फरक धार

बरु गणतन्त्रलाई राष्ट्रिय चाड मानौं




शीतल निवासमा राष्ट्रपतिबाट दशैँ टीका लगाउनेको लाम
शीतल निवासमा राष्ट्रपतिबाट दशैँ टीका लगाउनेको लाम

राष्ट्रिय पहिचानको पुनर्निर्माण गर्नका लागि वर्तमान र इतिहासको मिहीन अध्ययनबाट साझा पहिचान र चाडपर्वको खोजी हुनुपर्छ।

यो दशैँमा धर्मनिरपेक्ष राष्ट्र नेपालमा मूलतः तीन अतिवादी प्रवृत्तिहरु देखिए। पहिलो, प्रधानमन्त्री पुष्पकमल दाहालले टीका नलाएकोमा आक्रोश। दोस्रो, अखिल अध्यक्ष नवीना लामाले टीका लगाएकोमा आक्रोश र तेस्रो, कम्युनिष्ट पृष्ठभूमिकी विद्यादेवी भण्डारीबाट राष्ट्रपतिको रुपमा टीका प्रदान। यी तीनै प्रवृत्ति संविधानको भावना विपरीत मात्र छैनन्, निषेध र असहिष्णु सोचका द्योतक पनि हुन्।

लोकतन्त्रको मूल आधारस्तम्भ समान व्यवहार, सहिष्णुता, अभिव्यक्ति स्वतन्त्रता र आवधिक निर्वाचन पनि हो। राज्य धर्मनिरपेक्ष हुँदा मात्र लोकतन्त्रका यी आधार स्तम्भ सुनिश्चित हुन्छन्। यही मर्म अनुमोदन गर्न सन् २००७ जनवरी १५ मा गणतान्त्रिक अन्तरिम संविधान कार्यान्वयन गरिदाँ नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो। नेपालको संविधान (२०७२) ले पनि धर्मनिरपेक्षतालाई सुनिश्चित गरेको छ। यही कारण यो संविधान अधिकारको दृष्टिले खोटरहित भएको संविधानविद्हरु बताउँछन्।

धर्मनिरपेक्षता भनेको राज्यलाई धर्मबाट अलग राख्नु र राज्यले सबै धर्मलाई समान व्यवहार गर्नु हो। अर्थात् राज्यको नजरमा धर्म राज्यकार्यबाट मुक्त हुनु हो। धर्म व्यक्तिको छनोटको विषय हो, राज्यकार्य कुनै पनि धार्मिक विचारबाट निर्देशित र प्रभावित हुँदैन भन्ने धर्मनिरपेक्षताको मर्म हो।

नेपालमा जंगबहादुर राणा प्रधानमन्त्री हुँदा बेलायतमा जर्ज हियोकले पहिलो पल्ट सन् १८५१ मा धर्मनिरपेक्ष शब्दको प्रयोग गरेका थिए। धर्म र राज्यकार्य फरकफरक हुन् भन्ने बुझाउनका लागि उनले यो शब्द प्रयोग गरेका थिए। धर्मलाई राज्यकार्यबाट अलग राखी सबै धर्म कानुनको नजरमा बराबरी हुन् भन्ने सोच प्रबल बनाउन यो शब्द उनले प्रयोग गरेका थिए रे।

युरोपमा चर्चलाई राज्यकार्यबाट अलग राख्न अर्थात् राज्यको कामकार्वाही चर्चको प्रभावबाट मुक्त राख्न धर्मनिरपेक्षता आवश्यक भएको थियो। राज्यको कामकार्वाही चर्चको नियन्त्रणमा हुँदा प्रजातान्त्रिक अभ्यासमा बलात् अवरोध खडा मात्रै भएन, विज्ञानको विकासमा पनि अवरोध भई देशको समृद्धि पनि अवरुद्ध भयो। यही कारण पनि भारतमा सन् १९७६ मा संविधानलाई ४२औँ संशोधन गरी भारतलाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो। भारतको सांस्कृतिक विविधतालाई सम्बोधन गरी संघलाई प्रबल बनाउन यो अनिवार्य थियो। तथापि भारतमा हिन्दु–मुस्लिम अतिवाद मौलाइरहेको थियो, र छ। भारतीय प्रसिद्ध इतिहासकार रोमिला थापरका अनुसार हिन्दु र मुस्लिम अतिवाद रैथाने उत्पादन नभई उपनिवेशकालीन उत्पादन हो।

भारत विश्वकै ठूलो प्रजातान्त्रिक राष्ट्र भएको भन्न त्यहाँका नेताहरु रुचाउँछन्। तर हिन्दुत्वले गर्दा त्यहाँको प्रजातन्त्र र धर्मनिरपेक्षता अभ्यासबारे चर्को रुपमा प्रश्न उठ्ने गर्छ। सन् २०१४ मा नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीले केन्द्रीय सत्ता हात पारेपछि त्यहाँ हिन्दु असहिष्णुता बढेको आरोप वैकल्पिक विचारकहरुको छ। ती भारतीय वैकल्पिक विचारकहरुको विचार दुई वर्षअघि प्रकाशित ‘द पब्लिक इन्टेलेक्चुअल इन इण्डिया’ नामक पुस्तकमा प्रतिबिम्बित भएको छ। उक्त पुस्तकमा हिन्दुत्व हिन्दु विचारहरुको परिचालक हो भनिएको छ। हिन्दुत्वको नाममा भारतमा प्रश्नहरु दबाइँदै छन्, जसको कारण सार्थक र औचित्यपूर्ण तर्क दमित भएको गुनासो पुस्तकमा यत्रतत्र पाइन्छ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघिसम्म उपत्यकामा गैरहिन्दु धार्मिक गतिविधि खुकुलो थियो। फ्रान्सेली इतिहासकार सिल्भाँ लेभीको ‘नेपालः हिन्दु अधिराज्यको इतिहास’ पुस्तकबाट स्पष्ट हुन्छ, एकीकरणअघिसम्म उपत्यकामा गैरहिन्दु प्रति शासकहरु उदार थिए। इसाई धर्मको प्रचार गर्न भ्याटिकन सिटीबाट खटिएका भियतनामीहरु उपत्यकामा आउँथे भने बौद्ध धर्म प्रचार गर्न तिब्बतबाट। शाहले उपत्यका कब्जा गरेपछि म्लेच्छ (पराई देशका) हरुलाई नियन्त्रण गर्ने बाहनामा क्रिस्चियन धर्म मात्र होइन, बौद्ध धर्मका गतिविधिलाई पनि निषेध गरियो। त्यसपछि उपत्यकामा धार्मिक विदेशीका लागि नेपाल प्रवेश बन्द भयो।

एकीकरण अभियानसँगै सुरु भएको हिन्दुकरण प्रक्रियालाई जंगबहादुर कालसम्म पनि पूर्वका जनजाति क्षेत्रमा विस्तार गरियो। प्राकृतिक धर्मावलम्बी जनजातिहरुलाई हिन्दुकरण त्यसै अवधिमा गरियो। र देशैभर हिन्दुधर्म निर्देशित राज्यकार्य नौ वर्षअगाडि (धर्मनिरपेक्षता लागु हुनुअघि) सम्म कायम रह्यो। त्यहीकारण सार्वजनिक ओहोदामा बस्नेहरुका लागि दशैँ–तिहार, तीज आदि हिन्दु विचारनिर्देशित चाडपर्व व्यक्तिको छनोटको विषय नभई राज्यको तर्फबाट बाध्यकारी बनाइयो।

प्रधानमन्त्री दाहालले यो पल्ट दशैँमा टीका नलगाई सच्चा माक्र्सवादी र धर्मनिरपेक्षतावादीको कित्तामा आफूलाई उभ्याए। पुत्र प्रकाश दाहालको फेसबुक स्टाटसअनुसार प्रधानमन्त्री दाहालले ३५ वर्षदेखि दशैँमा टीका लगाएका छैनन्। संवैधानिक प्रावधानअनुसार दशैँमा टीका नलगाउनु उनको व्यक्तिगत छनोटको विषय हो। उनले प्रधानमन्त्रीको रुपमा टीका लगाउन र लगाइदिनु संविधानको भावना विरुद्ध हो। तर प्रधानमन्त्रीको रुपमा दाहालले त्यसो नगर्दा हिन्दु अतिवादीहरुले उनको चर्को विरोध मात्र गरेनन्, बहुमत हिन्दुले निर्वाचनमा देखाइदिने धम्की पनि दिए। यसबाट प्रश्न उठ्छ, नेपालमा राज्यले धर्मको नाममा पक्षपातपूर्ण व्यवहार गर्न मिल्छ कि मिल्दैन? प्रधानमन्त्रीले हिजोजस्तै सार्वजनिक हैसियतमा दशैँको टीका लगाउँदा, लगाइदिँदा हिन्दु धर्मको पक्ष लिएको अर्थ लाग्छ कि लाग्दैन? धर्मनिरपेक्षता व्यवहारमा लागु गर्नका लागि पनि हो कि संविधानमा लेख्नका लागि मात्र? मजस्तो धर्म मान्दै नमान्ने व्यक्ति यो देशको प्रधानमन्त्री हुन पाउने कि नपाउने?

हिन्दु अतिवाद मात्र होइन जनजाति अतिवाद पनि यो दशैँमा सतहमा प्रकट भयो। जनजाति अभियन्ता आङकाजी शेर्पाले अखिल अध्यक्ष लामालाई टीका थापेकोले बहिष्कार गर्न आह्वान गर्नु जनजाति अतिवादको राम्रो उदाहरण हो। धर्मनिरपेक्ष राष्ट्रमा टीका थाप्नु नथाप्नु व्यक्तिगत छनोटको विषय हो। लामाले दशैँमा टीका थाप्नु हुदैँन भन्ने शेर्पाको तर्क र प्रधानमन्त्रीको रुपमा दाहालले टीका लगाउनु र लगाइदिनुपर्छ भन्ने तर्क उस्तै हो। धर्मनिरपेक्षताको माग र वकालत गर्ने शेर्पाले धर्मनिरपेक्षताको भावनाविरुद्ध अध्यक्ष लामालाई बहिष्कार गर्न आह्वान गर्नु उदेकलाग्दो त छ नै, त्यसले जनजाति आन्दोलनको कुरुपताको चित्रण गर्न जनजाति विरोधीहरुलाई बल पनि पुग्छ।

धर्म निरपेक्षतालाई सुनिश्चित गर्ने वर्तमान संविधानको संरक्षक राष्ट्रपति हुन्। तर दशैँमा राष्ट्रपति भण्डारीले पदीय हैसियतमा आम जनतालाई टीका प्रदान गरी संविधानले सुनिश्चित गरेको धर्म निरपेक्षताको धज्जी उडाइन्। हिन्दु धर्मलाई राष्ट्रको विशेष समर्थन छ भन्ने सन्देश फैलाएर अरु धर्मावलम्बीहरुलाई निराश बनाइन्। त्यति मात्रै होइन, हिन्दु राजाको शैलीमा मठमन्दिरमा गई हिन्दु धर्मको अभिभावकत्व गरेको सन्देश दिन पनि पछि परिनन्।

दशैँलाई राष्ट्रिय चाडको रुपमा निरन्तरता दिने कार्य राष्ट्रपति विद्यादेवी भण्डारीको दशैँमा भएका गतिविधिबाट स्पष्ट हुन्छ। हिन्दु अधिराज्य हुँदा राष्ट्राध्यक्षबाट त्यस्तो हुनु अस्वभाविक थिएन। तर धर्मनिरपेक्ष राष्ट्रप्रमुखको हैसियतमा त्यस्तो हुनु स्वभाविक होइन। त्यसैले अब त्यस्तो अस्वभाविकतालाई सच्याइनु पर्छ। दशैँ होइन गणतन्त्र दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउने परम्परा थालनी हुनुपर्छ। सार्वजनिक ओहोदामा बस्नेहरुले कुनै पनि धर्मको प्रवद्र्धन गर्नु हुदैँन भन्ने जनमत बन्नुपर्छ र धर्म निर्देशित चाडपर्वहरु व्यक्तिको छनोट बन्नुपर्छ।

राष्ट्रलाई पहिचान आवश्यक पर्छ भन्ने विश्वास अहिले प्रबल भइरहेको छ। तर त्यो पहिचान साझा अवधारणामा आधारित हुनुपर्छ। चाडपर्वबाट साझा पहिचान प्रतिबिम्बित हुने हुँदा कुनै धर्मविशेष निर्देशित चाडपर्व साझा हुनसक्दैन। राष्ट्रिय पहिचानको पुनर्निर्माण गर्नका लागि वर्तमान र इतिहासको मिहीन अध्ययनबाट साझा पहिचान र चाडपर्वको खोजी हुनुपर्छ।

 

प्रकाशित ७ कार्तिक २०७३, आइतबार | 2016-10-23 12:02:10
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।