राहुलको स्वीकार्यता मोदीलाई टक्कर



Kshamadevi Group


राहुल गान्धी र नरेन्द्र मोदी
राहुल गान्धी र नरेन्द्र मोदी
पीटीआई

आज पनि भारतमा सबैभन्दा शक्तिशाली र धेरै मानिसले आशा गर्ने नेता मोदी नै हुन्। तर अघिल्लो पटक जस्तो कमलमा भोट खन्याउनका लागि यसपाली ‘भाइ और बहनो’ हरुलाई आकर्षित गर्न सक्ने अवस्थामा छैनन् मोदी।

भारतमा निर्वाचनको ज्वरो उत्कर्षमा छ। पाँच वर्षअघि प्रचण्ड बहुमतका साथ सत्तामा आएको भाजपामाथि आफ्नो पकड दोहोर्याउने चुनौती छ भने भारत स्वतन्त्र भएयता करिबकरिब एक छत्र राज गरेर गत निर्वाचनमा नराम्ररी पराजित भएको कांग्रेसलाई सत्तामा फर्किने चुनौती छ। २९ प्रान्तमा बाँडिएको भारतमा क्षेत्रीय रुपमा निर्णायक प्रभाव राख्ने अनेक दलहरु भए पनि राष्ट्रिय राजनीति चाहिँ यी दुई दल र यिनले निर्माण गरेका गठबन्धन– नेसनल डेमोक्रेटिक एलाइन्स (एनडीए) र युनाइटेड प्रोग्रेसिभ एलाइन्स (युपीए) वरिपरि घुमिरहन्छ। अप्रिल ११ देखि मे १९ सम्म मतदानमा भाग लिने ९० करोड भारतीयहरुलाई फकाउन दलहरु युद्ध मैदानमा उत्रिएका छन्।

८० लोकसभा सिट भएको उत्तर प्रदेशमा अखिलेश यादव र मायावतीबीच भएको गठबन्धन र ४० सिट भएको विहारमा कांग्रेस, आरजेडीसहितको महागठबन्धनले कस्तो परिणाम ल्याउँछन् भन्नेमा भारतमा भावी सरकार कसको बन्छ भन्ने निहित छ। भाजपा र कांग्रेस दुबैले विभिन्न प्रान्तमा आफू अनुकूलका गठबन्धनकारीहरु खोजे पनि मुख्यतः अघिल्लो पटक भाजपालाई सत्तामा पु¥याउने यी दुई प्रदेश यसपटक पनि निर्णायक देखिन्छन्।

घट्यो मोदी–क्रेज
सन् २०१४ को लोकसभा निर्वाचन थेग्न त्यतिबेलाको सत्तारुढ भारतीय राष्ट्रिय कांग्रेसलाई हम्मेहम्मे परेको थियो। लगातार १० वर्ष सत्तामा बसेर तुलनात्मक रुपमा राम्रै काम गरेको कांग्रेसका लागि दिल्लीको सत्ता राजनीतिमा प्रवेशै नगरेका गुजरातका मुख्यमन्त्री नरेन्द्र दामोदारदास मोदी यति भारी परे कि १६ औँ लोकसभामा कांग्रेसले १० प्रतिशत सिट पनि हासिल गर्न नसकेर आफूलाई प्रमुख प्रतिपक्षी दलको संवैधानिक मान्यता पनि दिलाउन सकेन। जता गयो, उतै मोदीका पक्षमा देखा परेको त्यतिबेलाको जनलहरले स्वयम् भाजपाभित्र उनका विपक्षमा उभिएका हेभिवेट नेताहरुलाई पनि सजिलै पाखा लगाइदियो।

नरेन्द्र मोदीले २०१४ मा सिर्जना गरे जस्तो सुनामी अहिले भारतमा छैन। त्यतिबेला उनले दिएका आकर्षक नारा चुनावी प्रयोजनका लागि थिए भन्ने धेरैले थाहा पाइसकेका छन्। तुलनात्मक रुपमा उनले सत्ता सञ्चालनमा कुशलता देखाएका छन्, प्रभावकारी र सक्रिय सरकार छ, चुस्त प्रशासन छ, प्रधानमन्त्री मोदीको शक्तिशाली व्यक्तित्व छ। उनीभन्दा अघिका भद्र प्रधानमन्त्री डा. मनमोहन सिंहको तुलनामा मोदी कम प्रभावकारी छैनन्। यति हुँदाहुँदै पनि आम भारतीयहरुले अनुभूत गर्ने गरी मोदीको प्रभावकारी व्यक्तित्व व्यवहारमा अनुवाद भएको छैन। चुनावका बेला कालो धन फिर्ता ल्याउनका लागि उनले गरेको बाचा विजय माल्या र निरभ मोदीहरुलाई भारतमा सुपुर्दगी गर्नका लागि बेलायती अदालतले दिएको आदेशमा पुगेर चित्त बुझाउनुपर्ने अवस्था उत्पन्न भएको छ। विकराल रुप लिएको बेरोजगारी र महंगी नियन्त्रण गर्न मोदीले अपेक्षित रुपमा सफल नदेखिएपछि यसपटक उनको व्यक्तित्वको क्रेज घटेको छ।

यसको मतलब यो होइन कि उनी अप्रभावकारी नेता हुन्। व्यक्तिगत रुपमा आज पनि भारतमा सबभन्दा प्रभावकारी, शक्तिशाली र धेरै मानिसहरुले आशा गर्ने नेता मोदी नै हुन् भन्ने विभिन्न आँकडाहरुले देखाइरहेका छन्। तथापि, अघिल्लो पटक जस्तो कमलमा भोट खन्याउनका लागि उनका ‘भाइ और बहनो’ हरुलाई आकर्षित गर्न सक्ने छैन यसपाली मोदीले।

परिपक्व राहुल
अघिल्लो पटक कांग्रेस आईलाई एउटा संकट प्रधानमन्त्री पदको उम्मेदवारको पनि थियो। भारतमा मुद्दामा भन्दा व्यक्तिमा चुनाव लडिने भएकाले चुनाव अघि नै औपचारिक रुपमा र त्यसो हुन नसके अनौपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार अघि सारिन्छ। सन् २००४ मा अनौपचारिक रुपमा अघि सारिएकी सोनिया गान्धीले प्रधानमन्त्री हुन अस्वीकार गरेपछि प्रधानमन्त्री भएका अर्थशास्त्री मनमोहन सिंहले १० वर्ष शासन गर्दा पनि राहुल गान्धी विकल्पका रुपमा तयार हुन सकेका थिएनन्। सन् २००४ को निर्वाचनबाट चुनाव लड्न थालेका उनी पार्टीमा क्रमशः युवा मोर्चाका अध्यक्ष, पार्टीका महासचिव, उपाध्यक्ष हुँदै ११ डिसेम्बर, २०१७ देखि पार्टी अध्यक्ष बनेका छन्। अघिल्लो निर्वाचनमा उनलाई कांग्रेसीहरुले भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दा पनि पत्याउने स्थिति थिएन।

यसपटक चाहिँ परिस्थितिमा अलि परिवर्तन आएको छ। राहुल प्रधानमन्त्री नै हुन्छन् हुन्नन्, अहिले भन्न हतार हुन्छ तर उनी प्रधानमन्त्रीको उम्मेदवारका लागि भने स्वीकार्य बनेका छन्।

हरेक चुनाव हार्दै लखतरान बनेको कांग्रेस उनले अध्यक्षको जिम्मेवारी सम्हालेपछि बौरिन थालेको छ। गत डिसेम्बरमा छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा भाजपालाई हराएर कांग्रेस सत्तामा फर्किएपछि राहुलको व्यक्तित्व बढेको छ र उनलाई अलि बढी गम्भीरताका साथ लिन थालिएको छ। गान्धी–नेहरु परिवारका ४८ बर्षीय उत्तराधिकारी राहुलले प्रभावकरी टीम वर्क गर्न थालेको र पाका तथा नयाँ पुस्ताका बीचमा समन्वय गरेर पार्टीलाई सञ्चालन गरेको टिप्पणी भइरहेको छ। राहुलले गर्ने सार्वजनिक अन्तरक्रिया, भाषण, सामाजिक सञ्जालमा व्यक्त गर्ने टिप्पणीलागायतमा परिपक्वता र सुधार देखिएको छ। यसबाट उनलाई फाइदा हुने देखिन्छ।

एन्टी–इन्कुम्बेन्सी फ्याक्टर
सत्तामा बसिरहँदा त्यसबाट निर्वाचनमा फाइदा पुग्ने विश्वास गरिन्छ। साथसाथै, एसियाका निर्वाचनहरु हेर्दा सत्तारुढ भइरहेको (इन्कुम्बेन्सी) फ्याक्टरले नकारात्मक भूमिका निर्वाह गरेको पनि देखिन्छ। गरिबी, अभाव, बेरोजगारी, अपराध जस्ता नकारात्मक सूचकांकहरु बढिरहने हुनाले तिनलाई नियन्त्रण गर्न नसकेको आरोप यस क्षेत्रमा अधिकांश सरकारमाथि लाग्ने गरेको छ। बंगलादेशको जस्तो विपक्षीलाई भागै लिन नदिएर निर्वाचन गर्दा त तीन पटक लगातार पनि जित्न सकिएला, नत्र लगातार चुनाव जित्न अलि चमत्कार नै चाहिन्छ। भाजपालाई अहिले त्यही समस्या परिरहेको छ।

गत डिसेम्बरमा मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा भाजपाले अनपेक्षित हार बेहोर्नुका पछाडि पनि यही सत्तामा भइरहेको फ्याक्टरले एक हदसम्म काम गरेको छ। पाँच वर्षदेखि भाजपा केन्द्रीय सत्तामा मात्र छैन, भारतका २९ मध्ये १५ राज्यमा पनि सत्तामा छ। यी सबैको नकारात्मक जोडका कारण भाजपालाई समस्या पर्न सक्ने आँकलन गरिँदैछ।

मुद्दाः आकाश, राफेल डिल
यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो चुनावी प्रचारको सुरुआत आकाशबाट गरेका छन्। गत फेब्रुअरी १४ मा काश्मिरको पुलवामामा भारतीय सशस्त्र प्रहरी बल– सीआरपीएफका ४० जवान चढेको बसमा आत्मघाती आक्रमण गरी उनीहरुको ज्यान लगिएपछि आक्रोशित भएका मोदीले जनवरी २६ मा पाकिस्तानको बालाकोटमा सैनिक कारवही गरे। यसबाट तीनसय भन्दा बढी जैस ए मोहम्मदका आतंकवादीहरुको मृत्यु भएको, उनीहरुका तालिम केन्द्रहरु ध्वस्त भएको र आतंकवाद उन्मुलनमा ठूलो सफलता हासिल भएको भन्दै भारतीय विदेश सचिव विजयकेशव गोखलेले आधिकारिक रुपमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे। त्यति मात्र होइन, त्यसका लागि विपक्षी पार्टीहरुबीच पनि बायुसेनालाई बधाई दिनमा प्रतिस्पर्धा नै चल्यो। चुनावको मुखमा मोदीले भारतीय मनोविज्ञानलाई ख्याल गरेरै त्यो आक्रमण गरेका हुन् भन्नेमा शंका छैन।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मात्र होइन, भारतमै पनि धेरैले यसलाई प्रधानमन्त्री मोदीको चुनाव प्रचारका रुपमा टिप्पणी बिनाकारण गरेका छैनन्। तर, भारतलाई लाजमर्दो अवस्था कतिबेला भयो भने जब बालाकोटमा उसले भने अनुसार कुनै आतंकवादीको मृत्यु भएको पुष्टि भएन। त्यहाँ पुगेका विदेशी सम्वाददाताहरुले एउटा रुख र एउटा कागबाहेक आफूहरुले अरु कसैलाई क्षति भएको नदेखेको विवरण सार्वजनिक गरे।

थपमा, पाकिस्तानी भूमिमा हवाई आक्रमण गर्न खोज्दा पाकिस्तानी बायुसेनाको एफ १६ लडाकु जहाजले भारतीय बायुसेनाको एआइजी–२१ बिसन जहाज मात्र खसालेन, त्यसका विङ कमान्डर अभिनन्दन वर्थमानलाई नियन्त्रणमा लियो। शान्तिका लागि भारतलाई सन्देश भन्दै पाकिस्तानले कमान्डर बर्थमानलाई रिहा गरेपछि भारतको हात झन् तल परेको विश्लेषण भइरहेको छ। यति हुँदाहुँदै पनि मोदीले पाकिस्तानमाथि आक्रमण गरेर ठीक गरे भन्ने मनोविज्ञान भारतमा छ।

यता कांग्रेस अध्यक्ष राहुल गान्धीले चाहिँ मोदी सरकारका पालामा भ्रष्टाचार बढेको भन्दै फ्रान्सबाट लडाकु हेलिकोप्टर ल्याउने गरी भएको राफेल डिललाई मुख्य चुनावी मुद्दा बनाइरहेका छन्। लामो समय सत्तामा बसेका कारण भ्रष्टाचारका अनेक मुद्दामा जोडिने कांग्रेसले अहिले भाजपालाई त्यही मुद्दाले प्रतिरक्षात्मक बनाउन खोजेको छ। अर्बौं घोटाला गर्नका लागि मुकेश अम्बानीको कम्पनी सात दिन पहिला दर्ता गरेर त्यसैमार्फत जहाज ल्याउने सम्झौता हुनुलाई कांग्रेसले इतिहासकै सबभन्दा ठूलो घोटालाका रुपमा चित्रित गरेको छ।

यदि राहुल गान्धीले यसरी नै भारतीय निर्वाचनलाई मुलुकको आन्तरिक विषयमा केन्द्रित गराउन सके भने नरेन्द्र मोदीलाई दोस्रो कार्यकालका लागि सत्तामा आउन सजिलो छैन। होइन, अहिले भइरहे जस्तो जता जाँदा पनि पाकिस्तानमाथिको आक्रमण ठीक हो भन्नेमै देशको चुनावी माहौल कायम रह्यो भने त्यसको लाभ निश्चय नै मोदीले लिनेछन्।

 

प्रकाशित २४ चैत २०७५, आइतबार | 2019-04-07 09:55:28
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...