अनन्तमाथि बिप्लवको आक्रमणः ‘प्रचण्ड’ बन्ने महत्वाकांक्षाको टक्कर



वर्षमान पुन र नेत्र विक्रम चन्द
वर्षमान पुन र नेत्र विक्रम चन्द

रोल्पाको माडी गाउँपालिका–१ भिट्टावाङ भन्ने ठाउँमा आफूलाई लक्ष्यित गर्दै माइन विस्फोट गराइएपछि नेपालखबरसँग कुरा गर्दै पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’ ले शनिवार विहान नेपालखबरसँग भने, ‘हामीहरुमाथि विप्लवका कार्यकर्ताहरुले नियोजित रुपमा हमला गर्दै आएका छन्। यो हमलापनि हाम्रो हत्या गर्ने उद्देश्यले गराइएको घटना हो।’

अघिल्लो दिन रुकुममा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई लक्ष्यित गर्दै वम प्रहार भएको थियो। शर्मामाथि बम प्रहार हुँदा पुन रोल्पाको सुकिदह गाउँपालिकाको सुखाओडारमा थिए अनन्त । जव शर्मामाथि बम प्रहार भएको खवर पुनले सुने, रोल्पा प्रदेश सभा–२ उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ सँग भनेका रहेछन्, ‘हामीमाथि पनि आक्रमण गर्न सक्छन्, सतर्क हुनुपर्छ।’

यस्ता वम प्रहारका घटनाबारे नेत्रबिक्रम चन्द ‘बिप्लव’ ले मुख खोलेका छैनन्। तर बिप्लव नेतृत्वको ‘नेकपा’ ले निर्वाचन बहिस्कारको निर्णय गरेको छ। स्थानीय निर्वाचनताका झैं वम प्रहारका घटना गराउने, तर जिम्मेवारी चाहिँ नलिने अराजनीतिक व्यवहार उसले प्रदर्शन गर्दै आएको छ। जिम्मा नलिएपनि घटना बिप्लव नेतृत्वकै पार्टीबाट भएकोमा कुनै शंका छैन।

अनन्तले नै भनिसकेका छन् कि, हत्यालक्ष्यित सुनियोजित घटना हो। जानकारहरु पनि के बताउँछन् भने, बिप्लवको निर्वाचन असफल बनाउने योजना त छँदैछ, त्यसबाहेक पुनले दावी गरेझैं, यसमा उनको हत्या नै गरिदिने योजनापनि हुनसक्छ। किनभने, शान्ति प्रक्रिया सुरु भएयताका १० वर्ष यी दुई नेताबीच मित्रताको तुलनामा अदृष्य संघर्ष, सौहार्दताको तुलनामा भित्री कटुता ज्यादा छ।

दुवै प्रचण्डका दाहिने हात

रोचक त के भने, प्रतिद्धन्दितापूर्ण सम्बन्ध र अदृष्य संघर्ष भएपनि बिप्लव र अनन्तबीच केही रोचक समानताहरु पनि छन्। दुवै माओवादी आन्दोलनका क्षमतावान र महत्वाकांक्षी नेता हुन्। अनन्त प्रचण्डले नेतृत्व गरिरहेको माओवादी केन्द्रको ‘सुप्रिमो’ आफू बन्ने महत्वाकांक्षा पालिरहेका छने्। र, उनी माओवादी नेतृत्वको भर्‍याङरुपी खुड्किलोमा स्थायी समिति सदस्य र सचिव बनिसकेका छन्।

विप्लव आजकल प्रचण्डलाई घृणा गर्छन्। तर उनको ध्येयपनि आफ्नो नेतृत्वमा नयाँ जनयुद्ध गर्ने र प्रचण्ड जस्तै उचाईको नेता बन्ने हो। बिप्लवको यो महत्वाकांक्षा प्रचण्डले पनि राम्रैसँग बुझेका छन्। त्यसैले बेलाबेला बिप्लवलाई सार्वजनिक रुपमा नै जवाफ दिने गर्छन् प्रचण्ड, ‘चाहनालेमात्र कुनै व्यक्ति प्रचण्ड बन्न सक्दैन। म प्रचण्ड बनेको संयोग र इतिहासको आवस्यकताका कारणले हो।’

यी दुईबीचको एउटा समानता भनेको दुवै माओवादी उद्गम थलो रोल्पाका हुन्। उमेरमा अनन्त भन्दा ४ जेठा बिप्लव रोल्पाको तत्कालिन इरिवाङ गाविसको केबरीमा ११ फागुन २०२४ जन्मेका हुन् भने अनन्त चाहिँ १० जेठ २०२८ मा रोल्पाको माडीमा। दुबैजना आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मे। र, माध्यमिक तहको अध्ययनका लागि कृष्णबहादुर महरा शिक्षक रहेको सदरमुकाम लिवाङस्थित बालकल्याण माविमा भर्ना भए।

२०४३ मा एसएलसी उतीर्ण गरेपछि बिप्लव पढ्न काठमाडौैं आए र कानून पढ्नका लागि नेपाल ल क्याम्पसमा भर्ना भए। उता, २०४५ मा एसएलसी उतीर्ण गरेका अनन्तले पनि कानून नै पढ्ने योजना बनाए। र, दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए। २०४६ को परिवर्तनपछिको पहिलो आम चुनावमा बिप्लव र अनन्त दुवैजनाले पढाई छाडे। आफ्ना राजनीतिक गुरु कृष्णबहादुर महराको चुनाव अभियानसँगै पूर्णकालिन राजनीतिमा होमिए।

पार्टी सदस्यता दुवैले २०४७ मा पाएपनि बिप्लव २०५४ मा पार्टी केन्द्रीय सदस्य बने भने अनन्तले केन्द्रीय सदस्य बन्ने अवसर २०५५ मा मात्र पाए। दुवैजना पार्टीभित्रको अन्तरसंघर्षमा प्रचण्ड निकट युवा नेताको रुपमा चिनिन्थे। दुवै क्षमतावान त छँदै थिए। पार्टीमा अरु दिग्गज नेताहरु हुँदाहुँदै तिनीहरुलाई उछिनेर पार्टीको केन्द्रीय समितिमा पुग्नुको एउटा कारण प्रचण्डको दुवैप्रतिको अत्याधिक भरोशा र विश्वास थियो।

त्यही विश्वास र भरोशाका कारण दुवैले जनयुद्धका क्रममा राजनीतिक र सैनिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी पाए। जस्तो : पश्चिमको तुलनामा जव पूर्वमा जनयुद्धको विकास हुन सकेन, २०५९–६० ताका प्रचण्डले अनन्तलाई पूर्वी कमाण्डको फौजी–राजनीतिक जिम्मेवारी दिएर पठाए। जनयुद्ध प्रत्याक्रमणको चरणमा पुगेसँगै राजधानी वरिपरिको काम महत्वपूर्ण हुन पुगेपछि भ्याली विशेष कमाण्डको जिम्मेवारी पनि अनन्तले नै पाए।

यस्तै महत्वपूर्ण जिम्मेवारी बिप्लवले पनि पाउँदै गए। पूर्वजस्तै पश्चिम क्षेत्रका भेरी–कर्णालीमा पनि माओवादीको प्रभाव जनयुद्धको सुरुवातमा कमजोर थियो। त्यसैले २०५४ सम्म राजधानीमा भ्याली व्यूरोका सदस्य रहेका बिप्लव भेरी– कर्णाली पठाइए र कर्णाली उपब्यूरोको इञ्चार्ज बने। जसरी अनन्त पुगेपछि माओवादीले पूर्वमा सैन्य– राजनीतिक प्रभाव विस्तार गर्‍यो, बिप्लव कर्णाली पुगेपछि त्यहाँपनि माओवादी जनयुद्धको प्रभाव व्हात्तै बढ्यो।

२०६२–०६३ को आन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आयो। माओवादी विभिन्न कम्युनिष्ट समूहहरुसँग एकता गर्‍यो। त्यसक्रममा बरिष्ठ नेताहरु पार्टीमा थपिँदै गए। नेताहरुको व्यवस्थापन कार्य अप्ठेरो बन्दै गयो। व्यवस्थापनका लागि माओवादीले पार्टीको संगठनात्मक प्रणालीमा बहुपदको सिर्जना गर्‍यो। पहिले पार्टीमा महासचिव वा अध्यक्ष हुने गरेकोमा अव बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष जस्ता पद पनि सिर्जना गरिए।

पार्टी बहुपदीय संरचनामा गएपछि यी दुवै रोल्पाली युवा नेताले सचिवको जिम्मेवारी पाए। २०७९ असारमा मोहन बैद्यको नेतृत्वमा पार्टी विभाजन नहुँदासम्म बिप्लव र अनन्त दुवैजना एमाओवादीको सचिवको जिम्मेवारीमा थिए।

अदृष्य संघर्ष

एमाओवादीभित्र तीब्र गुटबन्दी थियो । दुवैले सचिवको जिम्मेवारी पाएपनि भिन्नता चाहिँ के थियो भने बिप्लव मोहन बैद्य ‘किरण’ समूहको तर्फबाट सचिव बनेका थिए भने अनन्त प्रचण्ड समूहको तर्फबाट यो जिम्मेवारीमा पुगेका थिए। शान्ति प्रक्रियामा माओवादीको पदार्पणसँगै दुईजना हिँड्ने बाटो पनि फा्टन थालिसकेको थियो। खासमा दुवैबीच थुपै्र समानताका बावजुद विभिन्नतापनि थिए।

यी दुई नेता लामो समय एकै ठाउँमा रहेर काम गरेनन्। अनन्त रोल्पा–दाङमा हुँदा बिप्लब राजधानीमा सक्रिय थिए। ०५४ मा राजधानीबाट कर्णालीबाट सरुवा हुँदापनि अनन्त आफ्नै क्षेत्रमा सक्रिय रहे। जव माओवादी जनयुद्ध रक्षाको चरणबाट सन्तुलनको चरणमा पुग्यो, बिप्लव कर्णालीबाट माओवादीको आधार इलाकाको रुपमा रहेको रोल्पा–रुकुम सरुवा भए। उता प्रचण्डपनि भारत प्रवासबाट नेपाल फर्के र रोल्पा–रुकुममै रहन थाले।

प्रचण्ड नेपाल फर्केपछि बिप्लव रोल्पा–रुकुम–सल्यान–जाजरकोट आदि माओवादीको घना प्रभाव रहेको विशेष आधार क्षेत्रको इञ्चार्ज बने। उता, प्रचण्ड भारतमा रहँदा आधार क्षेत्रमा माओवादीको फौजी–राजनीतिक कमाण्ड सम्हालिरहेका अनन्त चाहिँ बिप्लवलाई आधार क्षेत्रमा ल्याइनु केही अघिमात्र पूर्वी कमाण्डमा पठाइए। यस हिसावले प्रचण्डसँग सान्निध्यको अवसर बिप्लवले पाए। बिप्लव र नन्दकिशोर पुन ‘पासाङ’ लगायतका नेता प्रचण्डसँगै रहन थाले।

बिप्लव आधार क्षेत्रको इन्चार्ज रहेकै बेला माओवादीले प्रत्याक्रमणको रणनीति अन्तर्गत 'ढाडमा टेकेर टाउकोमा हान्ने' नीति ल्यायो। माओवादी जनयुद्धमार्फत् नै सत्ताकब्जा गर्ने योजनामा थियो। यसक्रममा राजधानी काठमाडौं र वरपरको इलाका बढि महत्वपूर्ण हुन्थ्यो। त्यसैले, माओवादीले उपत्यका हेर्ने गरी छुट्टै विशेष कमाण्ड निर्माण गर्‍यो। त्यसको इन्चार्ज तोकिए अनन्त। जनआन्दोलनमा काठमाडौंमा अथाह मानवसागर उतार्नमा उनको विशेष भूमिका रह्यो।

आन्दोलन सफल भयो। शान्ति प्रक्रिया सुरु भयो। प्रचण्ड वार्ताका लागि काठमाडौं आए। संयोगवस राजधानी हेर्ने विशेष कमाण्डको नेतृत्वमा अनन्त थिए। राजधानीमा कमाण्ड इञ्चार्जको हैसियतमा प्रचण्डको बसोबास, राजनीतिक गतिविधिको व्यवस्थापनको जिम्मेवारी अनन्तले सम्हाले। प्रचण्ड रोल्पा–रुकुममा छँदा बिप्लवले यस्तै जिम्मेवारी सम्हालेका थिए। यसरी बिप्लव उतै छुटे, प्रचण्डसँग त्यसपहिले त्यतिधेरै सँगै हुन नपाएका अनन्तले अव भौतिकरुपमै प्रचण्डको निकट हुने मौका पाए।

जानकारहरु बिप्लव–अनन्तबीचको अदृष्य संघर्षको निर्णायक कारण बिप्लव उतै छुटेको यही घटनालाई मान्छन्। शान्ति प्रक्रियामा आएपछि जब माओवादीभित्र अन्तरर्संघर्ष सुरु भयो, जब बिप्लवले मोहन बैद्यलाई साथ दिए, प्रचण्डले आन्तरिक बैठकहरुमा भन्ने गरेका पनि थिए, ‘मेरो पहिलो भूल काठमाडौं आएसँगै बिप्लवलाई पनि सँगै नल्याउनुमा रह्यो, दोस्रो भूल पहिलो संविधान सभा चुनावमा उनलाई नउठाउँदा भयो। यदि बिप्लवलाई सँगै काठमाडौं ल्याएको भए र संविधान सभामा लगेको भए उनी भड्किने थिएनन्।’

राजधानी आएपछि आफूले रोल्पा–रुकुममा सँगै रहँदा गरेको सहयोग बिर्सँदै अनन्तलाई सँगै लिएर हिँड्न थालेपछि बिप्लव प्रचण्डसँग त क्रुद्ध भए नै, अनन्तको पनि इश्र्या गर्न थाले। माओवादी कार्यकर्ता दीपेश पुन, जो जनयुद्धकालमा माओवादी जनसेनाका कमाण्डर रहेका हालका उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्, भन्छन्, ‘देखिने गरी त होइन, तर प्रचण्ड काठमाडौं आउनु भएपछि जव अनन्त सँगै रहन थाल्नुभयो, त्यसपछि बिप्लवमा असन्तुष्टि बढ्न थालेको देखिन्छ।’

शान्ति प्रक्रियापछिका अन्तरसंघर्षहरुमा बिप्लवले बैद्यसँग पार्टी विभाजनका लागि जोड गर्न थाले भने अनन्तले प्रचण्डले पुरै साथ दिए, अनन्त पार्टी विभाजनको विपक्षमा दर्‍होसँग उभिए। पदीय बाँडफाँटका बेला दुवैले सचिव पदमा दावी गरे। उनीहरुकै कारण तीन वटा सचिवको दरबन्दी सिर्जना भयो। बिप्लव र अनन्त बाहेक देव गुरुङले पनि सचिवको जिम्मेवारी पाएका थिए। दुवै सचिव बनेपछि मर्यादाक्रममा को अघि भन्ने विवाद भयो। पार्टी फुटेपछि त दुईजनाको बाटो अलग भइहाल्यो।

बैद्यबाट अलग्गिएर बिप्लवले आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका छन्। तर, अनन्तसँगको उनको प्रतिद्धन्दिता कायमै छ। दुवैजना जनयुद्धको कालमा आधार इलाकाको रुपमा रहेको रोल्पालाई आफ्नो पकडमा राख्न यतिबेला संघर्षरत छन्।

पहिलो संविधान सभामा ललितपुर–१ र दोस्रो संविधान सभामा मोरङ–९ बाट प्रतिस्पर्धा गरेका अनन्तले जव आगामी निर्वाचन रोल्पाबाट लड्ने सुरसार गरे, बिप्लवले पनि अनन्तलाई रोल्पामा असफल बनाउने योजना बनाउन थाले। रोल्पामा चुनाव लड्ने योजनाको प्रस्थानविन्दू अनन्तले स्थानीय तह चुनावलाई बनाए। चुनाव अवधिभर उनी रोल्पामा माओवादी केन्द्रलाई जिताउन खटिए। किनभने, त्यसमा सफलता प्राप्त गर्दामात्र संसद चुनावमा विजयको आधार निर्माण हुन्थ्यो।

तर, देशभर बहिस्कार गरेको बिप्लव नेतृत्वको नेकपाका उम्मेदवारहरु रोल्पाका सबैजसो स्थानीय तह चुनावमा उम्मेदवार बने। कतिसम्म भने, माओवादी केन्द्रका उम्मेदवारलाई हराउन एमाले, कांग्रेस, राप्रपा लगायतका दलहरुसँग तालमेल समेत गरे। रोल्पामा अनन्तको प्रभाव बढ्न नदिन र आफ्नो प्रभाव कायम राखिरहन बिप्लवले यसो गरेका थिए।

तर, अनन्तको अगुवाईमा स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले रोल्पामा आफ्नो बर्चश्व कायम राख्यो। १० मध्ये ७ स्थानीय तहमा विजय हासिल गरेर रोल्पाको सबैभन्दा ठूलो पार्टी बन्यो। यही नतिजामाथि टेकेर अनन्तले प्रतिनिधिसभामा टिकट दावी गरे, पाए। प्रदेश सभाका दुवै सिटपनि माओवादी केन्द्रले पायो। एमाले–माओवादी केन्द्रबीच गठबन्धन भएकाले स्थानीय तह चुनावमा बिप्लव नेतृत्वको ‘नेकपा’ सँगै तालमेल गरेका एमालेका नेता–कार्यकर्ताहरु समेत यतिबेला अनन्तलाई जिताउने अभियानमा सक्रिय छन्।

बिप्लवले यसअघि २०७० को निर्वाचनमा समेत एमाओवादीलाई हराएर रोल्पामा आफ्नो प्रभाव कायमै छ भन्ने देखाउन खोजेका हुन्। त्यसक्रममा थवाङमा मतदान पूर्णरुपमा वहिस्कार गराए। रोल्पामा वहिस्कार प्रभावकारी हुँदा एमाओवादी हार्ने ठानिएको थियो। तर रोल्पाका दुवै क्षेत्रबाट एमाओवादी विजयी भयो। स्थानीय तह निर्वाचनमा पनि दुईतिहाई स्थानीय तहमा उसैले कब्जा जमायो। र, त्यसैको जगमा अनन्तले रोल्पाबाट उम्मेदवारी दिए।

यी दृष्यले साँच्चिकै औडाह छुटेको हुनुपर्छ, त्यसैले बिप्लव समूह अनन्तविरुद्ध भौतिक रुपमा नै उत्रेको छ। र, आफूप्रति बिप्लवको इश्र्या बुझेकैले अनन्तले घटनालगत्तै भनेका छन्, ‘यो हमला नियोजित हो, हत्या गर्ने उद्देश्यका साथ घटना गराइएको हो।’

 

 

प्रकाशित २६ कार्तिक २०७४, आइतबार | 2017-11-12 15:36:54
author photo

सीताराम बरालबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...