अबिच्यूरी

पोखराबाट उदाएका ‘सेलिब्रेटी’ नेताको अन्त्य




पछिल्लो समय केही आरोपको चक्रब्यूहमा घेरिँदा पनि उनी त्यसलाई तोड्न र काम गरेरै देखाउन क्रियाशिल थिए। तर, दैव पनि रिस गर्छ कि के हो? उनको क्रियाशिलतालाई पूर्णविराम लगाइदियो।

पोखरा, १५ फागुन
मितिः ९ फागुन २०७५
स्थानः पोखरा सभागृहको आँगन
सन्दर्भः नेपाल पत्रकार महासंघको विधान अधिवेशन

पर्यटनमन्त्री रवीन्द्र अधिकारी उही हाउभाउ र उस्तै सहृदयताकासाथ पोखरा सभागृह परिसरमा झुल्किए। सभामुख कृष्णबहादुर महरासँगैको कुर्सीमा बसे। हामी बगलमै टहलिँदै थियौँ। पत्रकार मित्र केशवशरण लामिछानेले उत्साही हुँदै भने, ‘हामी पनि दर्शनभेट गरौँ न, माननीय पर्यटनमन्त्रीको।’

मित्र केशवसँगै हामी पर्यटनमन्त्री रवीन्द्रको नजिक पुग्यौँ र नमस्कार गर्यौं। पर्यटनमन्त्री रवीन्द्र स्वभाविक पारामा मुस्कुराए र हातको इसारासँगै मुखैले सोधे, ‘ठीक छ?’

मैले भनेँ, ‘सबै ठीक छ।’

संक्षिप्त तर दोहोरो कुराकानी त्यति नै हो, युवानेता रवीन्द्रसँग मेरो। म यतिबेला त्यो क्षणमा किन लामो कुराकानी गरिएन, किन उनको नजिक गइन भन्ने घोर पश्चाताप र शोकमा छु।

***
म पोखराको पृथ्वीनारायण कलेजको विद्यार्थी बन्दा उनी त्रिभुवन विश्वविद्यालय पुगिसकेका थिए। तर, उनको चर्चा र आभाले पृथ्वीनारायण क्याम्पसलाई छाडेकै थिएन। नेताको रुपमा उनले सार्वजनिक यातायातमा ३३ प्रतिशत भाडा छुटलगायतका मुद्दा उठाएर गरेका आन्दोलनले म उनीप्रति आकर्षित थिएँ नै। प्रविण गुरुङ हत्याकाण्डमा तत्कालीन शाहज्यादा पारसविरुद्ध ५ लाख हस्ताक्षर संकलन गरी तत्कालीन राजा वीरेन्द्रलाई बुझाएकाले पनि उनी हाम्रा लागि ‘सेलिब्रेटी’ थिए। 

कालान्तरमा उनी विद्यार्थी राजनीति छाडेर पोखरा फर्के। म संयोगले पत्रकारितामा। एमाले फुट्दा मालेतिर लागेका उनीप्रति कास्की त्यति ‘सहिष्णु’ थिएन तर उनको आभा र व्यक्तित्वलाई रोक्न पनि सजिलोचाहिँ थिएन। २०६९ सालमा उनी एमाले कास्कीका सचिवमा चुनिए। तर, ७२ दिनमात्र उनी सचिवको रुपमा बस्न पाए। उनलाई तत्कालीन एमालेको बैठकबाट हटाइयो। २५ सदस्यीय जिल्ला कमिटीमा उनको पक्षमा २ जना मात्र देखिए। एमाले जिल्ला कमिटीले गरेको निर्णय विधान विपरित थियो। त्यसको उजुरी अञ्चल कमिटीमा पुग्यो। रवीन्द्र स्वयंले पार्टीका तत्कालीन महासचिव माधव नेपाललाई यो घटनाबारे जानकारी गराए।

यो २०६० साल साउनको कुरा हो। म यहाँबाट प्रकाशित पोखरापत्र दैनिकमा संवाददाता थिएँ। मैले जिल्ला कमिटीले गरेको निर्णय उल्टने सम्भावना भएको सुईंको पाएँ। त्यो सुईंको रवीन्द्रलाई औधी मनपराउने तत्कालीन विद्यार्थी नेताहरुले नै दिएका थिए (ती साथीहरु अहिले पनि सक्रिय राजनीतिमा भएकोले नाम चाहिँ नलिऊँ)।

२०६० साल साउन २१ गतेको पोखरापत्रमा त्यो न्यूज ‘ब्रेक’ भयो। न्यूज ब्रेक गर्न मैले सबैजसो स्रोतहरु प्रयोग गरेको थिएँ। रवीन्द्रसँग रेडियोमै हुँदादेखि भएको चिनजान बढी नै झ्याङ्गिएको थियो। उनी मसँग पार्टीभित्रका अन्तरविरोधबारे खुलेर कुरा गर्थे। केही नेताहरुले आफूलाई देखिनसहेको पनि बताउँथे।

एमालेको विधानले काम गर्यो कि मेरो समाचारले, अन्यायपूर्ण तरिकाले पार्टी सचिवबाट हटाइएका रवीन्द्र पुनः सचिव बने। खासमा एमालेको सातौँ महाधिवेशनले पारित गरेको विधानको धारा ६० को उपधारा ९ मा ‘जिल्ला सचिवलाई हटाउँदा माथिल्लो कमिटीको सहमति आवश्यक’ थियो। तत्कालीन गण्डकी इन्चार्ज र सह–इन्चार्ज रहेका त्रिलोचन ढकाल र तुलबहादुर गुरुङ पनि कास्की पार्टीको ७ औँ बैठकमा बसेको दावी गर्दै रवीन्द्रलाई सचिवमा नल्याउने खेल पनि भयो। तर, अल्पमतमा हुनासाथ सचिव हटाउँदा स्याङ्जा, तनहुँ र गोर्खामा पनि प्रभाव पार्ने देखेर विधानत् रवीन्द्र सचिवमा पुर्नबहाली भए।

तत्कालीन एमालेको संगठनमा पकड नभएका तर ‘असाध्यै लोकप्रिय’ रवीन्द्र सचिवमा बहाल भए पनि त्यो पदमा लामो समय बसेनन्। उनले पद छाडे। संगठनभित्र पकड बढाउँदै लगे। एउटा पक्षले पेल्ने, त्यसको प्रतिवाद गर्दै अगाडि बढ्ने उनको रणनीतिले काम गर्यो। विश्वास पनि आर्जन हुँदै गयो। त्यसकै प्रभावमा उनले आफूलाई परिष्कृत गर्दै गए। राजाले शासन हातमा लिएपछि प्रखर वक्ता रवीन्द्र झन् लोकप्रिय भए। आन्दोलनको मोर्चामा उभिने र जनमत तान्न सक्ने कलाले उनलाई स्थापित गर्यो। २०६४ सालमा यही लोकप्रियताले उनी संविधानसभा सदस्य उम्मेदार बन्न पाए। कास्की क्षेत्र नम्बर ३ बाट उनी सजिलै विजयी भए। संविधानसभामा उनको भूमिकाको प्रशंसापछि उनी दोस्रो संविधानसभामा पनि उम्मेदवारको रुपमा उभिए। लोकप्रिय रवीन्द्र पुनः सहजै विजयी भए।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनले त्रिभुवन विश्वविद्यालयमा आफूभन्दा अगाडि स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका देवराज चालिसेलाई प्रतिष्पर्धी भेटे। सो निर्वाचनमा उनले चालिसेलाई साढे ८ हजार मतले पछाडि पारे। कास्की क्षेत्र नम्बर २ को निर्वाचनको अन्तिम परिणाम अनुसार रवीन्द्रको पक्षमा २७,२७७ देवराजको पक्षमा १८,६६१ मत प्राप्त भएको थियो। विजयपछिको भेटमा एकदिन बसेर लामो कुरा गर्नुछ भन्थे। तर, व्यस्तताले त्यो सम्भव भएन र मलाई थाहा छ, अब कहिल्यै हुनेछैन।

कस्ता थिए त रवीन्द्र?

रवीन्द्र शालीन एवं चतुर थिए। प्रतिष्पर्धीलाई सम्मान गर्न सक्नु र आलोचनाबीचमा पनि सम्भावना खोज्नु उनको खुवी थियो। उनीसँग ३० वर्ष लामो संगत गरेका स्याङ्जा आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले भक्कानिँदै नेपालखबरसँग भने, ‘के कुरा गर्नु, कतिपटक झगडा गरियो, कतिपटक के के भनियो पनि तर हामीबीचको आत्मियताबारे म बोल्न सक्दिनँ।’

टेलिफोनमा नेपालखबरसँग कुरा गरिरहँदा उनी बीचमै रोकिए, भक्कानिए अनि फेरि डाँको छाडे।

समाचार लेख्ने क्रममा सधैँ उनको प्रशंसा गरिएन। तर, उनी संभावनायुक्त नेता थिए। उनीसँग देश सम्वृद्धिको योजना थियो, त्यो योजना बुझाउने कला थियो अनि युद्धगतिमा काम गर्ने ताकत पनि थियो। मान्छेका रुपमा उनीसँग पनि पक्कै केही दुर्गुणहरु थिए नै। तर, ती सबै पाच्य थिए। उनी वौद्धिक थिए, ‘मिडिया फ्रेण्डली’ थिए अनि सबैसँग आत्मियता साट्न माहिर थिए। राजनीतिज्ञमा हुनुपर्ने धेरै गुण उनीसँग थिए।

पछिल्लो समय केही आरोपको चक्रब्यूहमा घेरिँदा पनि उनी त्यसलाई तोड्न र काम गरेरै देखाउन क्रियाशिल थिए। त्यही क्रियाशिलताले उनलाई ताप्लेजुङ पुर्याएको थियो। तर, दैव पनि रिस गर्छ कि के हो? उनको क्रियाशिलतालाई पूर्णविराम लगाइदियो। उनी नआउने गरी बिदा भए। अब पत्रकारको रुपमा मैले उनीसँग प्रश्न गर्न वा आत्मियता साट्न पाउने छैन। अहिले लेखिरहँदा पनि मैले मेरो प्रिय साथी सुधीरको डाँको सुन्दैछु। देशभर यस्तो डाँको हाल्दै अलाप्नेहरु कति होलान्?

अलबिदा नेता रवीन्द्र!

 

प्रकाशित १५ फागुन २०७५, बुधबार | 2019-02-27 21:43:26
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • २०७० मा माओवादी विभाजनपछि जनयुद्ध दिवस मनाउन थवाङ जाने क्रममा विप्लव र बादल

    बादलले त्यो आधुनिक राइफल आफैंले लुकाए कि विप्लवलाई बुझाए?

    बादलको सुरक्षाका लागि एक गलिल राइफल र एउटा माउजर दिइएको थियो। ‘आईएलएम ०००२१९९’ बारकोड भएको यो राइफल इलामस्थित तत्कालीन माओवादी लडाकुको नम्बर–१...

  • विमानस्थललाई २५ करोड नबुझाई ‘सम्पर्कविहीन’

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंसिर ११ मा सौर्य एयरलाइन्सका २ बम्बार्डियर सीआरजे जहाज ग्राउन्डेड गर्‍यो।

  • हेमन्तप्रकाश ओली (सुदर्शन)

    विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

    विशेष ब्युरोमा २०५७-२०६० सम्म काम गरेका एसपी सोमेन्द्रसिंह राठौरलाई सो अपरेसनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका यस्ता अपरेसनका अनुभवी...