मन्थन

कांग्रेसले गरिरहेको गलत हिसाब–किताब




संविधानसभामा नयाँ संविधान जारी भए लगत्तैको दृश्य
संविधानसभामा नयाँ संविधान जारी भए लगत्तैको दृश्य
सिन्ह्वा

‘निर्वाचनका बेला कांग्रेसले भनेजस्तो के संविधान निर्माणको नेतृत्व साँच्चिकै कांग्रेसले नै गरेको हो त? सही अर्थमा संविधान निर्माणको नेतृत्व केपी ओलीले गरेका थिए, दुई तिहाईको समिकरण निर्माण गरेर।’

संविधान निर्माणको कठिन कालखण्ड र तीन तहको निर्वाचनपछि नेपाली कांग्रेस अलिक फुर्सदिलो भएको छ। संभवतः त्यसैकारण लामो समयदेखि हुननसकेको महासमिति बैठक उसले मंसिर अन्तिम साता सम्पन्न गरेको छ।

त्यसलगत्तै १६ पुषमा मनाइँदै आएको राष्ट्रिय मेलमिलाप दिवसमा वक्ताको रुपमा उसले सबै जिल्लामा केन्द्रीय सदस्यहरुलाई नै खटाएको थियो। १६ पुषकै पूर्वसन्ध्यामा कांग्रेसको शीर्ष नेतृत्वले काठमाडौँमा रहेका केही लेखक, बुद्धिजीवी, पत्रकारहरुसँग श्रृखंलावद्ध छलफल आयोजना गरेको थियो।

महासमिति बैठकअघि र पछि कांग्रेसद्वारा आयोजना गरिएका यस्ता केही बैठकहरुमा यो पंक्तिकारलाई पनि सहभागी हुने शौभाग्य मिलेको थियो। दुई खालका कांग्रेसजनद्वारा आयोजनामा भएका बैठकमा यो पंक्तिकार पनि पुगेको थियो।

एउटा बैठक बितेका तीन दशकदेखि कांग्रेस पार्टी र सरकारमा महत्वपूर्ण भुमिका खेलेका नेताहरुद्वारा आयोजना गरिएको थियो। अर्को चाहिँ आगामी तीन दशकसम्म कांग्रेसको राजनीतिमा सक्रिय रहने सम्भावना देखिएका युवाहरुद्वारा आयोजित बैठक थियो। ती छलफलहरुमा अपनाइएका शैली हेर्दा यो पंक्तिकारलाई के लागेको छ भने, नेपाली कांग्रेसले अब चाहिँ भविष्यको बाटो तय गर्न साँच्चिकैको चिन्तन यात्रा थालेको छ।

संविधान निर्माणको नेतृत्व गर्दागर्दै पनि कांग्रेसले तीनै तहको निर्वाचनमा किन र कसरी हार बेहोर्नु पर्यो? ऐतिहासिक रुपमा मधेसमा राम्रो पकड भएको कांग्रेस एकदशक यता के कति कारणले निरन्तर हार बेहोरिरहेको छ? यस्तै–यस्तै प्रश्नहरुको सेरोफेरोमा कांग्रेसको चिन्तन यात्रा चलिरहेको अनुभव हुन्छ।

कतिपयले कांग्रेसलाई बुढो पार्टी भन्ने गरेको सुन्छु। भारतको राजनीतिमा जसरी कांग्रेस (आई) कमजोर देखिएको छ र त्यसको विकल्पमा जसरी केन्द्रमा भारतीय जनता पार्टी (भाजपा) र प्रदेशमा विभिन्न क्षेत्रीय पार्टीहरुको बर्चस्व स्थापित हुँदै गएको छ, त्यसरी नै नेपालको केन्द्रीय राजनीतिमा पनि विकल्पमा नेकपा र मधेस सहितको प्रदेशमा क्षेत्रीय दलहरुको बर्चस्व स्थापित हुँदै जाने लख काट्नेहरु पनि छन्।

राजनीतिलाई संंभावनाको खेल भनिन्छ। यहाँ भविष्यवाणीको ठूलो बजार हुन्छ। नेपाली कांग्रेस भोलिका दिनमा समाप्त पनि हुनसक्छ अथवा उसको पुनर्उदय पनि हुनसक्छ, यो भविष्यको कुरा हो, यस्तै हुन्छ भनेर भविष्यबारे कसैले पनि ठोकुवा गर्न सक्दैन।

कुनै एक निर्वाचन हार्दैमा कुनै पनि दलको औचित्य नै समाप्त हुने होइन। तर नेपाली कांग्रेस आज जुन अवस्थामा पुगेको छ, यसबारे चिन्तन गर्दा निम्न पक्षहरुबारे बहस हुनैपर्छ।

कांग्रेस होइन, ओलीको नेतृत्वमा संविधान निर्माण 
गएको महाधिवेशनमा नेपाली कांग्रेसले तय गरेको मुख्य नाराको आशय थियो, ‘संविधान हाम्रो नेतृत्वमा बन्यो, यसको कार्यान्वयनको नेतृत्व पनि हामीले नै पाउनुपर्छ।’

संभवतः तीनै तहको निर्वाचनको बेला भएर होला, कांग्रेसले त्यस्तो नारामा जोड दिएको। तर के संविधान निर्माणको नेतृत्व साँच्चिकै कांग्रेसले नै गरेको हो त?

संविधानसभाले २०७२ मा निर्माण गरेको वहालवाला संविधान नेपालको सातौँ संविधान हो। यो संविधानको निर्माणको बेला नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। सायद पार्टीका सभापति नै प्रधानमन्त्री भएका बेला संविधान जारी भएकाले होला, त्यसैलाई आधार बनाएर कांग्रेसीहरु ‘संविधान निर्माणको नेतृत्व कांग्रेसले गरेको’ भन्ने दाबी गर्ने गर्छन्।

तर, बुझ्नुपर्ने तथ्य के हो भने, संविधान निर्माण सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदले होइन, संविधानसभाले गरेको थियो। संविधानसभाको अध्यक्ष सुवाषचन्द्र नेम्वाङ्ग हुनुहुन्थ्यो। संविधानसभाभित्रको दुई तिहाई मतले त्यसलाई पारित गरेको थियो, जहाँ कुनै एक पार्टीको मात्र त्यति धेरै संख्या थिएन। दुई तिहाई मत पुर्याउने समिकरणका निर्माता तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओली थिए। संविधान निर्माणका लागि दुई तिहाई पुग्ने समिकरण निर्माण हुनु दशक यताको राजनीतिमा साँच्चिकै ‘ब्रेक थ्रु’ थियो, जसको मुख्य खेलाडी तात्कालिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) थिए।

यी दुबै वामपन्थी पार्टीका अध्यक्षहरुको आ–आफनै रणनीतिक चाहना थिए। त्यसको चर्चा गर्नु यो लेखको उदेश्य होइन। तर दुईतिहाई पुगेकै कारण संविधान बनेको सत्य कसैले नकार्न सक्दैन।

त्यसकारण, सही अर्थमा संविधान निर्माणको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो भन्नु नै गलत हो। त्यसको सही नेतृत्व केपी शर्मा ओलीले गरेका थिए। सुशील कोइराला प्रधानमन्त्री मात्र थिए, जुन बिल्कूल प्राबिधिक कुरा थियो, कम्तिमा संविधान निर्माणको राजनीतिमा।

यस बहससँग सम्बन्धित अर्को पक्ष छ। त्यो हो, यस संविधानलाई ऐतिहासिक उपलब्धि मान्नु र यसको स्वामित्व ग्रहण गर्नु। अधिकांश कांग्रेसजनले यो संविधान जारी हुनुलाई ‘ऐतिहासिक उपलब्धि’ मान्दछन्, अनि आफूहरुले ल्याएकोमा गर्व गर्दै पूर्ण स्वामित्व पनि ग्रहण गर्ने गरेका छन्। यसबारेमा कांग्रेसजनले गम्भीर चिन्तन गर्नु जरुरी छ।

हाल कार्यान्वयनमा रहेको संविधान नेपालको सातौँ संविधान हो। दोस्रो, तेस्रो, पाचौँ, छैठौँ संविधानहरुको निर्माणमा पनि कांग्रेसको महत्वपूर्ण भूमिका रहेको थियो। तसर्थ, जारी संविधानलाई ऐतिहासिक उपलब्धि मान्नुअघि यो संविधान किन चाहिएको थियो, यसले के दिएको छ र यसअघिका संविधानहरु किन असफल भए भन्नेबारे विचार गर्नु जरुरी छ।

नेपालमा सातौँ संविधान माओवादीसँगको शान्ति प्रक्रियाको उपज हो भने यसको आधार–पत्र बृहद् शान्ति सम्झौता र १ माघ २०६३ मा जारी भएको छैठौँ (अन्तरिम) संविधान हो। यी दुबै दस्तावेजको मूल उदेश्य नेपाली समाजमा स्थापित शक्ति समिकरणलाई बदल्नु थियो। त्यो शक्ति समिकरण विगतका संविधानहरुको कार्यान्वयनका कारण बनेका थिए। विगतका पाँचवटा संविधानहरुको कार्यान्वयनले नेपाली समाजका केही सीमित जातका मानिसहरु नेपालको राज्य र राजनीतिमा बर्चस्व स्थापित गर्न सफल भएका थिए भने मधेसी, जनजाति, दलित एवं लैंगिक हिसाबले महिलाहरु शक्ति संरचनाबाट सीमान्तकृत थिए। सातौँ संविधानको आवश्यकता त्यसकारण देखिएको थियो। अनि, त्यसको मूल कार्यभार नै नेपाली समाजमा स्थापित शक्ति समिकरण बदल्न संवैधानिक बदलाव गर्नु थियो।

तर दुर्भाग्यवश, सीमान्तकृतहरुलाई मूलधारमा ल्याउने गरी जुन प्रयास छैठौँ संविधान (अर्थात् अन्तरिम संविधान) ले गरेको थियो, हालको संविधान त्यसभन्दा पछाडि फर्केको छ। यो संविधान अन्तरिम संविधानभन्दा एक कदम पछाडि र २०४७ को संविधानभन्दा एक कदम अगाडि बढेको संविधान हो। कांग्रेसजनले यसलाई ऐतिहासिक उपलन्धि मान्नु नै गलत हिसाब–किताब हो।

कांग्रेसजनले बिर्सनु हुँदैन, सातौँ संविधान निर्माणको राजनीतिको वास्तविक नेतृत्व पार्टीगत रुपमा तत्कालिन नेकपा एमालेले गरेको थियो भने नेताको रुपमा केपी शर्मा ओलीले। जसले वास्तविक नेतृत्व गर्यो, उसैले गत साल भएका तीनवटै निर्वाचनमा सफलता पनि पायो। यसमा कांग्रेसले डाह गर्नुको तुक छैन।

नयाँ संविधानमा गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशीकरणको अवधारणा समावेश हुनुलाई नेपाली कांग्रेसले ठूलो उपलब्धिका रुपमारुपमा व्याख्या गर्ने गरेको छ। यो सत्य हो, उल्लेखित सबै अवधारणासम्बद्ध शब्दाबलीहरु नयाँ संविधानमा छन्। तर यो पनि सत्य हो, जुन स्पिरिटका साथ विगतका माओवादी जनयुद्ध, मधेसी लगायतका सीमान्तकृतहरुको आन्दोलनले ती शब्दावलीलाई राजनीतिक एजेण्डा बनाएका थिए, अहिलेको संविधानका प्रावधानहरुले त्यो स्पिरिट बोकेको छैन। संविधानको अभ्यासले देखाउँदै जानेछ, नेपाली समाजमा स्थापित शक्ति सम्बन्ध, नेपाली राज्य र राजनीतिमा बर्चस्व स्थापित गरिआएकाहरुको अवस्थामा खासै परिवर्तन हुनेछैन।

सीमान्तकृतहरुलाई मुलधारमा ल्याउने हिसाबले संविधानका प्रावधानहरु लेख्नमा कन्जुस्याइँ गरिएकै हो। यो संविधानको अभ्यासको क्रममा मधेसी, जनजाति, दलितहरुले बारम्बार आफूहरु ठगिएको महशुस गरिरहने छन्। लाग्छ, संविधान निर्माणपछिका दिनहरुमा कांग्रेस र सीमान्तकृतहरुको सोचमा यहीँनिर भिन्नता रह्यो, जसको परिणाम तीनै तहका निर्वाचनमा नेपाली कांग्रेसले पराजय भोग्नुपर्यो।

कांग्रेसको यो चिन्तन बिरुद्ध मधेसीहरुले मुखररुपमा नै संगठित हुने प्रयास गरेका छन् भने अन्य समुदायले पनि यस्तै पहल लिने सम्भावना बढेको छ।

दुर्भाग्य के भइदियो भने परम्परादेखि बर्चस्व स्थापित गरेका समुदायको हित संरक्षण गर्नेगरी बनाएको संविधानको प्राविधिक नेतृत्व कांग्रेसले गरेको भएतापनि ती समुदायले कांग्रेसलाई साथ दिएनन्। तिनले पनि तत्कालिन एमाले र सो पार्टीका नेता केपी ओलीलाई नै नेता मानेको देखियो। यो पंक्तिकारले सयौँ यस्ता कांग्रेसजनलाई चिन्दछ, तिनीहरु संविधान निर्माण र त्यसपछिको राजनीतिका सन्दर्भमा धकै नमानी भन्ने गर्थे, ‘हुन त म पनि कांग्रेसी नै हुँ। तर, नेता चाहिँ केपी ओली नै राम्रो।’

सामाजिक रुपान्तरणको नेकपा मोडेल नै कांग्रेसकै मोडेल हो? 
एउटा निर्वाचन हार्दै वा जित्दैमा नेपाली राजनीतिमा नेपाली कांग्रेसको महत्व घट्ने वा बढ्ने होइन। नेपाली राजनीतिका लागि कांग्रेस एउटा विश्वविद्यालय जस्तो हो। नेपालका प्रजातान्त्रिक आन्दोलनमा अन्य कुनै पार्टी वा नेता संलग्न भएपनि त्यो कांग्रेसवाट प्रभावित नभएको हुन सक्दैन।

इतिहास साक्षी छ, नेपालका हरेक जनआन्दोलनमा नेतृत्वदायी भूमिका नेपाली कांग्रेसको रहेको छ। तर, राजनीतिक परिवर्तनमा जसरी कांग्रेस सफल देखिँदै आएको छ, सामाजिक रुपान्तरणको सवालमा चाहिँ ऊ असफल देखिन्छ।

२०१५ सालमा धेरै लामो शासन हाँक्न नसकेको कारण ‘धेरै काम गर्न नपाएको’ भन्ने दोषबाट त काँग्रेस बच्न सक्छ। तर २०४६ यताको शासन सत्तामा कांग्रेस प्रमुख चालकको रुपमा रहेको कसैबाट लुकेको छैन। बितेको तीन दशकमा नेपाली समाजमा भएका सकारात्मक वा नकारात्मक परिवर्तनमा कांग्रेसको महत्वपूर्ण भूमिका रह्यो। यस कालखण्डको विश्लेषण गर्दा समाजमा जुन बेथिति देखिएको छ, त्यसबाट कांग्रेस दोषमुक्त हुन सक्दैन, पाउँदैन। बिगत तीन दशकमा उसको सत्ता सञ्चालन क्षमता औसत भन्दा विशिष्ठ रहेन।

नेपाली समाजको रुपान्तरणबारे न कांग्रेस पार्टी, न त उसले नेतृत्व गरेको सरकारको कुनै स्पष्ट दृष्टिकोण देखियो। उसको प्रत्यक्ष नेतृत्वको सरकार होस् वा गठबन्धन सरकार, नेपाली समाजलाई सुखद अनुभूति गराउने कुनै दुरगामी महत्वका काम कांग्रेसबाट हुन सकेनन्।

हुन त, यस कालखण्डको अन्तर्राष्ट्रिय आयामले पनि यसमा असर पारेको होला। तर आन्तरिक आयाम पनि त्यति नै दोषपूर्ण रहेको छ। बेरोजगारीमा बृद्धि, ग्रामीण समाजमा ब्याप्त गरिवी, असुरक्षा र असन्तोष, गाउँँबाट शहरतिर बसाइ सर्ने बढ्दो क्रम, देश नै छाडेर पलायन हुने क्रम, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवाहरु अत्याधिक महँगो हुनु आदि जुन समस्याहरु नेपाली समाजले सामना गर्दैछ, ती समस्याहरु एकदिनमा आएका होइनन्। बरु, २०४६ पछिका विभिन्न समयका सरकारहरुले अवलम्बन गरेका गलत आर्थिक एवं विकास सम्बन्धि नीतिहरुको उत्पादन हो। र, त्यसमा नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको थियो।

वर्तमानमा पनि उस्तै समस्या देखिन्छ। दुई तिहाई बहुमतका साथ नेकपाले सत्ता सञ्चालन गर्दैछ। यो कालखण्डलाई सत्ता राजनीतिको हिसाबले स्थिर कालखण्ड मान्न सकिन्छ। यस कालखण्डमा नेकपाले एउटा निश्चितखाले विकासे अवधारणा ल्याउन खोज्दैछ। तर यसबारे नेपाली कांग्रेसको कुनै खास धारणा सार्वजानिक भएको पाइँदैन।

के नेकपाले अंगिकार गरेकै सामाजिक रुपान्तरणको मोडेल कांग्रेसकै पनि मोडेल हो? हो भने यो मोडेलको पनि स्वामित्वको दाबी कांग्रेसले किन गर्न सक्दैन? यदि नेकपाको सरकारले अंगिकार गरेको यो मोडेल कांग्रेसको होइन भने कांग्रेसको बैकल्पिक मोडेल के हो त? यसतर्फ पनि कांग्रेस बृतमा चिन्तन हुनु जरुरी छ।

प्रकाशित २० पुस २०७५, शुक्रबार | 2019-01-04 12:47:21
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...