सिंगो संसार विकल्पको खोजीमा छ

इतिहासमा महत्वपूर्ण रूपान्तरणकारी क्षण पनि हामीले नै ल्यायौँ, असफलता र निराशाका भागीदार पनि हामी छौँ



मैले हृदयदेखि नै महसुस गरेँ कि अब नयाँ दृष्टिकोण, नयाँ परिकल्पना र नयाँ समूहसहितको नयाँ राजनीतिक ढाँचा अत्यावश्यक छ

समकालीन विश्व इतिहासको अत्यन्त रोचक र रोमाञ्चक अनि विशृङ्खल र जटिल यो घडीमा यहाँ उभिएर राजनीति र अर्थशास्त्रसम्बन्धी नयाँ दृष्टिकोणबारे बोल्नु आफैँमा एउटा विशिष्ट अनुभूति हो। निःसन्देह, म नेपाली समाज र राजनीतिको सन्दर्भमा बाँधिएर बोल्नेछु। तर, मलाई विश्वास छ– यहाँ आज मैले बहस गर्न खोजेको बृहत् विषयवस्तु र मुद्दाहरूमा संसारभरि भइरहेका परिवर्तन, विभिन्न समाजमा भइरहेका घटना र संसारभरि नै लोकतन्त्रले सामना गरिरहेको गम्भीर चुनौतीको गुञ्जन हुनेछ।

यहाँ उभिएर समावेशी लोकतन्त्र र आर्थिक विकासका मुद्दा उठाउन पाउँदा म साह्रै हर्षित छु। हालसालै संसारमा भयप्रद र अस्तव्यस्त घटना भएका छन्, खासगरी तथाकथित प्रबुद्ध र विकसित पश्चिमा जगत्मा। जो दुनियाँलाई शासन व्यवस्था र अर्थनीतिका प्रतिमानी मोडलहरू सिफारिस गर्न सदा तत्पर र उत्सुक रहिआएको छ। केही महिनाअघि ब्रिटेनका जनताले ‘ब्रेक्सिट’का पक्षमा मतदान गरे। भर्खर मात्र अमेरिकी निर्वाचन परिणाम डोनाल्ड ट्रम्प र पुरातनपन्थीहरूको पक्षमा गएको छ। संसारका सफलतम लोकतन्त्र मानिएका यी दुवै देशमा नश्लीय, सांस्कृतिक र जातीय असहिष्णुता बढेका छन्। दक्षिण एसिया र बाँकी विश्वमा पनि हालत उस्तै छ। प्रस्टतः र इमानदारीपूर्वक स्वीकार गरौँ– हाम्रो राजनीति गर्ने शैली आधारभूत रूपमा कहीँ न कहीँ गलत छ, मानव समाजको हाम्रो समझमा ठूलो त्रुटि छ। त्यसैगरी, वर्तमानमा विचार तथा आकांक्षा जसरी निर्माण भइरहेका छन्, त्यो प्रक्रिया भयानक त्रुटिपूर्ण छ।

मेरा पुस्ताका राजनीतिज्ञ र विद्वानहरू ‘पुँजीवाद भर्सेस समाजवाद’को लम्बेतान राजनीतिक बहसमा व्यस्त रहे। म आफ्नै जीवनकालमा यी दुई घोषित विपरीत राजनीतिक दर्शन र प्रणालीभित्रका अभूतपूर्व गम्भीर संकट र अन्तरविरोधहरू नियालिरहेको छु। संसारभरि नै प्रतिनिधि लोकतन्त्रहरूले बेहोरिरहेका संकटबारे एकचोटि विचार गर्नुस् त। एकातिर, उदार लोकतन्त्रभित्र सामाजिक–आर्थिक असमानता र संकटहरू गहिरिइरहेका छन् भने अर्कातिर समाजवादी व्यवस्थाहरू सामाजिक–आर्थिक क्षेत्रलाई सम्बोधन गर्ने नाममा आधारभूत राजनीतिक अधिकार र स्वतन्त्रता कुण्ठित गर्न प्रवृत्त छन्। पुँजीवादी प्रवृत्तिप्रतिको विमति अचेल समाजवादी विकल्पमा बिरलै अनूदित हुन्छ, बरु त्यसले त पुरातनपन्थी मोड लिएको देखिन्छ। संवाद, अन्तरक्रिया, समाचार र मिडियाको सामान्य अवलोकनले के प्रस्ट पार्छ भने प्रायः सबै देशका मानिस परिवर्तन चाहन्छन्। अमेरिकी जनतासमेत परिवर्तन चाहन्छन्। यो परिवर्तनको चाहनासँग समुदायहरूबीच एक प्रकारको भय र असुरक्षाको भाव पनि जोडिएको छ। साथै, उनीहरूको जीविका र रोजगारीका सम्भावनामा सुधारको उत्कण्ठा पनि जोडिएको छ। राजनीतिक तथा आर्थिक अभिलाषा वा व्यग्रताहरूको यो समुच्चयले ‘परिवर्तन’को समग्र अवधारणालाई साह्रै जटिल नारा बनाइदिएको छ, जसलाई परिभाषा गर्न कठिन छ। राजनीतिक तथा आर्थिक व्यवस्था परिवर्तन गर्न चाहनु एउटा लोकप्रिय कथन भएको छ। यो एकदमै अस्पष्ट र मनमौजी कथन पनि हो। किनभने, परिवर्तनको अर्थ जे पनि हुन सक्छ। यो कुनै चिज हुनसक्छ, सबथोक हुन सक्छ वा केही पनि नहुन सक्छ।

त्यसैले, यहाँ अक्सफोर्डमा, म तपाईंहरूलाई अनुरोध गर्छु– जे सुरक्षित र सरल छ, त्यसैमा सन्तुष्ट भएर नरहनुहोस्। म तपाईंहरूलाई पुनर्विचार गर्न र आफैँलाई सवाल गर्न आग्रह गर्छु– हामी कस्तो खालको परिवर्तन चाहन्छौँ? केबाट परिवर्तन? केमा परिवर्तन? कसका लागि परिवर्तन? कोद्वारा परिवर्तन? कोबाट परिवर्तन? करिब चार दशकको सक्रिय राजनीतिक जीवनका आधारमा म भन्न सक्छु– विगत केही वर्षयता राजनीति र राजनीतिक परिवर्तनलाई हेर्ने मान्छेहरूको दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ। उपलब्ध परम्परागत वैचारिक स्कुल र पुँजीवाद वा उदारवार र समाजवादजस्ता राजनीतिक पद्धतिका मोडलहरूको सहारामा समकालीन राजनीतिक, आर्थिक, सांस्कृतिक र वातावरणीय मुद्दाहरूलाई सम्बोधन गर्न अपर्याप्त र कठिन हुन्छ। संसारका वर्तमान राजनीतिक घटनाहरू यही वैचारिक र प्रणालीगत संकट र सम्भाव्य विकल्पहरूद्वारा रिक्ततालाई सफलतापूर्वक पुर्ने असमर्थताका प्रदर्शन हुन्। त्यसैले, नयाँ सैद्धान्तिक विचार र अभ्यासका आवश्यकता र सम्भावनाबारे विचारोत्तेजक बहस सुरु गर्नु अनिवार्य भइसकेको छ। हामीले पुँजीवाद र समाजवादका त्रुटि र सीमालाई स्वीकार गर्ने, तीबाट सिकेर अगाडि बढ्ने र वर्तमान समाजका यथार्थ सुहाउँदा नयाँ विकल्प खोज्ने साहस गर्नैपर्छ।

महान आइन्स्टाइनले भनेका थिए, ‘कुनै पनि समस्या त्यही तहको चेतनास्तरले हल गर्न सकिँदैन, जुन तहको चेतनास्तरले त्यो समस्या सिर्जना गरेको थियो।’ हो, समस्या समाधानका लागि हामीले आफ्नो चेतनास्तर उठाउनैपर्छ।

मलाई लाग्छ, वैकल्पिक दृष्टिकोणको खोजी सुरु भइसकेको छ। कम्तीमा नेपालमा सुरु भइसकेको छ। म आज यहाँ असली परिवर्तन र सम्भाव्य विकल्प चाहने नेपालीहरूको प्रतिनिधि आवाज बोलिरहेको छु। यी आवाजहरू केवल संवेगात्मक छैनन्, सुविज्ञ पनि छन्। यी आवाज आफूलाई वास्तविकतामा बदल्ने विशाल संकल्पले भरिएका छन्।

मैले माओवादी पार्टी छोडेर नयाँ ढंगले अगाडि बढ्न खोज्नुको मूल कारण के थियो भने नयाँ संविधान घोषणासँगै नेपालको राजनीतिक इतिहासको एउटा प्रमुख अध्याय समाप्त भएको थियो। अब हामीले अघिल्ला युगका सकारात्मक पाठ समेटेर र नकारात्मक पाठ त्यागेर नयाँ युगमा प्रवेश गर्नुपर्छ। एउटा महत्वपूर्ण राजनीतिक सिलसिला सम्पन्न भइसकेपछि अब आर्थिक विकासमा केन्द्रित हुने बेला आएको छ। संविधानमा लेखिएका राजनीतिक प्रावधानहरूलाई कार्यान्वयन गर्न आवश्यक क्षमता र स्रोत–साधनका लागि आर्थिक विकास जरुरी छ। यति गरिब राज्य (७०० डलर प्रतिव्यक्ति आय भएको) ले आफ्ना नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारीको आधारभूत अधिकार कसरी प्रत्याभूत गर्न सक्छ? राजनीतिक पार्टीहरूले आर्थिक क्रान्ति गर्ने नैतिक प्राधिकार कसरी राख्न सक्छन्, जब कि उनीहरू यति भ्रष्ट र अदूरदर्शी छन्? त्यसैले नयाँ युगका निम्ति नयाँ राजनीतिक तथा आर्थिक परिकल्पना जरुरी छ। र, जरुरी छ, दूषित भ्रष्ट राजनीतिक संस्कारबाट अलग हुने साहस। म जुन पार्टीप्रति प्रतिबद्ध थिएँ, त्यसले यस्ता भ्रष्ट र पाखण्डपूर्ण प्रवृत्तिबाट अलग्गिने कुनै संकेत देखाएन। त्यसैले मैले पार्टी छोडिदिएँ। त्यो पार्टी जसलाई बनाउन, जसको नेतृत्व गर्न र जसका अजेन्डा निर्धारण गर्न मैले आफ्नो जीवनको अहम् कालखण्ड बिताएको थिएँ।

हाल नेपाल संघीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष, समावेशी गणतन्त्र भएको छ। यद्यपि, हाम्रा उपलब्धि नेपाली जनताको बृहत्तर हिस्साको अपेक्षाका तुलनामा न्यून छन्। उनीहरू हामी अझै प्रगतिशील भएको हेर्न चाहन्थे। मेरो पूर्व पार्टीको नेतृत्वबाट सीमान्तकृत जनतासँग पार्टीको सम्बन्ध परिभाषित र निर्धारित गर्ने आधारभूत सिद्धान्त त्याग्ने र गलत सम्झौता गर्ने काम भयो, जुन अत्यन्त दुःखदायी र लज्जास्पद थियो। संविधान घोषणापछि राजनीतिक नेताहरू पुरानै शैलीमा फर्किए। सर्वसाधारण जनताले राजनीतिले उनीहरूको सेवा गरिरहेको छ, उनीहरूको पर्वाह गरिरहेको छ र उनीहरूको जीवन सुधार्न काम गरिरहेको छ भन्ने महसुस नगरेसम्म अत्यन्त मुश्किलले प्राप्त भएको राजनीतिक मनोरथ उनीहरूका निम्ति अप्रासंगिक हुने खतरा रहन्छ। दोस्रो संविधानसभा निर्वाचनका बेला र त्यसपछि मैले यो प्रवृत्ति व्यापक रूपमा बढिरहेको पाएँ। यसलाई सच्याउनका निम्ति एउटा अभूतपूर्व कदम चाल्नु आवश्यक थियो। दुर्भाग्यवश, पुरानो पार्टीभित्र पार्टी संरचना र कार्यशैलीमा इमानदार आत्मविश्लेषण र शोधनको कुनै गुञ्जाइस थिएन। पार्टीको कार्यशैलीमा परिवर्तन ल्याउने कुनै इच्छाशक्ति र तत्परता थिएन।

तसर्थ, मैले हृदयदेखि नै महसुस गरेँ कि अब नयाँ दृष्टिकोण, नयाँ परिकल्पना र नयाँ समूहसहितको नयाँ राजनीतिक ढाँचा अत्यावश्यक छ। मैले सचेततापूर्वक विद्यमान पार्टी फुटाउने पारम्परिक मार्ग नअपनाउने निर्णय गरेँ। बरु, पार्टी र राज्यका ओहोदाबाट राजीनामा गर्ने निर्णय गरेँ। आज माओवादी पार्टीका साथीहरू र असंख्य नयाँ सहकर्मीहरूले सामूहिक रूपमा नयाँ राजनीतिक शक्ति स्थापना गरेका छन्, जसको नाम ‘नयाँ शक्ति’ हो। हाम्रो लक्ष्य नयाँ वैकल्पिक राजनीतिक पार्टी निर्माण गर्नु हो, जो सार्वभौमसत्ता, आर्थिक समृद्धि, जवाफदेही/पारदर्शिता, दिगोपन र समावेशी सहभागितामूलक लोकतन्त्रका सिद्धान्त तथा उद्देश्यले लेस हुनेछ। यो एउटा राजनीतिक पार्टीमात्र हुनेछैन, अपितु एउटा वैकल्पि राजनीतिक मार्ग तथा आन्दोलन हुनेछ, जसले नेपाली राजनीतिलाई इमानदार तथा आदर्श रणनीति, नीति, शैली र संस्कृतिले सुसज्जित गर्नेछ।

संविधान निर्माण प्रक्रियाले नेपालको राजनीतिक निरन्तरतामा कम्तीमा तीन प्रधान तरिकाले क्रमभंगता गर्‍यो। देश राजतन्त्रबाट गणतन्त्र, नागरिक द्वन्द्वबाट शान्तिपूर्ण राजनीति र असमावेशी राज्य संयन्त्रबाट समावेशी लोकतन्त्रमा प्रवेश गर्‍यो। नयाँ संविधानको सफलता र आउँदा दिनमा स्थिर र शान्त नेपालका लागि मार्ग प्रशस्त गर्ने यसको सामथ्र्य समावेशी लोकतन्त्रको लक्ष्य पूरा गर्ने हाम्रो सामथ्र्यमा निर्भर गर्नेछ। नयाँ संविधान केही आशाजनक प्रावधानसहित आए पनि दोस्रो संविधानसभाले पहिलो संविधानसभाका उपलब्धिलाई निष्ठापूर्वक प्रतिविम्बित नगर्नु दुर्भाग्यपूर्ण छ। पहिलो संविधानसभाले तय गरेको संघीय पुनःसंरचनाका लागि पहिचानका पाँच र सामथ्र्यका चार आधारलाई संविधानमा कायम गर्न नसक्नु हाम्रो असफलता थियो। पहिलो संविधानसभाले महिला, दलित र मुस्लिमलाई समान र न्यायपूर्ण व्यवहार गर्ने उद्देश्यले थुप्रै प्रगतिशील व्यवस्था गरेको थियो तर दोस्रो संविधानसभाले यी प्रावधानलाई परित्याग गरिदियो। परिणामतः देशले समावेशी लोकतन्त्रलाई विधिबद्ध गरिएको नयाँ संविधान प्राप्त गरे पनि आज आफू छुटेको महसुस गर्ने समुदायहरूबीच, खास गरी मधेशी–थारु र आदिवासी–जनजातिमा, गम्भीर असन्तुष्टि देखिएका छन्।

हाम्रो लोकतन्त्रलाई अधिक सार्थक र सर्वसामेलीपूर्ण बनाउन राज्यका साथै पार्टी संरचनालाई पनि बढीभन्दा बढी समावेशी र समायोजित बनाइनुपर्छ। जातीय–भाषिक–क्षेत्रीय समावेशिताका साथसाथै, लोकतन्त्रको नयाँ संकल्पना सबै वर्ग, लिंग, जातजाति, धर्म र उमेर समूहका सन्दर्भमा समावेशी र सहभागितामूलक हुनुपर्छ। यसले युवा वर्गलाई विशेष प्रमुखता दिनुपर्छ। हामीले अभ्यास गर्न खोजेको नयाँ प्रकारको राजनीति नैतिकताको उच्च धरातल र पूर्ण पारदर्शितामा आधारित हुनुपर्छ।

समावेशी लोकतन्त्रको धारणा हाम्रो राष्ट्रिय सार्वभौमसत्ताको विचारसँग पनि निकट रूपले गाँसिएको छ। म जान्दछु– धेरै नेपाली कमजोर भइरहेको सार्वभौमसत्ता र नेपालको भौगोलिक अखण्डतामाथिको सम्भावित खतराप्रति चिन्तित छन्। परिपक्व विदेश नीति तर्जुमा गर्नु र यसलाई आत्मसम्मानपूर्वक, इमानदारीसाथ र स्थिरतापूर्वक कार्यान्वयन गर्नुबाहेक, म के कुरामा जोड दिन चाहन्छु भने, हाम्रो देशको सार्वभौमसत्ता र अखण्डता अन्योन्याश्रित रूपले हाम्रो आन्तरिक राष्ट्रियताको सबलीकरणसँग जोडिएका छन्। हामीले हाम्रो विविधतालाई स्वीकार गर्नुपर्छ। हाम्रो देशको इन्द्रेनी चरित्रलाई आत्मसात् गर्नुपर्छ र नेपालका सबै जातीय तथा भाषिक समुदायहरूको भावनात्मक एकीकरणका दिशामा कार्य गर्नुपर्छ। राष्ट्र भनेको यसका जनता हुन्। जनता सार्वभौमसत्तासम्पन्न नभएसम्म राष्ट्रिय सार्वभौमसत्ताको कुरा गर्नु बेकार हुन्छ। मलाई थाहा छ– नेपालमा त्यस्ता व्यक्ति र शक्ति छन्, जो उग्र राष्ट्रवादी छन् र मानिसहरूमा अभिप्रायवशः असुरक्षाको भावना पैदा गरिदिन्छन्। राष्ट्रवादको विकृत धारणा भड्काएर राजनीति गर्न सजिलो छ, जहाँ खास वर्गका मानिसका एकाधिकारविरुद्ध आफ्ना अधिकार दाबी गरिरहेकालाई उनीहरूको राष्ट्रप्रतिको बफादारी प्रमाणित गर्न माग गरिन्छ। होसियारीपूर्वक के भ्रम फैलाइएको छ भने मधेशी, थारु र जनजातिको असन्तुष्टि निर्मित हो, यी समुदाय नेपाल टुक्य्राउन चाहने विदेशी शक्तिको आदेशमा काम गरिरहेका छन्। निःसन्देह, हाम्रो आन्तरिक राजनीतिक खिचातानी र अस्थिर राज्यतन्त्रले सदा अवाञ्छित विदेशी हस्तक्षेपलाई आकर्षित गरिरहेका छन्। तर, हामीले के बुझ्नुपर्छ भने हाम्रा आफ्ना नागरिकका असन्तुष्टिका कारण यी हस्तक्षेप भएका होइनन्। बरु, यी हस्तक्षेप त असन्तुष्टिका परिणाम हुन्। विश्व मामिलाको अलिकति पनि जानकारी राख्नेलाई थाहा हुन्छ– कुनै पनि देशको अन्तर–सामुदायिक द्वन्द्वले विदेशी अभिरुचि र अतिक्रमणसमेत आकर्षित गर्छ। म जोड दिन चाहन्छु– हाम्रा प्राथमिक चुनौतीहरू आन्तरिक प्रकृतिका छन्। बाह्य अभिरुचिलाई असान्दर्भिक बनाउन हामी आन्तरिक रूपमा बलियो हुनुपर्छ।

लोकतन्त्र र आर्थिक समृद्धिका यी धारणा हामीले नेपालमा हाल भनिरहेको ‘समुन्नत समाजवाद’सँग जोडिएका छन्। यसको अर्थ के हो त? पुँजीवाद र समाजवादसम्बन्धी हाम्रो आधारभूत बुझाइ के हो भने पुँजीवादी व्यवस्था खुला बजार अर्थनीति, व्यक्तिवाद, निर्वाध नाफाको अधिकार, निजीकरण र निजी सम्पत्तिको स्वामित्वमा आधारित छ। यसको ठीक विपरीत, समाजवाद सामूहिकता, सार्वजनिक स्वामित्व, राज्य निर्देशित अर्थतन्त्र, नाफारहित अर्थतन्त्र, उत्पादनका साधनहरूको राष्ट्रियकरणको प्रतीक हो। यी दुवै व्यवस्थाले विश्वव्यापी रूपमा बेहोरेका र बेहोरिरहेका संकटका आधारमा हामी एउटा गम्भीर बहस सुरु गर्न चाहन्छौँ। यी दुवै व्यवस्थाका त्रुटि हटाउन सक्ने एउटा व्यवस्थाको कल्पना र निर्माण गर्नुपर्ने आवश्यकता र सम्भावनाबारे त्यो बहस केन्द्रित हुनेछ। आज पुँजीवादी देशहरूले सामना गरिरहेका संकटबारे बोल्नु आवश्यक छैन। संसारभरि नै विकल्पको खोजी भइरहेको देखिन्छ। एक्काइसौँ शताब्दीमा हामीले पुनःसिर्जन गर्न सक्ने त्यो विकल्पको स्वरूप र अन्तर्वस्तु के हुनेछन्? त्यो नै मुख्य सरोकार हो।

परम्परागत रूपमा समाजवाद कि त काल्पनिक आदर्शवादी (युटोपियन) रह्यो, कि त टालटुले (फेबियन) खालको। सोभियत संघ उत्प्रेरित राज्य–समाजवाद प्रकारको अथवा सामाजिक–प्रजातन्त्रवादी वा युरो–कम्युनिस्ट खालको समाजवाद पनि छन्। हामी धेरै परिचित भएको वा हामीलाई हस्तान्तरण गरिएको समाजवाद भनेको राज्य–समाजवाद हो। तर, समाजवादको यो अभ्याससँग केही समस्या जोडिएका छन्। बीसौँ शताब्दीको समाजवादबाट हामीले सिक्नुपर्ने पाठ भनेको लोकतन्त्रको सवाल हो। सोभियत समाजवादले उदार लोकतन्त्रभन्दा उन्नत लोकतन्त्रका वैकल्पिक अभ्यासहरू प्रदान गर्न सकेन। त्यसमा आधारभूत राजनीतिक अधिकार र स्वतन्त्रता थिएन। फलतः सोभियत समाजवाद राज्य–नोकरशाही र पार्टी संगठनभित्र विशालकाय प्रवृत्तिमा पतन भयो। रोजा लक्जम्बर्गले भनेझैँ ‘लोकतन्त्रको उन्मूलन आफैँमा त्यो रोगभन्दा खराब थियो, जसलाई लोकतन्त्रले निको पार्ने अपेक्षा गरिएको थियो।’ दोस्रो कुरा, वर्गविहीन, निजी सम्पत्तिविहीन, राज्यविहीन समाज निर्माण गर्ने आफ्नो घोषित लक्ष्यतिर बढ्नुको सट्टा सोभियत समाजवादले विपरीत मोड लियो र पार्टी एलिट र कर्मचारीतन्त्रका एलिटहरूको नयाँ वर्ग जन्मायो। तेस्रो, निजी स्वामित्वको पूर्ण निषेध र उत्पादनका सम्पूर्ण साधनहरूको राष्ट्रियकरणले उत्पादनमा दिगो वृद्धि हुन सकेन। पुँजीको पुनर्उत्पादन हुन सकेन। त्यसपछि समाजवाद समृद्धि होइन, गरिबी वितरण गर्ने व्यवस्था हो भन्ने धारणा फैलाउन सजिलो भयो।

लण्डनमा बोल्दै डा. भट्टराई

लण्डनमा बोल्दै डा. भट्टराई

अर्कोतर्फ, लोकतन्त्रको सवाललाई प्राथमिकता दिने वामपन्थीहरू आफूलाई सामाजिक–प्रजातन्त्रवादी भन्छन् वा समाजवादलाई स्विकार्ने प्रजातन्त्रवादीहरू आफूलाई प्रजातान्त्रिक–समाजवादी भन्छन्। नेपालको सन्दर्भमा, नेपाली कांग्रेस र नेकपा एमाले फरक–फरक विचारधारामा आबद्ध भए पनि व्यवहारमा उनीहरू मूलतः यही कोटीमा पर्छन्। अर्थनीतिका मामिलामा उनीहरू सोभियत समाजवादी मोडलसँग निकट छन्। तर, राजनीतिका मामिलामा भने उनीहरू संसदीय प्रजातन्त्रवादी वा औपचारिक प्रतिनिधिमूलक प्रजातन्त्रवादी हुन्। तर, लोकतन्त्रलाई गहन बनाउन उनीहरूले धेरै अभिरुचि राखेका छैनन्। सामाजिक–प्रजातन्त्रवादीहरूको अर्को समस्या के हो भने उनीहरूले समाजवाद र नवउदारवादबीच स्पष्ट सीमारेखा कोर्न सकेका छैनन्। अन्तर्राष्ट्रिय रूपमा जब कम्युनिस्ट ध्रुव बलियो हुन्छ, उनीहरू आफूलाई समाजवादीका रूपमा चित्रण गर्छन्। अनि, जब नवउदारवादी ध्रुव प्रभावशाली हुन्छ, उनीहरू आफूलाई पुँजीवादी भन्छन्।

यी अवलोकनमा आधारित हुँदै, हामीले उठान गरिरहेको समुन्नत समाजवाद राजनीतिक र आर्थिक रूपमा यी परम्परागत मोडलभन्दा श्रेष्ठ हुनुपर्छ। हामीले अभ्यास गर्न चाहेको लोकतन्त्र औपचारिक कर्मकाण्डीय प्रतिनिधिमूलक संसदीय मोडलमा सीमित हुन सक्दैन। यो समावेशी र पूर्णतया सहभागितामूलक हुनु आवश्यक छ। हामीले आधारभूत रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हाम्रो उत्कृष्ट मार्गनिर्देशक हुने ठानेका छौँ। त्यसैले, राज्यवाद वा अर्थवाद अर्थात् व्यक्तिवाद वा समूहवादको सट्टा सायद हामीलाई एउटा वैकल्पिक सैद्धान्तिक र राजनीतिक पद्धति आवश्यक छ, जो व्यक्ति र समूह/समाज, राज्य र बजार, श्रम र पुँजीको द्वन्द्वात्मक र गतिशील सन्तुलनमा आधारित हुन्छ। र, जसअन्तर्गत एउटाले अर्कोलाई पूर्णतः निषेध वा अस्वीकार गर्दैन। हामी राज्यविहीन, वर्गविहीन र नाफाविहीन समाज निर्माण गर्ने प्रतिज्ञा गर्दैनौँ। कुनै दिन यस्तो सम्भव भएछ भने त्यो त्यस समयका मानिस र पुस्ताको काम हो। हामी आफूले पूरा गर्न नसक्ने प्रतिज्ञा गर्दैनौँ। हामीलाई विश्वास छ– हाम्रो जीवनकालमा हामी नेपाली जनतालाई समृद्धि दिन सक्छौँ। गरिबी होइन, समृद्धिको वितरण हाम्रो प्रतिज्ञा हो। यसका निम्ति लिनुपर्ने राजनीतिक बाटो न बन्र्सटाइनले भनेझैँ ‘क्रमिक क्रान्ति’ हुनु आवश्यक छ, न लेनिनले भनेझैँ ‘हिंसात्मक क्रान्ति’ नै। सारभूत रूपान्तरणमार्फत यसलाई हासिल गर्न सकिन्छ, जो तीन संघटकमा आधारित हुनेछः विद्यमान व्यवस्थाका केही इकाईहरूको प्रगतिशील रूपान्तरण; नयाँ इकाईहरूको निर्माण; पुरानो व्यवस्थाका अवरोधात्मक र अनुपयुक्त इकाईहरूको अस्वीकरण। यसका निम्ति सडकदेखि संसद तथा सरकारसम्म हामी आफ्नो शक्ति परिचालन गर्न समर्थ हुनुपर्छ।

तपाईंहरूलाई अचम्म लाग्ला, पुरानो र परीक्षित एक जना नेता यहाँ उभिएर नयाँ विचार र राजनीति गर्ने नयाँ शैलीबारे बोलिरहेको छ। म आफैँ पनि कहिलेकाहीँ छक्क पर्छु। चिन्तित हुन्छु। म कसरी नयाँ बन्न सक्छु? मेरा समकालीन सहकर्मीहरूले कसरी राजनीतिक तथा सामाजिक सेवा गर्ने नयाँ शैली अपनाउन सक्छन्? हामी कसरी नयाँ पुस्ताका ती युवासम्म पुग्न सक्छौँ, जो केही नयाँ चाहन्छन् तर विकल्पको अभावमा अन्योलग्रस्त छन्? जसलाई देशको पर्वाह छ तर पुरानो राजनीतिक वर्गको एकाधिकार र नाजुक राजनीतिक संस्थाहरूका कारण अत्यन्त निराश छन् र सक्रिय राजनीतिमा हाम्फाल्न चाहँदैनन्। उनीहरूसम्म कसरी पुग्ने? म आफूलाई यी प्रश्न सोधिरहेको हुन्छु।

म सदा कुनै महत्वपूर्ण, नयाँ वा महान् चिजको खोजी गर्न उत्प्रेरित छु। मेरो प्रिय आदर्श–वाक्य हो– ‘यति महत्वपूर्ण चिजको खोजी गर कि असफल भयौ भने पनि प्रयत्न गरेकोमा संसार तिमीसँग खुशी हुनेछ’– (टिम ओ’रिली)

नेपाली जनता कठिन जीवन बाँचिरहेका छन्। मेरो पुस्ताले आफ्नो वयस्क जीवन अत्यन्त नियन्त्रित राज्यव्यवस्थामा बितायो। निरंकुश शासनविरुद्ध राजनीतिक असहमति व्यक्त गर्न पाइँदैनथ्यो। यद्यपि, हामीले उत्पीडनकारी शासनविरुद्ध लड्यौँ। इतिहासमा महत्वपूर्ण रूपान्तरणकारी क्षण ल्यायौँ। तर, असफलता र निराशाका भागीदार हामी पनि छौँ। मलाई थाहा छ– तपाईंहरू मलगायत मेरा पुस्ताका नेताहरूदेखि खुशी हुनुहुन्न। तथापि, मलाई लाग्छ– हामी इमानदारीपूर्वक विगतका अनुभवहरूबाट सिक्न चाहन्छौँ, आफ्ना असफलता स्वीकार गर्न चाहन्छौँ र नेपालीको जीवनलाई सहज र राम्रो बनाउन अथक प्रयत्न गर्न चाहन्छौँ भने त्यसले केही फरक पार्नेछ। विगतमा हाम्रा योगदान र योग्यता जेजस्ता थिए, म विनम्रतापूर्वक स्वीकार गर्छु– मेरो सामथ्र्य र मेरो पुस्ताको समग्र सामथ्र्य अब पर्याप्त छैन। नेपालले तपाईं युवाहरूको सामथ्र्य माग गरिरहेको छ। म हृदयदेखि नै विश्वास गर्छु– तपाईंहरूको सामथ्र्य हाम्रो पुस्ताका मानिसका तुलनामा श्रेष्ठ छ। तपाईंहरूको पुस्ताले नै मलाई नयाँ बन्न र देशका लागि उन्नत विकल्पहरूको परिकल्पना गर्न प्रेरित र उत्प्रेरित गरेको छ।


(बेलायतको अक्स्फोर्ड विश्वविद्यालयमा दिइएको प्रवचनको अनुदित र सम्पादित अंश)

प्रकाशित १४ मंसिर २०७३, मंगलबार | 2016-11-29 16:10:54

प्रतिकृया दिनुहोस

Loading...
  • केपी शर्मा ओली

    यो चुनावले हामी हिंड्ने बाटो निर्धारण गर्दैछ

    हामी देशको यस्तो राजनीतिक अवस्थामा छौं, जहाँबाट देश कतातिर जाने भन्ने बाटो फाट्छ। राष्ट्रियतालाई बलियो बनाउने बाटोतिर जाने कि, राष्ट्रियतालाई कमजोर...

  • डेढ वर्षअघि बेइजिङमा राष्ट्रपति सीसँग भेट्दै तत्कालीन प्रधानमन्त्री केपी ओली (फाइल फोटो)

    सीको दोस्रो कार्यकाल नेपाललाई थप अवसर

    चीनमा सीको पुनरावृत्तिको अर्थ हो– अर्को ५ वर्ष चीनको विकासले तीव्र गति लिनेछ र त्यसमा विशेषगरी छिमेकी देशहरूलाई समाहित गरिनेछ। महाधिवेशनमा प्रस्तुत...

  • दल एकिकरण समारोहमा कांग्रेस सभापति देउवासँग गच्छदार

    मधेसी राजनीतिको यस्तो विचित्र पक्ष

    मधेस राजनीतिमा कुनै बेला हृदयेश त्रिपाठी र विजय गच्छेदार एक अर्काका प्रतिस्पर्धी थिए । तर एक दशकभित्रै दुबैलाई मधेसी राजनीतिबाट बिकर्षण पैदा भएको...

  • गल्फले खोज्दैछ एनआरएनएको नजर

    हामी गर्वका साथ भनिरहेका छौं, रेमिट्यान्स झण्डै एक वर्षको बजेट बराबर आउँछ। त्यो रेमिट्यान्स पठाउने तिनै नेपाली हुन्, जो वैदेशिक रोजगारीमा छन्। तर,...

  • सी जिनफिङ

    सी जिनफिङः पाँच वर्षका पाँच उपलब्धि

    गरिबी विरूद्धको अन्तिम युद्ध लड्न चीनले सबै खाले प्रयास जारी राखेको छ। १८औं राष्ट्रिय कांग्रेसले पाँच वर्षमा लिएको लक्ष्य थियो, गरिबीबाट उम्किएर...

  • शेरबहादुर देउवा

    कस्तो होला प्रम देउवाको चौथो प्रस्थान?

    एमाले–माओवादी केन्द्रबीचको मिलनबाट आत्तिएर संसद विघटनसँगै अस्वाभाविक कदम चाल्न थाले भनेचाहिँ निश्चित छ, ओलीजस्ता चतुर नेतालाई समेत चक्मा दिँदै...

Loading...

विचार

सुखद शुक्रबार

ब्लग

NepalKhabar Tweets

विशेष

  • प्रचण्डले भने: म त सम्हालिएको छु, परिवारलाई सम्हाल्न गार्‍हो छ (भिडियो)

    युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...

  • ओलीसँगै उमेश गिरि (बायाँ)

    जसले एमालेको दुई करोड ‘खाए’, तिनै गिरीले ओलीको हातबाट टीका लगाए

    सत्ता टिकाउन एमालेसँग दुई करोड माग गरेको आरोप लागेका कांग्रेसका चर्चित नेता उमेश गिरी अन्तत एमालेमै प्रवेश गरेका छन्। सोमबार विहान बिराटनगरमा...

  • सिंहदरबार परिसर

    चुनावपछि मात्रै प्रदेशको अस्थायी राजधानी र गभर्नर

    आन्दोलन भएर निर्वाचनसमेत प्रभावित हुनसक्ने भन्दै सरकार प्रदेशको अस्थायी राजधानी तोक्ने र गभर्नर नियुक्त गर्ने कार्यबाट पछि हटेको छ। दुवै काम अब...

  • प्रकाशको निधनमा शंका छैन, छानविन गर्नुपर्दैन: प्रचण्ड

    ‘ज्वरो सामान्य नै थियो। त्यसलाई हामी सबैले सामान्य नै ठान्यौं। तर ज्वरो नघटेकाले आइतबार उपचार गर्न जाने योजना थियो। यदि ज्वरो नघटेको भए आइतबार...