बेइजिङ ब्रिफिङ–२

दियाउथाइ भेटपछि दाहाल उत्साहित


Infocus



तत्कालीन प्रधानमन्त्री दाहालसँग बेइजिङमा भेट्दै चीनका उपप्रधनमन्त्री वाङ (फाइल फोटो)
तत्कालीन प्रधानमन्त्री दाहालसँग बेइजिङमा भेट्दै चीनका उपप्रधनमन्त्री वाङ (फाइल फोटो)
सिन्ह्वा
NIC ASIA

शनिबार साँझ बेइजिङस्थित नेपाली दूताबासमा संक्षिप्त सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आत्मविश्वासी त देखिन्थे तर उनको अनुहारको भाव बढी नै गम्भिर लाग्थ्यो। त्यसैले उनले आफ्नो स्वभाव विपरित निकै छोटो बोले र हलमा भरिएका चिनियाँ मित्रहरूसँग बरु हात मिलाउन तम्सिए।

तर ग्रेट वाल अवलोकनबाट सुरु भएको बेइजिङको दोस्रो दिनका भेटवार्ता र कार्यक्रममा केही कडा प्रश्न सामना गरेका दाहालमा उत्साह थपिँदै गएको अनुभव उनको भ्रमण दलका सदस्यले गर्न थालेका छन्। आइतबार दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ र साँझ उपप्रधानमन्त्री वाङ याङसँगको भेटपछि संभवतः सोमबार दिउँसो राष्ट्रपति सी जिनपिङसँग हुने भेट उपलब्धीमूलक हुने निष्कर्षसँगै दाहालमा उत्साह थपिएको हुनुपर्छ।

प्रधानमन्त्री दाहाललाई भेट्न चीनका उपप्रधानमन्त्री वाङ याङ आफ्ना केही मन्त्री सहित उनी बसेको स्टेट गेष्ट हाउस दियाउथाइमै आए, जहाँ तिब्बत रेलमार्ग केरुङ हुँदै काठमाडौँ जोड्न दाहालले राखेको प्रस्तावमा वाङले ‘संयुक्त अध्ययन अगाडि बढाउन’ चीन तयार रहेको जवाफ दिए। वाङले तिब्बत सरकारले तातोपानी नाकामाथि गरेको अध्ययनलाई बेइजिङले थप अध्ययन गरिरहेको भन्दै ‘चाँडै नाका खोल्न सकिने’ आश्वासन फेरि दिएका छन्।

हाइनानको बोआओमा प्रथम उपप्रधानमन्त्री झाङ गाओलीसँगको छलफलमा आफ्ना एजेण्डा प्रारम्भिक रुपमा राखेका दाहालले बेइजिङमा उपप्रधानमन्त्री वाङसँग त्यसबारे विस्तारमा छलफल चलाए। चिनियाँ छापा मिडियाले यो भ्रमणलाई त्यत्ति महत्व नदिए पनि सरकारी टेलिभिजनले द्विपक्षीय बैठक झैँ प्रस्तुत गरेको भेटवार्तामा रेलमार्गसँगै, व्यापार तथा पारबहन, पर्यटन, कृषि र प्रविधि हस्तान्तरणका विषयमा समझदारी विकास भएको छ।

राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता मात्र हुने भएकाले दाहालको यो भ्रमणको क्रममा उपप्रधानमन्त्री वाङसँगको बैठक नै निर्णायक थियो, जहाँबाट दाहालको टोली उत्साहित हुँदै निस्केको हो।

‘काठमाडौँबाट हिंड्दा प्रधानमन्त्रीले यो सद्भावना भ्रमण भएकाले धेरै अपेक्षा राख्नु भएको थिएन, तर भ्रमण सोचेभन्दा राम्रो र विश्वासलाई माथि उठाउन सफल भएको छ’, वाङसँगको भेटमा सहभागी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आइतबार राती भने, ‘यो बैठकको क्रममा धेरै विषयमा समान बुझाई विकास भएको छ, आगामी दिनमा सहमती सम्झौतामा पुग्ने बलियो आधार तयार भएको प्रधानमन्त्रीले महशुस गर्नु भएको छ।’

बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयले दाहाललाई थप सहज माहोल बनाइदियो। दिउँसो २ बजे विश्वविद्यालयमा आफुले मन्तव्य दिने हलको गेटमै रोकिएको कारगेटबाट झर्दै गर्दा नै दाहालमा उत्साह बढेको देखिन्थ्यो। परराष्ट्रमन्त्री डा. प्रकाशरण महतसहित उपस्थित भएर उनले यो विश्वविद्यालयमा नेपाल अध्ययन केन्द्र त उद्घाटन गरे नै, आफ्नो लिखित मन्तव्यपछि भर्खरका चिनियाँ युवा विद्यार्थीसँग सिधा अन्तक्र्रिया गर्ने गजवको अवसर पाए।

करिब तीन सय विद्यार्थी र प्रोफेसरहरूबीच परराष्ट्रमन्त्री महतपछि दाहालको मन्तव्य भारतीय र श्रीलंकन दूताबासका अधिकारीले समेत सुने। यो मन्तव्य विचार पुर्याएर सम्पादन गरिएको दस्तावेज जस्तो लाग्थ्यो, जसमा उनले केपी ओली सरकारले चीनसँग गरेका सहमती सम्झौता अगाडि बढाउन अहिलेको सरकार प्रतिवद्ध रहेकोदेखि नेपालसँग सम्बन्धित चीनका हरेक चासोलाई समेट्न खोजेका थिए।

‘गत वर्ष हामीले व्यापार तथा पारबहन सम्झौता गर्यौँ, जसले नेपाललाई ल्याण्डलक्डबाट ल्याण्डलिंक राष्ट्र बनाउने छ’, मन्तव्यका केही लाइन कुटनीतिक रुपमा बढी सन्देशमूलक छन्, ‘नेपालमा जसले सरकारको नेतृत्व गरे पनि चीनसँग नेपालको सम्बन्ध मजबुत र दृढ छ, यो हाम्रो सम्बन्धको स्थाई विशेषता हो।’

चीनका राष्ट्रपति सी जिनपिङले अगाडि बढाएको ‘वान बेल्ट वान रोड’ पहलमा नेपालले तीन वर्षअघि नै सैद्धान्तिक सहमती जनाइसकेको छ। तर बेइजिङको सम्पूर्ण जोड यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुमा छ र धेरैको बुझाईमा दिल्लीको दबाब क्रस गरेर काठमाडौँले यसलाई अगाडि बढाउन सकिरहेको छैन।

काठमाडौँमा अचेल धेरै सुनिने ‘वान बेल्ट वान रोड’ चीनमा ‘इदाइलु’ को नाममा पुरै गुन्जयमान रहेछ भन्ने त्यसबेला झन् प्रष्ट भयो, जब प्रधानमन्त्री दाहाललाई हलबाट सिधै प्रश्न गर्ने युवामध्ये अधिकांशले ‘वान बेल्ट वान रोड’ मा नेपालको संलग्नता र यसको रणनीतिक महत्वबारे सोधे। युवा मनस्थिति मात्र होइन, चीन वास्तवमै के चाहन्छ भन्ने बुझ्न संभवतः दाहालका निम्ति यो अर्को अवसर बन्यो।

विश्वविद्यालयबाट दाहालको कारगेट अरनिकोले बेइजिङमा बनाएको ‘ह्वाइट प्यागोडा’ तर्फ बढ्यो, यतिबेलासम्म आफ्नो रक्षामन्त्रीलाई काठमाडौँबाट कोलम्बोका लागि बिदाई गरेर दाहाललाई साथ दिन चिनियाँ राजदूत यू होङ पनि बेइजिङ आइसकेकी थिइन।

‘तपाईंलाई पीएमको मन्तव्य कस्तो लाग्यो?’, विश्वविद्यालयमा दाहालको मन्तव्य सुनेर निस्केका बेइजिङका दक्षिण एसिया विज्ञ मा जियलीले मसँग नै सोधे।

‘मन्तव्य त राम्रो छ’, मैले जवाफ दिइनसक्दै मा जियलीले थपे, ‘स्पीच त प्रसंशनीय छ, तर अब प्रतिवद्धताले मात्र पुग्दैन, उनले गत वर्ष चीन र नेपालबीच भएको सम्झौता लागू गर्न सक्नुपर्छ।’

‘प्रधानमन्त्रीको यो भ्रमणबाट के आश गर्न सकिन्छ?’, मैले सोधें।

‘राष्ट्रपति सीसँगको भेटमा ठोस कार्ययोजना सहित केही समझदारी बन्छ भन्ने मलाई लाग्छ।’

सीपीसी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओसँग दाहालले एक्लाएक्लै करिब डेढ घण्टा छलफल गरे। पार्टी केन्द्रिय सदस्य र विभागीय प्रमुखका रुपमा राष्ट्रपति सीलाई सिधै ब्रिफिङ गर्ने सोङले ‘प्रधानमन्त्री भएपछि प्रचण्डले चीन नेपाल सम्बन्ध स्थिर राख्न गरेको प्रतिवद्धताको प्रसंशा गरेको’ अन्तर्राष्ट्रिय विभागले जनाएको छ।

‘सीपीसी दुई देशबीच धेरै क्षेत्रमा सहकार्य गहिरो बनाउन नेपालका प्रमुख राजनीतिक पार्टीहरूसँग राजनीतिक छलफल र रणनीतिक संवाद बढाउन चाहन्छ’, अन्तर्राष्ट्रिय विभागले भनेको छ, ‘राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्ड चीन नेपाल सम्बन्ध विकासमा महत्वपूर्ण सहमतीमा पुग्ने विश्वास गर्न सकिन्छ।’

प्रकाशित १४ चैत २०७३, सोमबार | 2017-03-27 08:45:41
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मैत्रीपाला सिरिसेना

    रअले मेरो हत्या गर्ने षडयन्त्र रचिरहेको छ: श्रीलंकाली राष्ट्रपति

    श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेको भारत भ्रमण अघि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ ‘रअ’...

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्