नयाँ साहित्य अस्त्र खडा गर्न प्रज्ञामा अर्को बैरागी काइँला




मार्टिन चौतारीमा मन्तव्य दिँदै मञ्जुश्री थापा
मार्टिन चौतारीमा मन्तव्य दिँदै मञ्जुश्री थापा
विकास रौनियार

‘नेपाली भाषाको आफ्नै इतिहास र मीठास छ। ... तर परम्परागत रुपमा अड्किनुभन्दा जसरी अंग्रेजीले आफूलाई नविकरण गरेर गइरहेको छ त्यसैगरी नेपाली भाषाले आफूलाई नविकरण गर्नुपर्छ।’

इन्द्रबहादुर राईको ‘आज रमिता छ’ पुस्तक भाषाका हिसाबले निकै जटिल र बुझ्न अलि गाह्रो छ भनेर भनिन्छ। तर त्यस्तो होइन। पहिलो दुई–तीन पेजबाहेक उपन्यास सरल भाषामा छ। सन् १९५८ मा लेखिएको दार्जिलिङको पढिनुपर्ने उपन्यासमध्ये यो पनि एक हो। दार्जिलिङका दुई आन्दोलन– चियाबगान आन्दोलन र गोर्खा पहिचानको उत्थानका लागि भएको आन्दोलन सुरु हुने बेलाको कथा हो– आज रमिता छ।

मैले यो पुस्तक अंग्रेजीमा अनुवाद गर्दा नेपाली भाषासँग जोडिएको राजनीतिमा निकै उत्सुकता जाग्यो। संसारभर नेपाली भाषासँग जोडिएका वा नेपाली भाषालाई आफ्नो मातृभाषा मान्ने दुई करोड ४० लाख मानिस छन्। जसमा नेपाल, भारत र भुटानमा बस्ने नेपाली भाषी पर्छन्। भुटानमा अहिले नेपाली भाषाको राज्यसत्ता सक्रिय छैन वा भनौँ अस्तित्वमा छैन। भारतमा तीन लाख मानिसले नेपाली भाषा बोल्छन्। भारतका २२ वटा भाषामध्ये नेपाली भाषा पनि एउटा भाषा बनेको छ। इन्द्रबहादुर राई, गणेश सुब्बालगायतले १९६० को दशकमा ‘नेपाली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’ भनेर पश्चिम बंगालमा आन्दोलन गरेपछि भारतमा यसको शक्ति बढ्दै गएको हो।

इन्द्रबहादुर राई सन् १९७०–७६ सम्म अखिल नेपाली भारतीय व्यापारी भाषी समितिमा हुनुहुन्थ्यो। त्यो समितिले काम गर्दै जाँदा १९९२ मा नेपाली भाषालाई भारतीय राष्ट्रिय भाषाको मान्यता दिलाइयो। योभन्दा वर्षौँअघि सूर्यबिक्रम ज्ञवाली, धर्मबिक्रम कोइरालालगायतको एउटा जमातले नेपाली भाषा र साहित्यको विकासमा योगदान पुर्याउने काम गरेको थियो। भारतमा जसले नेपाली भाषालाई आफ्नै भाषाको रुपमा मानिरहेका छन् उनीहरुको मातृभाषा भने नेपाली होइन। नेवारी समूहमा प्राकृतिक हुँदै आएर यसले आफ्नो रुप लिएको हो। अहिलेको स्थितिमा यो एउटा ‘हिरोइक अफ द वल्र्ड’ भएको छ। नेपालीहरु भारतमा गएर ‘तिमीहरुको पनि एउटा राष्ट्रिय भाषा हो है नेपाली’ भनेर भन्न सक्ने अवस्था छ।

यो सबै हुँदाहुँदै पनि भारतमा नेपाली भाषाको त्यतिधेरै शक्ति भने छैन। इन्द्रबहादुर राईको नाम भारतीय साहित्य जगतमा प्रख्यात हुँदाहुँदै उनको ‘आज रमिता छ’ पुस्तक भारत वा त्यसबाहिर धेरैले पढ्न पाएनन्। किनकी त्यो हिन्दी र अंग्रेजी अनुवादका रुपमा आएको थिएन। मैले यो पुस्तक अनुवाद गरेर एउटा भारतीय लेखकलाई भारतीयसमक्ष चिनाइदिने काम गरेँ भन्ने लाग्छ। भारतमा नेपाली भाषाको न्यूनशक्ति देख्दा मलाई निकै नरमाइलो अनुभव भएको थियो। किनकी नेपालमा नेपाली भाषा भनेको हाम्रो राज्यसत्ताको भाषा हो। सन् १९५९ मा राष्ट्रभाषा घोषित भएपछि त्यो नेपाली साहित्यको अस्त्र बन्न पुग्यो। अहिलेसम्म पनि नेपाली साहित्य के हो भनेर कुरा गर्दा त्यहीबेलाकै भाषाको बारेमा सोच्छौँ।

विदेशमा पढेर नेपाल आएपछि मलाई अब नेपाली भाषामा पनि केही लेख्नुपर्छ भन्ने लाग्यो। तर, मेरो नेपाली भाषा–साहित्य त्यति राम्रो थिएन। त्यसपछि कवि मञ्जुलको सहयोगमा मैले नेपाली भाषा सिक्ने अवसर पाएँ। जब म नेपाली पढ्न सक्दिनथेँ, त्यतिबेला नेपाली साहित्य के हो भन्ने कुराको खोजिमा थिएँ। तर, स्रोतहरु सीमित थिए। माइकल हटको पुस्तक ‘हिमालयन भ्वाईसः इन्ट्रडक्सन टू मोडर्न नेपाली लिटरेचर’ ले मेरो बुझाइमा निकै महत्वपूर्ण भूमिका खेल्यो। त्यसबाहेक पुस्तकालयमा खोज्दा एकाधरुपमा छरिएर रहेका केही पुस्तकहरु भेटिन्थे। जुन अहिले भेट्न गाह्रो हुन्छ होला। त्यसबाहेक नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यको अस्त्र के हो भन्ने सवालमा जे सिकाएको छ, सबैले त्यही सिकेको अवस्था छ। लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, रमेश विकल, गुरुप्रसाद मैनाली, भवानी दीक्षित, शिवकुमार राई, विजय मल्ल, शंकर लामिछाने, ध्रुवचन्द्र गौतमलगायत र केही नयाँ लेखकले नेपाली साहित्य क्षेत्रमा योगदान पुर्याएका छन्। आदिकवि भानुभक्त आचार्यले आधुनिक नेपाली साहित्यको शुरुवात गरेपछि नेपाली साहित्यमा केही परिवर्तन आएको मलाई लाग्छ।

त्यतिबेला धेरै कृतिहरु नेपाली भाषामै लेखिन्थे। कहिलेकाहीँ केही कविता र केही कृति फट्टफुट्टरुपमा मात्र भेटिन्थे। त्यतिबेला नेपालमा अंग्रेजी साहित्य संसारको कुनै प्रभाव थिएन। नेपाली साहित्य संसार भने जमेर बसेको थियो। तर, विदेशमा मलाई यो कुरा थाहा थिएन। किनकी सन् १९६० को दशकअघि नेपाली साहित्य फक्रिएको थिएन। काठमाडौंमा जन्मिएकी मलाई नेपाली भाषा र साहित्यको खोजी गर्नुपर्छ र यसको अन्तर्य के हो भन्ने कुरा जान्नुपर्छ भन्ने कुराको ज्ञान नहुनु नेपाली साहित्यको अन्तर्राष्ट्रियस्तरमा शुन्य प्रभाव रहनु हो जस्तो मलाई लाग्छ।

नेपाली भाषा आन्दोलनले सन् १९९० को दशकपछि नयाँ रुप पायो। त्यसपछि मलाई नेपाली भाषामा रुची जाग्यो। नेपाली भाषा आन्दोलन के हो, के थियो, कुन अवस्थामा छ र कसरी यो अन्य भाषामा पनि फैलिएको छ भन्ने मैले त्यसबेला बुझ्ने अवसर पाएँ। सन् १९९३ पछि प्राथमिक शिक्षा मातृभाषामा सिकाउनुपर्छ भन्ने माग अघि सर्यो। ती कुराहरु मैले बुझेँ तर, नेपाली साहित्यको विषयमा मेरो बुझाईको जग यति बलियोगरी बसेको थियो कि मैले सिक्दासिक्दै पनि त्यो जग हल्लिएन। त्यतिबेला काठमाडौं र काठमाडौंसँग जोडिएको अन्तर्राष्ट्रियस्तरमा नेपाली साहित्य यो हो र यसको मुलधार यो हो भन्ने सीमित ज्ञान फैलिएको थियो। मलाई त्यो बुझाईबाट मुक्ति पाउन मन लाग्यो। र, बुझ्दै जाँदा नेपाली साहित्य र नेपालको साहित्य दुई फरक कुरा रहेछन् भन्ने बुझेँ। जुन कुरा बुझ्न मलाई १५ वर्ष लाग्यो।

अंग्रेजी भाषामा होस् या नेपालीमा हामी नेपाली शब्दलाई फरक ढंगले प्रयोग गछौँ। नेपाली खाना, नेपाली कुकुर वा नेपाली यो, नेपाली त्यो भनेर। त्यसैले नेपालको साहित्य र नेपाली साहित्य छुट्याउनु पर्ने विषय हुन्जस्तो मलाई लाग्छ। किनकी नेपाली साहित्यको भन्दा नेपालको साहित्यको जगत धेरै ठूलो छ।

अनुवाद गर्न मलाई निकै असहज लागिरहेको थियो। नेपाली साहित्यको जगत धेरै नै साँघुरो भएको हो कि भन्ने लाग्दै थियो। यसको एउटा कारण नेपाली साहित्यको शैली पनि हो। किनकी हामी बोल्ने नेपाली भाषा अनौपचारिक हुन्छ भने लेखनमा संस्कृतिकरण गरिन्छ। व्याकरणलाई साहित्यिक भाषामा ढाल्न खोजिन्छ। जहाँ एउटा स्तर दिन खोजिन्छ। तर, बोलिमा त्यो छैन। हिजोका दिनमा नेपाली पुस्तक पढ्दै जाँदा मलाई अनौठो के लागेको हो भने नेपाली भाषालाई अप्राकृतिक र अस्वभाविक रुपमा ढालिएको हुन्थ्यो। पछिल्लो समय भने यसलाई सरलिकरण गर्दै लगिएको छ। बोलिको भाषामा ढाल्दै लगिएको छ।

हिजोका दिनमा यसरी बोलिनुपर्छ भन्ने भाषामा आफूलाई क्षेत्री–बाहुन मान्ने खस आर्यको प्रभाव देखिन्छ। जसलाई सबै नेपालीको भाषा हो भनेर साहित्य लेखिएको हो भन्ने मलाई लाग्छ। सन् १९९० अघिको दशकमा त्यस्तो भाषामा लेखिएका साहित्य धेरैको पहुँचमा पुग्न सकेनन् वा उनीहरुलाई त्यसमा रुची भएन। ५०० पुस्तक बिक्रि हुनुलाई निकै महत्वपूर्ण र ठूलो कुरा मानिन्थ्यो। नेतृत्व पनि निकै सानो थियो। पुस्तक नबिके पनि, पाठक नै नभए पनि साहित्यकारको ‘प्रेस्टिज’ भने निकै ठूलो थियो। धेरै लेखकहरु काठमाडौं केन्द्रित र विषयबस्तु पनि काठमाडौंमै केन्द्रित थियो। धेरैजसो क्षेत्री–बाहुन र नेवार लेखकहरु नै हुनुहुन्थ्यो। महिला, अन्य जाती र काठमाडौं बाहिरको साहित्य मुस्किलले पढ्न पाइन्थ्यो। त्योबेला मलाई नेपाली साहित्य असमावेशी रहेछ भन्ने लाग्यो।

बुझ्दै जाँदा मलाई नेपालका लागि नेपाली साहित्यले स्थान नै बनाएको छैन भन्ने लाग्न थाल्यो। त्यसपछि म यसतर्फ केही काम गर्न सकिन्छ कि भनेर लाग्न थालेँ। नागरिक अधिकारको आन्दोलन उठेपछि सन् २००० को दशकमा यसले अलि चर्कोरुप लियो। विश्व बैंकले सन् २००४ ताका आफूसँग सम्बन्धित राष्ट्रमा समावेशीकरणको मापदण्ड बनायो। जनजाती, दलित, महिला आन्दोलनको अध्ययन गर्न समूह बनेको थियो। त्यसको महिला र दलित आन्दोलनको विषयमा अध्ययन गर्न मसहित केही साथीहरुको समूह बन्यो। त्यो किताबी अध्ययन नभएर राजनीतिक पार्टी, एनजिओ, आइएनजिओ र सांस्कृतिक संस्थाहरुमा गएर गरिएको अध्ययन थियो। हाम्रो उद्देश्य सन् १९१५ को दशकदेखि सुरु भएका आन्दोलनहरु १९९० को दशकमा कसरी विकास हुँदै गए र त्यसको उद्देश्य तथा त्यसका अगुवा को–को हुन् भन्ने कुरा बुझ्नु थियो। तर, राजनीतिक हस्तक्षेप भयो, राजा ज्ञानेन्द्र शाहबाट होस् या अन्य तह–तप्काबाट। त्यसकाबाबजुद पनि सन् २००६ मा एउटा प्रारम्भिक अध्ययन सार्वजनिक भयो।

हामीले अध्ययन गरेको कुराहरुमा सन् २००८ ताका चर्को विरोध हुन थाल्यो। यस्तो अध्ययन गर्नु भनेको राष्ट्रियता र राष्ट्रिय एकताका लागि घातक कुरा हो भन्न थालियो। देश टक्र्याउने काम गरेको आरोप लगाइयो। चर्को विरोध भएपछि विश्व बैंकले हाम्रो अध्ययन छापेन। नेपाल भनेको के हो, नेपाली संस्कृति भनेको कस्तो हो भन्ने कुरा त्यसमा समावेश थियो। अध्ययनबाट मैले धेरै कुरा बुझ्ने मौका पनि पाएँ। राज्यशक्तिको चंगुलमा क्षेत्री र बाहुन, त्यसमाथि पनि पुरुषहरु धेरै थिए। अहिले त्यो खस आर्यमा रुपान्तरित भएको छ।

यसरी नेपाली साहित्यको विगतमा फर्कंदा मैले बुझेको साहित्य यही समूहको साहित्य थियो। नेपाली भाषा राज्य संरचनासँग जोडिएको कुरा हो र सबैले यसको राजनीति पनि बुझ्नुपर्छ भन्ने लाग्यो। पछि स्पष्ट पनि भएँ।

नेपाली पुस्तक अंग्रेजीमा अनुवाद गर्ने कामको सुरुवात चाहिँ मैले सन् २००० मा रमेश विकलका कथाहरुबाट गरेकी हुँ। त्यसपछि अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा दुई–दुई हप्तामा एउटा कथा वा कविता छाप्थेँ। यसको संकलन ‘द कन्ट्री इन योवर्स’ मा छापिएको छ। यस्ता कृतिहरु छनोट गर्दादेखि नै मैले महिला, दलित तथा जनजाती र काठमाडौं बाहिरका विषयमा लेखिएका कृतिहरु खोजिरहेकी थिएँ। तर, त्यसमा म सफल भइनँ। तामाङ र मैथिली भाषाका पनि एक दुईवटाबाहेक कृतिहरु पाइनँ। अरुसबै नेपाली भाषाका कृतिहरु पाएँ। १७ जना महिला, एक–दुई जना मधेश र पोखराका बाहेक सबै काठमाडौंका लेखकहरुमात्र थिए। यति हुँदाहुँदै पनि त्यसबेला नेपालीमा प्रकाशित मानवशास्त्रीय प्रकाशनहरु भने समावेशी नै छन् भन्ने मलाई लाग्छ।

‘द कन्ट्री इन योवर्स’ पुस्तक प्रकाशन भएपछि मेरो ज्ञानको दायरा कति सीमित रहेछ भन्ने महसुस भयो। किनकी नेपाली भाषाप्रतिको बुझाईमा निकै परिवर्तन आइसकेको थियो। बइरागी काइँला नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदा नेपाली भाषाबारे एउटा अध्ययन गराएका थिए। अध्ययनको मूल उद्देश्य राज्यले नेपाली भाषालाई कसरी बुझ्ने भन्ने थियो। त्यतिबेलादेखि नै नेपालमा १२३ भाषा रहेको कुरा पुष्टी भएको हो। ४५ प्रतिशत नेपालीको मात्र नेपाली भाषा मातृभाषाको रुपमा रहेको भन्ने कुरा सो अध्ययनबाट पत्ता लागेको थियो।

विस्तारै मैले नेपालको साहित्यबारे सोच्न थालेँ। नेपाली साहित्यको अस्त्रबारे बुझ्दै जाँदा मैथिली बोल्ने जनसंख्या १२ प्रतिशत, भोजपुरी बोल्ने ७ प्रतिशत, थारु ६ प्रतिशत, बाझीका र डोटेली ३ प्रतिशत, अवधि २ प्रतिशत थिए। त्यस्तै, तामाङ भाषा बोल्ने ५ प्रतिशत, नेपाल भाषा बोल्ने ४ प्रतिशत र मगर भाषा बोल्ने ३ प्रतिशत थिए। यसरी नेपाली भाषाको चिनारी निकाल्नु छ भने यी भाषाबारे त्यसमा आउनुपर्यो भन्ने मलाई लाग्छ। कतिपय भाषा लोप भएका वा हुन लागेका होलान् भन्ने लाग्छ। यी सबै भाषाबारे एकमुष्टरुपमा जानकारी दिने काम अहिलेसम्म भएको छैन वा हुन बाँकी छ। नेपालको भाषीक र साहित्यिक विविधता अहिलेसम्म जोडदाररुपमा बाहिर आएको छैन जस्तो मलाई लाग्छ।

यही कारण पनि होला मैले अहिलेसम्म सिकेको नेपाली साहित्यसम्बन्धि ज्ञान प्रायः गलत नै रहेछ भन्ने लाग्यो। किनकी मेरो ज्ञानको जग नै गलत वा कमजोर हुन पुग्यो। अब मलाई नेपालको साहित्य र नेपाली साहित्यबारे गहिराइमा पुगेर बुझ्ने मन छ। विगतमा भएका कमजोरीलाई केलाउँदै भाषा र साहित्यको क्षेत्रमा नयाँ खोज हुन आवश्यक छजस्तो मलाई लाग्छ। नयाँ साहित्य अस्त्र केलाई बनाउने भन्ने काम निकै गाह्रो छ। मबाट कति हुन सक्छ म गर्ने छु। किनकी साहित्यको अस्त्रलाई पुर्नसंरचना गर्नु भनेको त्यति सजिलो काम होइन। सकेसम्म राज्यतहबाटै भएको राम्रो। त्यसका लागि प्रज्ञा प्रतिष्ठानमा अर्को बैरागी काँइला आउनु आवश्यक छ।

यति भनिरहँदा अहिलेको वातावरणमा त्यो सम्भावना कम नै होला। नयाँ संविधानअनुसार राज्यको पुर्नसंरचना नभइसकेको अवस्थामा गाह्रो पनि छ। पञ्चायतकालदेखिको ज्ञान र परम्परालाई केन्द्रमा राखेर जे जति कामहरु भइरहेका छन्, त्यसका कारण समावेशीताको नारा दबेको हो कि भन्ने मलाई लाग्छ। यसकारण तत्कालै राज्य यसतर्फ नलाग्ला तर, राज्यबाहिरबाट गर्न सकिने कामहरु धेरै छन्। पछिल्लो समय मैथिली भाषाको लोक कथामाथि भएको अध्ययन यसको एउटा उदाहरण हो। यसैगरी छरिएर रहेका भाषालाई एकै ठाउँमा ल्याउन सक्नुपर्छ। जसरी नेपाली भाषाको साहित्यको विकास, विस्तार र उत्थानका लागि केही कामहरु भएका छन्, त्यसैगरी अन्य भाषाको विषयमा पनि यस्ता कामहरु हुन जरुरी छ। यसका लागि ज्ञान सम्प्रेषण र संकलनको कामहरु हुनुपर्छ भन्ने मलाई लाग्छ। अनुवाद पनि नेपाली भाषाबाट अरु भाषामा या अरु भाषाबाट नेपाली भाषामा व्यापकरुपमा हुनुपर्छ। १० वा २० वर्ष लाग्ला तर, प्रयास गर्दै गयौँ भने नेपाली साहित्य जगतमा नयाँ साहित्य अस्त्र खडा गर्न सक्छौँजस्तो मलाई लाग्छ।

नेपालमा पछिल्लो समय अंग्रेजी व्यापकरुपमा भित्रिएको छ र नेपाली भाषालाई पनि सुरक्षा चाहिन्छ भन्ने कुरा उठिरहेको छ। नेपाली भाषाको आफ्नै इतिहास र मीठास छ। यसमा मेरो पनि समर्थन छ। यो अलि बलियो भएर जानुपर्छ भने जिवन्त पनि हुनुपर्छ। त्यसका लागि परम्परागत रुपमा अड्किनुभन्दा जसरी अंग्रेजीले आफूलाई नविकरण गरेर गइरहेको छ त्यसैगरी नेपाली भाषाले आफूलाई नविकरण गर्नुपर्छ। नत्र भाषा अगाडि जाँदैन।

अन्तिममा, हाम्रो ज्ञानको क्षमता सबै आयातित नै हुन्छ। ज्ञानको दायरा फराकिलो त छ तर, सबै छरिएर रहेको छ। बहस, छलफल र तिता–मीठा कुराबाट यसलाई अगाडि बढाउनुपर्छ। चर्को बहस र पीडादायी कुराहरु झेल्नु परेपनि त्यसले पछि नेपाली भाषा र साहित्यको विकासमा योगदान पुर्याउँछ। 

(थापाले ‘मैले नेपाली साहित्यबारे बुझेका सबै कुरा गलत’ शीर्षकमा बिहिबार मार्टिन चौतारीमा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित १२ पुस २०७५, बिहिबार | 2018-12-27 22:55:04
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मोहन कार्की (जीवन्त)

    आफ्नो मोवाइलबाट जसले ओली–प्रचण्डबीच पहिलो संवाद गराए

    नेपालमा भर्खरै भित्रिएले मोबाइल निकै दुर्लभ मानिन्थ्यो। प्रचण्डको प्रतिनिधि बनेका जीवन्त मोबाइल फोन बोकेर ओलीनिवास पुगेका थिए। जीवन्तले मोबाइलबाट...

  • सन्दीप लामिछाने

    दिल्लीबाट उपाधि जित्ने लक्ष्य छ: सन्दीप लामिछाने(अन्तर्वार्ता)

    टिमलाई जिताउने मेरो व्यक्तिगत लक्ष्य हुनेछ। विगत ११ सिजनमै दिल्लीको सोचेको जस्तो राम्रो भएको छैन्। यस सिजनमा आफूलाई त्यहाँ(उपाधि)सम्म पुर्याउन सकेँ...

  • नेत्रविक्रम चन्द विप्लव

    सीकेले जोगाएका ओली विप्लवबाट आफैँ जोगिएलान्?

    २८ फागुनमा प्रतिबन्धको घोषणा गर्नुअघि प्रम ओली विप्लव समूहप्रति जति आक्रामक थिए, त्यति आक्रामक त्यसयता देखिन्नन्। विप्लव समूहले पनि प्रतिबन्ध अघि...

  • हायात हत्याउने याेजनाकार: रामलाल र दिनेशलाल श्रेष्ठ

    हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

    प्रचलित कानुनविरुद्ध गई सरकारी साझेदारबाट अर्बौ रुपैयाँको सम्पत्ति हत्याउने प्रक्रियामा रहेका तरागाउँ रिजेन्सी होटलका निजी साझेदारले राजनीतिक...