सिनेमाले संस्कृति बोक्छ, बचाउँछ, बनाउँछ

आजका सिनेमा बजारका कठपुतलीजस्ता लाग्छन् किनभने सिनेमा–उद्योगमा बजारका नियम आरूढ छन्




युवा अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी शाह
युवा अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी शाह
मुभीमान्डु

‘हम आप के हैं कौन’, ‘दिल तो पागल है’, ‘हम दिल दे चुके सनम’जस्ता सिनेमा प्राचीन रङ्गमञ्चको ध्रुव गीत परम्पराको अनुगामी नभएर भूमण्डलीकृत भारतको उदयीमान उपभोक्तावादी संस्कृतिको प्रतिनिधि दृष्टान्त हुन्

सिनेमा र संस्कृतिबीच घनिष्ट सम्बन्ध छ। सिनेमा आफै एक सांस्कृतिक उत्पादन भएकाले संस्कृतिसँग अलग गरेर यसको विश्लेषण– मूल्याङ्कन सम्भव छैन। संस्कृतिसँग गहिरोसँग जोडिएको कला रूप भएका कारण सिनेमा र संस्कृतिबीच सम्बन्धका विविध पक्ष छन्। सिनेमा र संस्कृति दुवैले एक–अर्कालाई गम्भीर रूपमा प्रभावित गर्दै आएका छन्। संस्कृतिको संवहन, संरक्षण र निर्माणमा सिनेमाको महत्वपूर्ण भूमिका रहन्छ। अर्को भाषामा सिनेमाले संस्कृति बोक्छ, बचाउँछ र बनाउँछ।

सिनेमाले संस्कृति कसरी बोक्छ?

संस्कृतिका भौतिक अभौतिक दुवै रूपको सिनेमाले संवहन गर्छ। सिनेमाले संस्कृतिको संवहन गर्ने भएकाले यसलाई संस्कृतिको वाहिकाको रूपमा उल्लेख गरिन्छ। रबर्ट एलेनका अनुसार सिनेमालाई सांस्कृतिक दस्तावेजका रूपमा उललेख गर्दै अमेरिकी सिनेमाले अमेरिकी समाजको मूल्य एवं विश्वासलाई व्यक्त र संवहन गर्छ। मूल्य एवं विश्वास अभौतिक संस्कृतिभित्र पर्छन्। अमेरिकी सिनेमाका माध्यमबाट अमेरिकी संस्कृतिको विश्वव्यापी रूपमा प्रचार प्रसार गर्ने कार्य गरिएको छ र यसको व्यापक प्रभाव पनि परेको छ। विश्वव्यापी रूपमा अमेरिकी संस्कृतिको वर्चश्वको निर्माणमा अमेरिकी सिनेमाहरूले निकै ठुलो भूमिका सम्पादन गरेका छन्। ललित जोशी भारतीय सिनेमालाई भारतीय राष्ट्रिय संस्कृतिको पक्षपोषकका रूपमा उल्लेख गर्छन्। भारतीय संस्कृतिको संवहनमा भारतीय सिनेमाहरूले अविस्मरणीय भूमिका खेलेका छन्।

आज विश्वव्यापी रूपमा उपभोक्तावादी संस्कृतिको जे–जस्तो प्रभाव छ, यसमा सिनेमाको ठुलो भूमिका छ। विश्वव्यापी रूपमा यस संस्कृतिको संवहन गर्नमा सिनेमाले धेरै ठुलो योगदान दिएको छ। जवरीमल्ल पारखले यस यथार्थलाई दृष्टिगत गर्दै सिनेमालाई उपभोक्तावादको प्रचारको साधन र साध्य दुवै मान्छन्। उपभोक्तावाद समकालीन पुँजीवदको सांस्कृतिक रूप हो। आजका अधिकांश सिनेमाहरू उपभोक्तावादी संस्कृतिको प्रचारका प्रभावकारी माध्यम हुन्। हलिउड सिनेमा यसमा सबैभन्दा अगाडि छन्। उपभोक्तावादी संस्कृतिको विश्वव्यापी प्रचारप्रसारमा हलिउड सिनेमाले निर्वाह गरेको भूमिका आश्चर्यलाग्दो छ। उपभोक्तावादी संस्कृतिको संवहन मात्र नभएर सिनेमा स्वयंको उद्देश्य उपभोक्तावाद रहेकाले पारखले यसलाई उपभोक्तावादको प्रचार साधन र साध्य दुवै ठान्छन्।

सिनेमाले संस्कृतिको व्यापक परिधिभित्र विद्यमान रहने सबै सांस्कृतिक धाराहरूको संवहन गर्छ। आदिम प्रकृतिपूजक संस्कृतिदेखि संस्कृतिका विविध रूपहरू यसभित्र पर्छन्। सिनेमाले अन्धविश्वास, रूढी, गलत परम्परा, प्रथा आदिको संवहन पनि गरेको छ भने यस विरोधी प्रगतिशील सांस्कृतिक चेतनाको संवहन पनि गरेको छ। सिनेमाले कस्तो संस्कृतिको संवहन गर्छ भन्ने कुरा मूलतः निर्मातामा भर पर्छ। यसपछि मात्रै निर्देशक, पटकथा लेखक आदि आउँछन्। सामान्यतः सिनेमा निर्माताको दृष्टिकोण र चाहना अनुसार बन्छ र उसका व्यावसायिक हितहरूद्वारा निर्देशित हुन्छ। सिनेमाले संवहन गर्ने संस्कृतिको रूप पनि यसैद्वारा निर्धारित हुन्छ। अरूले यसमा थप योगदान मात्र दिन्छन्। माधवप्रसादका अनुसार ‘हम आप के हैं कौन’, ‘दिल तो पागल है’, ‘हम दिल दे चुके सनम’जस्ता सिनेमा प्राचीन रङ्गमञ्चको ध्रुव गीत परम्पराको अनुगामी नभएर भूमण्डलीकृत भारतको उदयीमान उपभोक्तावादी संस्कृतिको प्रतिनिधि दृष्टान्त हुन्। उनले ‘बंटी और बाबली’ र ‘गुरू’ मा रहेका आइटम गीत र नृत्यको चर्चा गर्दै यी शृङ्गारिकता र नृत्यका प्रतीक नभएर दर्शकलाई नृत्यङ्गनाको कामुक शरीरप्रति गीत नसकिउन्जेल स्कोपोफिलिया ग्रसित एक चञ्चल बायरमा बदल्ने एक माध्यम हुन् भनेका छन्। यी सिनेमाहरू मूलतः निर्माताका उपभोक्तावादी दृष्टिकोण र व्यावसायिक हितहरूसँग गाँसिएका छन्।

सिनेमाले गर्ने संस्कृतिको संवहनमा राज्यको भूमिका पनि हुन्छ। रूढीवादी सामन्ती एवं धार्मिक राज्यसत्ता भएका मुलुकहरूमा सिनेमा निर्माणमा राज्यको बलियो नियन्त्रण रहन्छ। त्यस्ता मुलुकहरूमा राज्यद्वारा निर्मित नीतिनियमहरूभन्दा बाहिर गएर सिनेमाको निर्माण सम्भव हुन्न। यस्ता नीतिहरू कठोर हुन्छन् र ती सत्ताका व्यापक हितहरूसँग गाँसिएका हुन्छन्। सिनेमाले संवहन गर्ने संस्कृति पनि यसैअनुरूप निर्धारित हुन्छ। सैनिक शासनसत्ता भएका मुलुकहरूको स्थिति अझ कठोर हुन्छ। लोकतान्त्रिक मुलुकहरूमा पनि सिनेमासम्बन्धी राष्ट्रिय नीतिहरू हुन्छन् र तिनको प्रभाव सिनेमाले गर्ने संस्कृतिको संवहनमा पनि पर्छ। कम्युनिष्ट मुलुकहरूमा मूलतः कम्युनिष्ट ध्येयअनुरूप सिनेमाको निर्माण गरिन्छ र त्यसले संवहन गर्ने संस्कृति पनि त्यसैअनुरूपको हुन्छ। मोटो रूपमा भन्दा सिनेमाले पुरातन र नवीन, जीवनपक्षीय र जीवनविरोधी, कुरूप र सुन्दर, वैज्ञानिक र अवैज्ञानिक, उदात्त र अनुदात्त गरेर सबै प्रकारका संस्कृतिको संवहन गर्दै आएको छ।

नेपाली सिनेमा कुसुमे रुमालको पोस्टर

नेपाली सिनेमा कुसुमे रुमालको पोस्टर

सिनेमा उद्योगमा संस्कृतिको संवहनका सम्बन्धमा बहसको एक लामै परम्परा छ। कस्तो संस्कृतिको संवहन गर्ने र कस्तो संस्कृतिको संवहन नगर्ने भन्ने कुरा सिनेमा निर्माणका ध्येयहरूसँग जोडिएका हुन्छन्। समकालीन सिनेमाको धेरै ठुलो हिस्साले उपभोक्तावादी संस्कृतिको संवहन गरेको छ र यो मूलतः व्यावसायिक हितहरूसँग जोडिएको छ। आजका सिनेमा बजारका कठपुतलीजस्ता लाग्छन् किनभने आज सिनेमा–उद्योगमा बजारका नियम आरूढ छन्। आजका व्यावसायिक सिनेमाले संवहन गरिरहेको उपभोक्तावादी संस्कृति र त्यसको दुष्प्रभावलाई दृष्टिगत गर्दै फिडेल क्यास्ट्रोले त आजका सिनेमाहरूले धेरै व्यावसायिक छन् र व्यावसायिक सिनोमेटोग्रोफीका माध्यमबाट मानिसको मस्तिष्कमा विष भरिरहेका बताउँछन्। सिनेमा मनुष्यको स्वप्न संसार, मानवीय भावना एवं संवेगलाई सम्पूर्णतामा प्रतिबिम्बित गर्ने सर्वोत्तम माध्यम हो भन्ने लुई बुनुएलको मार्मिक कथन आज थोरै सिनेमाहरूका हकमा मात्र लागू हुन्छ। बेञ्जामिनले यान्त्रिक युगमा कला मानवीय स्पर्शका दृष्टिले कमजोर हुँदै जान थालेकाले आभाहीन हुँदै जान थालेको उल्लेख गरेका छन्। सिनेमा एक प्रभावकारी दृश्य कला रूप भएका कारण बेञ्जामिनको कथन यस कला रूपको सन्दर्भमा अझ बढी लागू हुन्छ। सिनेमा मात्र होइन कलाका अन्य रूपहरू पनि मानवीय स्पर्शको दृष्टिले कमजोर पाइन्छन्। एडोर्नो र होर्किमारले औद्योगिक पुँजीवादको विकासका कारण कलाको चरित्र विकृत हुँदै गएको उल्लेख गरेका छन्। सिनेमा उद्योगमा उपभोक्तावाद र मुनाफाको केन्द्रीय प्रभाव सिनेमाको चरित्रलाई विकृत गर्ने एक मुख्य कारण हो।

सिनेमाले संस्कृतिको संवहन बिना सचेतता, बिना योजना र बिना उद्देश्य कहिल्यै गरेको पाइन्न। संस्कृतिको संवहन वैचारिक सचेततापूर्वक गरिनु यसको खास विशेषता हो। यही वैचारिक सचेतता सहित निश्चित उद्देश्यका निम्ति सिनेमाका माध्यमबाट संस्कृतिको संवहन गरिन्छ र आफ्ना सांस्कृतिक ध्येयहरूको पूर्ति गरिन्छ। सांस्कृतिक ध्येयहरू आर्थिक–राजनीतिक हितहरूसँग जोडिन्छन्। अमेरिकी संस्कृतिको संवहन अमेरिकाका आर्थिक, राजनीतिक, सैनिक हितहरूसँग जोडिएका छन्। डेभिड सुसन अमेरिकाको विश्वव्यापी राजनीतिक र सैनिक वर्चश्व सांस्कृतिक वर्चश्वको आधार पनि हो भन्छन्। उनी सांस्कृतिक बजारमा अमेरिकी वर्चश्व बढिरहेको उल्लेख गर्दै मानिसहरू अमेरिकी किताब पढिरहेका, अमेरिकी फिल्म हेरिरहेका, अमेरिकी सङ्गीत सुनिरहेका र अमेरिकी भेषभूषा एवं बानी बेहोराको नक्कल गरिरहेका पाइन्छन् तर उनीहरूसँग आफ्नो भन्नु त्यस्तो केही हुन्न भन्ने मार्मिक यथार्थ प्रस्तुत गर्छन्। यस दृष्टान्त मात्रैले पनि संस्कृतिको संवहनको ध्येयलाई स्पष्ट गर्दछ र त्यसका पछि खास विचारहरूले काम गरिरहेका हुन्छन् भन्ने वास्तविकतालाई स्पष्ट गर्दछ। संस्कृतिको संवहनका पछाडि त्यसको विस्तार, समृद्धि, पहिचान, वर्चश्व जस्ता अभिप्रायहरू निहित हुन्छन्। हलिउड सिनेमाको प्रभावलाई कसरी न्युन गर्न सकिन्छ भन्ने कुरामा स्वयं युरोपेलीहरू गम्भीर देखिन्छन्। कुनै कुनै बेला त यो गम्भीरता हलिउड सिनेमामाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने मागसम्म पुगेको पाइन्छ। यो चिन्ता सांस्कृतिक सरोकारहरूसँग जोडिएका पाइन्छ।

सिनेमाले संस्कृति कसरी बचाउँछ?

सिनेमाले संस्कृतिको संवहन मात्र गर्दैन, संरक्षण पनि गर्छ। संस्कृतिको संरक्षणका सन्दर्भमा राज्यले गर्न नसकेका कतिपय कार्य सिनेमाले गरेको पाइन्छ। सिनेमाका माध्यमबाट संस्कृतिप्रति व्यक्त गरिने गहिरो आस्था, प्रेम र दर्शाइने महत्वका कारण मानिसमा संस्कृतिप्रति आस्था, प्रेम र सम्मानमा वृद्धि हुन्छ। यसले संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका सम्पादन गर्छ। सिनेमाले संस्कृतिको संरक्षणमा भूमिका सम्पादन गर्ने भनेकै वैचारिक, भावनात्मक एवं मनोवैज्ञानिक रूपमा हो। अमेरिकी सिनेमाले अमेरिकी संस्कृतिको संरक्षणमा योगदान दिएका छन्। उपभोक्तावादी संस्कृतिको संरक्षणमा अमेरिका सिनेमाहरूको निकै धेरै योगदान रहेको छ। सांस्कृतिक साम्राज्यवादको संरक्षणका बलिया आधारका रूपमा पनि हलिउड सिनेमाहरू रहेका छन्। अफ्रिकी र युरोपेली सिनेमाहरूले अफ्रिकी र युरोपेली संस्कृतिको संरक्षणमा योगदान दिएका छन्। नेपाली सिनेमाले नेपाली संस्कृतिको संरक्षणमा योगदान दिएका छन, आदिवासी, जनजाति सिनेमाहरू यस विषयमा अझ बढी सक्रिय देखिन्छन्। नेपालमा मात्र होइन संसारभरि नै आदिवासी जनजातिसँग सम्बन्धित सिनेमाहरू उनीहरूको संस्कृतिप्रति बढी गम्भीर र सचेत देखिन्छन्।

समकालीन विश्वमा पहिचान महत्वपूर्ण विषय बनेको छ। पहिचान सबैभन्दा बढी संस्कृतिसँग सम्बन्धित रहेको छ। संस्कृति मनुष्यको अहंसँग गाँसिएको छ। जेएच मिडका अनुसार मनुष्यको अहंको निर्माण सामाजिक गतिविधि एवं अनुभवको प्रक्रियामा हुन्छ भनेका छन्। संस्कृति मनुष्य निर्मित दोस्रो प्रकृति हो। यो मनुष्यको सामाजिक गतिविधि एवं अनुभवहरूसँग गहिरो गरी जोडिएको छ। भूमण्डलीकरण र सांस्कृतिक अतिक्रमण तिव्र भएको आजको समयमा पहिचानको पैरवी गम्भीर रूपमा भएको पाइन्छ र यसले आफ्नो अहं र स्वको पर्यायका रूपमा रहेको संस्कृतिलाई उच्च महत्व प्रदान गरेको देखिन्छ। फलतः अस्मिताको सङ्कट झेल्दै गरेका समुदायले आफ्नो संस्कृतिको संरक्षणलाई उच्च प्राथमिकता दिएका छन् र यसका निम्ति सिनेमा जस्तो कला रूपलाई प्रयोग गर्ने गरेका छन्। आज संसारमा पहिचानलाई केन्द्रमा राखेर सयौँ सिनेमाहरू निर्माण भएका छन्। भौतिक–अभौतिक दुवै प्रकारका संस्कृतिको संरक्षणमा सिनेमाले योगदान दिन्छ र दिएको छ।

नेपाली सिनेमा नुमाफुङको पोस्टर

नेपाली सिनेमा नुमाफुङको पोस्टर

समाजमा विद्यमान संस्कृतिका सबै धाराहरूको संरक्षणमा सिनेमाको भूमिका रहेको छ। सिनेमाको विषयवस्तु, दृष्टिकोण, भावभूमि र उद्देश्य अनुरूप तिनले यस दिशामा कार्य सम्पादन गरेका छन्। सबै सिनेमाहरूले एकै खाले संस्कृतिको संरक्षणमा आफूलाई लगाएको पाइँदैन र यसो हुन सम्भव पनि छैन। संस्कृतिको संरक्षणमा सिनेमाको प्रयोग योजनाबद्ध रूपमै गरिन्छ र यसमा दृष्टिकोणको कुरा प्रमुख रहन्छ। कस्तो संस्कृतिको संरक्षण गर्ने र कस्तोको नगर्ने, कसलाई भत्काउने र कसलाई नभत्काउने भन्ने कुरा दृष्टिकोणसँग सम्बन्धित रहन्छ। दिनेश श्रीनेत सोभियत रूसमा सिनेमाको विकास एक अलग धारणासहित भयो र यसको उद्देश्य एक भिन्न संस्कृतिको निर्माण र संरक्षण गर्नु थियो भन्छन्। समाजवादी क्रान्तिपछि समाजवादी संस्कृतिको निर्माण र संरक्षण सोभियत सिनेमाको एक मुख्य उद्देश्य बन्यो। संस्कृति सम्पूर्ण भौतिक तथा आत्मिक मूल्यहरूको योग भएकाले यो समाजको आर्थिक, भौतिक जीवनसँग गाँसिन्छ र आर्थिक भौतिक जीवनमा आउने परिवर्तनले यसलाई पनि प्रभावित गर्छ। फलतः संस्कृतिको आधारभूत चरित्र आर्थिक, भौतिक जीवनद्वारा निर्धारित हुन्छ। सामन्तवादी समाजमा मूलतः सिनेमाले सामन्तवादी संस्कृतिको संरक्षणमा भूमिका सम्पादन गर्छ। नेपालमा बनेका अधिकांश सिनेमाले यही भूमिका सम्पादन गरेको पाइन्छ। स्वर्ग–नर्क, पाप–पुण्य, धर्म–कर्म, भाग्य, पुनर्जन्म आदिप्रतिका विश्वासले नेपाली सिनेमाहरू भरिएका पाइन्छन्। यिनको आलोचना होइन, समर्थन अधिकांश नेपाली सिनेमाहरूको विशेषता हो। नेपाली समाजमा विद्यमान सामन्तवादी सांस्कृतिक मूल्यहरूको संरक्षणमा नेपाली सिनेमाहरूको धेरै ठुलो भूमिका रहेको छ। थोरै मात्र नेपाली सिनेमाहरूले नेपाली संस्कृतिका उज्याला पक्षका साथसाथै राष्ट्रिय, प्रगतिशील एवं वैज्ञानिक संस्कृतिलाई महत्व दिएको देखिन्छ।

पुँजीवादी समाजमा बनेका अधिकांश सिनेमाहरूले कुनै न कुनै रूपमा पुँजीवादी संस्कृतिको संरक्षण्मा योगदान पु¥याएका छन्। उपभोक्तावादी संस्कृतिको संरक्षणमा यस्ता सिनेमाले निर्वाह गरेको भूमिका यसको सटिक दृष्टान्त हो। पुँजीवादी संस्कृतिका पनि विविध पक्षहरू छन्। पुँजीवादी समाजमा पाइने प्रगतिशील संस्कृतिको संरक्षणमा पुँजीवादी मुलुकहरूमा निर्मित सिनेमाहरूले त्यति चासो दिएको देखिन्न। मूलतः उपभोक्तावादी संस्कृतिको संरक्षणलाई तिनले आफ्नो केन्द्रीय सरोकार बनाएका छन् र त्यसै अनुरूप भूमिका पनि सम्पादन गरेका छन्। पुँजीवादी समाजका संस्कृतिका विविध धारालाई यी सिनेमाहरूले महत्व दिन्छन् र तिनको संरक्षणमा भूमिका खेल्छन्। उपभोक्तावादी संस्कृतिको संरक्षण सबै मुलुकका सिनेमाहरूको एक साझा चरित्र जस्तै बनेको छ। भूमण्डलीकरणले यसमा विशिष्ट भूमिका सम्पादन गरेको छ। अर्जुन अप्पादुराईले भूमण्डलीकरणले कसरी सांस्कृतिक समरूपीकरण बढाइरहेछ भन्ने कुराको गम्भीर चर्चा गरेका छन्। उपभोक्तावादी संस्कृति सांस्कृतिक समरुपीकरण निर्माणको एक मुख्य आधार रहेको छ। फलतः कमवेशी उपभोक्तावादी संस्कृति सबै ठाउँमा पाइन्छ। सिनेमाहरू यस संस्कृतिको संरक्षणमा लागि परेका पाइन्छन्। सिनेमाका माध्यमबाट हुर्काइने कामनाको संसारले उपभोक्तावादी संस्कृतिको संरक्षण र विकासमा महत्वपूर्ण भूमिका खेल्छ।

सिनेमाले आआफ्ना सांस्कृतिक मूल्य परम्परामा विद्यमान उज्याला पक्षहरूको संरक्षणमा पनि उल्लेख्य योगदान दिएका छन्। सांस्कृतिक मूल्य परम्परामा उज्याला पक्षहरूको पनि एउटा शृङ्खला हुन्छ। सांस्कृतिक परम्परामा पाइने मानवीय, राष्ट्रिय एवं प्रगतिशील सांस्कृतिक धाराको संरक्षणमा सिनेमाले ऐतिहासिक भूमिका सम्पादन गरेका छन्। यस्ता सिनेमाहरूको संख्या थोरै भए पनि प्रत्येक मुलुकमा यस प्रकृतिका सिनेमाको निर्माण भएको पाइन्छ। संस्कृतिका रूपमा पाइने रूढी, कुप्रथा, अन्धविश्वास आदिको आलोचना गर्नु, उपभोक्तावादी संस्कृतिका विरूद्ध उभिनु र सांस्कृतिक परम्परामा विद्यमान उज्याला पक्षहरूलाई मात्र महत्व प्रदान गर्नु यस्ता सिनेमाहरूको विशेषता रहने गरेको छ। मनुष्यभित्र तार्किकीकरणको प्रक्रियालाई अघि बढाउन, आलोचनात्मक विवेकको विकास गर्न, वैज्ञानिक चेतनाको निर्माण गर्न, संस्कृतिलाई मनुष्यको परिष्कार, उसको उन्नायक र अघिल्तिरको यात्राको सहयोगी बनाउन यस्ता सिनेमाले सार्थक भूमिका निर्वाह गर्दै आएका छन्। सबै प्रकारका सांस्कृतिक उत्पीडनको विरोध, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्ति, साम्राज्यवादी उत्पीडनको आलोचना आदिलाई यस्ता सिनेमाहरूले महत्व दिएका पाइन्छन्। सांस्कृतिक मूल्य परम्परामा जीवित प्रतिरोधी चेतनाको संरक्षण यस्ता सिनेमाहरूको बिर्सनै नसकिने पक्ष हो। यसरी सिनेमाले संस्कृतिका सुन्दर र असुन्दर दुवै पक्षहरूको संरक्षण गर्छन् र यसमा विचारधाराले मुख्य भूमिका खेल्छ। सिनेमाको सांस्कृतिक संसार आफै बन्दैन, बनाइन्छ। सांस्कृतिक रूपमा सिनेमा आफै हिँड्दैन, हिँडाइन्छ।

सिनेमाले संस्कृति बनाउँछ, कसरी?

संस्कृति निर्माणमा सिनेमाको भूमिका अझ महत्वपूर्ण छ। कतिपयले यसलाई सामान्य रूपमा ‘सिनेमा संस्कृति’ भनेर उल्लेख गर्छन्। ‘सिनेमा संस्कृति’ संस्कृतिको कुनै विशिष्ट रूप नभए पनि सिनेमाले संस्कृति निर्माणका क्षेत्रमा जुन भूमिका सम्पादन गर्छ र त्यसबाट संस्कृतिको निर्माणमा जे जस्तो योगदान पुग्छ, त्यसैका आधारमा संस्कृति निर्माणमा सिनेमाले पु¥याउने योगदानको मूल्याङ्कन गरिन्छ। सिनेमाले मात्र होइन कलाका सबै रूपहरूले संस्कृतिको निर्माणमा कमवेशी भूमिका सम्पादन गर्दछन्। सिनेमाले अभौतिक संस्कृतिको निर्माणमा योगदान दिन्छ र दिँदै आएको छ। सिनेमा दृश्य कला रूप भएका कारण भौतिक संस्कृतिको बिम्ब सहित त्यसले आम मानिसहरूका बीचमा अभौतिक वा अमूर्त संस्कृतिलाई प्रक्षेपण गर्छ। संस्कृतिको प्रस्तुतिका क्रममा सिनेमाले त्यसमा केही नयाँ कुराहरू पनि जोड्छ। यसैबाट संस्कृतिको निर्माण पनि हुन्छ। सिनेमा जे छ त्यसलाई प्रस्तुत गर्ने कला रूप मात्र होइन, त्यसमा नयाँ जोड्ने कला रूप पनि हो।

बहुचर्चित अंग्रजी सिनेमा 'टाइटानिक'को पोस्टर

बहुचर्चित अंग्रजी सिनेमा 'टाइटानिक'को पोस्टर

सिनेमाले कस्तो संस्कृतिको निर्माण गर्छ भन्ने कुरा उसको विचारधारात्मक आधारले निर्धारित गर्छ। सबै प्रकारका सिनेमाहरू कुनै न कुनै विचारधारात्मक जगमा अडिएका हुन्छन्। कला सिनेमा होऊन् वा प्रयोगवादी, यथार्थवादी, अभिव्यञ्जनावादी सिनेमा होऊन्, अपराध सिनेमा होऊन् वा डिजास्टार सिनेमा, साइन्स फिक्सन वा अन्य कुनै प्रकृतिका सिनेमाहरू होऊन् सबै सिनेमाहरू कुनै न कुनै विचारधारात्मक जगमा उभिएका हुन्छन् र मूलतः तिबाटै निर्देशित हुन्छन्। दृष्टिकोणविहीन कुनै सिनेमा हुँदैनन्। विशुद्ध व्यावसायिक भनिने सिनेमाहरूले मनोरञ्जन मात्र प्रदान गर्दैनन्, विचार प्रवाह पनि गर्छन्। यही विचारले संस्कृतिको प्रस्तुति र नयाँ संस्कृतिको निर्माणमा महत्वपूर्ण योगदान दिन्छ। यसैले सिनेमाले प्रस्तुत र निर्माण गर्ने संस्कृतिलाई सिनेमाको वैचारिक परिप्रेक्ष्यबाट अलग गरेर हेर्न सकिन्न। यसैकारण सबै सिनेमाले एकैखाले संस्कृतिको निर्माणमा योगदान दिँदैनन्। विचारधारात्मक आधारअनुसार तिनले निर्माण गर्ने संस्कृति पनि भिन्नभिन्न हुन्छन्।

आजका अधिकांश सिनेमाले उपभोक्तावादी संस्कृतिको निर्माण गरेका छन्। अनवर जमालका अनुसार आजको सिनेमामा निर्माणपूर्व नै पहिले एक ‘प्याकेज डिल’ गरिन्छ, जसमा सिनेमाका लेखक, निर्देशकभन्दा ‘मार्केट रिसर्च’ गराउने कम्पनीको भूमिका बढी महत्वपूर्ण हुन्छ। उनी त्यस कम्पनीले अठारदेखि पच्चीस वर्ष बीचका युवाहरूले के सोचिरहेछन्, उनीहरूका बीचमा कस्तो फेसन लोकप्रिय छ, उनीहरू के कस्ता कुरा सुन्न र हेर्न रूचाउँछन्, उनीहरू कस्तो भेषभूषा र भाषाको प्रयोग गर्छन् र उनीहरू कस्तो सपना देख्छन् भन्ने कुरा निर्माता निर्देशकलाई बताउँछन् र त्यसले उनीहरूमा निर्णायक प्रभाव पार्छ भन्छन्। सिनेमाले यसैअनुसार आफ्नो सिनेमामा सांस्कृतिक पर्यावरणको निर्माण गर्छ, जसले युवाहरूलाई आकर्षित र प्रभावित गर्छ। यसभित्र कस्तो हाउभाउ, कस्तो बोलीभाषा, कस्तो फेसन, कस्तो जीवनशैली, कस्तो आचार व्यवहार आदि निर्माण गर्ने भन्ने कुराहरू पर्छन्। सिनेमाका माध्यमबाट कैयौँ यस्ता सांस्कृतिक प्रतीकहरूको उत्पादन गरिन्छ, जसले समाजको सांस्कृतिक जीवनमा गम्भीर प्रभाव पार्दछ। सिनेमाका कलाकारहरू स्वयं एक नयाँ सांस्कृतिक प्रतीकका रूपमा सिनेमामा प्रस्तुत हुन्छन्, जसको अनुकरण अरूहरूबाट गरिन्छ। मल्टिप्लेक्स कल्चर उपभोक्तावादसँग जोडिएको छ। आजका व्यावसायिक सिनेमाहरूले दर्शकहरूमा कामनाको दर्शनको विकासमा महत्वपूर्ण योगदान दिएका छन्। सिनेमाबाट दर्शकले ग्रहण गर्ने सांस्कृतिक प्रभावले उसलाई मनुष्य होइन उपभोक्ता बन्न प्रेरित गर्छ। जमालको कुरा यसैसँग सम्बन्धित रहेको छ। जिया उस्लामले यस यथार्थलाई दृष्टिगत गर्दै आज सिनेमा रचनात्मक अभिव्यक्तिभन्दा एक उत्पाद वा वस्तु बनेको उल्लेख गर्छन्। सिनेमा रचनात्मक अभिव्यक्तिभन्दा बढी वस्तु बन्नुको तात्पर्य सिनेमा उपभोक्तावादबाट निर्देशित हुुनु र त्यस अनुरूपको संस्कृतिको निर्माणमा योगदान दिनु हो।

हिन्दी सिनेमा 'दिल तो पागल है' को एक दृश्य

हिन्दी सिनेमा 'दिल तो पागल है' को एक दृश्य

आजको सिनेमामा बजार निर्णायक हुँदै गएको छ। सिनेमाको लोकप्रियता सिनेमाको गुणवत्तासँग सम्बन्धित नभएर कतिपय बाहिरी तत्वहरूसँग सम्बन्धित हुन्छ। जवरीमल्ल पारख अभिनेताहरूको ‘मर्द’ छवि, अभिनेत्रीहरूको ‘यौन सौन्दर्य’, हिंसाका उत्तेजक दृश्यहरू, नृत्य र सङ्गीतको उन्मादपूर्ण प्रयोग लोकप्रिय सिनेमाका अनिवार्य तत्व बनेको चर्चा गर्दै यी सबलेै सिनेमाले निर्माण गर्ने उपभोक्तावादी संस्कृतिलाई दर्शाउने बताउँछन्। सिनेमामा स्त्री देहको व्यापारीकरण उपभोक्तावादी संस्कृतिको महत्वपूर्ण पक्ष हो। यसले स्त्री देहको व्यापारीकरणका माध्यमबाट सिनेमाको व्यापारिक सफलताका निम्ति आधार तयार गर्छ। यसले स्त्रीलाई ‘कमोडिटी’ मा मात्र रूपान्तरण गर्दैन, दर्शकहरूको पनि ‘कमोडिफिकेसन’ गर्छ। ललित जोशी निर्माताहरूको उद्देश्य पुरूष दर्शकहरूलाई काम आनन्द प्रदान गर्ने गरी स्त्री देहको प्रस्तुति गर्नु हुन्छ भन्छन्। स्त्री देहको व्यापारिक प्रस्तुति आजका व्यावसायिक सिनेमाहरूको एक मुख्य चरित्र हो।

सिनेमाका माध्यमबाट प्रगतिशील सांस्कृतिक चेतनाको निर्माण पनि गरिँदै आइएको छ। सांस्कृतिक परम्पराका उदात्त पक्षहरूलाई संरक्षण र परिष्कार गर्दै प्रगतिशील संस्कृतिको निर्माणमा पनि सिनेमाहरूले महत्वपूर्ण योगदान दिएका छन्। लेनिन हाम्रा निम्ति सिनेमा सबैभन्दा महत्वपूर्ण कला रूप हो मात्र भन्दैनन् यो सामाजिक शिक्षा, संवाद र विशाल जनसंख्यालाई एकताको सूत्रमा बाँध्ने एक सशक्त साधन पनि हो भन्छन्। सिनेमाले नयाँ संस्कृतिको निर्माणमा दिने योगदानको पनि लेनिनले गम्भीर चर्चा गरेका छन् र सिनेमाले यस दिशामा महत्वपूर्ण भूमिका सम्पादन गर्नुपर्छ भनेका छन्। श्रमप्रति सम्मान, राष्ट्रप्रेम, मानवीय चरित्रको निर्माण, अन्धविश्वास र रूढीहरूको आलोचना, सत्य र न्यायको पक्षधरता, तर्क र तथ्यप्रति विश्वास, स्वतन्त्रता, समानता र सामाजिक न्यायका निम्ति सङ्घर्ष गर्नुपर्ने चेतनाको निर्माण आदि प्रगतिशील संस्कृतिका महत्वपूर्ण पक्षहरू हुन्। सिनेमाहरूले यस प्रकारको संस्कृति निर्माणमा गहकिलो योगदान दिएका छन्। सिनेमाले मानवविरोधी संस्कृतिको निर्माणमा खेलेको भूमिकाको आलोचना जीवनप्रति गम्भीर सरोकार राख्ने सिनेमाहरूमा पाइन्छ। सिनेमाले संस्कृतिको निर्माणमा योगदान दिन्छन् र तिनले कस्तो संस्कृतिको निर्माण गर्छन् भन्ने कुरा तिनको दृष्टिकोणमा भर पर्छ। नेपाली सिनेमाहरूलाई हेरे मात्र पनि यो कुरा स्पष्ट हुन्छ।
सिनेमा कलाको सबैभन्दा कान्छो रूप भए पनि संस्कृतिको संवाहक, संरक्षक र निर्माताका रूपमा यसको सर्वाधिक प्रभावकारी भूमिका छ। संस्कृतिबाट सिनेमा प्रभावित रहन्छ। सिनेमाले संस्कृतिलाई पनि प्रभावित गर्दछ। आज सिनेमा उपभोक्तावादी संस्कृतिबाट बढी प्रभावित छ र सिनेमाले पनि यसलाई प्रभावित गरेको छ। सिनेमाले आफ्नो विचारधारात्मक जगमा विभिन्न संस्कृतिको संवहन, संरक्षण र निर्माण गरे पनि सिनेमा जस्तो कला रूप मानवद्वेषी संस्कृतिको पक्षमा होइन विपक्षमा उभिनुपर्छ र यसको भूमिका सुन्दर संस्कृतिको संवहन, संरक्षण र निर्माणमा हुनुपर्छ।

प्रकाशित १० कार्तिक २०७३, बुधबार | 2016-10-26 13:44:16
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

डा. अमर गिरी कवि तथा समालोचक हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।