युद्धभन्दा भयानक बन्दै काठमाडौंको वायु प्रदूषण




यसपाली हिउँदमा असामान्य वर्षा भयो। हिउँदको वर्षाले खासगरी दुई पक्षलाई खुशी पार्छ। पहिलो, खेतीबाली सप्रिने आशा गर्ने किसानलाई।

 दोस्रो, वायु प्रदूषण हट्ने कारणले काठमाडौंबासीलाई। तर वर्षाले पखालेर हावा शुद्ध हुने केही क्षणसम्म मात्र हो। त्यसपछि फेरि उस्तै हुन्छ। काठमाडौंको हावा सामान्य अवस्थामै प्रदूषित छ। हिउँदमा प्रदूषणको यो डिग्री अझ भयावह स्थितिमा पुग्छ।

काठमाडौं हावा निर्धक्क श्वास लिने गरी कहिले शुद्ध होला त? यसको जवाफ सहज छैन।

विश्व स्वास्थ संगठनले भर्खरै सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०१९ को लागि मानव स्वास्थलाई उच्च खतरा रहेका दश मध्ये एउटा तत्व वायु प्रदुषण हो। वायु प्रदुषण मानव स्वास्थ्यका लागि सबैभन्दा जोखिमपूर्ण छ। संसारमा दश मध्य नौ जना मान्छेले प्रदूषित श्वास लिन्छन्। र वर्षेनी करिब ७० लाखले वायु प्रदुषण कै कारण ज्यान गुमाउँछन्। यसरी ज्यान गुमाउनेहरुमा अल्पविकसित देशका बासिन्दाको संख्या ठूलो छ।

प्रदूषित वायुमा विभिन्न किसिमका प्रदुषक तत्वमध्ये सुक्ष्म धूलोका कणहरु अत्यन्तै हानिकारक हुन्छन्। ती साना कणहरु हाम्रो फोक्सोभित्र पस्छन् र रगतमा मिसिन सक्छन्। र हामीलाई श्वास प्रश्वाससम्बन्धी, मुटुसम्बन्धी, फोक्सो क्यान्सर, निमोनियाजस्ता रोग लाग्दछन्। एक लाख नेपालीको मृत्यु कारणमध्ये १ सय ३३ जना प्रदूषित वायुको कारण ज्यान गुमाउन विवश रहेको अध्ययनहरुले देखाएका छन्। बुढाबुढी र बालबालिकाहरु प्रदूषणबाट पीडित हुनेहरुमा उल्लेखनीय छन्।

युद्धभन्दा खतरनाक
पछिल्ला केही अध्ययनका निष्कर्षहरुले वायु प्रदूषणलाई युद्धभन्दा खतरनाक देखाएका छन्। मानब आयु घटाउन यो एचआइभी एड्स, टीबी, चुरोट सेवन र युद्धभन्दा पनि खतरनाक रहेको ती अध्ययनको निष्कर्ष छ। जुन सहरमा वायु प्रदुषण कम छ त्यहाँका मान्छेहरु धेरै बाँच्छन्। प्रदुषण बढी हुने सहरका बासिन्दाको आयुग कम रहेको देखिन्छ। भारतको राजधानी दिल्ली बस्ने मान्छे वायु प्रदुषणको कारणले दश वर्ष कम बाँच्छन्।

धुलोका कण (पीएम२.५) विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा १० माइक्रोग्राम प्रतिघनमिटर हावा औसत बढी हुँदा लगभग एक वर्ष सम्भाव्य आयु कम हुन्छ। यसरी हेर्दा काठमाडौंको प्रदूषण ५५ माइक्रोन प्रतिघनमिटर मान्दा नेपालीको सम्भावित आयु करिब ४.५ वर्षले घटिरहेको छ। यसको कारण वायु प्रदूषण नै हो। काठमाडौंमा दुई वर्ष अघि गरिएको एक अध्ययनले वायु प्रदुषणको कारण पिएम१० को मात्रा १० ले बढ्दा २ प्रतिशतमा श्वासप्रश्वास र मुटु रोगको खतरा बढ्ने देखाएको थियो। अर्को एउटा अध्ययनले काठमाडौंको प्रदूषण १५ वर्षमा ५० प्रतिशतले बढेको देखाएको छ।

नेपालको वातावरण विभागले सञ्चालन गरेको वेबसाइटमा १४ ठाउँको तथ्यांक उपलब्ध छ। माघ २ गतेको तथ्यांकअनुसार १३ ठाउँमा मसिना धुलोका कणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी छ। यो तथ्यांकले अर्को महत्वपूर्ण तस्विर देखाउँछ। त्यो के भने काठमाडौं मात्र होइन नेपालका अन्य सहरहरु पनि प्रदूषित छन्। उदाहरणका लागि सोही दिन झुम्का, सुनसरी र नेपालगन्जमा वायु प्रदुषणको मात्रा रत्नपार्क, काठमाडौंभन्दा झन्डै तीन गुणासम्म बढी देखिएको छ। किन हाम्रो तराइको हावामा अत्यधिक प्रदुषण छ?

यथार्थ के हो भने विश्वका अत्यधिक प्रदुषित दश सहरहरु उत्तर भारतमा छन् र ती नेपालबाट नजिक छन्। यी सहरहरुमा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा दशौँ गुणा बढी धुलोका कण छन्। भारतीय स्रोतहरुबाट प्रदुषक धूलो नेपालतिर आएको पनि हुन सक्छ। त्यसले तराइबासी ठूलो जनसंख्यालाई असर पारहेको हुनसक्छ।

जसरी जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहँदारहँदै पनि त्यसको असर हामी भोगिरहेछौं त्यसरी नै भारतले गरेको वायु प्रदुषणबाट हामी प्रताडित भइरहेको हुनसक्छ। सीमापारिबाट आउने प्रदूषण कम गर्न नेपालले के गर्न सक्छ? दक्षिण पूर्वी एसियाली देशहरुले यस किसिमको अन्तरदेशीय प्रदुषणको समस्या सम्बोधन गर्न एउटा सम्झौतै गरेका छन्। नेपालले पनि दक्षिण एसियामा यस्तै किसिमको सम्झौताको लागि नेतृत्व लिन सक्छ।

नागढुंगा हावा प्रवेशको मुख्य द्वार
वायु प्रदूषण कम गर्ने नीति नियम बनाउन सबैभन्दा पहिले स्पष्ट रुपमा प्रदूषण स्रोतहरु पहिचान गर्नु जरुरी हुन्छ। त्यसपछि मात्र नियन्त्रणका योजना कार्यक्रम र योजना डिजाइन गर्ने हो। सर्वसाधारणलाई मेलम्ची र सडक विस्तारले प्रदुषण बढायो भन्ने लागेको छ। यो एक हदसम्म सही हो। अध्ययनहरुले देखाएअनुसार काठमाडौंको वायुमा हुने धुलोका कणको मुख्य स्रोतमा इँटाभट्टा, गाडी र फोहर र अन्य बस्तु जलाउँदा निस्कने धँुवा पर्दछन्। वायु प्रदूषणको स्रोत पहिचानको लागि अझै अध्ययन आवश्यक छ। हिँउदमा हुने र अन्य समयमा हुने प्रदुषण स्रोत फरक हुनसक्छ। माटोको धुलोले पनि केही मात्रामा वायु प्रदुषणमा योगदान गरेको छ। तर के अब मेलम्चीको काम र बाटो निर्माण सकियो भने प्रदूषण घट्छ त? यसरी हेर्दा बाटोहरु बनेर सकिए पनि धुलो उडेको नदेखिएला तर वायु प्रदुषण खासै कम नहुन सक्छ, खासगरी अत्यन्तै हानिकारक मसिना धुलोको कणको हिसाबले। काठमाडौं आफैँमा कचौराजस्तो भएकोले पनि वायु प्रदुषण बढी हुन्छ। यसलाई हामीले केही गर्न सक्दैनौं। सक्ने भनेको मानव सिर्जित स्रोतहरुलाई कम गर्ने नै हो।

मानव सिर्जित स्रोतहरु मध्ये प्रमुख एक इँटाभट्टाबाट निस्किने प्रदुषण कम गर्न कम प्रदुषण गर्ने प्रविधिको प्रयोगलाई प्रोत्साहन र नियमन कडा गर्नु पर्दछ। इँटाभट्टालाई सकेसम्म काठमाडौं बाहिर सार्दा उपयुक्त हुन्छ। नागढुंगा गाडी र मान्छे काठमाडौं प्रवेश गर्ने नाका मात्र होइन हावा प्रवेशको मुख्य द्वार पनि हो। यो स्थानबाट प्रवेश गरेको वायु पूर्वीतिर जान्छ। नागढुंगा पश्चिम त्रिभुवन राजमार्गको वरिपरि इँट्टाभट्टा र सिमेन्ट कारखाना बढ्दैछन्। यो वायु प्रदुषणको हिसाबले अत्यन्तै सम्वेदनशील विषय हो।

उत्तम विकल्प बिजुली बस
वायु प्रदुषणको अर्को प्रमुख कारण सवारी साधनले उत्सर्जन गर्ने प्रदूषित धुँवा हो। २०१५ को पेरिस जलवायु सम्मेलनमा नेपालले पाँच वर्षमा २० प्रतिशत सार्वजनिक यातायातलाई बिजुली यातायातमा पुर्याउने बाचा गरेको थियो। तीन वर्ष बितिसक्दा पनि त्यस दिशामा केही काम भएको छैन। साझा यातायातले सञ्चालन गर्ने भनेका पाँचवटा बिजुली बसको उद्घाटन भए पनि अझै सञ्चालनमा आउन सकेका छैनन्। डिजेल पेट्रोलले चल्ने गाडी आयात कम र विस्थापनतर्फ कुनै नीतिगत निर्णय भएको छैन।

मेरी सात महिनाकी छोरीलाई करिब महिना दिनसम्म खोकीले सतायो। काठमाडौंमा जति उपचार गरे पनि ठिक भएन। तर पोखरा गएपछि निको भयो। प्रदूषित वायुकै कारण मेरी छोरीजस्तै कति बालबालिका समस्यामा परेका होलान? कति बुढाबुढीहरु अहिले दम र अन्य श्वास–प्रश्वाससम्बन्धी समस्याले अस्पतालको शैय्या दिनरात काटिरहेका होलान्। कतिलाई फोक्सो र मुटुको समस्या बल्झिराखेको होला। प्रदूषण कम गर्न आक्रमक नीति र सो नीतिको कार्यान्यन गरेन भने यो अवस्था अन्त्य हुने कुनै लक्षण देखिँदैन।

प्रकाशित २० फागुन २०७५, सोमबार | 2019-03-04 15:27:08
Max TV
Max TV
Vianet

author photo

बसन्त गिरी काठमाडौं व्यवहारिक विज्ञान प्रतिष्ठानका वैज्ञानिक हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...