नागार्जुनको नाराः खोपमुक्त नगर

धादिङ–काठमाडौं जोड्ने सितापाइला–धार्के वैकल्पिक सडक निर्माण पनि अघि बढ्ने क्रममा छ



नागार्जुन नगरपालिकाका अध्यक्ष मोहन बस्नेत
नागार्जुन नगरपालिकाका अध्यक्ष मोहन बस्नेत

दोस्रो चरणको स्थानीय तह निर्वाचन हुन बाँकी नै छ। तर पहिलो चरणमा निर्वाचित गाउँ–नगरले आफ्ना काम थालिसके। बिहीबार काठमाडौंको नागार्जुन नगरपालिकाको कार्यालय हरिसिद्धि पुग्दा लाग्थ्यो, नगरपालिकामा दैनिक काम धमाधम सुरू हुन थालिसकेछ।

नगरप्रमुखको कक्षमा खानेपानी, सडक विस्तार, ढललगायतका पूर्वाधार निर्माणका लागि आवश्यक बजेटबारे कुरा भइरहेको सुन्न सकिन्थ्यो। नेपाली काङ्ग्रेसका तर्फबाट मेयरमा निर्वाचित मोहन बस्नेत क्रमैसँग कार्यालयमा आएका सेवाग्राहीको कुरा सुन्दै उचित जवाफ पनि दिँदै थिए।

हुन पनि निर्वाचित भइसकेपछि नागार्जुन नगरपालिकामा दुई वटा बैठक सम्पन्न भइसकेका छन्। दुवै बैठक जेठमै सम्पन्न भएको हुन्, जेठ १० र ३० गते। स्थानीय तहले निर्धक्क भएर काम गर्ने वातावरण नबनिसकेको भनिए पनि यो नगरपालिकामा भने दुई बैठकसँगै केही गतिला निर्णय पनि भइसकेको छन्।

निर्णयअनुसार काम छिट्टै सुरू हुने मेयर बस्नेतले प्रतिबद्धता पनि गरेका छन्। पहिलो बैठकले नगरपालिकामा देखिएको खानेपानी, ढल, सडक विस्तार लगायतको समस्या समाधान गर्नका लागि दुई करोड ९५ लाख रूपैया विनियोजन समेत गरिसकेको छ, जसमध्ये केही रकम नगरपालिकाको आन्तरिक स्रोतबाट संकलन भएको हो।

वडा ४ देखि ८ सम्म बर्खा लागेसँगै सडक स्तरोन्नति गर्नुपर्ने अवस्था भएकाले स्थानीयको मागअनुसार सडक मर्मत गरी सवारी आवतजावत हुने बनाउन सम्बन्धित वडा अध्यक्षलाई निर्देशन पनि दिइसकिएको छ। मेयर बस्नेतका अनुसार बाटो बिग्रिएर मोटर चल्ने अवस्थामा नभएकाले अस्थायी रूपमा मोटर सञ्चालन गर्नका लागि र जनताले राहत पाउने बनाउन निर्देशन दिइसकिएको हो। यसका लागि जति बजेट आवश्यक भएपनि उपलब्ध गराउनका लागि तयारी अवस्थामा रहेको उनले बताएका छन्।
बैठकले नगरपालिकालाई खोपमुक्त नगरपालिका गर्नुपर्ने सरकारको मान्यतालाई पूरा गर्न ८ लाख ७२ हजार रूपैया छुट्याइसकेको छ। अब राष्ट्रिय नीति अनुसार नागार्जुन नगरपालिका खोपमुक्त नगरपालिका हुने भएको छ। यसका लागि सरकारबाट कुनै पनि बजेट आएको थिएन। तर नगरपालिकाबाटै यसका लागि आवश्यक बजेट छुट्याइसकिएको हो। जेठ ३० गते बसेको बैठकमा आगामी आर्थिक वर्षको नगर सभा गर्नका लागि असार २५ गते मिति तोकिएको छ।

सार्वजनिक सुनुवाइमा मेयर मोहन बस्नेत

सार्वजनिक सुनुवाइमा मेयर मोहन बस्नेत

सीतापाइलादेखि भीमढुंगासम्मको दूरी जम्मा पाँच किलोमिटर हो। तर, यही दूरी पार गर्न घन्टौं लाग्छ। बर्खाको समयमा सडक समस्या त कुरै छाडौं। त्यसैले यसलाई कम गर्नका लागि र सडकमा भएको भ्वाङैभ्वाङ टालेर धुलो हटाउनका लागि पनि तत्काल काम गर्ने योजना बनिसकेको छ। सवारी सञ्चलान गरी जनताले राहत पाउने काम तुरून्त गर्नका लागि १० नै वडाको जनप्रतिनिधिलाई निर्देशन पनि दिईसकिएको छ। मेयर बस्नेत भन्छन्, ‘हामीलाई काम गर्नका लागि जनताले पठाएका हुन्। हामीमा धेरै अधिकार हस्तान्तरण पनि भएको छ। त्यसलाई ख्याल गर्दै र समयको महत्व बुझ्दै अगाडि बढिसकेका छौं।’

यो नगरपालिका धादिङ र काठमाडौं जोड्ने नगरपालिका हो। यसलाई मध्यनजर गर्दै काठमाडौं–सितापाइला–धार्के वैकल्पिक सडक निर्माणको क्रममा पनि रहेको छ। 

सीतापाइला, स्युचाटार, भीमढुंगा, इचंगुनारायण, रामकोट गाविस गाभिएर बनेको यो नगरपालिकामा २०६८ को जनगणना अनुसार ६७ हजार रहेको छ। प्रमुख बस्नेतले विकसित भएका ठाउँलाई कम प्राथमिकता र विकट ठाउँलाई बढी प्राथमिकतामा राखेर अघि बढ्ने योजना भएको बताएका छन्। उनले भीमढुङ्गा, कसारथोक, छक्डोल, इचङ्गुको हलचोक, रामकोट, डाडाँगाउँ, मजुवा लगायतलाई कम विकसित भन्दै प्राथमिकतामा राखेर अगाडि बढ्ने योजना बनाएको बताएका छन्।

बैठकपछि सुशासनलाई प्राथमिकता दिने, भष्ट्राचारलाई निर्मुल पार्ने, बाटो, खानेपानी, ढल लगायतलाई प्राथमिकता दिने भएको छ। ‘हामीले विषेशगरी विकास निर्माणका कुरालाई नै प्राथमिकतामा राखेका छौं भने यो क्षेत्रबाट विदेश पलायन हुने युवालाई रोक्न आयमूलक कायक्रमहरू ल्याउने भएका छौं। यसका लागि वडाका जनप्रतिनिधिमा उतिकै जोस जाँगर मैले देखेको छु।’ उनले भने।

मेयर मोहन बस्नेत

मेयर मोहन बस्नेत

प्रमुख बस्नेत थप्छन्, ‘झन्डै २० वर्षपछि स्थानीय प्रतिनिधि आएका छौँ, हमीलाई जनताले पाँच वर्षमा नै आफ्नो क्षेत्रलाई सुगम बनाउन भनेर पठाएका छन्। सवै वडा प्रतिनिधिहरूमा जोस भए पनि पहिलो अनुभव हुँदैछ। तर मैले २०५४ को स्थानीय तहको निर्वाचनमा पनि निर्वाचित भएर काम गरिसकेको भएर त्यति धेरै समस्या, अन्योलता नआउनेमा ढुक्क छु। म अभिभावकजस्तो भएर सबैको कुरा मिलाएर अघि बढ्छु।’ नगरपालिकामा फोहोर व्यवस्थापन, खानेपानी, सडकबत्ती, ढललगायतका माग छन्। त्यसमा वडा प्रतिनिधि उनले पहिल्याएका समस्या मिलेका पनि छन्। सहरका अरू क्षेत्रले भोग्ने समस्या यहाँका बासिन्दाले पनि भोगेकाले यसलाई कम गर्दै आशातित प्रगति हुने बताउँछन्। नगरपालिकाले सुन्दर नागार्जुन जंगलको स्वच्छ हावालाई अझ स्वच्छ बनाउँदै आफूले पर्यटन क्षेत्रमा उल्लेखनिय विकास गर्नका लागि नीजि क्षेत्रसँग सहकार्य भएका छ।

‘दलीय स्वार्थबाट माथि उठ्दै प्रतिस्पर्धा गर्नुभएका अन्य दलका साथीहरूलाई पनि समायोजित गरेर काम गर्छु।’ उनले सुनाए, ‘ती सबै नागार्जुनका मेरै जनता हुन्, अमेरिका र बेलायतबाट आएका त हैनन् नि। त्यसैले हार्नेले पनि आत्तिनुपर्ने अवस्था छैन।’ उनले निर्वाचनको समयमा व्यक्तिगत रूपमा कसैलाई केही कुनै प्रतिबद्धता नगरेका कारण काम गर्न कुनै समस्या नहुने बताए।

मोहन बस्नेत

मोहन बस्नेत

काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका बस्नेतले ६९६१ मत ल्याएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६७२६ मत ल्याएका थिए। उपमेयरमा एमालेकी सुशीला अधिकारी ६८७१ मत पाएर विजयी भएकी हुन्। उनी २०५४ मा भएको स्थानीय तह निर्वाचनमा सीतापाइला गाविसमा उपाध्यक्षका रूपमा निर्वाचित भएका थिए, जसकारण हालको नगरपालिकाभित्र गाभिएका लगभग सबै गाविसमा कुनै न कुनै हिसाबले उनी सक्रिय थिए।

आठ वर्ष सीतापाइलाकै जनउद्धार माविमा व्यवस्थापन समितिको अध्यक्ष सम्हालेका उनी सीतापाइला–धार्के सडक उपभोक्ता समितिका अध्यक्ष हुन्। जुन सडकले धादिङ र काठमाडौं जिल्लालाई जोड्ने पुलको काम गर्छ। २०३२ सालबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका बस्नेत हालै सम्पन्न १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको महासमिति सदस्य चुनिएका थिए।

प्रकाशित ४ असार २०७४, आइतबार | 2017-06-18 13:44:17

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...

  • खिम गन्धर्व

    उहिल्यै सारंगी लिएर चीनसम्म

    उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे। तर खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन्। जीवनका थुप्रै परीक्षामा...