‘अमेरिकन ड्रिम’ हुन् ह्यारी भण्डारी




चुनावका दिन ह्यारी भण्डारी, नारायण श्रेष्ठ र अरु
चुनावका दिन ह्यारी भण्डारी, नारायण श्रेष्ठ र अरु

साँझ घर फर्किंदा उम्मेदवारले हातले लेखेको चिट ढोकामा झुण्डिएको भेट्टाउनु भोट हाल्नेका लागि हार्दिकताको संकेत भयो। तिनले खोजे– को हो भण्डारी, के छन् उनका चुनावी मुद्दा?

प्रत्येक दुई वर्षमा दोहोरिएर आउने अमेरिकी चुनावको रंग जति हुनुपर्ने हो, यसपल्ट एच बी (ह्यारी) भण्डारीको जीतले म अली बढी नै उत्साही छु।

मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स (नेपालको हिसावमा प्रदेश संसद) मा डेमोक्र्याट पार्टीबाट उनको जीतको खबर केही हप्ता अघिको हो। नव विजेता सांसदका हिसावले आगामी महिना उनले मेरिल्याण्डको प्रदेश राजधानी अन्नापलिसमा सपथ ग्रहण गर्नेछन्। र, आउने वर्ष, २०१९ को जनवरी दोस्रो हप्तादेखि औपचारिक रुपमा मेरिल्याण्डको सांसद भएर काम सुरु गर्नेछन्।

राजनीतिक गीतको यो यात्रा २०१४ देखिको हो। भण्डारी पहिलो पल्ट प्राईमरि लड्न तयारी गर्दै थिए। म भर्खर अमेरिका आइपुगेको थिएँ। हामी सबै सिकारु थियौं। चुनाव जितिएन, तर केहि पाठ सिक्यौं, जुन यसपल्ट सायद काम लाग्यो। पुरानो मित्रका हिसावले भण्डारीको नयाँ भूमिकाले, अरु नेपालीलाई जस्तै मलाई पनि उत्साही र खुसी बनाएको छ।

२०१४ को प्राईमरि चुनाव हारेपछि नारायण श्रेष्ठसहित ह्यारी भण्डारी

म स्वीकार्छु– अमेरिकी राजनीतिमा लाग्नुभन्दा पहिले, नेपाली साहित्यको अभ्यास गर्नुभन्दा झन् अघिदेखि, किर्तिपुर पढ्दाताक देखिको मित्र भएकाले भण्डारीका बारेमा मेरा धारणा, सायद, सन्तुलित हुन नसक्लान्। केही आग्रह पोखिएलान्। तर प्रजातान्त्रिक पद्दतीको सबैभन्दा लामो इतिहास बोकेको देशमा एक दशक अघि मात्र नेपालबाट बसाई सरेका ह्यारी भण्डारीको यो जीतको खास अर्थ छ।

पहिलो, अमेरिकी सार्वजनिक पदमा जनताको मतले जितेर यो स्तरमा पुग्ने भण्डारी नेपाली मुलका पहिलो व्यक्ति हुन्। आँटे गरे जीत्न के सकिंदैन भन्ने कुराको उदाहरण हो यो।

अरु एक दुईजना नेपाली मुलका व्यक्ति पनि अमेरिकामा राजनीतिक सार्वजनिक पदमा छन्, तर त्यो कि सानो गाउँ र नगरको टोलमा सिमित छ, कि प्राईमरि पनि नजित्ने ठाउँमा चुनाव लडेका केही उम्मेदवारहरुमा। त्यस्तो प्राईमरि पनि नजित्ने उम्मेदवारहरुको चुनावी किस्साले कतिपयबेला नेपलीहरुलाई यो जीतबारे पनि भ्रमित पारेको छ। अलिकति प्रष्ट्याउँ– उम्मेदवार आफैले आफ्नो उम्मेदवारी घोषणा गरेर, चुनाव प्रचार प्रसार आफैले गरेर, आफ्नो दल (अमेरिकी सन्दर्भमा डेमोक्र्याट या रिपब्लिकन, अरु साना ग्रीन दल वा स्वतन्त्र उम्मेदवार नभएको अवस्थामा) को रजिष्टर्ड भोटर्सबाट धेरै भोटले जितेपछि मात्र सम्बन्धित दलले अन्तिम चुनावका लागि दलको तर्फबाट उम्मेदवार स्वीकार्छ। अन्तिम चुनाव हुनुभन्दा अघि हुने चुनाव प्राईमरी चुनाव हो। प्राईमरी र फाईनल दुबै चुनाव सम्बन्धित प्रदेशको चुनाव आयोगले नियमन गर्छ। मात्रै फरक के छ भने प्राईमरीमा (धेरैजसो प्रदेशमा) रजिष्टर्ड भोटर्सले मात्र भोट हाल्छन्।

दोस्रो, डिसी, अब झन् नजिक बनेको छ। उसै पनि अन्नापलिसबाट डिसी टाढा हैन। मतलव, भण्डारी राष्ट्रपति नै भैहाल्छन भनेको हैन। बसाई सरेर आएका नागरिक हुनाले उनको त्यस तर्फको राजनीतिक यात्रालाई अमेरिकी कानूनले नै छेक्छ। तर राजनीतिक पहुँच र त्यसबाट हुनसक्ने कुटनीतिक सम्बन्ध विस्तारको संभावना भने अझ विस्तार हुन सक्नेछ। बेल्ट वे र डिसीका करिडरहरुसम्म सम्बन्ध बढाउन सजिलो हुनेछ।

यो चुनावभन्दा करिब महिना दिन अघि, अक्टोबरको दोस्रो साता, भण्डारीको चुनावी सभाका एकजना वक्ता थिए सिनेटर क्रिस भ्यान होलन। भण्डारीको चुनावी क्षेत्र बल्टिमोरमा आयोजित त्यो चुनावी कार्यक्रममा सिनेटर भ्यान होलनले भने, ‘अमेरिकन ड्रिम के हो भनेर कसैले सोध्छ भने त्यो ह्यारी भण्डारी हो।’

त्यसको अर्थ थियो– केही वर्ष अघि मात्र अमेरिका आएका भण्डारीले पव्लिक स्कूल पढाए, जन्स हप्किन्स विश्वविद्यालय पढे। अहिले पनि उनी यूनिभर्सिटी अफ मेरिल्याण्ड बल्टिमोर काउन्टि (यूएमबीसी) मा विद्यावारिधी सोधरत छन्। र राजनीतिमार्फत समाजको सेवा गर्न अग्रसर छन्। यस्तो संभावना अमेरिकामा मात्र संभव छ भन्ने अर्थमा भ्यानहोलनले थपे, ‘भण्डारीलाई हामीले साथ दिनुपर्छ।’

भण्डारीले चुनावी एजेण्डा तय गरे– सुलभ शिक्षा, स्वास्थ्यमा सरल पहुँच। सरकारी स्कूलका शिक्षक भण्डारी चुनाव प्रचारमा दिनरात खटिए। मतदाताको घरघरमा पुगे, ढोका नक गरे। जो भेटिन्छन् साथ र भोट मागे, नभेटिनेको घरमा सानो चिट छोडे– ‘यसपल्ट तपाईंसँग भेट हुन सकेन, अर्को पल्ट पक्कै भेट हुनेछ– भण्डारी।’

साँझ घर फर्किंदा उम्मेदवारले हातले लेखेको चिट ढोकामा झुण्डिएको भेट्टाउनु भोट हाल्नेका लागि हार्दिकताको संकेत भयो। तिनले खोजे– को हो भण्डारी, के छन् उनका चुनावी मुद्दा?

सहयोगी स्वयंसेवीहरुले चोक चोकमा उभिएर प्लेकार्ड देखाए– ह्यारि भण्डारीः टिचर फर डेलिगेटस्।

यहाँको समाजमा नाम सुनिनु र नाम चिनिनु ठूलो कुरा हो। उम्मेदवार देख्ने त परै रह्यो, नाम सुनेको भए पनि पुग्यो।

सिनेटर क्रिस भ्यान होलनले पनि भण्डारीलाई आफू समर्थित (ईन्डोर्स्ड क्यान्डिडेट) उम्मेदवारका रुपमा घोषणा गरे।

आखिर मतदाताको बीचमा नाम चिनियो, मुद्दा मन पर्‍यो। र, भण्डारीले चुनाव जिते।

अमेरिकी चुनावमा कसले कसलाई ईन्डोर्स (समर्थन) गरेको छ भन्ने कुराले अर्थ राख्छ। त्यसैले मिडिया र अखबारहरुले पनि आफु समर्थित उम्मेदवार भनेर चुनावमा घोषणा गर्छन्।

भ्यान होलन मेरिल्याण्डलाई अमेरिकी सिनेटमा प्रतिनिधित्व गर्छन्। तपाईं लिवर मिडिया फलो गर्नुहुन्छ भने डेमोक्र्याट दलका यी प्रभावशाली सिनेटरलाई प्रशस्तै सुन्न र पढ्न पाउनुहुन्छ। यस्ता प्रभावशाली सिनेटरहरु र वेल्ट वे ईनसाईडर्स अब टाढा रहेनन्।

तपाईंलाई लाग्ला एकजना सिनेटरसँगको सम्बन्धले के फरक पार्ला? परे अरु पनि चिनिएलान नि।

कुरा एक जनाको हैन, चिनजानको हो। र यहाँ चिनजान कठीन छ। यस्तो सामाजिक संरचना बनेको छ कि तपाईं आफू बाहेक अरु कसैलाई पनि चिन्न सक्नुहुन्न। त्यसैले चिनजानको महत्व छ।

हामी चिनजान र त्यसबाट हुने लाभलाई नातावाद र के के वाद भन्छौं। चिनजान त जता पनि काम लाग्छ नै। आखिर मानिसका केही साझा स्वभाव त हुने नै भए, त्यस्तो साझा स्वभावमा हामी एउटै नै हौं, संसारको जुन कुनामा बसे पनि। यता त्यसैलाई ‘नेटवर्क’ भन्छन्, त्यसलाई सकारात्मक सोच्छन्।

यस्तो चिनजानबाट मिल्न सक्ने लाभ पैसमा होइन, नदेखिने गरि वा ढिलो भइराखेको हुन्छ। भनिन्छ नि कुटनीति सीधा रेखामा हैन बाङ्गो टिङ्गो रेखामा हिंड्छ।

यस्तो चिनजानलाई नेपाली मुलका अमेरिकन, र परेको खण्डमा नेपाली राजनीतिक नेता वा दलले कति र कसरि उपयोग गर्न सक्छन् त्यो सम्बन्धित व्यक्तिमा भर पर्ने कुरा हो। त्यस्तो सम्पर्क पहिला थिएन भन्ने आसय होइन, जति थियो। त्यसमा अर्को इँटा थपिएको चाहिं पक्कै हो। नेपाली नेताहरूका लागि पनि संयुक्त राष्ट्रसंघको साधारणसभा आसपास र अरु कुनै बेला अमेरिका भ्रमणमा पुग्दा खासै अर्थ नराख्ने कोठे गफमा समय खेर फाल्नुभन्दा, या सपिङ कम्प्लेक्स चाहारेर बिताउनु भन्दा कुटनीति र सम्बन्ध विस्तारको आयाम खोज्नु जाति हुन सक्ला। 

र तेस्रो, यो चुनाव नेपाली मुलका अमेरिकीहरुका लागि शिक्षा हो। अमेरिकामा नेपाली समुदाय त्यती ठूलो छैन। भुटानी मुलका नेपाली भाषीलाई समेट्दा पनि त्यो त्यती ठूलो समुदाय बन्दैन। त्यसमाथि भोट हाल्ने अधिकार पाइसकेकाहरुको संख्या त झनै सानो छ। अझ भण्डारीले चुनाव जितेको क्षेत्र त अधिक स्वेतहरुको बसोबास भएको ठाउँ हो। त्यस्तो ठाउँबाट फरक रंगको मान्छेले चुनाव जित्नु कठिन र अर्थपूर्ण छ।

चुनावी अभियानमा सहयोगका लागि अपिल गर्दै भण्डारी र श्रेष्ठ (तस्वीरः सहदेव पौडेल)

चुनावी अभियानमा सहयोगका लागि अपिल गर्दै भण्डारी र श्रेष्ठ (तस्वीरः सहदेव पौडेल)

अर्थपूर्ण यस अर्थमा कि अमेरिकी चुनाव कसरि व्यवस्थित हुन्छ, उम्मेदवारी दर्ता, चुनावी खर्च, र खर्चको हिसाव किताव। अनि त्यसको अडिट, चुनावी प्रचार प्रसार, भोटर्स आउटरिच– यी कामको जनाकारी नै पनि पहिलोपल्ट पोखरीमा हामफालेको पौडिवाजले सिकेको फर्स्ट स्ट्रोक जस्तै हो। यी कामहरु, कम्तीमा नेपाली राजनीतक दल र ने‍ताले गरेको भन्दा, बिल्कुल फरक हुन्छन्।

प्रत्येक महिना चुनावी खर्चको रेकर्ड चुनाव आयोगले अडिट गरिरहेको हुन्छ। र, चन्दा दाताले पनि त्यसको जानकारी पाइरहको हुन्छ।

सन् २०१४ मा पहिलो पल्ट चुनाव लड्दा त्यो कुरा हामी भर्खर सिक्दै थियौं। एजेण्डा कसरी तयार पार्ने, मिडिया र पब्लिकलाई कसरी ट्याकल गर्ने, अनि भेटिएका भोटर्सलाई के भनेर कन्भिन्स गर्ने।

यो चार वर्षको बीचमा त्यो चुनावी चेत अलि पाको भयो। त्यसमाथि भण्डारी आफै पनि ‘नेपाली फर हिलरी’ र अरु राजनीतिक गतिबिधिमा निरन्तर लागिरहे। लागेपछि नछोड्ने, टुंगोमा पुर्याएरै छोड्ने बानीले पनि उनलाई साथ दियो।

यसपल्ट चुनावको दिन म गोरा मतदाताबहुल एउटा चुनावी केन्द्र– गनपाउडर स्कूलमा थिएँ। सबै उम्मेदवारले आ–आफ्ना प्रतिनिधी राखेका हुन्छन्। त्यस्तो केन्द्रमा, भोट हाल्न छिर्नु अघि उम्मेदवारको नाम सुनाउन उद्दत भएर बसेका हुन्छन् प्रतिनिधी। भर्खर हाइस्कूल पढ्दै गरेका नेपाली मुलका तन्नेरी भाइबहिनीहरु स्यवंसेवी थिए। भोट हाल्न आउने सबैलाई उनीहरु आफ्नो उम्मेदवारका बारेमा चिनाउँदै र भोट माग्दै थिए।

चार वर्षमा मतदाताले हाम्रा उम्मेदवारलाई चिनिसकेका थिए। तिनीहरु भन्थे – म भण्डारीलाई भोट दिन्छु।

त्यो काफी संकेत थियो जितको।

नोभेम्बर ६ को साँझ ९ बजेतिर, चुनावको नतिजा पूरा आइसकेको थिएन। झण्डै सय जनाजति स्वयंसेवी र सहयोगी भण्डारीको घर नजिकैको पार्टी हलमा जम्मा थियौं। स्थानीय चुनाव आयोगले मत गणना निरन्तर अपडेट गर्दै थियो। मत पूरा गनिनसक्दै मतान्तरको आधारमा जित यकिन भो।

उपस्थित सहयोगीहरुको माझमा भण्डारीले भने, ‘हामीले चुनाव लडेका थियौं, जित्यौं।’

र, राजनीतिक यात्राको निरन्तरताको संकेत गरे, ‘फेरि पनि हामी चुनाव लड्ने छौं।’

सहभागीहरु सुनिरहे। त्यो जमातमा तन्नेरीहरु बढी थिए– पहिलो पुस्ताका नेपाली अमेरिकी, र दोस्रो पुस्ताका नेपाली अमेरिकीहरु– दिउँसो चुनावी केन्द्रमा मैले भेटेका भाइबहिनीहरु पनि।

कतिपय तन्नेरीलाई यो जितले हौसला थपिसकेको थियो। सबै स्वयंसेवी, खासगरि युवा पुस्तालाई राजनीतिप्रति रुचि नहुन सक्छ तर त्यसबाट एक दुई जना मात्र निस्कियो भने पनि त्यो राम्रै हुनेछ– समाजका लागि र सबैका लागि।

मेरो बुझाई छ, यहाँको राजनीतिको मुलधारमा संलग्न हुने नेपाली मुलका अमेरिकीहरुको संख्या आउँदा दिनमा झन बढ्ने छ। र, मेरिल्याण्डका नेपाली अमेरिकीले सिकेको यो चुनाव जित्ने काइदा आउँदा पिढिका लागि उपयोगी बन्ने छ।

 

प्रकाशित ८ मंसिर २०७५, शनिबार | 2018-11-24 12:01:57
Max TV
Max TV
Zen Travels
Vianet

author photo

नारायण श्रेष्ठ बीबीसी साझा सवालका पूर्व सञ्चालक हुन्। हाल अमेरिकामा रहेका उनी २०१४ देखि नै भण्डारीको चुनावी अभियानमा संलग्न थिए

@NrnShrestha


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
Mega Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • मूर्ति हातमा लिएका प्रम ओली

    सुन्दरीचोकको एउटा मूर्तिबारे प्रम ओलीको प्रश्नमाथि प्रतिप्रश्न

    त्यहाँ मल्लकालीन रानीहरुले नुहाउने पोखरी पनि छ, जुन ‘रोयल बाथ’ नामले चिनिन्छ। तत्कालिन राजा सिद्धिनरसिँह मल्लले निर्माण गरेको सो पोखरीमा एकछिन...

  • अर्थ मन्त्रालय

    एक वर्षमा नेपालले पायाे १ अर्ब ६२ करोड अमेरिकी डलर वैदेशिक सहायता

    एक वर्ष अवधिमा नेपालले १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर वैदेशिक सहायता रकम प्राप्त गरेको छ।

  • जर्मन सेफर्ड कुकुरको साथमा बम्जनको सिन्धुपाल्चोक आश्रमबाट हराएका सञ्चलाल वाईबाको खोजी गर्दै प्रहरी

    बम्जनको आश्रमबाट प्रहरी कुकुरले भेट्टायो संकेत, थप परीक्षणपछि खुलासा

    प्रहरीले तपस्वी भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा केही घटना भएको आशंकासहित थप अनुसन्धान अघि बढाएको छ।

  • काठमाडौंका एकजना बाइकधनी टुटल टुडे अन्तर्गत भाडाका यात्रु बोक्ने क्रममा

    सिंहदरबार पस्यो टुटल र पठाओको बहस, केही दिनमै निर्णय

    दुई पाङ्ग्रे ट्याक्सीको उपमा पाएका टुटल र पठाओ यातायात सेवालाई नियमन र अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल सुरु भएको छ।