मन्थन

मधेसमा डिम्पलको परेड, हेमबहादुरको जयजयकार


Infocus



पछिल्लो समय मधेसी दलहरुमा कार्यकर्ताहरुले नेताहरुको चरणस्पर्श गरेर अभिवादन गर्ने चलन बढ्दो छ। यो कुनै खास पार्टी विशेषमा मात्र सीमित छैन।

दुई साताअघि रौतहटको एउटा घटना निकै चर्चित भयो। प्रदेश २ कि नवनियुक्त राज्यमन्त्री डा डिम्पल झा गृहजिल्ला रौतहट जाँदा उनको स्वागतमा लगभग पाँच दर्जन जीपको परेड थियो। त्यो परेडको भिडियो नै सार्वजानिक भएपछि राज्यमन्त्री झाको चौतर्फी विरोध भयो। विरोधमा अनेक प्रवृत्ति देखिए। मधेसी राजनीति मन नपराउनेहरुका लागि त्यो परेड एउटा बहाना बन्यो। कतिपयले त्यही बहानामा समग्र मधेसी राजनीतिलाई सकेजति सरापे। व्यक्तिगत डाह भएकाहरुले डिम्पल झामाथि अनेक खालका व्यक्तिगत आरोपसमेत लगाए। जातीयताको समोसा खानेहरुले समग्र ब्राम्हण जातीमाथि पनि दोषारोपण गरे। फरक दलका कतिपय कार्यकर्ताहरुले उनीमाथि दलीय आधारमा आरोप लगाए।

अर्थात्, जसलाई जे भन्दा वा गर्दा आनन्द आउँथ्यो, उनीहरुले त्यही बाटो समाते। डिम्पल झाका शुभेच्छुकहरुले चाहिँ मौनता साँधेको देखियो।

यो समग्र प्रकरण मेरो लागि भने नौलो थिएन। मधेसमा डिम्पल झाले निकालेको वा उनको स्वागतमा निक्लेको परेड न त पहिलो थियो, न त अन्तिम नै हुनेछ। मधेसी समाज र राजनीतिमा यस्ता कार्य सामान्य हुन्, डिम्पल झाको परेड एउटा घटना मात्र हो। यस्तै मिल्दोजुल्दो घटनाहरुको विश्लेषण गर्ने हो भने एउटा ट्रेन्ड देखिन्छ। प्रश्न उठ्छ, हामी इभेन्टको विश्लेषण गर्ने कि ट्रेन्डको?

रौतहट जिल्ला पञ्चायतकालमा ‘द्रोण शमशेरको जिल्ला’ को रुपमा चिनिएको थियो। २०४६ सालपछि ‘माधव नेपालको जिल्ला’ को रुपमा चिनिन थाल्यो। मधेस आन्दोलनपछि रौतहटले बेग्लै परिचय पाउन थालेको छ। द्रोण शमशेर वा माधव नेपालको दबदबा भएको बेला रौतहटमा कुन नेताको स्वागतमा कति मानिस भेला हुन्थे वा कति सरकारी गाडी कसको परेडमा निस्किन्थ्यो, कसैलाई थाहा छैन। तर सबैलाई थाहा भएको कुरा के हो भने, आजको रौतहट जिल्ला नेपालको सबैभन्दा कम साक्षरता दर भएको जिल्ला हो।

परेडसँग सम्बन्धित अर्को प्रसंग। शक्ति केन्द्रहरुमा राम्रो पहुँच भएका रौतहटको छिमेकी जिल्ला सर्लाहीका एक नेताले केही अघिसम्म पनि आफ्नो निर्वाचन क्षेत्र जाँदा हेटौडाका डिआइजीसँग भनेर दुईवटा रातो बत्ति भएको गाडी अगाडि र पछाडि हिँड्न लगाउँथे। ती नेता मधेसी अनुहारका भएकोले होला, अहिलेसम्म पनि काठमाडौँको सामाजिक वृत्तमा आलोचनाको विषय बनिरहन्छन्। सर्लाहीको छिमेकी जिल्ला महोत्तरीका अर्का प्रभावशाली गैरमधेसी नेता जिल्ला भ्रमणमा जाँदा प्रहरी प्रशासन स्वतस्फूर्तरुपमा उनको परेडमा उत्रिन्छन्। तर सबैले यी कुरालाई सामान्यरुपमा लिने गरेको पाइन्छ।

करिब चार बर्षअघि म स्वयं विराटनगरबाट गृहजिल्ला सप्तरी जाँदै गर्दा कोशी ब्यारेजको पश्चिमी छेऊमा दर्जनौँ मोटरसाइकल र केही जीपमा चारतारे झण्डा सहित सैयौँ मानिस कसैलाई पर्खँदै गरेको देखेको थिएँ। उपस्थित मानिसहरुसँग सोध्दा चकित तुल्याउने जवाफ मिल्यो। एक परिचित कांग्रेसी मित्रका अनुसार त्यसदिन विराटनगरबाट एक कोइराला थरका नेता सप्तरी आउने कार्यक्रम रहेछ। उनकोे सवारी सुनसरी पार गर्ने बित्तिकै कोशी ब्यारेजको पश्चिमी छेउमा स्वागत गर्ने उद्देश्यले सप्तरीका कांग्रेसजनको भीड त्यहाँ उपस्थित भएको रहेछ। बुझ्दै जाँदा विजय गच्छेदारलाई पनि कैयौँ पटक त्यसरी नै स्वागत गर्ने सौभाग्य सप्तरीबासीले पाइसकेको थाहा भयो। भीआइपीहरुको सवारी हुँदा यसरी सुरक्षाकर्मीको रातो बत्तिवाला गाडीले जिल्लाको सीमाना कटाउने चलन छ। मधेसतिर कांग्रेस, एमाले वा माओवादी, मधेसी दलका पनि कतिपय नेताहरुको सवारी हुँदा स्थानीय कार्यकर्ताहरुले त्यस्तै गर्ने गरेका छन्।

यो प्रचलनले जनकपुरमा त झनै गज्जबसँग निरन्तरता पाइरहेको छ। प्रचलन यो वा त्यो दलमा सिमित छैन, लगभग सबै दलले एकै किसिमले यसलाई निरन्तरता दिएका छन्। विभिन्न पार्टीका अध्यक्ष वा ठूला नेताको सवारी हुँदा लाग्ने भीडलाई स्वभाविक मान्न सकिएला, तर स्थानीय नेताहरुको आगमन हुँदापनि प्रशस्त भीड जम्मा गर्ने प्रचलन नै बनेको छ। त्यहाँको ट्रेन्ड हेर्दा एयरपोर्टमा भीड जम्मा गर्ने प्रतिस्पर्धा नै रहेको बुझिन्छ।

यस प्रसंगमा जनकपुरको एउटा सन्दर्भ सम्झिन्छु। २०४४–४५ को चैत–बैशाखतिरको प्रसंग हो यो। म दुईचार दिन अगाडि मात्र जनकपुर पुगेर डेरा खोज्ने सिलसिलामा क्याम्पस चौकतिर घुम्दै थिएँ। त्यसैबेला बाजा–गाजासहित मानिसहरुको ठूलो भीड दक्षिणतिरबाट उत्तरतर्फ आउँदै गरेको देखेँ। भीडको अगाडि बाजा बजाउने समूह थियो। माला लगाएको एक पुरुष र अर्को महिला जुलुशको बीचमा थिए। उनीहरुको वरिपरि सफा कपडा लगाएका मानिसहरुको सानो समूह थियो। त्यसपछि हजारौँ सर्वसाधारणको भीड थियो। भीडमा जय जयकारको नारा घन्किँदै थियो। जय जयकार गर्नेमा लगभग सबै ग्रामीण भेगका मधेसी अनुहारका महिला–पुरुष थिए।

मेरा लागि त्यो भीड रमिता थियो। भीडकै छेउबाट हिँड्ने एक पुरुषलाई सोध्दा हेमबहादुर मल्ल र शारदा मल्लको सवारी रहेको थाहा भयो। कुनैबेला ‘शेरे धनुषा’ को नामबाट चर्चित हेमबहादुर मल्ल जनकपुर विमानस्थलबाट आफ्नो घर मिल्स एरियासम्म प्रायः हिँडेर नै जाने गर्थे। हजारौँ मानिसको भीडमा उनको त्यसरी जयजयकार गरिन्थ्यो।

अध्ययनको सिलसिलामा जनकपुर बस्दा थाहा भयो, धनुषाका आम मानिस (जो उनका समर्थक थिए) ले हेमबहादुर मल्ललाई भगवान सरह नै मान्थे। ‘मालिकको दर्शन गर्न आएको’ भन्थे। जनकपुरमा हेमबहादुर मल्ललाई मालिक भन्ने गरेको र भेट गर्न आउनेले दर्शन गर्न आएको भनेको सुन्दा मलाई मेरो आफ्नो गाउँका मानिसहरुको बोलीचाली सम्झना भएको थियो। हाम्रो गाउँ पूर्वी सप्तरीको गोइठीका मानिसहरुले मधुवापुरका झा थरका नेताहरुलाई पनि मालिक भन्थे। झाको घरलाई दरबार भन्थे भने भेट्न जानेहरुले दर्शन गर्न जान लागेको भन्थे।

नेपाली राजनीतिमा नेताको पछि लाग्ने, गाडीको परेड वा मानिसको भीड सँगसँगै नेताहरुले लगाउने माला र कार्यकर्ताहरुले गर्ने अभिवादनको शैली पनि अचम्मकै छ।

पञ्चायतकालमा नेतालाई कार्यकर्ताले कस्तो शैलीमा माला लगाइदिन्थे, आम नेपालीलाई त्यतिधेरै जानकारी हुँदैनथ्यो। त्यतिबेलाको सञ्चारको अवस्थाले पनि हामीलाई कम जानकारी भएको होला। किनभने, टेलिभिजनमा सीमित मानिसको पहुँच, पत्रकारितामा प्रविधि र पाठकको सिमितताले गर्दा यस्ता कुराको जानकारी नहुँदो हो।

तर २०४६ साल पछिको अवस्थाको जानकारी धेरै हदसम्म छ। माला लगाउने शैलीमा खासै अन्तर आएको थिएन। नेताहरु सामान्य प्रकारले एकदुई माला लगाउँथे वा भनौँ नेताहरुले एकाध मालामात्र लगाएका तस्वीर सार्वजनिक हुन्थे। तर, २०६२–६३ सालपछि त माला लगाउने शैलीमा आमूल परिवर्तन नै भएको छ। घाँटीमा लगाउने मालाको संख्या यति धेरै हुन्छ कि, माला घाँटी भन्दा धेरै माथि पुगेर नाकलाई नै छोप्न पुग्दो रहेछ। नाकसमेत छोपिने गरी माला लगाएको पहिलो तस्वीर तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डको देखेको थिएँ। त्यसपछि यही शैलीका फोटोहरु कांग्रेस, मधेसवादी दलका नेताहरुको पनि प्रशस्त सार्वजानिक हुन थाल्यो। सबैभन्दा रमाइलो त के छ भने, नेताहरु नै यसरी नाकै छोप्नेगरी माला लगाउन लालायित देखिन्छन्। धेरै माला लगाएकोमा नेताहरु आनन्दको अनुभव गर्दा हुन् जस्तो लाग्छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जेठ अन्तिम साता भएको जनकपुर भ्रमणको बेला जनकपुरमा माला लगाउने शैली झनै गज्जबको देखियो। सैयौँ किलोको मालालाई दर्जनौँ मानिसले उठाएर मन्चमा ल्याइएको थियो। मालाको बीचमा मोदीजी उभिएका थिए। भारतको राजनीतिमा यसरी माला लगाउने चलन पुरानो हो। तर मधेसमा केहीबर्ष यतामात्र यस्तो देखिन थालेको छ।

नेपाली राजनीतिमा अभिवादनको शैली पनि अनौठो अनौठो खालको छ। सामान्यतः वामपन्थी वृत्तमा लालसलाम र कांग्रेसी वृत्तमा जयनेपाल भन्ने चलन छ। वमपन्थीहरुले एकले अर्कालाई भेट्दा दाहिने हातको औंलाहरुको मुठ्ठी बाँधेर माथि उचालेर लालसलाम भन्ने चलन छ। कांग्रेसीहरुले दुइ हात जोडेर नमस्कारको शैलीमा वा एक हातले स्यालुटको शैलीमा जयनेपाल भन्ने गर्छन्।

तर मधेसी राजनीतिमा अभिवादनको शैली अलिक फरक छ। गजेन्द्रनारायण सिँहको पालामा सद्भावना पार्टीका कार्यकर्ताहरुले हात उठाएर वा नमस्कारको शैलीमा जय मातृभूमि भन्ने गर्थे। २०६३ सालपछि मधेसीहरुबीच ‘जय मधेस’ को अविभादन निकै लोकप्रिय भयो। पछिल्लो समय मधेसी दलहरुमा कार्यकर्ताहरुले नेताहरुको चरणस्पर्श गरेर अभिवादन गर्ने चलन बढ्दो छ। यो कुनै खास पार्टी विशेषमा मात्र सीमित छैन। मधेसी राजनीतिमा सक्रिय दलहरुमा र खासगरी मधेसी कार्यकर्ता र नेताबीच यस्तो अभिवादनको प्रयोग बढी हुने गरेको देखिन्छ। यसमा अनेक तर्क गर्न सकिन्छ। जस्तो, सबै कार्यकर्ताले यस्तो गर्दैननन् आदि, इत्यादि। तर प्रायः सबै उच्च नेताहरुलाई यसरी अभिवादन गर्ने गरेको देखिएको छ। आश्चर्य लाग्छ, लामो समय कांग्रेस वा वामपन्थी पार्टीमा हुँदा ती नेताहरुले तिनै कार्यकर्ताबाट त्यस्तो चरणस्पर्शी अभिवादनको कल्पना समेत गरेका थिएनन् होला। २०६३ पछि भने कार्यकर्ताहरुले चरणस्पर्श गरेर अभिवादन गर्दा ती नेताहरुले आनन्द महसुस गरेको बुझिन्छ।

भारतीय राजनीतिमा चरणस्पर्शी अभिवादनको शैली अभ्यासमा नभएको होइन। तर त्यहाँ यसबारे बहस शुरुभएको छ। केही बर्षअघिको कुरा हो, उत्तरप्रदेशको प्रादेशिक राजनीतिमा दलित नेताहरु र उच्च जातका नेताहरुबीच गठबन्धन निर्माण भएपछि त्यही गठबन्धनले चुनाव जित्यो, मायावती मुख्यमन्त्री बनिन्। उच्च जातका केही नेताहरु मन्त्री बने। पुरानो चलनअनुसार मन्त्रीहरुले शपथ ग्रहण गरिसकेपछि मुख्यमन्त्रीलाई चरणस्पर्श गरेर आशिर्वाद लिनुपर्ने थियो। परम्परा अनुसार सामान्यतः उच्च जातकालाई मध्यम तथा तल्लो जातका मानिसहरुले चरणस्पर्श गर्ने हो। तर त्यहाँ दलित मुख्यमन्त्रीलाई उच्चजातका मन्त्रीहरुले चरणस्पर्श गर्नुपर्ने परिस्थिति निर्माण भयो। बडो कष्टका साथ मन्त्रीहरुले मुख्यमन्त्रीलाई ढोग गरेको दृश्य भारतीय टेलिभिजन च्यानलहरुले देखाएका थिए। कतिपय मन्त्रीहरुले आफ्नो शरीरलाई अलिकति पनि नझुकाई हातलाई मायावतीकोे खुट्टातर्फ सोझ्याउँदै सर्टकर्टमै चरणस्पर्शी अभिवादन गर्ने गरेको दृश्य टेलिभिजनमा देखिएको थियो। पछि मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीभित्र यस्तो अभिवादनको विपक्षमा बहस पनि भएको थियो।

तर, मधेसको राजनीतिमा यी र यस्ता कुराहरु छलफलयोग्य बिषय पनि बनाइएका छैनन्। यस्तो संस्कारले पार्टीभित्र तर्क वा बहसको संस्कारलाई बढाउने होइन, बरु समर्पण र चाकरीको संस्कारलाई बढाउनेछ। त्यसरी अभिवादन गर्न नरुचाउने कार्यकर्ताहरुमा एकप्रकारको भय वा कुण्ठा पैदा हुनसक्छ।

माथि उल्लेख गरिएका कुनै खास प्रसंग कुनै खास पार्टी वा कुनै खास नेतासँग सम्बन्धित जस्तो देखिन सक्छ तर त्यो केवल संयोग मात्र हुनेछ। धेरै वा थोरै, एक वा अर्को रुपमा नेपाली राजनीतिमा देखिएका विसंगत पक्षहरु हुन् यी। यी पक्षहरुबारे राजनीतिक वृत्तभित्र र बाहिर चर्चा हुनु जरुरी छ।

हाम्रो समाज परम्परागत अभ्यासबाट आधुनिकतातर्फ पाइला चाल्दैछ। परम्परागत समाज सामन्ती थियो। लामो समयसम्म राज्यपनि सामान्ती शैलीमै सञ्चालन भयो। राज्यलाई जनमुखी बनाउने उद्देश्यले पार्टीहरुको जन्म भएको हुनुपर्छ। शक्तिको मुख्य स्रोत राज्यमा निहित रहेकोले समाजले राज्य परिचालकहरुसँग सामिप्यता खोज्नु स्वभाविक हो। राज्यको सञ्चालन नेता र सरकारी कर्मचारीहरु मिलेर गर्छन्। प्रभावशाली सरकारी कर्मचारीहरुको वृत्तमा सीमान्तकृत समुदायको उपस्थिति नगण्य रहेकोले त्यस समाजमा नेताप्रतिको आकर्षण बाध्यता बनेको हुनुपर्छ। त्यसकारण सीमान्तकृत समुदायमा नेतामाथि ज्यादा विश्वास छ। कतिपय अभ्यासहरु ज्यादा विश्वास वा अन्धविश्वासका कारण भएका हुनसक्छन्। परम्परागत समाजले कि देवी देवतामाथि विश्वास गरेको पाइन्छ, कि त नेतामाथि।

मन्त्री वा प्रभावशाली नेताहरुको सवारीमा परेड निस्किनुलाई सम्मानको रुपमा भन्दा पनि सुरक्षा खोजेको रुपमा बुझ्नुपर्छ। पार्टी कार्यालयमा वा सार्वजानिक कार्यक्रममा कुनै कार्यकर्ताले नेतालाई चरणस्पर्श गर्छ भने त्यो आशिर्वाद होइन, आश्रय खोजेको बुझनु पर्छ। त्यो अभिवादन होइन, चाकरी गरेको हो भनेर बुझ्दा राम्रो हुन्छ। यी सब सामन्ती समाजका अवशेष हुन्। कुनैपनि नेता आकाशबाट झर्ने होइन, उ त्यही समाजको उत्पादन हो। नेताका क्रियाकपाल समाजले अनुकरण गरेका प्रशस्त उदाहरण छन्। नेताले के गर्ने र के नगर्ने भन्ने कुरा उसकै स्वविवेकको कुरा भएपनि आलोचनात्मक चेत र सकरात्मक भावका साथ बहस गर्नु आम नागरिकको कर्तव्य हो।

प्रकाशित २७ साउन २०७५, आइतबार | 2018-08-12 19:38:30
Max TV
Max TV
Zen Travels
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Laxmi Bank
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • इन्द्र थेगिम

    मी टू सन्दर्भः ओठ भरिलो पारेर उसले मेरो ब्लाउजमाथि ‘फ्रिक्सन’ गरिरह्यो

    मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण)...

  • सुनम गौतम

    अष्ट्रेलियन क्रिकेटमा नेपाली युवाको संघर्ष

    नोभेम्बरको अन्तिम साताबाट सुरु हुने भिक्टोरिया टी–२० स्लामलाई उनले बीबीएलमा पर्ने प्रतियोगिताको रुपमा उपयोग गर्ने बताए। उनको क्लबको पहिलो खेल नै...

  • भुटानी नरेश जिग्मी खेशर वाङचुक भारतीय प्रधानमन्त्री माेदीसँग

    भारतको ऋण चंगुलबाट निस्केला भुटान?

    चुनावैपिच्छे नयाँ पार्टीको सरकार बन्ने परम्परा बसेको भुटानमा प्रधानमन्त्रीका रुपमा छिरिङको सफलता बिजुलीको मूल्य वृद्धि र भारतको ऋणभार कम गर्नुमै...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री

    यी राजकुमार क्षेत्री, जो विमानस्थलका सटर सुन तस्करलाई भाडामा दिन चाहन्थे

    सरकारको खरिद नियम उल्लंघन गरी बद्नियतपूर्ण तरिकाले आफूले चाहेको ठेकेदारलाई सटर भाडामा दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक...