उम्मेदवारी मनोनयन दर्ताः कहाँ के भयो?

झडपमा दलका कार्यकर्ताको निधनदेखि राजपाको स्वतन्त्र उम्मेदवारीसम्मका यस्ता घटना



विराटनगर महानगरमा उम्मेदवारी दर्ता गर्न जाँदै नेपाली कांग्रेसका नेता कार्यकर्ता
विराटनगर महानगरमा उम्मेदवारी दर्ता गर्न जाँदै नेपाली कांग्रेसका नेता कार्यकर्ता
प्रवीण बानियाँ

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गराए। उम्मेदवारी दर्तामा कतै शान्तिपूर्ण ढंगबाट त कतै बम बिष्फोट र झडपलगायतका घटनाहरु घटे।

राजपाको अवरोध
राष्ट्रिय जनता पार्टीले तराई मधेसका विभिन्न ठाउँमा मनोनयन दर्ता विथोल्ने कोशिस गरेको छ। निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपाले विहानैबाट विभिन्न ठाउँमा मनोनयन दर्ता लक्षित प्रदर्शनहरु गरेको थियो। राजपाले एक विज्ञप्ति जारी गर्दै आफ्ना ४ सय ५८ जना कार्यकर्ता पक्राउ परेको दाबी गरेको छ।

प्रहरीले मनोनयन दर्ताविरुद्ध आयोजित बन्दका क्रममा जनकपुरबाट राजपा नेतृ एवं पूर्वराज्यमन्त्री सरिता शाहलाई गिरफ्तार गरेको छ। उनीसहित राजपा धनुषा संयोजक पर्मेश्वर शाह लगायत दुई दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका हुन्।

यस्तै, बर्दियाको गुलरियाबाट जिल्ला अध्यक्ष मण्डलका संयोजक धनेश यादव, सदस्य सुरेश शुक्ला, किर्तिनाथ यादव र केशव यादव पक्राउ परेका छन्। सुनसरीमा पनि पार्टीका जिल्ला संयोजक डा.सि.एन पाठक, केन्द्रीय प्रवक्ता सन्तोष मेहतासहित ११ जना पक्राउ परेका छन्।

यस्तै, मोरङमा जिल्ला संयोजक मो.कादिर लगायतका १४ कार्यकर्ता पक्राउ परेका छन्। सिरहामा कृष्णकुमार शाह, मुकेश शर्मासहितका ८ जना राजपा कार्यकर्ता पक्राउ परेका छन्। सप्तरीको कठौनामा दिनेश यादव, माधुरी शाह लगायतका दर्जनौं राजपा कार्यकर्ता पक्राउ परेका छन्। बाँकेको नेपालगञ्जबाट जिल्ला अध्यक्ष मण्डलका सदस्यसहित २० जना राजपा कार्यकर्ता पक्राउ परेका छन्।

रुपन्देहीमा राजपा कार्यकर्ताले दिए स्वतन्त्र उम्मेदवारी
चुनाव बहिष्कार गरेको राजपाका कार्यकर्ताले रुपन्देहीमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। राजपा का नेता तथा कार्यकर्ताले रुपन्देहीको क्षेत्र नम्बर ६ का गाउँपालिकाहरु सम्मरीमाई, कोटहीमाई र मर्चवारीमाईमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनीहरुले तीन गाउँपालिकाका सम्पूर्ण पदमा उम्मेदवारी दिएका छन्।

कपिलवस्तुमा बम बिष्फोट हुँदा ५ घाइते
निर्वाचन मनोनयनलाई लक्षित गर्दै कपिलवस्तुको वाणगंगा नगरपालिकामा भएको बम बिष्फोटबाट ५ जना घाइते भएका छन्। निर्वाचन अधिकृतको कार्यालयअघि भएको बम बिष्फोट भएको हो।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल उम्मेदवारी दर्ता गर्न जाँदैगर्दा बम बिष्फोट भएको थियो।

बाँकेमा माओवादी केन्द्र र एमालेबिच भडप
बाँकेको बैजनाथ गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ। मनोनयन दर्ता गर्ने क्रममा भएको झडपमा परि २ प्रहरीसहित ३ जना घाइते भएका छन्।

एमालेले मनोनयन दर्ता गरेर फर्किदै गर्दा मनोनयनका लागि अघि माओवादी केन्द्रको जुलुस अघि बढेको थियो। अघि बढेको माओवादी केन्द्रको जुलुसले आफ्नो सभालाई बाधा पु¥याएको भन्दै एमाले कार्यकर्ता आक्रोशीत भएका थिए। त्यही क्रममा भएको विवादले झडप निम्तिएको थियो। झडपका क्रममा दुवै पक्षबिच ढुंगा हानाहान भएको थियो।

खुमबहादुर खड्काकै भतिज कांग्रेसका ‘बागी’ उम्मेदवार 
नेता खुमबहादुर खड्काका भजित डिल्लीबहादुर खड्काले आफूलाई पार्टीले टिकट नदिएपछि विद्रोह गर्दै दाङको लमही नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दर्ता गरेका छन्।

डिल्लीबहादुरले आफूलाई पार्टीले टिकट नदिएर अन्याय गरेको भन्दै कांग्रेसकै तर्फबाट बागी उम्मेदवारी दर्ता गराएका हुन्। खड्का सतवरिया गाविसका पूर्व अध्यक्ष भइसकेका नेता हुन्। उनले सोमबार दिउँसो लमही नगरपालिकाको मेयरमा मनोनयन पत्र दर्ता गरेका थिए।

बाजुरामा झडप हुँदा एकको मृत्यु
बाजुराको छेडेदह गाउँपालिकाकाको उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडपमा हंस राउतको मृत्यु भयो।

नारावाजी गर्दै आइरेहेका दुई दलका कार्यकर्ताबीच पहिला हात हालाहाल भएको र पछि ढंगामुढा र घरेलु हतियारसहित मुठभेड भएको थियो।

झडपमा कांग्रेस एमालेका झण्डै १५ कार्यकर्ता घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको स्थिति नाजुक भएको जिल्ला अस्पतालले जनाएको छ।

मनोनयनपत्र दर्ता शान्तिपूर्णः निर्वाचन आयोग
प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित ढङ्गबाट मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। 

दोस्रो चरणको निर्वाचनमा एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिमा जनप्रतिनिधि चयनका लागि मनोनयनपत्र दर्ता भएको हो। 

दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन्।

प्रकाशित ४ असार २०७४, आइतबार | 2017-06-18 19:29:05

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...