सातै प्रदेशका सांसदले अाज शपथ लिँदै





प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सातै प्रदेशका सदस्यको आज पद तथा गोपनीयताको शपथग्रहण हुँदैछ।

संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई अस्थायी मुकाममा शपथग्रहण गराउने छन्।

माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आजदेखि नै सुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै सम्पन्न गर्नुपर्नेछ। सातै प्रदेशमा शपथ ग्रहणको तयारी लगभाग पुरा भएको छ र सबै प्रदेशलमा बिहान १० देखि ११ बजेको बीचमा शपथ ग्रहण कार्यक्रम हुने छ।

प्रदेश नं १ को प्रदेशसभा सदस्यको प्रादेशिक अस्थायी राजधानी विराटनगरमा शपथ ग्रहण कार्यक्रमको तयारी पूरा भइसकेको छ।

वीरेन्द्र सभागृहमा हुन गइरहेको शपथग्रहण बिहान १० बजेदेखि शुरु हुने कार्यक्रम रहेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराए।

प्रदेशसभाका प्रमुख डा गोविन्द सुब्बाले सबैभन्दा पहिले प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई शपथग्रहण गराउने छन् र त्यसपछि, ज्येष्ठ सदस्यले अन्य प्रदेश सदस्यहरुलाई शपथ ग्रहण गराउउने प्रजिअ आचार्यले जानकारी गराए।

विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयबाट प्राप्त जानकारीअनुसार ७४ वर्षीय ओम सरावगी प्रदेशसभाका ज्येष्ठ सदस्य हुन्। मतदाता नामावलीका आधारमा उनको जन्म २००० चैत ३० मा भएको हो। झापाका स्थायी बासिन्दा उनी नेपाली काँग्रेस पार्टीबाट समानुपातिक सदस्यमा छनोट भएका हुन्।

प्रदेश नं १ का १४ जिल्लाका २८ वटा संसदीय क्षेत्रका ५६ वटा प्रदेशसभाका ५६ जना निर्वाचित र समानुपातिका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्य छन्।

त्यस्तै प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथग्रहण सम्पूर्ण तयारी पूरा भइसकेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंका अनुसार बिहान १० बजे जनकपुर उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा शपथ ग्रहण समारोह हुनेछ।

शपथका लागि प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ जनकपुरधाम आइसकेको र शपथ ग्रहण समारोह स्थलमा सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए। प्रदेश नं २ मा १०७ प्रदेशसभा सदस्य रहेका छन्।

३ नं प्रदेशमा प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा सदस्यमध्येका ज्येष्ठ सदस्य डोरमणि पौडेललाई शपथ ग्रहण गराएर शपथको सुरुवात गर्ने कार्यक्रम तय भएको छ।

बिहान १० बजे ज्येष्ठ सदस्य पौडेलले अन्य ११० प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी गराए।

प्रदेश नं ४ मा प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश नं ४ का ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन्।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालका अनुसार प्रदेश प्रमुखको कार्यालय पार्दीमा ज्येष्ठ सदस्यले शपथ लिएसँगै अन्य सदस्यले ज्येष्ठ सदस्यबाट साविकको नगर प्रशिक्षण कार्यालयमा विहान १० बजे शपथ लिने कार्यक्रम तय गरिएको छ।

५ नं प्रदेशमा प्रदेश प्रमखु उमाकान्त झाले बिहान १० बजे रुपन्देही व्यापार संघको सचिवालयमा तय गरिएको प्रदेश प्रमुखको सचिवालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ। पदभार ग्रहणपछि बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा रहेको सभाहलमा प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ।

प्रदेश नम्बर ६ मा पनि प्रदेशसभाका सदस्यलाई शपथ खुवाउने तयारी गरिएको छ। क्षेत्रीय प्रशासन कार्यालयले प्रदेश ६ का प्रदेशसभा सदस्यलाई जिल्ला समन्वय समितिको हलमा शपथ खुवाउने तयारी गरेको छ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले बिहान ११ बजे प्रदेशसभाका ४० जना सदस्यलाई शपथ खुवाउने छन्।

प्रदेशसभाको शपथग्रहण अगावै प्रदेश प्रमुखको पदवहालीको कार्यक्रम तय भएको छ । प्रशासनले ६ नं प्रदेशका ४० जना सदस्यलाई शपथग्रहणका लागि खबर गरिसकेको छ।

७ नं प्रदेशको अस्थायी मुकाम तोकिएको धनगढीमा शपथ ग्रहणको तयारी पूरा भएको छ।

शपथ ग्रहण समारोहका लागि तोकिएको धनगढीस्थित जिल्ला समन्वय समिति कार्यालयको सभाकक्षमा आवश्यक तयारी गरिएको छ।

प्रदेश प्रमुख मोहनराज मल्लले बिहान ५३ प्रदेश सांसद मध्ये सबै भन्दा जेष्ठ सदस्यलाई शपप खुवाए पछि बिहान ११ बजे ती जेष्ठ सदस्यले अन्यलाई शपथ खुवाउने छन्।

नौ जिल्ला रहेका ७ नं प्रदेशमा प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र रहेका छन्। यो प्रदेशमा प्रदेशसभाको प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ प्रदेश सांसद रहेका छन्।

 

प्रकाशित ७ माघ २०७४, आइतबार | 2018-01-21 08:36:08

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • युवराज खतिवडा

    अर्थ मन्त्रालयमा जाने पछिको कुरा होः युवराज खतिवडा

    राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनेनित भएका अर्थविद डा युवराज खतिवडाले अर्थमन्त्री हुनेबारे छलफल भैनसकेको बताएका छन्।

  • बालुवाटारमा ७ बुँदे सहमतीमा हस्ताक्षर गर्दै एमाले–माओवादीका नेताहरू

    एमाले-माओवादीले गरे एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

    एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार राती प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी नाम राखेर...

  • क्रिकेट खेल्न जाने हो, मोटा मान्छेदेखि डराउनु पर्दैन : ओली (भिडियो)

    नामिबियामा सम्पन्न डिभिजन टूको उपविजेता बन्दै वल्र्डकप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँसहित...

  • ललितपुर एसएसपीलाई स्पष्टिकरण, इन्स्पेक्टर प्रहरीकै नजरबन्दमा

    महानगरीय प्रहरी परिसर ललितपुरले ‘लेनदेन’ को विषयलाई अपहरण तथा शरीर बन्धकको घटना बनाएर मुद्दा मिलाएको खुलासा भएको छ। परिसरले अपहरण तथा शरीर बन्धक...