कहिले खेल्छ चीनले विश्वकप?


Infocus



मस्को विश्वकपमा चिनियाँ फ्यान
मस्को विश्वकपमा चिनियाँ फ्यान
हसन अमर

फुटबलमा होमिएका चिनियाँ युवा पुस्ताले सी चिनफिङले २०११ मा दिएको अभिव्यक्ति सम्झेको हुनुपर्छः ‘चीनका तीनवटा सपना छन्, विश्वकपमा छनोट हुनु, विश्वकप अयोजना गर्नु र विश्वकप जित्नु।’

NIC ASIA

नेपालमा भाइरल बनेको एउटा भनाइः विश्वकप खेलाएर कमाउने रसिया, नाम कमाउने ब्राजिल, फ्रान्स, अर्जेन्टिना ... जर्सी बेचेर दाम कमाउने चीन र भारत। नेपालीको काम चाहिं तिनै जर्सीमा खर्च गर्ने र उफ्रिने।

यो भनाई नेपालमा मात्रै हैन, संसारका अरू देशमा पनि चलेको हुनुपर्छ। तथापि अर्काको जर्सी लगाएर मध्यरातमा चिच्याउने नेपालीहरूलाई ‘यो नेपाली शिर उचाली ... संसारमा लम्किन्छ’ भनेर खुबै व्यंग्यवाण पनि हानियो।

प्रत्येक ४ वर्षमा हुने विश्वकप फुटबलमा संसारका करीब २ सयमध्ये जम्मा ३२ वटा देशले प्रतिनिधित्व गर्छन्। मात्र ३ लाख ३० हजार जनसंख्या भएको आइसल्याण्डले रसियामा भएको विश्वकप फुटबल खेल्दै गर्दा एक अर्ब ४० करोड जनसंख्या भएको चीन भने कहिले विश्वकपमा पुगिएला भनेर सोचिरहेको छ।

सन् २००२ मा चीनले पहिलो पटक फिफा विश्वकप खेलेयता दोहोर्याएर इतिहास रच्न सकेको छैन। चिनियाँ खेलाडीले मैदान ताक्न नसकेपनि विश्वकपहरूमा चिनियाँ उपस्थिति भने कहिँ कतैबाट रोकिएको छैन। यसबाट आर्थिक रूपमा उकासिँदो चीनका अनेकन उत्पादन तत्वले भएपनि विश्वकपको मैदान तताइरहेका हुन्छन्।

मस्कोमा भएको २१ औं संस्करणको विश्वकपमा फुटबल, सिक्का, चिनो अनेकन् सम्झना सामग्री लगायतका कारण मात्रै हैन, चिनियाँ फुटबल प्रेमीहरूको उपस्थितिले पनि खचाखच भयो। विश्वकपका अधिकांश वस्तुहरू ‘मेड इन चाइना’ लोगोले भरिए।

रसियन अखबार युथ लिगका प्रमुख उप–सम्पादक पावेल सादकोवले भन्छन्, ‘केही वर्षदेखि चिनियाँ अर्थतन्त्र विकसित भएसँगै मेड इन चाइनाको विश्वव्यापी प्रतिष्ठा पनि बढ्दै गएको छ।’

रसियनका मनमा पनि मेड इन चाइनाप्रतिको सम्मान बढेको पाइन्छ। दैनिक जीवनका अधिकांश कुराहरू मेड इन चाइनाले भरिएका छन्, गुणस्तर बढ्दै गएको छ। त्यसैले हरेक जसो विश्वकपमा चिनियाँ उत्पादनको आकर्षण रहन्छ, जसरी यस विश्वकपमा पनि चिनियाँ व्यवसायहरूले प्रायोजकको भूमिका पाएका छन्। मस्को विश्वकपको पहिलो स्थानमा रहेको विज्ञापन कारोबारमा ८० करोड अमेरिकी डलर चिनियाँ उद्यमीको छ। चिनियाँ खेल समीक्षक येन छ्याङका विचारमा विश्वकप फुटबल ओलम्पिक भन्दा पनि प्रभावशाली विशाल प्रसारण मञ्च भएकाले अन्तर्राष्ट्रिय मञ्च हुँदै बाह्य मुलुकमा प्रभाव विस्तार गर्नका लागि यो उत्कृष्ट उपाय हो।

विश्वकप अघि चीनको शिक्षा मन्त्रालय र सीसीटीभीले संयुक्त रूपमा चीनको क्वीचौ प्रान्तमा ‘बाल फुटबल किङ’ आयोजना गरी छनोट गरेका १२ जना बाल फुटबलर अन्तर्राष्ट्रिय फुटबल संघको झण्डारक्षकको रूपमा मस्कोमा छन्। रसियन संचारमाध्यमहरूका अनुसार ४० हजार भन्दा बढी चिनियाँ फुटबल प्रेमीहरूले मस्को फुटबलको टिकट काटेका छन्। त्यसका अलावा चिनियाँ पर्यटकहरू त बग्रेल्ती छन्।

चिनियाँ फुटबल स्तर उकास्ने सूत्र
चिनियाँ उत्पादनले विश्वकप फुटबललाई ढाक्ने गरेपनि मुख्य जिज्ञासा चीनले अब कहिले विश्वकप खेल्छ भन्ने हो। त्यसको लागि चिनियाँको तयारी के छ? चिनियाँ फुटबलका पूर्व राष्ट्रिय खेलाडी तोङ ल च्युन चार कारण प्रस्तुत गर्छन् जसका कारण चीनले फुटबलमा प्रगति गर्न सकिरहेको छैन। युवा खेलाडीका लागि उच्चस्तरीय कोचको अभाव, सामाजिक तथा पारिवारिक वातावरण, राष्ट्रिय तथा सांस्कृतिक स्तर र प्रशिक्षण प्रणालीको प्रभावकारी विकासको अभाव।

तङको विचारमा पिरामिड शैलीमा खेलकुदको विकास गरिनुपर्छ। उनले उदाहरण प्रस्तुत गर्दै सुनाए, ‘२ वर्षअघि जर्मनीमा १७, १९ र २१ वर्ष उमेर समूह लगायत फुटबल खेल्नका लागि दर्ता भएका खेलाडीको संख्या १.९ मिलियन थियो, यो ग्याप चीनमा धेरै ठूलो छ।’

चिनियाँ फुटबलमा पनि खेलाडीका लागि उच्चस्तरीय कोचको अभाव छ। १० देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीका लागि प्रभावकारी प्रशिक्षणको शुरूवात गरिनुपर्छ, यसले उनीहरूको खेल जीवनमा गहिरो प्रभाव छोड्न सक्छ। विश्वकप खेल्ने देशहरूमा सानैदेखि खेलाडी उत्पादनको लय लिएको भेटिन्छ, जब की चीनमा एशियनस्तरको कोच पाउन पनि गाह्रो भएको पूर्व राष्ट्रिय खेलाडी तङको भनाइ छ।

दोश्रो, सामाजिक तथा पारिवारिक वातावरण पनि चिनियाँ फुटबलको स्तर उकास्न नसकिनुको कारक हो। खेलकुद स्थलको कमीले पनि खेल्न संभव छैन भने विद्यालयका केटाकेटीले पढाइमा ध्यान दिनुपर्छ, अभिभावकले पनि खेलकुदका लागि कम ध्यान दिन्छन्। उनीहरूले पनि व्यवसायिक खेलाडी बनोस् भन्ने चाहँदैनन्।

तेश्रो कारण राष्ट्रिय तथा सांस्कृतिक स्तर पनि हो। खेल राष्ट्रिय हुन्छ र हरेकजसो परियोजनामा व्यवसायिक खेलकुदले राष्ट्रको छवि प्रतिविम्वित गर्छ। जस्तो कि ब्राजिलियनहरू स्वभावैले साम्बा नाच्छन् र फुटबल खेल्छन्। धेरैजसो युरोपेली र अमेरिकी राष्ट्रहरूमा राष्ट्रिय खेलकुदको हावा चलेको हुन्छ। चीनमा बच्चाहरू स्कूल जान्छन्, त्यसपछि सिधै घर फर्किन्छन्। खेलकुद मैदान जाने परिपाटी विकसित भएको छैन।

चौथो कारणको रूपमा युवा प्रशिक्षण प्रणालीको प्रभावकारी विकास नहुनुलाई लिन सकिन्छ।

यद्यपि पछिल्ला वर्षहरूमा चीनले फुटबलको स्तर उकास्न धेरै मेहनत गरिरहेको देख्न सकिन्छ। क्याम्पस फुटबल विशेष प्रशिक्षणस्थल तथा विशेषतायुक्त फुटबल स्कूलहरू धमाधम स्थापना भएका छन्। खेलकुदको जरा शैक्षिक जीवनसँगै अघि बढाइनुपर्छ। बालकले कसरी राम्रोसँग अध्ययन गर्न र सँगसँगै खेल खेल्न सक्छ भन्ने प्रणालीको विकास गरिनुपर्छ। अहिलेको चरणमा चीन अनुसन्धानकै लाइनमा छ।

चिनियाँ फुटबल खेलाडीहरू त्यत्तिसम्म निरूत्साहित पनि छैनन्। चीनले हाल विकास गर्दै गरेको युवा प्रशिक्षण प्रणालीको नतीजा अघिल्ला एकदुई दशकमा अनुभव गर्न सकिने प्रतीक्षा छ। विश्वकप फुटबलप्रति अधिकांश चिनियाँहरू पूर्णतया निराश छन् भन्न मिल्दैन तर हतारिएका चाहिं जरूर हुन्। विद्यालयहरूमा क्रमशः प्रतिभाको खोजी र तालिम पद्धतिको विकासले संख्यात्मक रूपमा फुटबलका खेलाडीहरूको उदय हुन थालेको छ। धेरै वर्ष अगाडिको जस्तो रिक्तता अबका दिनमा फुटबलमा नहुनेमा विश्वस्त देखिन्छन्।

तत्कालका लागि चिनियाँ फुटबल टिम खेल मैदानमा नदेखिएपनि चिनियाँहरू र मेड इन चाइनाको उपस्थितिले रौनक धानिराख्ला नै। अहिले फुटबलमा होमिएका चिनियाँ युवा पुस्ताले तत्कालीन उपराष्ट्रपति सी चिनफिङले २०११ मा दिएको अभिव्यक्ति सम्झेको हुनुपर्छः ‘चीनका तीनवटा सपना छन्, विश्वकपमा छनोट हुनु, विश्वकप अयोजना गर्नु र विश्वकप जित्नु।’

चीनले सन् २०५० सम्ममा फुटबलको पावरहाउस बन्ने योजना सार्वजनिक गरिसकेको छ। विश्वको आर्थिक धुरीमा पुग्न यतिसम्म मेहनत गर्न सक्ने चीनले योजना मुताविक विश्वकप फुटबलको लक्ष्यमा पुग्ने सामर्थ्य राख्ला कि नराख्ला, त्यो पनि मेहनतमै निर्भर रहने कुरा हो। अर्काको जर्सी लगाएर, मनोरञ्जनका नाममा आपस्तमा भिडेर मात्रै विश्वकपमा पुगिन्न भन्ने कुरा चिनियाँहरूले पनि बुझेको हुनुपर्छ।

प्रकाशित २४ असार २०७५, आइतबार | 2018-07-08 09:49:50
Max TV
Max TV
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • भुटानमा चुनावः थिम्पुको सत्ता नजिक पुगेको नयाँ पार्टी दिल्लीसँग कति टाढा?

    बाह्य विश्वले चासो साथ हेरिरहेको भुटानको अन्तिम चरणको निर्वाचनका लागि बिहीबार मतदान हुँदैछ।

  • पाइलट जाेडी माेनिका र सुरज

    पाइलट जोडीको योजनाः दशैँमा काम, पछि घुमघाम

    दशैँ भन्ने बित्तिकै धेरैको दिमागमा लामो विदा, आफन्तसँगको भेटघाट र उल्लासका दृष्य नाच्छन्। विमानलाई आकाशमा उडाउने पाइलटको कथा भने फरक छ। उनीहरुका...

  • सेताे टीकामा एक नेपाली नारी

    दशैँ कसको, टीका कस्तो?

    नेपालमा नेवार जातिले सबैभन्दा पहिले रातो रंग प्रयोगमा ल्याएका हुन्

  • केन्याकाे पृथ्वी फाटेकाे स्थानमा सेल्फी खिच्दै एक युवक

    पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश

    केही महिनाअघि अफ्रिकी राष्ट्र केन्याको दक्षिण पश्चिम क्षेत्रको भूभागमा चिरा पर्‍यो। केही किलोमिटर लामो त्यो खाडल यतिबेला निरन्तर बढ्दै गएको छ।...