ओली र दाहाल हेलिकोप्टर लिएर गोरखा र लमजुङ जाँदै

नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराई फरक गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएपछि चर्चाको शिखरमा रहेको गोरखामा वामगठबन्धनका उम्मेदवारलाई भोट माग्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा आउँदैछन्।

वामगठबन्धन बनाएर निर्वाचनमा उत्रिएका एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले गोरखाबाट चुनावी अभियान सुरु गर्न लागेका हुन्, जहाँ ओली र दाहालले संयुक्त चुनावी सभालाई सम्बोधन गर्नेछन्।

अध्यक्षद्वय ओली र प्रचण्डले बुधबार लमजुङको एक र गोरखाका चार ठाउँमा चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ। बिहान १० बजे लमजुङमा, ११ बजे गोरखाको भच्चेक, १२ बजे पालुङटार, दिउँसो २ बजे घैरुङ र ३ बजे आरुघाटमा हुने चुनावी सभालाई ओली र प्रचण्डले सम्बोधन गर्दैछन्।

कार्यक्रममा सहभागी हुन ओली, प्रचण्ड, परिवार दलका अध्यक्ष एकनाथ ढकाललगायत नेता तीन वटा हेलिकोप्टरमार्फत् आउने कार्यक्रम तय भइसकेको छ। कार्यक्रममा एमाले र माओवादीले कार्यकर्ता तथा समर्थक उतार्ने तयारी गरेका छन्।

पालुङटारमा लोकतान्त्रिक गठबन्धनबाट गोरखा २ का उम्मेदवार बाबुराम भट्टराईको जनमत रहेको आँकलनसहित कार्यक्रम तय गरिएको र आरुघाटमा पहिले प्रचण्ड शिक्षक हुँदा बसेकाले सो क्षेत्रमा कार्यक्रम तय गरिएको बुझिएको छ।

गोरखा २ मा वामगठबन्धनका सुत्राधारमध्ये एक नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराई प्रतिस्पर्धामा छन् भने गोरखा १ मा वामगठबन्धनबाट माओवादी नेता हरिराज अधिकारी र कांग्रेस केन्द्रिय सदस्य एवं पूर्वसचेतक चीनकाजी श्रेष्ठ प्रतिनिधिसभा उम्मेदवार छन्।

गोरखा १ प्रदेशसभा क्षेत्र (क) मा वामगठबन्धनबाट माओवादी नेता लेखबहादुर थापा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेता धिरन थापा प्रतिस्पर्धामा छन् भने गोरखा १ प्रदेशसभा क्षेत्र (ख) मा वामगठबन्धनबाट एमालेका केन्द्रिय सदस्य रामशरण बस्नेत र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस युवा नेता राजेन्द्र बजगाइँबीच प्रतिस्पर्धा हुँदैछ।

यस्तै गोरखा २ को प्रदेशसभा क्षेत्र (क) मा जेल ब्रेकरसमेत रहेकी माओवादी नेतृ कमला नहर्की वामगठबन्धनबाट र लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टीका नेता हरिशरण आचार्य प्रतिस्पर्धामा छन्। दुई गठबन्धनबीच कडा टक्कर हुने देखिन्छ।

यसैबीच कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले मंसीर २ गते जिल्लाका दुवै क्षेत्रमा चुनावी सभा गर्ने तयारी गरेको बुझिएको छ।

प्रकाशित 2017-11-14 21:56:46