नाकाबन्दीपछिको अध्ययनः भारतको अर्थतन्त्रमा नेपालको योगदान विश्वमै दुर्लभ



Kshamadevi Group


पाकिस्तान र चीनसँगको द्वन्द्वमा गोर्खाली सेना प्रयोग हुनु गोर्खालीप्रति भारतीय सेनाको विश्वास र निर्भरता हो। अन्यथा, १२ करोड जनसंख्या भएको बिहार र २२ करोड जनसंख्या भएको उत्तर प्रदेशका भारतीयले नै भारतीय सीमा रक्षा गरेको हुनु पर्थ्यो।

अधिकांश भारतीयहरु सोच्छन्, ‘नेपाल भारतप्रति पूर्ण रुपले आश्रित छ, अतः नेपाल भारतप्रति सधैं अनुग्रहित हुनुपर्छ।’ भारतीय मिडिया मात्र होइन, भारतीय बौद्धिक सञ्जाल पनि यस्ता मनोवृति र चिन्तनबाट ग्रसित देखिन्छ।

२०७२ को नाकाबन्दी ताका भारतीय सामाजिक सञ्जालमा नेपालविरुद्ध यस्ता भावना र विचार सार्वजनिक भएका थिए। नेपाललाई दिने सबै किसिमका आर्थिक सहयोग बन्द गरेर घुँडा टेकाउनु पर्ने, इन्धन लगायत सबै वस्तुमा दिइने अनुदान बन्द गर्नुपर्ने, भारतीय सेनामा गोर्खा सैनिकको भर्ना बन्द गर्नु पर्ने जस्ता ‘रास्ट्रवादी’ विचार पोखिएका थिए। यी विचारहरु यस्ता थिए, मानौँ भारतको अनुग्रहविना नेपाल टिक्न सक्दैन, भारतले सहयोग नगर्ने हो भने नेपाल पूर्ण रुपले स्तब्ध हुनेछ।

भारतीय पक्षबाट भएका यस्तै व्यवहार र घटनाक्रमबाट प्रेरित भएर मैले नेपाल– भारत सम्बन्धभित्रका द्विपक्षीय आर्थिक सम्बन्धका पाटाहरुको अध्ययन थालेँ। अध्ययन गर्दै जाँदा आश्चर्यलाग्दा तथ्य प्राप्त भए।

भारतीहरुमात्र होइन, हामी नेपालीको बुझाइपनि उस्तै छ। तथ्यहरुको अभावमा नेपालीहरुपनि सोच्छन् कि, ‘नेपाल आर्थिक हिसावले भारतप्रति अत्यधिक रुपमा परनिर्भर छ।’

तर नेपाल–भारतबीचको द्विपक्षीय आर्थिक सम्बन्धलाई तथ्यगत रुपमा विश्लेषण गर्दा आयात निर्भरतालाई नै आर्थिक निर्भरताको रुपमा बुझिएको देखिन्छ। यही कारण द्विपक्षीय सम्बन्धमा भारतलाई सधैँ कुटनीतिक फाइदा पुग्ने गरेको छ।

मेरो बुझाइमा आर्थिक निर्भरता र आयात निर्भरता दुई फरक चिजहरु हुन्। आयात आर्थिक पक्षको एउटा पाटो मात्र हो। नेपाल भारतसँग आर्थिक रुपमा निर्भर मुलुक होइन, आयातमा मात्र निर्भर बनेको हो।

आयातमार्फत् नेपालले भारतको राष्ट्रिय अर्थतन्त्रमा बर्षेनी १५ अर्ब डलर बराबरको योगदान दिने, बदलामा आर्थिक सहयोगको नाममा भारतीय दुताबासले आफ्नै माताहातमा भारु तीन–चार अर्बको अनुदान वितरण गर्न पाउने देश कसरी भारतसँग आश्रित हुन सक्छ?

भुटान र नेपाललाई हेरौँ, भुटान भारतप्रति आर्थिक र राजनीतिक हिसाबले पूर्ण रुपले परनिर्भर छ। वैदेशिक लगानी मात्र नभएर भारतले भुटानलाई बर्षेनी ठूलो मात्रामा आर्थिक सहयोग पनि गर्ने गरेको छ। जलविद्युत निर्यातबाट भुटानले राम्रो आम्दानी गरेपनि भारतको आर्थिक सहयोग विना भुटानले सरकारी खर्च पनि जोहो गर्न सक्दैन।

भारतले सबैभन्दा बढी आर्थिक सहयोग गर्ने राष्ट्र नै भुटान हो। नेपालभन्दा दश गुणा सानो अर्थतन्त्र रहेको भुटानको १२ औँ पञ्चवर्षीय योजना कार्यान्वयन गर्न भारतले ४५ अर्ब भारतीय रुपियाँ बराबरको आर्थिक सहयोग दिने प्रतिबद्धता जनाएको छ भने बिगत ३ बर्षमा ५७ अर्ब भारतीय रुपियाँ आर्थिक अनुदान दिएको छ।

नेपालको हकमा भने भारतले बजेट मार्फत् वर्षेनी ३ देखि ४ अर्ब भारतीय दुताबासले आफ्नै मातहातमा प्रायः राजनीतिक भुक्तानीका रुपमा बाँड्ने गरेको छ। नेपाल सरकारको नियन्त्रण बाहिर रहेको सो सहयोग नेपालको बार्षिक बजेटमा देखिँदैन।

बिडम्बना के हो भने, सो बार्षिक अनुदान सीमानामा बस्ने नेपाली प्रत्येक दिन सीमापारि गएर दैनिक उपभोग्य सामान खरिद गर्दा भारतीय सरह तिर्ने करको सानो हिस्सा मात्र हो।

स्मरण रहोस्, भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीले सन् २०११ मा बित्तमन्त्री हुँदा भारतीय सदनमा बोल्दै भनेका थिए, ‘बेलायतबाट वर्षेनी प्राप्त हुने २८ करोड पाउन्ड (४२ अर्ब रुपियाँ) आर्थिक अनुदान हात्तीको मुखमा जिरा हो।’ यस्तो अभिव्यक्तिका साथ बेलायतले दिने अनुदान रकमको उनले अवमूल्यन गरेका थिए।

नेपाल आयातमा भारतसँग निर्भर भएपनि भुटान जसरी आर्थिक रुपमा भारतसँग निर्भर कहिल्यै हुनु परेन। नेपालको आन्तरिक मामलामा सीमा नाघेर हस्तक्षेप गर्ने भारतले निश्चित रुपमा नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको छ भन्ने अनुमान गरिनु स्वाभाविक हो। तर हाम्रो अनुमान र वास्तविकता भन्दा ठीक विपरित छ।

भारतले करिब १५ अर्ब डलर बराबरको आर्थिक दोहन नेपाल जस्तो सानो मुलुकबाट वर्षेनी गर्दै आएको छ। नेपाल भन्दा सय गुणा ठूलो भारतजस्तो विशाल अर्थतन्त्रलाई पनि १५ अर्ब डलरको वार्षिक योगदानले ठूलो महत्व राख्छ। उदाहरणका लागि नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि सन् २०१४–१५ मा भारतमा कूल ३१ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानीस्वरुप भित्रिएकोमा २० अर्ब डलरमात्र ती देशबाट भित्रिएको थियो, जुन देश प्रम मोदीले भ्रमण गरेका विकसित मुलुकमा पर्थे।

स्थिति कस्तो छ भने, नेपालमा विप्रेषण (रेमिन्ट्यान्स) बाट प्राप्त सम्पूर्ण रकम २४ घण्टा पनि नबित्दै भारततिर बाहिरिन्छ। नेपालबाट भारतले यत्ति धेरै आर्थिक लाभ लिएको खबरले द्विपक्षीय सम्बन्ध तथा अन्तर्रास्ट्रिय जगतमा आफ्नो साखमा आँच आउन सक्ने जोखिमका कारण भारतीय पक्ष यो यथार्थ कहिले पनि उजागर गर्न चाहँदैन। बरु, आफूले गरेको सहयोग र सद्भावको मात्र एकोहोरो रटान लगाउने गर्छ।

आश्चर्यको विषय के हो भने, भारत जस्तो ठूलो देशले नेपाललाई एकतर्फी आर्थिक दोहन गर्दै आएपनि यस्तो गहन विषयको उठान कहीँकतै हुन सकेको छैन।

भारतीहरु सोच्छन्, ‘५० लाख भन्दा बढी नेपाली भारतमा काम गर्छन् र अर्बौं रुपियाँ नेपाल पठाउँछन्।’ तर हाम्रो अर्थतन्त्रमा एक तिहाई योगदान दिने क्षेत्रहरु– व्यापार (१३.३५), रियल स्टेट (११.४५) र निर्माण (७.६५) मा भारतीय कामदारको लगभग एकछत्र राज छ। आइमएफको विप्रेषण सम्बन्धी प्रतिवेदन अनुसार, नेपालले हरेक वर्ष भारतसँग विप्रेषणमा पनि २ अर्ब डलर बराबरको घाटा बेहोरेको देखिन्छ। नेपालमा बसोबास गर्ने भारतीयहरुले वर्षेनी ३ अर्ब डलर भारत पठाउँछन् भने गोर्खाली सेना लगायत भारतमा बस्ने नेपालीले १ अर्ब डलर बराबरको मात्र विप्रेषण नेपालतर्फ पठाउँछन्।

नेपालमा धेरै विप्रेषण पठाउने देशहरुमा भारत तेस्रो हो भने नेपाल भारतमा धेरै विप्रेषण पठाउने देशहरूमध्ये आठौँ नम्बरमा पर्छ। अर्थतन्त्रको आकारको आधारमा भारतले सर्वाधिक विप्रेषण भित्र्याउने ५ देशमध्ये नेपाल एक भएपनि अर्थतन्त्रको आकार र प्रतिव्यक्ति आयको आधारमा विश्वकै सबैभन्दा बढी विप्रेषण पठाउने देश हो।

नेपालको कूल व्यापारको ६५ प्रतिसत हिस्सा भारतले ओगटेको छ। गत वर्ष भारतबाट करिब ७.४ अर्ब डलर बराबरको आयात भएकोमा यसपालि ८.५ अर्ब डलर पुग्ने निश्चित छ। साथै, भारतसँग व्यापार घाटा गत वर्षको ७ अर्ब डलरबाट बढेर यो वर्ष ८ अर्ब डलर पुग्ने देखिन्छ। भारतको व्यापार नाफामा सर्बाधिक योगदान गर्ने नेपाल तेस्रो देश हो भने भारतले सर्वाधिक निर्यात गर्ने १० देशमध्ये नेपाल एक हो। व्यापार घाटा र विप्रेषण घाटाबाट नेपालले भारतको अर्थतन्त्रमा वर्षेनी १०.५ अर्ब डलर बराबरको प्रत्यक्ष योगदान दिएको छ।

भारतमा अध्ययनरत विदेशी विद्यार्थीमा सबैभन्दा बढी नेपाली छन्। वर्षेनी हजारौँको संख्यामा नेपाली विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न भारत जान्छन्। दिल्लीस्थित सीए स्टुडेन्ट्स अफ नेपाली एसोसिएसनकी अध्यक्ष आयुष्मा केसीले मलाई केही महिनाअघि उपलब्ध गराएको तथ्यांकअनुसार दिल्लीको लक्ष्मीनगरमा मात्र ११ हजार सीए पढ्ने नेपाली विद्यार्थी छन्।* केही वर्ष पहिले त यो संख्या २३ हजारसम्म पुगेको थियो।

वर्षेनी नेपालमा लाग्ने शिक्षा प्रदर्शनी र मेलाका आधारमा सहजै अनुमान गर्न सकिन्छ– नेपाली विद्यार्थीको विदेश मोह। गत वर्ष राज्यले ३८ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा विदेश अध्ययनमा खर्च गरेको थियो भने यो वर्षको ६ महिनामा २५.५ अर्ब खर्च गरिसकेको छ। सो खर्चको ठूलो हिस्सा भारत निकासा हुन्छ।

एउटा अध्ययनले भारतको चिकित्सा पर्यटन २ अर्ब डलरबाट बिस्तार भएर सन् २०२० सम्ममा ९ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ। उपचारको क्रममा हजारौँ नेपाली वर्षेनी भारत जाने गरेका छन्। यस सम्बन्धी छुट्टै अभिलेख नभएपनि भारतको स्वास्थ्य पर्यटनमा सबैभन्दा बढी देन नेपालकै रहेको सहजै अनुमान भारतीय अस्पतालहरुमा देखिने नेपालीहरुको लाइनबाट लगाउन सकिन्छ।

यसैगरी, २०१७ को एक भारतीय प्रतिवेदन अनुसार, भारतमा आउने विदेशी पर्यटकमध्ये नेपाल १४ औँ नम्बरमा पर्छ। नेपाल आउने भारतीयको संख्या र भारत आउने नेपालीको संख्या लगभग बराबर छ। उक्त प्रतिवेदनमा स्थल मार्गबाट भ्रमण गर्ने नेपाली र भारतीयको गणना नभएपनि स्थल मार्गबाट भ्रमण गर्ने नेपालीको संख्या उल्लेख्य रहेको छ। स्थल मार्गबाट भ्रमण गर्ने नेपालीको संख्या पनि जोड्ने हो भने नेपाल भारतका लागि सबैभन्दा धेरै पर्यटक पठाउने तेस्रो देशमा पर्छ। गत आर्थिक वर्षमा नेपालीहरुले विदेश भ्रमणका लागि ८० अर्ब रुपियाँ खर्च गरेकोमा यो वर्ष १०० अर्ब पुग्ने अनुमान छ। यसको प्रमुख लाभार्थी भारत नै हो।

नेपालको करिब १० अर्ब डलर विदेशी मुद्रा सञ्चितिमध्ये ४५ प्रतिसत भारतमा राखिएको छ। २५ प्रतिसत भारत सरकारको ऋणपत्रमा लगानी गरिएको छ। यसको अर्थ हो, नेपालले भारतको सरकारी खर्च प्रयोजनका लागि २.५ अर्ब डलर बराबरको रकम उपलब्ध गराएको छ।

भारत सरकारको ऋण पत्रमा एकाध विदेशी राष्ट्रले मात्र लगानी गर्छन् भने सर्बाधिक लगानी गर्ने राष्ट्र नेपाल हो। सार्क राष्ट्रमध्ये भुटानबाहेक अन्य कुनैले पनि भारतीय ऋणपत्रमा लगानी गर्दैनन्। बाँकी २० प्रतिसत भारतको बैंकिङ क्षेत्रमा निक्षेपको रुपमा राखिएको छ। यसरी ४.५ अर्ब डलर बराबरको प्रत्यक्ष बित्तीय लाभ भारतले नेपालबाट लिँदै आएको छ। भारतीय प्रधानमन्त्री मोदीले २०१४ मा नेपाल भ्रमणको बेला घोषणा गरेको १ अर्ब डलर बराबरको ऋण सहयोग भारतमा राखिएको नेपालकै विदेशी मुद्राको हिस्सा हो।

जम्मा २९ अर्ब डलर बराबरको अर्थतन्त्र भएको देशले आफुभन्दा सय गुणा ठूलो अर्थतन्त्र भएको देशलाई यति धेरै आर्थिक योगदान गरेको उदाहरण संसारमा बिरलै भेटिन्छ। तर दुर्भाग्य, भारतले नेपालप्रति सधैँ हेयको भाव राख्ने गरेको छ। यस्तो भाव र हाम्रो विकासको आकांक्षामा बाधक बन्नु असल छिमेकीको पहिचान अवश्य पनि होइन।

ठूलो मात्रामा हुने अनौपचारिक व्यापारबाट हुने फाइदा, नेपालमा भारतीय मुद्राको प्रचलनबाट हुने लाभ, कोशी–गण्डकी र महाकाली जस्ता असमान सन्धि बापत भारतले गर्दै आएको नदीको एकतर्फी दोहन, नेपालीले सीमापारि दैनिक उपभोग्य सामान खरिद गर्दा तिर्ने स्थानीय कर आदि सबै नजोड्दा पनि नेपालले वर्षेनी भारतको अर्थतन्त्रमा १५ अर्ब डलर भन्दा बढीको प्रत्यक्ष योगदान पुर्याएको छ।

भारतसँग हुने हरेक कारोबार बजारमूल्यमा नै हुन्छ र भारतीहरुले सोचे जस्तो नेपालले इन्धन लगायत कुनैपनि आयात अनुदानमा गर्दैन। एउटा आर्थिक वर्षमा मात्रै २ अर्ब डलर बराबरको पेट्रोलियम पदार्थ आयात गर्ने नेपाललाई भारतको ‘विशेष रणनीतिक ग्राहक’ नै भन्दा हुन्छ।

त्यसैले, नेपालको पेट्रोलियम बजारमा एकाधिकार गर्ने भारतको महत्वपूर्ण व्यापारिक तथा राजनीतिक रणनीति रहँदै आएको छ। पाकिस्तान र चीनसँग बारम्बार हुने द्वन्द्वमा प्रायः गोर्खाली सेना प्रयोग हुनु गोर्खालीप्रति भारतीय सेनाको अटल विश्वास र निर्भरता हो। यो भारतीय रक्षा रणनीति पनि हो। अन्यथा, १२ करोड जनसंख्या भएको बिहार र २२ करोड जनसंख्या भएको उत्तर प्रदेशका भारतीयहरुले नै भारतीय सीमानाको रक्षा गरेको हुनु पर्थ्यो।

छिमेकीहरुको नजरमा भारत एउटा ठूलो देश, तर सानो चित्त भएको राष्ट्र हो। दुई शताब्दी ब्रिटिश साम्राज्यको दासका रुपमा बिताएर सन् १९४७ मा स्वतन्त्र भएपछि अहिले दक्षिण एसियामा क्षेत्रीय शक्तिको रुपमा उदीयमान राष्ट्र भारतको छिमेकीप्रति गर्ने व्यवहार अमर्यादित र हेपाहा प्रवृतिको छ। आर्थिक रुपमा पूर्ण रुपले परनिर्भर भुटानीहरु समेत भारतीय रवैयाप्रति गोप्यरुपमा असन्तोष व्यक्त गर्छन्। द्विपक्षीय सम्बन्धका झिनामसिना कुरामा पनि बर्षौँसम्म नियतबस निर्णय नलिँदा नेपालजस्ता भूपरिवेष्ठित राष्ट्र सधैँ पीडित हुनुपर्ने स्थिति छ। संयुक्त राष्ट्रसंघले अति कम विकसित तथा भूपरिवेष्ठित राष्ट्रलाई प्रत्याभूत गरेका अधिकार र सुविधाहरु कुण्ठित पार्ने, ढिलासुस्ती गर्ने, नचाहिँदो दुख दिने र बारम्बार नाकाबन्दी लगाउने जस्ता अमानवीय घटनाबाट हाम्रो देश निरन्तर पीडित छ।

भारतको उत्तरपूर्वका आठ राज्यहरुको पहुँच भारतीय स्थलमार्गबाट सहज छैन। कलकत्ताबाट त्रिपुरा पुग्न १ हजार ६ सय किमिको यात्रा तय गर्नुपर्छ। तर बंगलादेशको सद्भावले सो यात्रा ५ सय किमिमा छोट्टिएको छ। भारतले पनि नेपाल–बंगालदेश र भुटान–बंगालदेश जोड्ने यातायातलाई सहज बनाउन पहल गरेर असल छिमेकीको रुपमा आफ्नो पहिचान दिनु आवश्यक छ।

त्यस्तै, उत्तर–पूर्वका ठूला नदीहरुबाट उत्पादित जलविद्युत बंगलादेशी भूमि प्रयोग गरेर भारतका विभिन्न राज्यहरुमा प्रसारण गर्ने प्रस्ताव भारतले बंगलादेशसँग गरेको छ। सोही अनुसार बंगलादेशले नेपाल–भुटान–भारत–बंगलादेशबीच अन्तरदेशीय सम्झौतामा विकसित गर्नु पर्ने प्रस्ताव गरेको छ। नेपालको बिजुली भारतीय भूमि हुँदै तेस्रो मुलुक निकासी गर्न भारतीय लगानी हुनैपर्ने जस्ता अव्यवहारिक र एकाधिकार जमाउने खालको अड्डी लिँदै आएकोमा बंगलादेशको आपत्तिपछि भने भारत तेश्रो मुलुकमा बिजुली निर्यातको बाटो खुला गर्न केही लचक भएको देखिन्छ।

राजनीतिक स्थायित्वका कारण हालका वर्षहरुमा बंगलादेशले उच्च आर्थिक बृद्धिदर हासिल गरेको छ तर सो बृद्धिदर दीगो बनाउन विद्युत आपूर्ति प्रमुख चुनौती छ। त्यसैले, बंगलादेशले नेपाल र भुटानबाट आवश्यक विद्युत आपूर्ति गर्ने योजना बनाएको देखिन्छ। छिमेकीसँग गर्ने व्यवहार, सहयोग र समझदारी सम्बन्धी धेरै कुरा भारतले बंगलादेशबाट सिक्नु पर्ने देखिन्छ।

भारतसँगको खुला सीमाना नेपालका लागि सधैँ चुनौति र सुरक्षाको विषय रहने गरेको छ। सीमा मिचिने र भारतीयहरुले नेपाली नागरिकता लिने क्रम नथामिने, सीमानामा बस्ने नेपाली आफ्ना दैनिक उपभोग्य सामान किन्न सीमापारि जान नरोकिने र अनौपचारिक व्यापार फस्टाइ रहने तथा सीमा सुरक्षा सम्बन्धी संवेदनशील विषयहरु हाम्रा खुला सीमानाका प्रमुख चुनौती हुन्। द्विपक्षीय सम्बन्धका यी सबै महत्वपूर्ण विषयहरुमा नेपाल सधैँ कमजोर र तल परेको छ। यस कारण खुला सीमाना हाम्रा लागि फाइदा भन्दा दायित्वका रुपमा स्थापित भएको छ।

उपरोक्त समस्या समाधानका लागि नेपाल–भारतबीच संयुक्त कार्यक्रमको अधिकांश समय औपचारिकतामा खर्चिने हाम्रो परम्परा अन्त्य हुनु पर्छ। सदिऔँदेखिको अद्वितीय असल मित्रता र समान सांस्कृतिक, सामाजिक, भौगोलिक, आर्थिक र राजनीतिक परिवेशका कुरामात्र एकोहोरो रटान गरेर कार्यक्रम सक्ने र वास्तविक मुद्दा जहाँकोतहीँ रहन गई ओझेलमा पर्ने गरेको छ। कार्यक्रमको सुरुवात असली मुद्दाबाट गरी द्विपक्षीय मित्रवत सम्बन्धको औपचारिकता अन्त्यमा निभाउन सके दुबैतर्फका नागरिक र सरोकारवालाहरुबीच द्विपक्षीय सम्बन्धका तथ्य कुराहरु उजागर हुँदै जानेछ। साथै, सोचमा विस्तारै परिवर्तन आई आपसी मतभेद र समस्याका गाँठो फुकाउन मद्दत मिल्ने वतावरण सिर्जना हुनेछ।

*परिमार्जन गरिएको। 

प्रकाशित २१ चैत २०७५, बिहिबार | 2019-04-04 13:39:54
Max TV
Max TV
Vianet

author photo

विश्वास गौचन चार्टर्ड एकाउन्टेन्ट हुन् र भारतको पञ्जावस्थित रिसर्च एण्ड डेभलप्मेन्ट लभ्ली प्रोफेसनल विश्वविद्यालयसँग आवद्ध छन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...