पिना सुक्दै गर्दाका राजनीतिक कल्याङमल्याङ


Infocus



केपी शर्मा ओली
केपी शर्मा ओली

तातो घाममा पीना सुक्दै गरेको अहिलेको अवस्थामा कागहरु टाढाबाट कराउँदै गर्दा केही अन्यौलमा पर्न सक्छन्। तर नयाँ बाटो हिंड्दा कयौंलाई ‘ऐठन’ हुन्छ भने पनि सरकार आत्तिनु हुँदैन।

सन् १९७९ मा चीनका तत्कालिन उप प्रधानमन्त्री तथा खुला चीन नीतिका प्रणेता देङ सियाओ पिङले अमेरिकाको राजकीय भ्रमण गरे। सन् १९४९ मा चीनमा कम्युनिष्ट क्रान्ति भएपछि भत्किएको दुई देशबीचको कुटनीतिक सम्बन्धलाई पुर्नस्थापना गर्दै उनले गरेको त्यो भ्रमणलाई दुई देशबीचको सम्बन्ध, चीनको खुलापन तथा आर्थिक विकासमा कोशेढुंगा मानिन्छ। सन् १९५० देखि ०५३ सम्म अमेरिकासँग भएको कोरिया युद्धमा झण्डै ६ लाख सेना गुमाएको तथा अमेरिकालाई विश्वको एक नम्बर दुश्मन मान्दै आएको चीनलाई त्यो बाटोमा पुर्याउनु देङलाई सहज थिएन भन्ने अहिले पनि अनुमान गर्न सकिन्छ। त्यसका लागि उनले कम्युनिष्ट ध्रुवबाट खेपेको आलोचनाको रहलपहल पछिसम्म नेपालका गाउँ—शहरका भित्ताहरुमा ‘गद्धार देङ’ का नाराहरुमा देख्न पाइन्थ्यो। अमेरिका भ्रमणमै समेत दुई कम्युनिष्ट पत्रकारहरुले उनको विरोधमा नारा लगाएर खुलापन विरोधी कम्युनिष्ट कित्ताको आक्रोश पोखेका थिए।

सूर्यलाई पृथ्वीले घुम्छ र यो नरोकिईकन घुमिरहेको छ भन्ने सामान्य आँखा र चेतनाले नदेखे जस्तै देश र समाजको दिशा तथा गति पनि सामान्य आँखा र चेतनाले नदेखिन सक्छ। इतिहासकारहरुले लेखेका पंक्तिबाट तत्कालिन अवस्था बुझ्न जति सजिलो हुन्छ, त्यो समयमा रहँदा निकै जान्ने बुझ्नेहरु पनि अन्यौलग्रस्त हुनु पर्छ। अहिले संसारको दोस्रो ठूलो अर्थतन्त्र बनाउन तथा झण्डै एक अर्ब जनतालाई गरिबीको रेखाबाट माथि उकास्ने नीति लिन सफल देङलाई ‘बिरालो कालो होस् या सेतो, मुसा मारे पुग्छ’ भन्ने निष्कर्ष निकाल्न र त्यसलाई कम्युनिष्ट पार्टी तथा मुलुकमा पाच्य बनाउन पक्कै सजिलो थिएन। तर, परम्परागत मान्यता नछाडेसम्म चीनलाई समृद्धितर्फ लैजान सकिन्न भन्ने बुझेका उनले अनेक परम्परा र मान्यता तोड्दै नयाँ परम्परा र मान्यता विकास गरेर मात्र चीनलाई यो ठाउँसम्म आइपुग्ने बाटो निर्माण गर्न सकेका हुन्। 

अहिलेको प्रसङ्ग
गत वर्ष भएको संघ र प्रदेशको निर्वाचनमा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठवन्धनले विजय प्राप्त गरेपछि अहिले संघ र ती प्रदेशमा उनीहरुबीच एकता भएर बनेको नेकपाको सरकार छ। अघिल्लो पटक ९ महिना सरकारको नेतृत्व गरेर देशलाई आशा देखाएका नेकपाका एक अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको पनि १० महिना बितिसकेको छ। सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएर भौतिक पूर्वाधार निर्माणमा आफूलाई केन्द्रित गरेकोमा प्रशंसा भएपनि बीचमा आएका र ल्याइएका थुप्रै विषयहरुमार्फत सरकारलाई बिबादमा पारिएको छ। विषयहरु यसरी उठाइएको छ कि, सरकारबाट सकारात्मक कामहरु केही नै भएका छैनन्।

तर, समाचारहरुलाई नै मिहिन विश्लेषण गर्ने हो भने, सरकारको दिशा गलत देखिन्न। नेपालकै इतिहास हेर्ने हो भने, ठूलो राजनीतिक परिवर्तनपछि जनतामा अपेक्षा यति बढि हुनेगर्छ कि त्यसले कतिपय अवस्थामा अराजकताको अवस्था पनि उत्पन्न गराउँछ। २०४६/०४७ र २०६२/०६३ को राजनीतिक परिवर्तनपछि जनतामा देखिएको ठूलो अपेक्षा तथा त्यो पूरा नहुँदा उत्पन्न अराजकता हामी अहिले पनि सम्झिन सक्छौं। २०६२/०६३ पछि त सबै क्षेत्र, पेशा, जाति—समुदाय आफ्ना माग पुरा गराउन सडकमा आउने क्रममा शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी संगठनमा समेत बिद्रोह देखिएको थियो। दुई दशकभन्दा बढि समयदेखि वर्ष÷वर्षमा सरकार परिवर्तन हुने अस्थिरता भोगेका नेपालीका लागि दुई तिहाई समर्थनको सरकार बन्नु त्यस्तै ठूलो राजनीतिक परिवर्तन भएको सन्दर्भमा जनअपेक्षा अनुसार सरकारको गति तिब्र नभएको भने साँचो हो।

सरकारले प्राथमिकतामा राखेको रेल र पानी जहाजकै कुरा गरौं, भारततर्फबाट रेल चलाउन सरकारले रेल किन्न बजेट नै छुट्याएको समाचार भर्खरै आएको छ। चीनतर्फको रेल ल्याउन चिनियाँ टोली यही साता नेपाल आउँदै गरेको समाचारमै उल्लेख छ। भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन मितेरी पुल निर्माण सुरु भएको समाचार यसै साता सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका महत्पपूर्ण समझदारी र त्यसपछि चिनियाँ पक्षसँग नेपालमा भएको प्रोटोकल सम्झौताको महत्वपूर्ण प्रसङ्ग त छँदैछन्। नारायणी नदीमा जहाज चलाउन अध्ययनहरु भइरहेका छन्। जलविद्युत विकासमा बंगलादेशसँग महत्वपूर्ण समझदारी भएको तथा अन्तरदेशीय प्रशारण लाइनमा समेत सहमति भएको समाचार पनि लगातार आइरहेका छन्।

पहिले धरान—चतरा—हेटौंडा भन्ने गरिएकोमा अहिलेको मदन भण्डारी राजमार्गको धरान—चतरा—हेटौंडा खण्डको निर्माण यस्तो तिब्र गतिमा भइरहेको छ कि, नेपालमा पनि यसरी निर्माण हुनेरहेछ भनेर आश्चर्यमा पार्छ। उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका भित्री मधेस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने त्यो सडकका पुलहरुको निर्माण यो वर्षा अघि नै सम्पन्न हुने निश्चित देखिएको छ। दुई वर्षभित्रमा सडक कालोपत्र नै हुने पनि आयोजनाको तिब्र कामले देखाउँछ। विद्यमान परिपाटी र काम गर्ने शैलीका कारण अरु भौतिक संरचना निर्माणले बिस्तारै गति समाउन थालेको काठमाडौंका सडकहरुमा पनि देखिन थालेको छ। तराईमा राजमार्ग र भित्री शहरहरु जोड्ने ६ लेनका सडकहरुको तिब्र निर्माण दशैंदेखि नै सुरु भएको जो कोहीले देख्न सक्छ। उता, वैदेशिक रोजगारीको क्षेत्रमा मलेशियासँगको सम्झौता महत्वपूर्ण उपलव्धी भएको सबैले स्विकारेका छन्। श्रम मन्त्रीले जसरी तथा जुन गतिले काम गरेका छन्, त्यसले छिट्टै नै त्यहाँ नेपाली कामदार स्वाभिमानपूर्वक जान सुरु हुनेमा शंका गर्ने कुनै ठाउँ देखिन्न।

यस्तोमा भर्खरै सरकारले ऐतिहासिक सामाजिक सुरक्षा योजना ल्याएको छ। बीसौं लाख श्रमिकहरुलाई आवद्व गराउने यो योजनाले योगदानमा आधारित, जोखिम हुँदा तथा निश्चित उमेर पछाडि जीवननिर्वाहका निम्ति सहज बनाउने छ। औषधि उपचार खर्चको निम्ति पनि सहज बनाउने यो समाजवादी कार्यक्रमको विरोध गर्न नसकेपनि प्रधानमन्त्रीको फोटो पोलहरुमा झुण्ड्याइयो भन्ने निहुँ झिकेर त्यसलाई निस्प्रभावी सावित गर्न खोजिएको छ। जबकि, सरकारको कुनै आयोजना सुरु हुँदा त्यसको प्रमुखको तस्विरलाई प्रतिक बनाएर प्रचार गर्नेगरिएको छिमेकी भारत, चीन मात्र नभएर जुनसुकै मुलुकमा देखिन्छ। 

विरोध श्रृंखलाका कारणहरु
विरोध र विरोधी निर्माणका कारण हुने गर्छन्। त्यसैले, अहिले सरकारले भोगिरहेको तिब्र विरोधका पनि केही कारणहरु छन्। एक वर्ष अघि मात्र झण्डै दुई तिहाई मत पाएको पार्टीको सरकारको विरोधी जमात किन यत्रो ठूलो बन्यो भन्ने विश्लेषण गरौं।

सरकार बन्नासाथ यातायात सिण्डिकेटविरुद्ध सरकारले अभियान चलायो। त्यसक्रममा सरकारले यातायात व्यवसायीलाई पक्राउ गर्ने तथा उनीहरुको संघको बैंक खाता रोक्नेसम्मको काम गर्यो। एउटा तहमा पुगेर त्यो रोकिएपनि यातायात व्यवसायीको ठूलो तप्का सरकारको विरोधी रहिरह्यो। त्यही समयमा गृहमन्त्रालयले समयमा काम नसक्ने निर्माण व्यवसायीलाई पक्रदै समयमै काम सक्ने कागज गराएर छाड्यो। यो कार्यले तत्काल केही प्रशंंसा पाएपनि त्यस्ता निर्माण व्यवसायी तथा तिनका आसेपासे सरकार विरोधी हुने नै भए। पछिल्लो समय श्रम मन्त्रालयका अनेकौं कामका कारण वैदेशिक रोजगार व्यवसायीको ठूलो पंक्ति सरकारको विरोधी बनेको छ। यीसहित अनेक ठाउँमा सिण्डिकेट चलाइरहेकाहरु वर्तमान सरकारका कारण घाटामा परेका छन् र शहरमा बस्ने तथा पहुँचवाला त्यो पंक्ति वर्तमान सरकारको विरोध गर्न प्रतिवद्ध छ।

डा. गोबिन्द केसीको अनशन प्रकरणले दुई थरी सरकारका विरोधी बने। पहिलो, केसीका माग ठिक हुन्, उनका माग सरकारले पुरा गरेन भन्ने मान्यता राख्ने। दोस्रो, त्यो बेलाको बिबाद पुरानो मेडिकल कलेजको एकाधिकार कायम राख्ने कि नयाँलाई पनि खोल्न दिने बनेकाले पुरानो मेडिकल कलेजवाला सरकार विरोधी बन्न पुगे।

कम्युनिष्ट सरकारलाई कुनै हालतमा मन नपराउने पंक्ति वर्तमान सरकार विरोधी हुने त भइहाल्यो। एमाले र माओवादी एकता नहुँदासम्म ‘यिनीहरु मिल्न सक्दैनन्’ भन्ने आशामा रहेको त्यो पंक्ति उनीहरु एक भइसकेपछि ‘अब हाम्रो पालो आउँदैन’ भन्ने महशुस गरेर कम्युनिष्ट पार्टी र सरकारबिरुद्ध एकताबद्ध भएको छ। जसरी, संविधानसभाको पहिलो चुनावमा तेस्रो बनेपछि एमाले पुरै एकताबद्ध बनेर संविधानसभाको दोस्रो चुनावमा झण्डै कांग्रेस जत्रै बन्न सफल भएको थियो। जसरी, स्थानीय चुनावमा भरतपुरमा पहिलो पटक गठबन्धनका बावजूद माओवादी र एमालेलाई मत बाँढेको कांग्रेस पंक्तिले देशभर एमाले पहिलो शक्ति बनेको रिसमा दोस्रो पटक माओवादीलाई मत खन्याएको थियो।

यी सबैको विरोधको हल्लाबाट प्रभावित भएर त्यतै बहकिएको पंक्ति पनि ठूलै छ। यी सबैको स्वर मिसिएकाले सरकारको पक्षमा बोल्नै नहुने वा बोल्नै नसकिने अवस्था आइसकेछ भन्ने ठानेर मौन बसको नेकपा पंक्ति पनि छ। वर्तमान सरकार ओलीको मात्रै भएकाले यसको रक्षा गर्ने जिम्मेवारी पनि उनी र उनी पक्षधरको मात्र भएको मान्यता राख्ने नेकपाको अर्काे पंक्ति मौन छ। ओली र वर्तमान सरकारलाई कमजोर बनाउँदा मात्र आफ्नो राजनीतिक भविष्य देख्ने नेकपामै एउटा पंक्ति रहेको यही बीचमा अनेकौं पटक सार्वजनिक भइसकेको छ। 

‘येसुको छोरी’को प्रसङ्ग
र, यसै प्रसङ्गमा गत साता काठमाडौंमा ‘युनिभर्सल पिस फेडेरेशन’ ले आयोजना गरेको एसिया—प्रशान्त क्षेत्रको एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीसहित बिभिन्न नेताहरुको सहभागिता बिबादित बनाइएको छ। समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति, पालाओ आइल्यान्डका राष्ट्र प्रमुख, भारतका पूर्वप्रधानमन्त्री एचडी देवगौडा, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी, म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनलगायत सहभागि सो कार्यक्रमलाई क्रिश्चियन धर्म प्रचारसँग यसरी जोडियो कि, नेपाल राष्ट्र र प्रधानमन्त्री ओलीको प्रतिबद्धता तथा आस्थालाई नै शंकाको विषय बनाउन खोजिएको छ।

जबकि, विगतदेखि नै नेपालमा यस्तो कार्यक्रम गर्दै आएको ‘युनिभर्सल पिस फेडेरेशन’ को यो पटकको कार्यक्रमको क्रममा नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्कको सम्झौता भयो, जसले भैरवहा बिमानस्थल चालू भएपछि अधिकांश बुद्धधर्मावलम्बी रहेको कम्बोडियाबाट लुम्बिनीमा उल्लेख्य पर्यटक आउने विश्वास गरिएको छ। जहाँसम्म, समग्र कार्यक्रमलाई नै क्रिश्चियनिटी फैलाउने कार्यक्रम भनिएको छ, भारतका पूर्व प्रम देवेगौडा, पाकिस्तानका पूर्व प्रम गिलानी र कम्बोडियाका प्रम हुन सेनको सहभागितालाई पनि यसै उदेश्यमा जोड्न मिल्छ? उनीहरु तीनै जना क्रिश्चियन भएको तथा क्रिश्चियनिटी फैलाउन प्रतिबद्ध रहेको भन्नु हास्यापस्द हुँदैन?

जहाँसम्म धर्मनिरपेक्ष मुलुकले यस्ता धार्मिक कार्यक्रम आयोजना गर्न दिनुहुन्छ कि हुन्न भन्ने प्रश्न छ, मुलुकलाई संसारसँग जोड्ने र पर्यटन प्रवद्र्धन प्रमुख उदेश्य राख्ने हो भने अरु धर्मसँग नजिक वा सम्बन्धित कार्यक्रमलाई पनि आयोजना गर्न अनुमति दिँदा फरक पर्दैन। अन्तर्राष्ट्रिय स्तरका हिन्दू र बौद्ध सम्मेलनहरु नेपालमा भइरहेकै छन्, मुश्लिम, जैन सम्मेलन गर्न कसैले चाहे भने पनि रोक्नु आवश्यक छैन।

रह्यो धर्म निरपेक्ष राष्ट्रका प्रम अझ भनौं कम्युनिष्ट अर्थात नास्तिक केपी ओलीको कुरा, उनका लागि मुल्ला, पादरी, भिक्षु, महन्थ सबै धर्मान्द वा धर्माधिकारी भन्दा बढि केही होइनन्। जीवन धर्मका ठेलीले परिभाषा गरेभन्दा धेरै फराकिलो छ भन्ने बुझ्नेलाई त्यस्ता धर्माधिकारी जो वा जति आएपनि केही फरक पर्दैन। 

अबको बाटो
तातो घाममा पीना सुक्दै गरेको अहिलेको अवस्थामा कागहरु टाढाबाट कराउँदै गर्दा केही अन्यौलमा पर्न सक्छन्, तर, मति ठिक भएको हुँदा सरकारले गति पनि निश्चितरुपमै बढाउने नै छ। दुई दशकपछि मुलुकले पाएको बहुमत सरकारको यो अवसरलाई सदुपयोग गर्न परम्पराको कैदमा बसेर सम्भव छैन भन्ने स्पष्ट छ। चीनका देङले जस्तो आँट गर्न नसकेसम्म नेपालले पनि नयाँ बाटो तय गर्न सक्दैन। नयाँ बाटो हिड्दा कयौंलाई ‘ऐठन’ हुन्छ भने पनि सरकार आत्तिनु हुँदैन।

प्रकाशित २० मंसिर २०७५, बिहिबार | 2018-12-06 18:27:21
Max TV
Max TV
Zen Travels
Vianet

author photo

सुवास देवकोटा पत्रकार, राजनीतिक विश्लेषक हुन्

@devkotasubash ‏


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • प्रचण्ड

    कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड?

    एउटै निर्वाचन क्षेत्रमा अल्झेर नबस्ने प्रचण्डको बिगतले पनि उनले आगामी निर्वाचनमा प्रतिस्पर्धाका लागि कास्की रोज्नसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

  • संसदीय समितिमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

    निर्मला बलात्कार र हत्या: कुखुरा चाेरप्रति आइजिपीका चारथरि अभिव्यक्ति (भिडियाे)

    निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले गलत ब्यक्तिलाई फँसाउन खोजेको आरोप लागिरहेका बेला प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसदीय...

  • ओली र प्रचण्ड

    नेकपाका ४ नेताको ‘एक्सन’ ले प्रचण्डलाई कति फाइदा, ओलीलाई कति बेफाइदा?

    आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक कक्षमा त ओलीले समयमै पुगेर बैठक सुरुवात गर्दैनन् भने धुम्बाराही पुगेर समयमा बैठक सञ्चालन गर्ने भन्ने...

  • बिगब्यासबाट नेपालको नाम अझै उँचो बनाउन सकूँः सन्दीप लामिछाने (अन्तर्वार्ता)

    केहीदिन अघिमात्रै यूएईमा भएको टी–१० फ्रेन्चाइज लिग खेलेर आएका नेपाली लेगस्पिनर बलर सन्दीप लामिछाने यसबीच नेपालमा जारी एभरेष्ट प्रिमियर लिगमा...