यसकारण म राष्ट्रवादी होइन




खगेन्द्र संग्राैला
खगेन्द्र संग्राैला

‘राष्ट्रवाद नश्लसँग जोडिन्छ। इतिहासैभरी सबै राष्ट्रवादीहरु नश्लवादी देखिएका छन्। समकालीन विश्वको कुरा गर्ने हो भने ट्रम्प नश्लवादी राष्ट्रवादी हुन्। मोदी नश्लवादी राष्ट्रवादी हुन। नेपालमा कमरेड खड्गप्रसाद ओलीको राष्ट्रवाद पनि नश्लवादी राष्ट्रवाद हो।’

म पहिला एकफिट होचो राष्ट्रवादी थिएँ। मैले आफ्नो जीवनका अनुभवबाट सिक्दै जाँदा अहिले मलाई के लाग्न थाल्यो भने म चाहिँ अब राष्ट्रवादी रहिनँ। जे जे धर्मको आधारमा कोही राष्ट्रवादी हुन्छ, म त्यस्तो हुन सकिनँ।

जुनबेला म राष्ट्रवादी थिएँ, मेरो एउटा राजनीतिक पाठशालाले दुई तीनवटा कुराका आधारमा मलाई राष्ट्रवादी बनायो। पहिलो नेपाली कांग्रेस, राजा र राजाको बीचमा कम्युनिस्टहरुको सम्बन्धबाट राष्ट्रवाद सुरु भयो। कम्युनिस्ट आन्दोलनमा के भनिन्थ्यो भने ‘कांग्रेस दिल्लीको दलाल हो। वीपी कोइराला लेन्डुप हुन्।’

अहिलेको राष्ट्रवाद गणतन्त्रसँग मिल्दैन। राष्ट्रवाद र गणतन्त्र सर्वथा विपरीत कुरा हुन्।  राजतन्त्रमा केही यस्ता मूल्यहरुहरु हुन्छन् जसमाथि प्रश्न उठाउन पाइँदैन। राजा संविधान, कानुनभन्दा माथि हुन्छ, सबै प्रजाहरु उसको अन्तर्गत बसिभूत हुन्छन्। राष्ट्रवाद पनि लगभग त्यस्तै छ। राष्ट्रवादमाथि प्रश्न उठाउन बहुत गाह्रो हुन्छ। एक किसिमले यो प्रश्न गर्नका निम्ति, विवाद गर्नका निम्ति, विमति जनाउनका निम्त अघोषित रुपमा बर्जित विषय हो।

राष्ट्रवाद नश्लसँग जोडिन्छ। इतिहासैभरी सबै राष्ट्रवादीहरु नश्लवादी देखिएका छन्। समकालीन विश्वको कुरा गर्ने हो भने ट्रम्प (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प) नश्लवादी राष्ट्रवादी हुन्। ट्रमको राष्ट्रवाद अश्वेतविरोधी, आप्रवासीविरोधी, महिलाविरोधी अमेरिकी गौरव हो। मोदी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) नश्लवादी राष्ट्रवादी हुन। राष्ट्रवादले सत्रू खोज्छ। मोदीले दुईवटा सत्रूको रचना गरेका छन्। एउटा मुस्लिम अर्को पाकिस्तान।

नेपालमा कमरेड खड्गप्रसाद ओलीको राष्ट्रवाद पनि नश्लवादी राष्ट्रवाद हो। यो नश्लवादी राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन भारतीय बिस्तारबाद र मधेसी गरी दुईवटा सत्रू निर्माण गरेको छ। नश्लको आधारमा तपाईंको वर्ण, भाषा, धर्म के हो र तपाईं कुन भूगोलमा बस्नुहन्छ त्यसका आधारमा कोही श्रेष्ठ र कोही तुच्छ हुन्छ। खसआर्या, पहाडी, नेपालीभाषी र हिन्दूधर्म मान्ने ‘श्रेष्ठ’ अनि थारु, मधेसी र महिला ‘तुच्छ’ हुन्। आफूलाई श्रेष्ठ देखाउनका लागि तपाईंले केही तुच्छ चिजको निर्माण गर्नुपर्ने हुन्छ। त्यसैले यो नश्लवादी छ। तेस्रो कुरा राष्ट्रवादले अखण्ड नेपालको कुरा गर्छ। तर सारमा राष्ट्रवाद विखण्डनकारी छ। राष्ट्रवादले आफ्नै देशका बन्धुहरुलाई राज्यको वृत्तभन्दा बाहिर राख्छ। त्यसले विखण्डन निर्माण गर्छ।

संविधान निर्माणका बारेमा अलिकति चर्चा गरौँ। संविधान कसरी बन्यो? एकथरीले एउटा जात वा नश्लले अर्को जात वा समुदायमाथि हिंसा थोपर्दै, मान्छे मार्दै रगतको खोलो बगाएर संविधान बनेको थियो। पृष्ठभूमिमा भूकम्प थियो, भूकम्पले हल्लिएको नेपाली थियो। फास्टट्रयाक भनियो। र, अन्तरिम संविधान निर्माणमा जे जे विधि प्रक्रियाहरु छन् सबै उल्लंघन गरियो। त्यसलाई पाखा पारियो।

संविधान निर्माण ज्यादतिका बीचमा भएको छ। खासगरी म दुईटा ज्यादतिको कुरा गर्छु। टीकापुर घटना घट्यो। टीकारपुरको त्यो भूगोलमा अखण्डको नारा थियो। एउटा नश्ल र समुदायले थारुको आकांक्षालाई उपेक्षित गर्दै अखण्डको नारा ल्यायो। त्यो पृष्ठभूमिमा टीकापुर घटना घट्यो। घटनामा केही प्रहरी अफिसर र जवान मारिए र एउटा बालक मारियो। यी जो जो मारिए यिनीहरु सबै पाहाडी थिए। त्यसपछि थारु समुदायमाथि राज्यले जघन्य हिंसा थोपर्यो। तिनका पसल लुटियो, घरमा आगो लगाइयो, महिलाहरुमाथि अपमान गरियो। तर हामीले काठमाडौँबाट के देख्यौँ भने जो पहाडिया मारिए उनीहरु ‘श्रेष्ठ’ थिए। त्यसैले हाम्रा मिडियाका निम्ति त्यो समचार बन्यो। थारुहरुमाथि थोपरिएको हिंसाको कहीँ पनि चर्चा भएन। किनकि त्यो थारु थियो। त्यो खसआर्य र नेपाली भाषी होइन, सनातनी शासक समुदायको सदस्य पनि त्यो होइन्।

मधेसको कुरा गरौं, संविधान निर्माण भइरहेका बेलामा मधेसी नेतृत्वका केही असहमतिहरु थिए। अन्तरिम संविधानका जे जति मानक र मापदण्ड छन् त्यसका आधारमा संविधान बन्नुपर्छ भन्ने आग्रह र दाबी थियो। गरियो के भने एउटा नश्लले, एउटा समुदायले संविधान निर्माण गर्यो। मधेस संविधान निर्माणमा संलग्न भएन, गराइएन, ऊ बाहिर पर्यो। संविधान निर्माणप्रति असहमति राख्ने ६० जना मधेसी नागरिकहरु मारिए। ६० जना मानिसको रगत लतपतिएको रक्तरञ्जित संविधान निर्माण गरियो।

संघीय संविधानको प्रयोजन के हो? ऐतिहासिक रुपमा राज्यवाट पाखा परेकाहरु, अवसरबाट वञ्चित भएकाहरु अपमानितहरु, इज्जत नभएकाहरुलाई संविधानको फोल्डभित्र ल्याउने कुरा थियो। त्यसले समावेशिता कल्पना गरेको थियो। संविधानले के गर्यो भने समावेशितविरुद्ध एउटा ठूलो जनसंख्या (झण्डै देशको आधा) लाई निर्णय प्रक्रियाभन्दा बाहिर राखेर त्यसमाथि दमन थोपरियो। त्यसैले संविधान निर्माण नश्लवादी छ।

नेपाल विविधता युक्त देश हो। यहाँ विविध जातिहरु छन्, धार्मिक, भाषिक सम्प्रदायहरु छन्। लगभग आधा जनसंख्यालाई बाहिर राखेर संविधान निर्माण गरियो।

राष्ट्रवाद अतितमुखी हुन्छ। यसले भविष्यको कल्पना गर्दैन, अतितका मूल्यहरुको गौरवगान गरिन्छ। जस्तो ‘असली हिन्दूस्ताना’। पृथ्वीनारायणले नेपालका यस भेगका भूगोलका टुक्रा जोडेपछि ‘असली हिन्दूस्ताना’ को नारा अलापियो। हिन्दूत्वलाई राज्यको धर्मको अंश र पहिचान बनाइयो। हिन्दू बाहेककाहरु त्यसबेलादेखि नै बहिष्करणमा परेका छन्। दोस्रो ‘हाम्रा साना दुःखले आज्र्याको मुलुक होइन’। हाम्रा भनेको कसका? राणाजीहरुका र शाहजीहरुका। पूर्खा त हाम्रा पनि थिए, थारु र मधेसीका पनि थिए। तर राज्य कसले बनायो? राज्य तिनैले बनाए जसको हातमा सत्ता, परम्परा र बन्दुक थियो। ‘कत्रा दुख्ले आज्र्याको मुलुक’ भन्दा कस्तो लाग्छ भने पृथ्वीनारायण ती वीर नायक हुन जसले गोर्खादेखि जंगल फाँड्दै बस्ती बसाउँदै जग्गा आवादी गरेका हुन्। बाँकी तपाईंका पूर्खा जुम्रा मारिरहेका थिए? मदिरा पान गरेर लठ्ठीएका थिए? वा कुम्भकर्णजस्तो ६ महिने निद्रामा थिए?

नेपाललाई बहुजातीय देश भनिन्छ। प्रत्येक जातिको यो देश निर्माणमा योगदान छ। तिनका योगदानका प्रकृति र मात्रा फरक होलान। तर मधेस आवाद गरेको पहाडीले हो? होइन मधेसीले हो। नेपालको आदिवासी भन्न लायकको थारु समुदाय नै हो। नेपालको इतिहास, सभ्यता, संस्कृतिको निर्माणमा तिनको पनि योगदान छ। सम्पूर्ण निर्माण प्रक्रियामा एउटा जात, धर्मलाई श्रेष्ठ मानियो, बाँकीलाई उपेक्ष गरियो र डाँडा कटाइयो।

राष्ट्रवादले अतितका कुरा गर्छ। र, राष्ट्रवादले भन्छ, ‘साम्राज्य दुई हारे हारेन शान हाम्रो’। कुन–कुन साम्राज्य कसरी हारे? तपाईंको सान कसरी हारेन? काल्पनिक श्रेष्ठता स्थापित गर्न केही यस्ता चिज बनाइए, केही मिथक बनाइए। त्यसैका आधारमा एउटा श्रेष्ठ भयो अर्को अश्रेष्ठ।

देशप्रेम फरक कुरा हो। राष्ट्रवाद र देशप्रेम सर्वत्र विपरीत कुरा हुन्। एउटा देशको भूगोलभित्र तपाईं कहीँ जन्मनु हुन्छ। तपाईंले त्यहाँको माटो टेक्नु हुन्छ। आमाको दूध चुस्नु हुन्छ। कसैले तपाईंलाई डोर्याएर आँगनको पल्लो छेउमा पुर्याइदिन्छ। ठूलो भेलमा डुंगाले तारिदिन्छ। त्यो परिवेश र सम्बन्धले एउटा संस्कृतिको निर्माण गर्छ। त्यसैपनि आफूलाई जन्माउने आमाप्रति सबैमा ममता हुन्छ। आफूले टेकेको माटोप्रति सबैमा ममता हुन्छ। त्यो भूमि जसले तपाईंलाई अन्न दियो, त्यो आकास जसले तपाईंलाई हावा दियो, त्यो प्रकृति जसले तपाईंमा सौन्दर्य चेतनाको निर्माण गरिदियो। त्यसप्रति मान्छेमा स्वभाविक ममता र अपनत्व हुन्छ। त्यो अपनत्व र ममताको प्रतिउत्तरमा कृतज्ञ नागरिकले आफ्नो देश र समाजका निम्ति केही न केही चेस्टा गर्छ। देशप्रेम ममतापूर्ण हुन्छ। यो नश्लीय छैन। मलाई पनि माटोप्रति माया छ।

जुनबेला संविधान निर्माण भइरहेको थियो, मधेस आन्दोलन र टिकापुर घटना भइरहेको थियो, मधेसी समुदाय आन्दोलनमा थियो। बिडम्बना त्यो बेला के भयो भने सिंगो मिडिया सत्तामा विलय भएको थिए। मिडिया नै भयानक राष्ट्रवादी भएको थियो कि अहिलेको राष्ट्रवादका जो नायकहरु हुन्, आकासको जून सून बनाएर तपाईंको आँगनमा खसाइदिने। त्यसको रचना आधारभूतरुपमा मिडियाले गरेको हो। टिकापुरमा पहाडी मारिए, तीनको श्रेष्ठताको गाथा गाइयो। थारुहरुमाथिको दमन भयो तिनको तुच्छताको कहीँ चर्चा भएन। मधेसमा त्यति धेरै मानिसहरु मारिँदा मिडियाले आपत्ति गरेनन्। मानौं संविधान निर्माण प्रक्रियामा मधेसी मारिनु गौरव र पौरखको विषय हो।

सनातनी दृष्टिकोणबाट यो देश खसआर्यले बनाएका हुन्। लामो समयदेखि सत्तामा खसआर्य थिए। अख्तियारमा, साधन–स्रोतमा, परम्परागत शक्तिमा, राज्यका यावत उपकरणमा तिनको एकलौटी वर्चश्व थियो। अहिले पनि मधेस सिंहदरवारका मालिकहरुको हो र मधेसी पारिको, विहारको, उत्तर प्रदेशको। त्यसको वर्ण कालो छ, नेपाली भाषा त्यसको मातृभाषा होइन, त्यसको बस्त्र र भूगोल फरक छ। सीमानपारि अर्कै छ। मेरो बाल्यकालमा महेन्द्रीय शासनको जगजगी थियो। मैले त्यही शासन पढेँ र पढाएँ। राष्ट्रवादको शिक्षा मैले त्यही बेला लिएको हुँ। अहिले केही कुरा फरक भएका छन्। अहिले काठमाडौँमा मधेसी, मस्र्या, धोती, काले कम भनिन्छ।

कम्युनिष्ट आन्दोलनले पनि त्यही कुरा सिकाएको थियो। हामी वीर पृथ्वीनारायणका सन्तान, मधेसी कायर हुन् भनेर। ती मान्छे हुन् भन्ने कुरामा पनि शंका गरिन्थ्यो।

त्यसैले मधेसमा ६० जना मानिस मारिँदा मिडिया र बौद्धिक समाजले मान्छे मरेको कल्पना गरेन। कोही विदेशी दलाल मर्यो भन्ने भयो। मधेसको भूमि विदेशीलाई बुझाउने पात्र मर्यो भन्ने भयो। त्यो अपराधको बीचमा संविधान बनाइयो। एक किसिमले यो संविधान एउटा अपराधिक दस्तावेजका रुपमा निर्माण गरिएको छ।

विभेदलाई न्युनीकरण गर्दै विभिन्न समुदयाबीचको समानता, सद्भाव, प्रेम र सहकार्यका निम्ति हामी संघीयतामा गएका हौँ। राष्ट्रवादले संघीयताको सारतत्व झिकिदियो र यो प्राविधिक बन्यो। यो सबैको साझा भएन। अझै पनि देशको आधा जनसंख्या यो संविधानबाट सन्तुष्ट छैन। ‘हामी संविधान बन्नुभन्दा पहिले र अहिले पनि पाखा परेका छौं, त्यसैले यसप्रति हाम्रो असन्तुष्टि कायमै छ’ भनेर एउटा समुदायले भनिरहेका छ।

राष्ट्रवादले नश्लीय प्रकृतिको छ, यसले विभेद गर्छ। कसैले कसैमाथि विभेद, घृणा नगरिकन राष्टवाद बन्दैन। यसमा अखण्ड नेपालको कुरा गरिन्छ। यो त हामीलाई पनि चाहिएको छ। नेपाल खण्डित हुनुपर्छ कस्ले भनेको छ। भन्न अखण्ड नेपालको रक्षा भनियो र यसका निम्ति थारु र मधेसीमाथि हिंसा थोपरियो। परिणाम यो चिन्तनले यो संविधान निर्माण प्रक्रिया र संविधान स्वयमले पनि नेपाललाई खण्डित गर्‍यो। हाम्रो समस्या समधान भएन। समानताको धरातलमा इतिहासमा भएका खासखास समूदायमाथि भएका अपमान र ज्यादतिहरुमा गर्नेले पश्चताप गर्ने र माफी माग्ने र पर्नेले दिन नै एकता हो। एक हुनका निम्ति आधारभूत कुरा भनेको समानता हो। राज्यमा समान किसिमको पहुँच, संस्कृतिमा समान स्तरको पहिचान, प्रतिष्ठ, गौरव त्यसको आधारमा कुनै पनि समाज एकताको जगमाथि उभिन्छ। संविधानले हामीलाई एकताको जगमा नउभ्याइ विखण्डनतर्फ धकेलिदियो।

राजलाई सिंहासनबाट हटाएर आएको यो गणतन्त्र प्राविधिक गणतन्त्र हो। शीतलनिवासमा अहिले कम्युनिष्ट पार्टीको सदस्यले एक जना महिला हुनुहुन्छ। राष्ट्रपतिको चरित्र, दिनचर्या र आकांक्षामा राजतन्त्रकालीन राजाभन्दा केही फरक छैन। धर्मनिरपेक्ष देशमा राष्ट्रपति हिन्दू चाडपर्वमा मन्दिरको दर्शन गर्दै हिँड्छिन्। यो धर्मनिरपेक्षता विरोधी आचरण हो।

नेपाल गरिबहरुको देश हो। धेरै मानिस कुपोषण र महिलाहरु सुत्केरी हुन नसकेर मर्छन्। कतिपय ठाउँमा मानिस जीवनजल नपाएर मर्छन्। दुईतिहाइको कम्युनिस्ट राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिन्छ। डेढ अर्बको त हेलिकोीटर आइसक्यो। हामीले आलोचना र खिस्सिटियुरी गरिएपटि यो राष्ट्रपतिको विलासिताका लागि किनिएको होइन् भनियो। दुर्गमबाट सुत्केरी बोक्न र विशिष्ट पाहुना आउँदा बोक्न किनिएको हो भनियो। यसले राष्ट्रपति राजाजस्तो हुनुभो।

कांग्रेस कांग्रेसजस्तो रहेन्। कम्युनिस्ट कम्युनिस्टजस्तो रहेन। नेकपाका नेताको चरित्र, संस्कार, जीवनशैली, सम्बन्ध कांग्रेस र मण्डले भनिने राप्रपाको भन्द भिन्न भएन। यसको मुख्य समस्या भनेको राज्यको चरित्र बदलिएन। राज्यको चरित्र बदल्नका लागि जसले आँधीबेहेरी उठाएका थिए। त्यसका नायक पुष्पकमल दाहाल आफूले उठाएका मुद्दा भुलेर ओलीमा बिलय भए।

सारमा यो राष्ट्रवाद नश्लवादी, गणतन्त्र र समाजवादविरोधी, असमावेशी, विभेदपूर्ण छ। परम्परका सबै रोगहरु यसले बोकेर हिँडेको छ। त्यसैले माफ गर्नुहोला, म चाहिँ राष्ट्रवादी होइन।

(‘यसकारण म राष्ट्रवादी होइन्’ शीर्षकमा संग्रौलाले मंगलबार पोखरामा लिटिरेचर फेष्टिवलमा दिएको मन्तव्यको सम्पादित अंश)

प्रकाशित १० पुस २०७५, मंगलबार | 2018-12-25 14:17:13
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जितेन्द्र महर्जन

    हङकङका ‘सेल्फ मेड’ नेपाली व्यवसायी ज्याकको अप्रत्यासित अन्त्य

    आफ्नै चौघेरामा रमेको हङकङको नेपाली समुदायमा धेरैका लागि ज्याक महर्जन अपरिचित नै थिए। अनेक स्वार्थ, विवाद, चलखेल, आत्मप्रचार र सम्मानको लेनदेन हुने...

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।