विराटनगरमा यसकारण एक्लै उभियो कांग्रेस

एमाले र माओवादी केन्द्रले भने दुई फोरमसँग बेग्लाबेग्लै चुनाबी तालमेल गरेका छन्



विराटनगर महानगरमा उम्मेदवारी दर्ता गर्न जाँदै नेपाली कांग्रेसका नेता कार्यकर्ता
विराटनगर महानगरमा उम्मेदवारी दर्ता गर्न जाँदै नेपाली कांग्रेसका नेता कार्यकर्ता
प्रवीण बानियाँ

२००७ सालको क्रान्तिदेखिको गढ जोगाउने कसरतमा छ कांग्रेस

पूर्वी मधेसको औद्योगिक सहर विराटनगरमा यतिखेर त्रिपक्षीय चुनाबी चहलपहल देखिएको छ। संसदमा सबैभन्दा ठूलो आकारमा रहेका तीन प्रमुख दलहरूबीच नै विराटनगर महानगरपालिकामा प्रतिस्पर्धा हुने देखिएको हो। तर कांग्रेस एक्लै उभिएको छ भने बाँकी दुई ठूला दल तालमेलमा लड्दै छन्।

२००७ सालदेखि नेपाली कांग्रेसको गढ रहेको विराटनगरको सहरी क्षेत्रमा पछिल्लो संविधानसभा निर्वाचनसम्म पनि कांग्रेसकै प्रभावशाली उपस्थिति छ।

यसपटक असार १४ मा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आइतबार विराटनगरमा मेयरमा १४, उपमेयरमा ११ जनाको मनोनयन दर्ता भएको छ।

 दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले कांग्रेसको वर्चस्व तोड्न बेग्लाबेग्लै चुनाबी गठबन्धन निर्माण गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले विराटनगरमा तालमेल गरेका छन्। त्यसैगरी सत्तारूढ दल नेकपा माओवादी केन्द्र र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमबीच पनि तालमेल भएको छ।

तालमेल अनुसार संघीय समाजवादी फोरमबाट विराटनगर महानगरमा मेयरमा पूर्वजिल्ला अध्यक्ष उमेश यादव र माओवादी केन्द्रबाट उपमेयरमा नमिता न्यौपाने पोख्रेलेको टुंगो लागेको हो। माओवादी केन्द्रले जिल्लामा महानगरको मेयरमा उम्मेदवार घोषणा गरेको भोगेन्द्र यादवले गठबन्धन भएपछि उम्मेदवारी दर्ता गराएनन्।

यस्तै, रतुमाई नगरपालिकामा माओवादी केन्द्रका प्रकाश पौडेल मेयरमा र संघीय समाजवादीका नारायण ताजपुरिया उपमेयरमा उम्मेदवारी दिएका छन्। धनपालथान गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा विक्रम पासमान र संघीय समाजवादीबाट उपाध्यक्षमा इन्दिरामणिदेवी मण्डल र कटहरी गाउँपालिकामा संघीय समाजवादीबाट अध्यक्षमा श्याम मण्डल र माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवार दिएका हुन्।

विराटनगर महानगरमा मनोनयन दर्तामा जाँदै गरेको एमालेको जुलुस

विराटनगर महानगरमा मनोनयन दर्तामा जाँदै गरेको एमालेको जुलुस

एमालेले भने नेपाल लोकतान्त्रिक फोरमसँग तालमेल गरेके छ, जसअनुसार विराटनगर महानगरमा मेयरमा एमाले जिल्ला अध्यक्ष विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरीले उम्मेदवारी दिएका छन्।

तर सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने एक्लै आफ्नो उम्मेदवारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विराटनगरमा एक्लै उम्मेदवारी दिएको छ। कांग्रेसले आफ्नो आधार क्षेत्र रहेको मोरङमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ।

कांग्रेसले महानगरमा मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की (इन्दु) लाई उम्मेदवार बनाएको छ।

विराटनगर महानगरमा स्वतन्त्रबाट मेयर पदका लागि पनि ८ जनाको उम्मेदवारी दर्ता परेको छ। राजकुमार कार्की, पुष्पनारायण प्रधान, जगतप्रसाद अर्याल, ताराबहादुर तामाङ, गणेशराज विष्ट, सन्तोष सरकार, लीलामोहन राजवंशी र शिव पराजुलीले मेयर पदका लागि स्वतन्त्र रूपमा उम्मेदावरी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसमा कोइराला परिवारको विरासत र पारिवारिक पृष्ठभूमिसमेत जोडिएकाले विराटनगरमा कांग्रेसले आफ्नो पकड कायम राख्न खोज्नेछ।

आफ्नो प्रभाव बलियो भएका कारण कांग्रेसले अरु कुनै दलसँग तालमेल नगरेको हो। 

प्रकाशित ५ असार २०७४, सोमबार | 2017-06-19 15:23:45

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

रोचक

NepalKhabar Tweets

विशेष

  • रोहित पौडेल

    ट्यालेन्ट हन्टबाट उदाएका रोहित

    २४.४ ओभरमा आठौ नम्बरको ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका रोहितले बाँकी पुरै ओभरमा भारतको डटेर सामना मात्रै गरेनन्, ६८ रनको अर्धशतकीय पारी र...

  • गोरखा-२ मा अन्तिम जोडबल गर्दै बाबुराम र नारायणकाजी

    वाम गठबन्धन बनेपछि यसले प्रायः नयाँ शक्तिका स्थानीय स्तरका नेता, कार्यकर्तालाई माओवादीमै फर्काएको छ भने नेपाली कांग्रेसले पनि माओवादी तथा एमालेका...

  • छोरा प्रकाशको मृत्युको खबरपछि झापाबाट काठमाडौं उड्नेबेला प्रचण्ड (फाइल फोटो)

    ‘सक्रिय राजनीतिका कारण मैले प्रकाशको लालनपालनमा न्याय गरिनँ’

    सानैदेखि उनी मेरा लागि छोराभन्दा पनि बढि सहकर्मी र सहयोद्धा थिए। म इमानदारीपूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोश्रो कार्यकाल उनको सहयोगबीना...

  • काठमाडौं १: सिंहको किल्लामा छापामार शैलीको घरदैलो

    एक, स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले–माओवादी केन्द्र यहाँ उत्तिकै बलिया छन्। दुई, छापामार स्टाइलमा घरघरमा घुसेर, प्रत्येक मतदातालाई भेटेर...