हलीको लौरो किन संग्रहालयमा हुँदैन, किन राजाको राजदण्डमात्र हुन्छ?


Infocus



नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली
नारायणहिटीमा रहेको राजदण्ड हेर्दै प्रधानमन्त्री केपी शर्मा ओली
फोटो: रत्न श्रेष्ठ/रासस

‘फ्रम इम्पोरर टु सिटिजन’ जस्तै ‘फ्रम अ किङ टु सिटिजन’ का रुपमा सत्य कुराहरु लेखे हुने हो। अलिक अशोभनीय ढंगले, असामयिक बोली आउनु त्यति वान्छनीय होइन। त्यो भन्दा बढी म भन्न चाहन्नँ।

घटना हेर्दा अलिक सानो जस्तो लाग्ला, तर हामी अत्यन्तै महत्वपूर्ण दिन र क्षणमा छौँ। दुनियाँ गतिशील छ। प्रकृतिपनि गतिशील छ। नेपाल पनि गतिशील छ।

लामो समयदेखि धेरै नेपाली जन्मसिद्ध श्रेष्ठता– जन्मँदै शासक हुने सिद्धान्त, दैवी शक्तिबाट शासक हुने झुठो इमानहीन सिद्धान्तका विरुद्ध लडे। त्यो सिद्धान्त, व्यक्ति वा परिवार, स्वार्थ र अहंकारको मारमा आम जनता परे। त्यसको अन्त्यका लागि दुनियाँले लड्यो, नेपालले लड्यो, नेपाली जनताले लडे।

त्यसक्रममा लखन थापा लडे, योगमाया लडिन्। कृष्णलालहरु लडे, (लक्ष्मीप्रसाद) देवकोटाहरु लडे। (बालकृष्ण) समहरु लडे, अरु थुप्रै विद्धानहरु लडे, सर्जकहरु लडे। कृष्णप्रसाद कोइरालाहरु लडे, मनमोहन अधिकारीहरु लडे, बीपी कोइरालाहरु लडे, मातृकाप्रसादहरु लडे, रामनाथ दाहालहरु लडे, १९९७ का चार जना शहीदहरु लडे, शहीद नभएका ज्यूँदा शहीदहरु लडे।

राणा शासन विरोधी आन्दोलन भयो, राजतन्त्र विरोधी आन्दोलन भयो र नयाँ परिवर्तन भयो।

गणतान्त्रिक प्रणालीको मागमा पनि अनेकन संघर्षहरु भए। गणतन्त्रको स्पष्ट माग लिएर आजभन्दा ४८ बर्षअघि म आफै एउटा संघर्षमा सामेल भएको थिएँ। ती सबै संघर्ष, योगदान र वलिदानको फलस्वरुप राजतन्त्र र राजदण्ड संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनीमा आएको छ। यसबाट शहीदहरुको सम्मान भएको छ।
०००
यस प्रसङ्गमा, इतिहासको कालखण्डमा राजतन्त्रले खेलेको सकारात्मक भूमिका, नेपालको एकिकरणमा पृथ्वीनारायण शाहको योगदान जस्ता प्रसङ्गहरुलाई पनि म स्मरण गर्न चाहन्छु। राष्ट्रियताको सवालमा राजतन्त्रले समय–समयमा खेलेको योगदान, राष्ट्रियताको सवालमा जंगबहादुरले पुर्‍याएको योगदान समेत स्मरण गर्न चाहन्छु।

तर, यसको अर्थ– इतिहासको कालखण्डमा कुनै कुरामा सकारात्मक योगदान पुर्‍याएको थियो भन्दैमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त अथवा जन्मसिद्ध शासकीय सिद्धान्त तर्कयुक्त छैन, तथ्ययुक्त छैन। जनताबाट निर्वाचित जनताको शासन नै वास्तविकता हो, यथार्थ हो, यो नै तर्कपूर्ण छ। र, यही प्रणालीमा हामी आज आइपुगेका छौँ। आजको यो दिनले सारा इतिहासको स्मरण गराउँछ। र, नेपालको परिवर्तन कहाँ पुग्यो भन्ने कुराको राम्रो तथ्य प्रस्तुत गरेको छ।

हामीले आज श्रीपेच र राजतन्त्र प्रदर्शन गर्‍यौँ। श्रीपेचको बारेमा म व्याख्या गरिरहन चाहन्नँ।

चीनका अन्तिम बादशाह पु यी भन्ने थिए। उनले ‘फ्रम इम्पोरर टु सिटिजन’ भन्ने किताब लेखे। हि वाज एन इम्पोरर फ्रम नाइन्टी थर्टी वान टु नाइन्टिन् फोर्टी फाइभ (सन् १९३१–१९४५)। हि वाज् एन पावरफूल इम्पोरर इन चाइना।

तर, फोटी फाइभ (१९४५) मा उनी अपदस्त भए। पछि उनले पुस्तक लेखे– ‘फ्रम इम्पोरर टु सिटिजन’ अर्थात् ‘सम्राटदेखि नागरिक’ सम्म। त्यो किताबमा सम्राट हुँदाका अनुभवपनि छन्, नागरिक हुँदाका अनुभवपनि समेटिएका छन्।

श्रीपेचका बारेमा तिनले लेखे– श्रीपेच किन लगाउनु पर्दछ, राजदण्ड किन हातमा लिनुपर्दछ, आफैले आफैलाई विभिन्न ठूलाठूला मानपदवी दिएर किन विभूषित गर्नुपर्दछ, अनौठा अनौठा कपडाहरु किन लगाउनु पर्दछ, अलिक कम बोल्ने धेरै सुन्ने किन गर्नुपर्दछ?

यो मेरो भनाई होइन, उनको भनाई हो– ‘बादशाहहरु भित्रबाट खोक्रा हुन्छन्, त्यो खोक्रोपन नदेखियोस्। भित्रबाट त्रसित हुन्छन्, त्यो त्रास नदेखियोस्। यही भनेर उनीहरु हातमा तरवार लिन्छन्। विशेष प्रकारको पहिरन लगाएका हुन्छन्, अनौठो पाराको श्रीपेच लगाएका हुन्छन्, जुन अरुले लगाएका हुन्नन्।’

यसरी उनीहरु यस्तो भ्रम दिइरहेका हुन्छन् कि उनीहरुसँग दैवी शक्ति छ, विशेष प्रकारको शक्ति छ।

तर शक्ति श्रीपेचमा हुँदैन, शक्ति त जनतामा हुन्छ। शक्ति राजदण्डमा होइन, जनताको मत–अभिमतमा हुन्छ। तर जनतालाई आफूपनि शक्तिशाली भनेर ठान्न नदिन, बुझ्न नदिन राजाहरुले सबै विधिहरु प्रयोग गरेका हुन्छन्।

ती चिनियाँ सम्राटले भनेका छन्– राजदण्ड बोक्ने, श्रीपेच लगाउने यी सबै अनौठो किन गर्नुपर्छ भने, त्यो खोक्रोपनलाई ढाक्नका निम्ति, त्रासलाई छोप्नका निम्ति। जनताले आफूलाई भ्रमपूर्ण ढंगले बुझोस्, त्यसका निम्ति।

तर, आज त्यो भ्रम उत्रिएको छ। र, त्यो भ्रम अब संग्रहालयमा कैद भएको छ।

जनताले फालेको–ढालेको राजतन्त्रलाई यति सुविस्ता, यति सम्मानका साथ दुनियाँमा कहीँपनि बस्न दिइएको छैन, बस्न दिइएको हुँदैन। तर, नेपालमा हामीले अत्यन्त उदार, फराकिलो लोकतन्त्र ल्याएका छौँ र अभ्यास गरेका छौँ, जहाँ संघर्ष गरेर फालिएको राजतन्त्रलाई सम्मानसाथ व्यवहार गरेका छौँ।

‘फ्रम इम्पोरर टु सिटिजन’ जस्तै ‘फ्रम अ किङ टु सिटिजन’ का रुपमा सत्य कुराहरु लेखे हुने हो। अलिक अशोभनीय ढंगले, असामयिक बोली आउनु त्यति वान्छनीय होइन। त्यो भन्दा बढी म भन्न चाहन्नँ।
०००
अब यस संग्रहालयलाई हामी दरवार इतिहास संग्रहालयको रुपमा विकास गर्न चाहन्छौँ, जसले नेपालको इतिहासलाई अभिव्यक्त गरोस्। अगाडिदेखि यसलाई हामी यसरी विकास गर्छौँ।

खासगरी त्यसबेलाका विकास र वैभवहरु शासकहरुका दरवारमा नै प्रकट हुन्थे। जनता त खेतमा असारे गाउँथ्यो, रोदी घरमा मादल बजाएर गाउँथ्यो, सोरठी र मारुनी नाच्थ्यो, घाँस–दाउरा–पानीमा गीतहरुको दोहोरी चल्थ्यो। तर, ती संग्रहित हुन पाउँदैनथे। ती व्यवस्थित हुन पाउँदैनथे, ती लिपिवद्ध हुन पाउँदैनथे। जनता त लड्थ्यो, तर तिनको इतिहास लेखिन पाउँदैनथ्यो।

जनताले बलिदान दिनमात्र पाउँथ्यो। मैले पृथ्वीनारायण शाहको कुरा गरेँ। काटिने त कालु पाँडे थिए, पृथ्वीनारायण शाह होइन। इतिहासमा काटिने त दामोदर पाँडे हुन्। देशका लागि सेरिनुपर्ने अवस्थामा पुग्ने त भीमसेन थापा हुन्। तर, वाण लागेको भए अर्जुनलाई लाग्थ्यो, कृष्ण त पछाडि बसेर निर्देशन दिने न हुन्।

नायकहरुले नायकत्व गर्छन्। तर साँच्चैको मैदानमा मर्नेहरुको इतिहास नै लेखिएको हुँदैन। हामीले इतिहास त दरवारमा बस्नेहरुको मात्र पढ्न पाउँछौँ। किनभने इतिहास तिनकै लेखिएको हुन्छ। संग्रहालयमा तिनीहरुकै वस्तु संग्रहित भएको हुन्छ।

जो जनता र देशका लागि लड्छ, त्यसका त माटाका भाँडा, आल्मुनियमका भाँडा हुन्छन्। माटा र आल्मुनियमका भाँडा कहाँबाट संरक्षित हुनु? कता गए तिनका इतिहासहरु?

कुनै हलीको गोरु धपाउने लौरो बस्छ संग्रहालयमा? राजदण्ड न बस्छ संग्रहालयमा। राजदण्ड बन्नु भन्दा हजारौँ बर्ष पहिले गोरु धपाउने लौरो हाम्रो इतिहासमा थियो। तर अब त्यो कहाँ गयो, गयो। धेरै पछि बनेको राजदण्ड संग्रहालयमा राखियो।

हाम्रो इतिहास सत्यमोहन जोशीलाई थाहा छ, जो यो कार्यक्रममा बसिरहनु भएको छ। उहाँले यी सबै इतिहासहरु हेर्नुभएको छ, हलीको लौराको हालत के छ? राजदण्डको हालत के छ?

तरपनि यो एउटा इतिहास हो हाम्रो। हाम्रो वैरभाव तानाशाहीसँग थियो, इतिहाससँग होइन। त्यसकारण हामी इतिहासको संरक्षण गर्छौँ। इतिहासको सम्मान गर्छौँ। जे थियो, त्यसको संरक्षण गर्छौँ।

कार्यक्रममा सत्यमोहन जोशी लगायत

कार्यक्रममा सत्यमोहन जोशी लगायत

नारायणहिटी संग्रहालयमा केही कोठाहरु खुलेका छन्, अरु कोठाहरु पनि खोल्ने प्रबन्ध गरौँ। संग्रहालयलाई संग्रहालयका रुपमा विकास गर्ने अरु कामहरु छिटो गरौँ। के गरेर यसलाई अगाडि बढाउनुपर्छ, त्यो गरौँ। अरु खोज अनुसन्धान गर्नुहुन्छ भने– सत्यमोहन जोशी पाको भइसक्नु भएको छैन, भर्खर सय बर्ष पुग्नुभएको छ। हामीले उहाँसँग ज्ञान र शिक्षा लिन सक्छौँ।

हामीपनि नारायणहिटीलाई भर्साइल दरवार जस्तै, पिटर्स प्यालेस जस्तै, नेपोलियनको प्यालेसजस्तै वा चीनको ‘फरविडन सिटी’ जस्तै विकास गर्न सक्छौँ। यतापट्टिपनि हामी ध्यान दिन्छौँ।

विनायोजना कहिले के पार्क बनाउने, कहिले के गर्ने, कहिले के गर्ने भन्ने ढंगले होइन, अब यसको ‘मास्टरप्लान’ अन्तर्गत यसलाई ‘प्यालेस हिष्ट्री म्युजियम’ का रुपमा विकास गर्नुपर्छ। जहाँ हाम्रो सम्पूर्ण इतिहास संग्रहित होस्, गोपालवंशदेखिको इतिहास प्रतिविम्वित हुने काम होस्।

हाम्रा अरु कुराहरुपनि प्रतिविम्वित हुने, जस्तोः हाम्रो संस्कृति प्रतिविम्वित हुने, हाम्रो विविधता प्रतिविम्वित हुने ढंगले यसको विकास गर्न सकिन्छ। यसका लागि ध्यान दिन, सोच्न म सबैसँग आग्रह गर्न चाहन्छु।

(प्रधानमन्त्री ओलीले २९ असोज २०७५ मा नारायणहिटी दरवारमा रहेका श्रीपेच, राजदण्ड लगायत अन्य महत्वपूर्ण सामाग्रीहरुको प्रदर्शनीको उद्घाटन कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश) 

प्रकाशित २९ असोज २०७५, सोमबार | 2018-10-15 19:57:45
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भेगन

    के माछामासु नखाने मानिस बढी बाँच्छन्?

    विश्वमा माछामासु दूध दही नखानेहरुको जनसंख्या बढ्दो छ। पश्चिमा मुलुकहरुमा भेगन हुने लहर नै चलेको छ।

  • सुदर्शन रन्जित

    पोखरा चिनाउने फोटोग्राफर

    पोखरा रामबजारमा रहेको उनको घरको बैठक कोठामा प्रवेश गर्ने जोकसैलाई भित्तामा झुण्डाईएको ठूलो फ्रेमिङले तान्छ।

  • मेसोपोटामियामा युद्धरत गोर्खाली सैनिक, सन् १९१७

    पहिलो विश्वयुद्धका १०० वर्ष: नेपालले के पायो, के गुमायो?

    बेलायती सेनामा गोर्खालीहरुलाई भर्ति गर्न पठाएवापत राणा शासकहरुले वार्षिक दस लाख रुपैयाँ सलामीस्वरुप प्राप्त गर्दथे।

  • केपी शर्मा ओली

    २५ अर्ब माथिका सबै योजना अब प्रधानमन्त्री कार्यालय मातहत

    दुई तिहाई बहुमत लिएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई झन् झन् शक्तिशाली बनाउँदै लगेका छन्।