छन्। पार्टी विधानमा गणतन्त्र संस्थागत गरिसकेका काँग्रेस र एमालेका नेताहरू पूर्वराजालाइ खासै भाउ दिइरहेका छैनन्। त्यस कारण गणतन्त्र, संघीयता कार्यान्वयन गर्दै नयाँ संविधानअनुसार मुलुक अघि बढिसकेकाे अवस्थामा पूर्वराजाकाे राजतन्त्र फर्काउने चाह एउटा मृगतृष्णा पहल मात्र हुनसक्छ।

प्रकाशित १ फागुन २०७४, मंगलबार | 2018-02-13 14:46:58


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...