स्थानीयबाट खोसिएको जग्गामा यसरी ठडिएको हो हायात होटल



Kshamadevi Group


सम्झेर ल्याउँदा मेरो मनमा एउटा प्रश्न खेल्छः लोकतान्त्रिक गणतन्त्रमा दुई रुपैयाँ खाने बैदारलाई कारवाही हुने तर यति ठूलो अपराध गर्नेलाई छुट किन?

यो करिब आधा शताब्दी पुरानो विषय हो। २०२६ सालमा म भर्खर सरकारी सेवामा प्रवेश गरेको थिएँ। त्यो समयको शासन व्यवस्था प्रजातान्त्रिक भनिए पनि श्री ५ को हुकुममा धेरै कुरा चल्थे। त्यो बेला अंगुरबाबा जोशी काठमाडौं महिला संगठनको सभापति हुनुहुन्थ्यो। ७५ जिल्लामा सञ्जाल भएको यो पञ्चायत आवद्ध एउटा राजनीतिक संगठन हो। उहाँ शिक्षित, वेलायतको अक्सफोर्ड पढेर आउनु भएको महिला हो। उहाँमा सबैलाई उछिनेर अघि बढौं, काम देखाउँ, फूर्तिफार्ती गरौं भन्ने विचार र शैली हाबी थियो। जिल्ला महिला संगठनले त्यतिबेला के विषय पारित गर्‍यो हामीलाई थाहा भएन। तर उहाँले अघि सारेको तारागाउँ बहुउद्देश्यीय परियोजना हाम्रो उठिबास भयो। गैरकानुनी रुपमा कैयौं गरिबहरुलाई सुकुम्बासी बनाइयो।

स्थानीय प्रशासक, दरबारको आडमा, मेरो पहुँच उच्चस्तरमा छ भन्ने भान पारेर, सिधासाधा जनताको बस्तीलाई अधिग्रहण गरी उठिबास लगाउने काम भयो। त्यो ठाउँमा लुगा सिउने काम गर्नेहरुको झुपडी थियो, फत्ते सार्कीको झुप्रो थियो, ब्रह्मदत्त तिवारीको सानो झुप्रो थियो। अहिले चुच्चेपाटीमा पासाङ ल्हामु शेर्पाको शालिक भएको स्थानमा हस्तबहादुर तामाङको घर थियो। यो गरिबहरुको बसोबास क्षेत्र थियो। काँचो इँट्टाले बनेका घर र झुप्राहरु थिए।

यहाँ निर्माण गर्ने भनिएको बहुउद्देश्यीय योजनाको जानकारी पनि स्थानीयलाई दिइएन। एकाएक शिलान्यास गर्ने काम भयो। दुई चारजना सरकारी कर्मचारी, बाहुनहरु ल्याएर, उहाँले आफ्नै आमाबाट परियोजना शिलान्यास गराउनु भएको हो।

‘हामी ३ सय रोपनी जग्गा अधिग्रहण गर्नेछौं। यहाँ भएका कसैका घरहरु पर्ने छैनन्’, उहाँले शिलान्यास भाषणमा भन्नुभयो।

घर नपर्ने भनेपछि हामी आनन्दसँग बस्यौं। अधिग्रहणमा पर्ने स्थानीयले जागिर पाउने र यो ठाउँको विकास हुने कुरा भन्नुभएको थियो। म सरकारी कर्मचारी भएकोले होला कार्यक्रममा उपस्थित हुन निम्तो आएको थियो। घर पर्दैन भनेर म ढुक्क थिएँ। त्यसको केही दिनपछि अञ्चलाधीश कार्यालयले जग्गा अधिग्रहणको दश दिने सूचना निकाल्यो। त्यसमा जग्गाधनीको नाम थर, कित्ता नम्बर केही थिएन। जग्गा प्राप्ति ऐन, २०१८ अनुसार अधिग्रहण गरिएको भनेर मात्र लेखिएको थियो। चार किल्ला मात्रै उल्लेख थियो।

दीर्घकालीन उद्देश्य सञ्चालन गर्न चावहिलबाट बौद्ध जाने बाटो देब्रेतर्फ सडकसँग जोडिएको पूर्वतर्फ खोल्सो, पश्चिम बौद्ध महाकाल जाने बाटो, उत्तर पानीट्याङ्की, दक्षिण चाबहिलबाट बौद्ध जाने बाटोभित्रको तीन सय रोपनी जग्गा भनेर भनिएको थियो।

त्यसको केही दिनपछि ३ सय ४७ रोपनी जग्गा भनेर सूचनामा आयो। यो सूचना २०२६ सालमा राजपत्रमै प्रकाशित भयो। त्यसको पूरक सूचना पनि प्रकाशित गरियो। प्रशासनकै केही आफ्ना मानिसको जग्गा अधिग्रहणबाट बाहिरि पार्नुपर्ने रहेछ तिनलाई छोडेर फेरि अर्को सूचना निकालियो। प्रशासनमा कार्कीहरु थिए। उनीहरुको जग्गा पनि अधिग्रहणबाट बाहिरै पारियो र बल्ला कित्ता नम्बरसहित अघिग्रहणको सूचना आयो। पहिलो हचुवाको भरमा सूचना टाँस गरिएको थियो। २१ सालमा सर्वे भएको त्यो जग्गाको कतिले लालपूर्जा समेत पाएकै थिएनन्। अंगुरबाबा जोशी अधिग्रहणका लागि पैसा अञ्चलाधीश कार्यालयमा पठाएँ भन्नुहुन्छ। उहाँहरुबीच के लेनदेन हामीलाई थाहा छैन। तर हामीले अधिग्रहणबापत सुको पनि पाएनौं। सारै अन्याय भयो भनेर सूचनाको दश दिनभित्र आमाको नामबाट उजुरी गर्‍यौं। त्यतिबेला हाम्रो घरमुली आमा नै हुनुहुन्थ्यो। राजादरवारमा सिधै उजुरी गर्न पाइन्थ्यो। त्यो पनि गर्‍यौं। कतैबाट सुनुवाई भएन।

दुई वर्षपछि २०२८ सालमा बागमती अञ्चलाधीश कार्यालयले मेरो नाममा पत्र पठयो। दीर्घकालीन बहुउद्देश्य योजनामा परेको जग्गा सम्बन्धमा बुझ्नु पर्ने भनेर पत्रमा भनिएको थियो। हामीले उजुरी गरेका थियौं भन्ने यसले प्रमाणित गर्छ। त्यो बेला विष्णुमणि आचार्य मुख्य अञ्चलाधीश थिए। त्यो बेला काठमाडाैंको अञ्चलाधीश भनेको मन्त्री सिफारिश गर्नै हैसियत राख्ने शक्तिशाली व्यक्ति हो। म कानुन मन्त्रालयमा अधिकृत थिएँ। २०३० सालमा समेत अञ्चालाधीश कार्यालयले फेरि पत्र काटेर मुआब्जाको विषयमा सोधपुछ गर्न बोलायो। हामीले पैसा लिएका थिएनौं। पाएका छैनौं भनेँ। कसैले पैसा दिएको छु भन्छ भने त्यसको प्रमाण लिएर आउन मेरो चुनौती छ।

यो जग्गा त्यतिबेला बौद्ध गाउँ पञ्चायतअन्तर्गत थियो। बौद्ध, साँखु जाने सडकसँग सटेको वडा नम्बर ६ (क)को कित्ता नम्बर २२ को बुबाको नाममा ४ रोपनी ४ आना अब्बल जग्गा थियो। यो अहिले हायात पस्ने गेट भन्दामाथि डाँडाको उचाइमा पर्छ। अर्को कित्ता नम्बर २३ को ६ रोपनी जग्गा थियो। कूल १० रोपनी ४ आना जग्गा भयो। यो बाहेक पनि हाम्रो गुठीको २ रोपनी जग्गा जबर्जस्ती अधिग्रहणमा खोस्ने काम भयो। यो सबै काम कानुनी रुपमा भएकै छैन। अहिलेको मात्रै होइन पञ्चायती संविधानले पनि निजी सम्पत्तिसम्बन्धी हक सुरक्षित गरेको थियो। त्यसको ठाडो उल्लंघन भएको छ।

हाम्रो जग्गा तत्कालीन सरकारका लागि नभइ जिल्ला महिला संगठनका दीर्घकालीन बहुउद्देश्य योजनाका लागि लिइएको हो। त्यसमा थारु, गुरुङ, तामाङ, मगरसहित नेपालीमा भएका विभिन्न संस्कृति झल्किने बस्ती स्थापना गर्ने उद्देश्य राखिएको थियो। नेपालभरका जात जातिको चित्रण देखिने गरी गाउँहरुको विकास गरी पर्यटकलाई नेपालबारेमा जानकारी गराउने भनिएको थियो। त्यतिबेला अहिलेकोजस्तो होटल बनाउन भनेर जग्गा लिइएको होइन।

अंगुरबाबा जोशीसँग त्यतिबेला सत्ता, शक्ति र पद सबै थियो। काठमाडौं महिला संगठनका लागि बलपूर्वक लिएको जग्गालाई पछि उहाँले तारागाउँ विकास समितिको स्वामित्वमा लानुभएको हो। जग्गा प्राप्ति ऐन, २०१८ लाई खारेज गरेर जग्गा प्रति ऐन, २०३४ बन्यो। त्यस बेलामा उहाँ राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्थ्यो। उहाँको दूषित मनले त्यतिबेला जग्गा धनीले नामसारी नगरिदिए पनि विकास समितिका लागि स्वतः जग्गा नामसारी भएको ठहरिनेछ भन्ने वाक्यांश त्यहाँ पार्नुभयो। अर्को कुरा जुन प्रयोजनका लागि जग्गा अधिग्रहण गरी लिइएको हो त्यो परिपूर्ति नभए अधिग्रहण गरिएकाहरुलाई फिर्ता दिनुपर्छ। महिला संगठनको त्यो उद्देश्य ५० वर्षसम्म पूरा भएको छैन। उनीहरुमा त्यो काम गर्ने क्षमता, वास्तविक उद्देश्य देखिँदैन। त्यसैले यो जग्गा जसबाट अधिग्रहण गरिएको हो उसैले फिर्ता पाउनुपर्छ।

यहाँ हाम्रो उर्बर खेत थियो। धान रोपिन्थ्यो। एक रोपनीको जम्मा १ हजार ५ सय रुपैयाँ मूल्य तोकेर अधिग्रहण काम अघि बढाइएको थियो। यो भनेको त्यतिबेला चलेको मूल्यभन्दा निकै कम हो। एउटा उदाहरण हेरौंः हाम्रो जग्गा अधिग्रहण गरेको केहीपछि अहिले हायात होटलको गेट अर्कोतर्फ भाटभटेनी सुपर मार्केटबाट केही भित्र सरकारले मुस्ताङी राजालाई तीन रोपनी जग्गा किनिदियो। सो जग्गा प्रतिरोपनी ३० हजार रुपैयाँमा किनिएको थियो। बाटाको छेउको हाम्रो जग्गा प्रतिरोपनी १ हजार ५ सय कसरी हुन सक्यो?

हामीले जग्गा होटल बनाउन दिएको हुँदै होइन। यसमा ठूलो जालझेल, तिक्डम, शक्ति लगाएर कानुन बर्खिलाप काम भएको छ। २०४६ सालमा पञ्चायत ढल्यो, प्रजातन्त्र आयो। प्रजातान्त्रिक सरकारले जनताबाट जर्बजस्ती हरण गरिएको जग्गा फिर्ता दिनुपथ्र्यो। जनताको रगत पसिना जोडिएको सम्पत्तिमा सरकारमा बस्नेहरुले लोभलाचा गर्नु हुने थिएन।

हामीले मुआब्जाको रकम नलिएको विषयमा सर्वोच्च अदालतको फुलबेन्चले फैसालै गरेको छ। त्यो बेला अनुपाराज शर्मा सर्वोच्चको प्रधान न्यायाधीश हुनुहुन्थ्यो। त्यो मुद्दाले धेरै कुरा स्पष्ट पार्छ।

‘ह्वाइट कलर क्राइम’
दुषित, स्वच्छेदारी तरिकाले अर्थोपार्जन उद्देश्यबाट सुरु भएको विषय अहिले त्यही नियत राख्ने अर्को पक्षको हातमा पुगेको छ। गरिब जनतालाई उठिबास लगाएर व्यापारी पोस्ने काम भएको छ। सरकारले दिएको भन्दा अघि बढेर जग्गा पास गर्ने काम भएको छ। अहिले तारागाउँमा जे भएको छ त्यसलाई पढेलेखेका, बुद्धिजिवी मान्छेले गर्ने ‘ह्वाइट कलर क्राइम’ भनिन्छ। नीति निर्माता तथा वुद्धिजिवीहरुले निर्णय गर्ने, त्यसलाई लुकाउने, बद्नियत राखी यस्ता अपराध गर्ने गर्छन्। यो खोतले उदांगो पार्नु सुशिक्षित नागरिकको कर्तव्य पनि हो। अपराधीले सजाय पाउनुपर्छ। देशमा ठूलो परिवर्तन भएको छ। भ्रष्टाचार, अनियमितता अनुसन्धान गर्ने शक्तिशाली निकायहरु खडा गरिएका छन्। यो सबै परिदृश्य सम्झेर ल्याउँदा मेरो मनमा एउटा प्रश्न खेल्छः लोकतान्त्रिक गणतन्त्रमा दुई रुपैयाँ खाने बैदारलाई कारवाही हुने तर यति ठूलो अपराध गर्नेलाई छुट किन? 

प्रकाशित १४ चैत २०७५, बिहिबार | 2019-03-28 15:50:16
Max TV
Max TV
Vianet

author photo

भैरवप्रसाद लम्साल सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...