आवाजसँगै यो कस्तो डरलाग्दो मौनता



दशैँको बेला मुस्ताङको कागबेनीमा सँगै पुगेको हल्यान्डको योहानिशले सोध्यो, ‘हामी हिजो आएको, बाटो राम्रो बनाउने बारे यो देशका राजनेताहरु एउटा टेबलमा बसेर साँच्चिकै गम्भीर भएर सोच्लान् त?’ यो देशका बस ड्राइभरहरु मुत्युको लालपुर्जा हातमा बोकेर हिँड्छन्। कुन बेला भीरले औंठाछाप लाइदिने हो थाहा छैन। उ निकैबेर तर्सियो, बेनीदेखि जोमसोमको बाटो र गुरुजीको हालत सम्झेर। मैले उत्तर दिन खोजेँ तर चित्त बुझाउन सकिनँ।

सेटिङ कहाँबाट कहाँसम्म? लोकमानको शक्तिको तातोमा उन्मत्त भएका भ्रष्टहरु, दुई देशको सम्बन्ध राम्रो पार्न खटाइएको राजदूतदेखि देशका प्रधानमन्त्री र छिमेकी प्रधानमन्त्रीसम्म।

'संसारमा सयका सय रामराज्य कहीँ हुँदैन तर नेपालको भ्रष्टाचार र बेथितिको जुन घनिभूत आयतन छ, त्यो अत्यन्त डरलाग्दो छ'– उसले थप्यो। म जुन दृश्य र समाचारबाट भागिरहेको थिएँ, उसले त्यतै फर्कायो। एघार पटक नेपाल आउजाउ गरिरहेको ऊ र उसको जोडी मलाई नेपालको बेथितिबारे सम्झाउन लागिपरे, केहीबेरसम्म।

यता काठमाडौँमा लोकमान र प्रचन्डको कुरा मिल्दै थियो। मिल्न पनि पर्यो । नत्र कसरी चल्छ लोकतन्त्र, उनीहरुले ल्याएको। उनीहरुकै लागि ल्याएको। म काठमाडौँ फर्केलगत्तै आयो समाचार, ‘लोकमानविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता।’ प्रचन्ड जिल खाए। त्यस्तो मिलेको सेटिङ कहाँ खुस्क्यो? अचानक महाअभियोगको प्रस्तावमा उनकै पार्टीका सांसदहरुले हस्ताक्षर गरिदिए। देशका प्रधानमन्त्रीलाई रातभर निद्रा परेन, कानुन मिच्ने कर्मचारीको पीरले। राजीनामा दिने मुडमा पुगे। यो देशका प्रधानमन्त्री लोकतन्त्रका रक्षक हुन् कि लोकमानतन्त्रका?

यस्ता अनेक खेलहरु सत्तामा चलिरहँदा आइरहे समाचार दिनदिनै सडक दुर्घटनाका। सडक हुन् कि चिहान घर? यही लोकतन्त्रमा सेटिङ मिलाइदिन चप्पल छोडेर सडकमा दौडनेहरु परे होलान् कति। कति तिनका परिवार। यता सरकारलाई धेरै लफडा मिलाउनु छ। लोकमानको कर्तुतमा खोल ओडाउनेदेखि भारतलाई रिझाउनेसम्म। भीरबाट आफ्ना मान्छेहरु टिपेर नागरिकले कात्रो ओडाइरहे। दशैं पनि भन्न पाएनन्। रुने र दुःखी हुने फुर्सद पनि भएन होला कतिको।

नयाँ शक्तिका बाबुराम भट्टराईले बिर्सिसकेछन् माओवादी युद्धका कुरा। ठिकै हो, घाउ त लाग्नेलाई न दुख्ने हो। उनलाई सम्झिरहन पनि के खाँचो! काटिएका झोलुंगे पुलको डोब हेरेर भीरभीरमा ज्यान फाल्दै हिँड्नेहरुलाई पो आइरहन्छ सम्झना। उनलाई बिर्सने सुबिधा छ, बिर्सुन्। उनले निकै प्रशंसा गरेका लोकमान लोकतन्त्रका खतरा हुन् भन्ने चाल अझै राम्रोसँग पाएका छैनन्। उनी त आफूलाई मनपरेको कुरो मात्र चाल पाँउछन्।

लोकतन्त्रको स्वःघोषित रक्षक नेपाली कांग्रेस बद्नियत भएको कर्मचारीको महाअभियोगको सवालमा अनिर्णयको बन्दी छ। क्या गजब छ! कांग्रेसले भन्न मात्र बाँकी छ, लज्जाम शरणम गच्छामि!

देशका गृहमन्त्री फाइल पल्टाइरहेछन्, कैलाली घटनाका दोषीलाई आममाफी दिन। राज्यको तर्फबाट दोस्रो मधेस आन्दोलनमा निर्ममतापूर्वक मारिएकाहरुको परिवारको न्यायको चिन्ता छैन उनलाई। उनलाई पिरलो त लोकमानको पो छ त। आफन्तहरु सामाजिक संजालमा भन्दैछन्, ‘आफ्नो मान्छे हामीले गुमाएको कि तिमीले? माफी दिने अधिकार तिम्रो कि हाम्रो?’

तर सुन्ने कसले?

नङगाका देसमा धोबीले काम पाउँछ के?

सुन्ने ले यदि सुन्दैन बोल्नेले मात्र गर्ने के?

कवि शिरोमणि लेखनाथ पौड्यालको आत्मा जिल खाइरहेको होला कतै यी सबै देख्दा सुन्दा। दृश्य यति कहाँ छन् र?

सेटिङ प्रचन्ड, लोकमान र भारतको मात्र कहाँ मिल्छ? स्थानीय चुनाव नभएर स्थानीय निकाय रिक्त हुँदा सेटिङ त तलदेखि माथिसम्म मिल्छ। तासको घरजस्तो। एक पत्ता निकाले पूरै भत्कन्छ। डोल्पाको भीर ब्लाष्टिंग गरेपछि बाटो वर्षौँ बन्दैन। भीरमा हिँड्न डराएर तर्सेका ६ बर्षको बालकलाई के थाहा कुरो कहाँ मिल्छ र आँउदैन उसको जिल्लामा बाटो। उसले कामेको आवाजमा नचिनेको मान्छेको हात समाउँदै बाटो तर्छ। बाटो आइहालेपनि मान्छे निलिरहने बाटो मात्र किन आइरहेछ।

सर्वदलीय संयन्त्रको सेटिङ थाहा नपाईकन म जस्तालाई प्रश्न गर्दै थिए, क्याराभानका हिरो थिन्ले दाइ, ‘भन त बाटो कैले आँउछ? आउन त आँउछ?’ एउटा कर्मचारीको दादागिरी तह लगाउन हम्मेहम्मे परेका राजनीतिक दलहरुले कहिले गर्लान् स्थानीय चुनाव? कहिले बन्ला सरर मोटर गुड्ने बाटो सबैतिर? कहिले बल्ला झलमल बिजुली?
बाटो भन्दाभन्दै बाटैमा लडेर इहलीला सकियो थिन्ले दाइको। अनि थोत्रा बाटोमा मोटर चढेर बाटैमा जीवन सकिएका यो देशका अरु कति कति मान्छेहरु। कठै मेरो देश!

डा. गोविन्द के.सी.को सत्याग्रह चलिरहन्छ, भ्रष्टाचारको खिलाफमा। लोकमानको बर्खास्तीको माग गर्दै र्याली चलिरहेछ सडकमा।

डोल्पामा एक्लै भिड्दै थियो एक युवा विकास बजेटको घोटाला विरुद्धमा।

बजेटमा कुरो नमिल्दा बाटो बन्दैन समयमा। कच्ची भीरबाट ट्रयाक्टर खसेर एक ‘आइमाई’ मरेको समाचारले तातेको थियो दुनै बजार।

भेरी नदीको छालले चिसो बनाइसकेको थियो बेथितिविरुद्ध लड्दा मारिएर बगरमा मिल्काइएको त्यो जुझारु युवाको मृत्युको ‘लोकल समाचार।’ कुरो ठीक एकै बर्षअघि को त हो।

चुपचाप लडेको उसको मृत ज्यानलाई खोलाको छालले हानेर गयो होला। भन्यो होला के पाइस् बोलेर? ऊ यो देशको कुनै मिडियाले बनाइदिएको बौद्धिक नागरिक पनि त होइन। ऊ किन मारियो त्यसरी? बेखवर थियो बाँकी देशदुनियाँ।

ठीक त्यहीबेला खोज्दै थियो होला देशको होनहार लेखक दर्शनको कुनै पानामा आगामी लेखको लागि चाहिने उपयुक्त ‘कोट’। सोच्दै थियो होला ‘हाइ फलोअर्स’ भएको ट्विटे कुनै एक खतरनाक ट्विट जसले पाओस् सयौं रिट्विट। त्यो ‘नन्इन्टेलिजेन्ट’ युवाको सब किनारबाट नउठ्दै, देशको ‘सिभिल इन्टेलिजेन्ट’ सोच्दै थियो होला यो बखत के बोले लोकप्रियता बढ्ला वा घट्ला। या त मौनताको स्ट्राटेजी ठीक होला।

लोकमानले देशको कानुन हातमा लिएर डमरु बजाइरहँदा नामी डिग्रीधारीहरुको खुलेन मुखको ताल्चा।

दुनै बजारमा सुनिएका एक पछि अर्को समाचार र दृश्यले कायल परेको मेरा मनमा नाचिरहेथे यी सबै दृश्य। सिनेमाका होइनन्, आफ्नै आँखाअघि उभिएको समाजका दृश्य। जो गनिन पनि सक्छन् र भनिन सक्छन् कि यी सबै सतही कुरा हुन्। खास कुरा त भयानक राजनीतिक सिद्धान्तहरुमा छन्। ऐतिहासिक दर्शनहरुमा छन्। के तिमीले पढ्यौ? सम्झी पनि रहेथेँ एउटा सल्लाह। ‘कति एनेक्डोट्स प्रयोग गरेको? त्यस्तोलाई विचारविश्लेषण भनिन्न। अब नगर्नु दुईचार वटा लेखमा।’

भेरीको आवाजलाई जित्ने गरी मलाई भन्न मन लागिरहेथ्यो, के गरौँ त मलाई पोल्छन् यिनै कुराले। उडाउँछन् मेरो निद।

एक जना मान्छे मलाई भन्दै थिए, हामीले बोले मार्छन्, लेख्नुस् न तपाईं। गर्नुस् न खोजी। किन मारियो त्यो तन्नेरी र फालियो भेरीको किनारमा। यति खोज्न कति हुति चाहिएला? के हुन सकुँला म यो देशको ‘खोजपत्रकार?’ गम गाएर एकछिन कालो चिया घुटुक्क निलेथेँ मैले। खोलो अलि चर्कै सुसायो। एलडिओ त डराएर काम गर्न सकेका छैनन् रे, फेरि अर्को समाचार आयो। यहाँ समाचार हल्ला बनेर हराउँछन्। कहिले खोलाको चर्को सुसेलीले निलिदिन्छ।

यता शहरको कोलाहलले निलिदिन्छ, भुइँचालोमा राहत नपाएको कुरा। छानो र मानोमा आत्तिएका जीवनका कुरा। राहत लिएर फर्कँदा बाटैमा चिहान बनेका तातो समाचार एकैछिनमा चिसो भइसक्छ हेडलाइनहरुमा। यस्तैयस्तै समाचार एकपछि अर्को लिगलिगे दौडमा छन्। जति दौडे पनि राजा त फेरि सेटिङ मिलाउनेहरुकै समाचार बन्छ।

सेटिङ कहाँबाट कहाँसम्म? लोकमानको शक्तिको तातोमा उन्मत्त भएका भ्रष्टहरु, दुई देशको सम्बन्ध राम्रो पार्न खटाइएको राजदूतदेखि देशका प्रधानमन्त्री र छिमेकी प्रधानमन्त्रीसम्म। कानुन मिच्ने कर्मचारी लोकमान भारतको प्रधानमन्त्रीलाई फोनमा गुहार माग्छन्। यो सेटिङ होइन महासेटिंग पो हो त। महाअभियोगको माला पहिरिनै लागेका डनको।

यस्तो चलिरहँदा देशमा नसुनेझैँ गरिरहेछ पत्रकार र पत्रकारिताको जगेर्ना गर्न उभिएको नेपाल पत्रकार महासंघ।

बर्षौँ पत्रिकामा आवाज उठाएकोले कतै कोही खादा लाइरहेछ। कसैले कहीँ कसैको गीत गाइरहेछ। को हो यो देशको सबैभन्दा ‘खतरा बौद्धिक?’ मापन भित्रभित्र भइरहेछ। अंग्रेजीमा स्टाटस मारेको छ कि छैन? डिग्री कताको? मापदण्ड अरु पनि होलान्। असंख्य ट्विट, असंख्य स्टाटस।

सानोतिनो सरकार आफ्नै झोलामा हालेर जिल्लामा सचिव हिँड्दैछन् यताउता। आफ्ना कुरा भन्ने ठाँउ नपाएर मानबहादुर दाइ डोल्पाको चुहुने भीरमा ठाडी भाका गाइरहेछन्-

‘स्थानीय सरकार नभएर हाम्ले दुख पायाको सम्चार हो कि नाइँ?
हाम्रा पसिना खोलाको खोलै भयाको सम्चार हो कि नाइँ?’

मान्छेहरु बोलेको बोल्यै छन्। आवाज त छ तर किन लाग्दैछ, यो देशमा डरलाग्दो मौनता छाइरहेछ।

प्रकाशित ६ कार्तिक २०७३, शनिबार | 2016-10-22 19:03:05

प्रतिकृया दिनुहोस

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

रोचक

NepalKhabar Tweets

विशेष

  • संसद बैठक ( फाइल )

    सदनमा संविधान संशोधन पक्ष-विपक्षबीच घोचपेच

    व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदले दोस्रो संशोधन ‘बेमौसमको बाजा’ भएको भन्दै कटु आलोचना गरे भने...

  • यस्तो देखियो पत्रकारलाई चुनाव लागेपछि

    पत्रकार महासंघ महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने चटारोमा छ। काठमाडौं कमलादीको प्रज्ञा भवनमा चहपहल बाक्लिदो छ। हेरौं त्यहाँ देखिएका केही दृश्यः

  • २०६९ चैत २४ गते एमाओवादी प्रवेश गरेका झालाई स्वागत गर्दै बाबुराम भट्टराई (फाइल फोटो)

    दोस्रो र तेस्रो पटक माओवादीमा प्रवेश गरे रामद्वय

    रामद्वय अर्थात् रामचन्द्र झा र रामकुमार शर्मा पहिलो पटक होइन, क्रमश दोस्रो र तेस्रो पटक माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशका...

  • किन पक्राउ पर्दैनन् गिरोह-नाइके मनोज पुन?

    ‘उसको सहयोगीको प्रारम्भिक बयानले मनोज पुनले यो बेल्टमा कसरी टेरर क्रिएट गरेको रहेछ भन्ने स्पष्ट पारेको छ’ अपराधिक समूहका नाइके पुनका एक सहयोगी...